नेपालको आर्थिक विकास, दीर्घकालीन र दिगो समृद्धिको आधार भनेको बलियो औद्योगिक संरचना हो भन्ने यथार्थ हामीले अझै पर्याप्त रूपमा आत्मसात गर्न सकेका छैनौं।
रोजगारी सिर्जना, आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन र प्रविधि हस्तान्तरण आदिका सबैको केन्द्रमा उद्योग नै हुन्छ। नेपालको दिगो आर्थिक समृद्धि, रोजगारी सिर्जना र उत्पादनमुखी अर्थतन्त्र निर्माणको कुरा गर्दा औद्योगिक विकासलाई अलग गरेर हेर्न सकिँदैन।
विगतमा विभिन्न नीति, योजना र सुधारका प्रयासहरू भए पनि औद्योगिक क्षेत्रले अपेक्षित गति लिन सकेको छैन। यसले एउटा स्पष्ट सन्देश के दिन्छ भने अब सरकारको प्राथमिकतामा औद्योगिक विकासलाई केन्द्रमा राख्नुपर्ने समय आएको छ।
इतिहासबाट सिकाइः सार्वजनिक संस्थानदेखि उदारीकरणसम्म
नेपालमा सन् १९५१ मा प्रजातन्त्र पुनर्स्थापना भएपछि सरकारले उत्पादनमूलक क्षेत्रको महत्व बुझ्दै सार्वजनिक संस्थानहरूको स्थापना सुरू गर्यो।
त्यसपछिका दशकहरूमा, विशेष गरी सन् १९५६ देखि १९८५ सम्म, दातृ राष्ट्रहरूको सहयोगमा यी संस्थानहरूलाई संस्थागत गर्ने प्रयास गरियो। सातौं योजनासम्म आइपुग्दा यस्ता संस्थानहरूको संख्या ६३ पुगेको थियो।
तर आर्थिक उदारीकरणको नीतिपछि सार्वजनिक संस्थानहरूको संख्या घट्दै गयो। हाल करिब ३९ संस्थान मात्र बाँकी छन्, जसमा केही बन्द अवस्थामा छन्, र उत्पादनमूलक संस्थानहरूमध्ये सक्रिय रूपमा सञ्चालनमा रहेका संख्या अत्यन्त सीमित छ।
यो इतिहासले एउटा महत्वपूर्ण कुरा देखाउँछ।
संस्थागत संरचना मात्र पर्याप्त हुँदैन, प्रभावकारी सञ्चालन, प्रतिस्पर्धात्मकता र निरन्तर आधुनिकीकरण अनिवार्य हुन्छ।
आजको विश्व अर्थतन्त्र तीव्र रूपमा परिवर्तन भइरहेको छ। परम्परागत उद्योग विकास मोडल — जहाँ श्रम आधारित उत्पादन, सीमित प्रविधि प्रयोग र कमजोर एकीकरण थियो, अब पर्याप्त छैन।
नेपालले अब आधुनिक, प्रविधिमैत्री, डेटामा आधारित र एकीकृत औद्योगिक प्रणालीतर्फ रूपान्तरण गर्न आवश्यक छ, जसले 'इन्डस्ट्री ४.०' को आधार तयार गर्छ।
नीतिगत प्रतिबद्धताः कागजमा बलियो, कार्यान्वयनमा चुनौती
नेपाल सरकारले दशकौंदेखि उत्पादनमूलक क्षेत्र सुदृढ बनाउन विभिन्न नीति तथा योजनाहरू अघि सारेको छ। नेपालको आवधिक योजनाहरूले उद्योगलाई आर्थिक विकासको मुख्य खम्बामध्ये एकका रूपमा स्वीकार गर्दै द्रूत औद्योगिकीकरणमा जोड दिएको छ।
त्यस्तै, नेपालको संविधान २०७२ ले पनि स्वदेशी उद्योगको संरक्षण र प्रवर्द्धन, स्थानीय श्रम र कच्चा पदार्थको उपयोग, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन, विदेशी पुँजी र प्रविधिको उपयोग जस्ता विषयलाई स्पष्ट रूपमा प्राथमिकतामा राखेको छ।
तर यथार्थमा हेर्दा, नीति र कार्यान्वयनबीचको अन्तर अझै ठूलो छ। यही अन्तर घटाउनु नै अबको प्रमुख चुनौती हो।
विश्व परिवेश र नेपालको अवसर
आजको विश्व इन्डस्ट्री ४.० को दिशामा अघि बढिसकेको छ। उत्पादन प्रणालीहरू स्मार्ट, स्वचालित र डेटामा आधारित बन्दै गएका छन्।
नेपालका लागि यो चुनौती मात्र होइन, अवसर पनि हो। दुई ठूला र तीव्र आर्थिक विकास भएका छिमेकी देशहरूको बीचमा रहेको भौगोलिक अवस्थिति, तुलनात्मक रूपमा सस्तो श्रमशक्ति, र युवा जनसंख्या — यी सबैले नेपाललाई विश्व मूल्य शृंखलाको हिस्सा बन्ने सम्भावना दिन्छ।
साथै, अन्तर्राष्ट्रिय सन्धि, क्षेत्रीय सहकार्य र व्यापार सम्झौताहरूलाई प्रभावकारी रूपमा उपयोग गर्न सकेमा नेपालले आफ्नो बजार पहुँच उल्लेखनीय रूपमा विस्तार गर्न सक्छ।
अवरोधहरू: किन अपेक्षित प्रगति हुन सकेन?
सम्भावनाहरू धेरै हुँदाहुँदै पनि व्यावहारिक स्तरमा केही गम्भीर अवरोधहरू छन्।
• ग्रिनफिल्ड (नयाँ) परियोजनाहरूमा जग्गा प्राप्तिको जटिलता।
• लामो र झन्झटिलो प्रशासनिक प्रक्रिया।
• अपर्याप्त औद्योगिक पूर्वाधार।
• निर्णय प्रक्रियामा ढिलाइ।
• लगानीकर्ताका लागि अनिश्चित वातावरण।
यी कारणले नेपाल लगानीका लागि कम आकर्षक र कम प्रतिस्पर्धी गन्तव्य बन्ने जोखिममा छ।
ब्राउनफिल्ड अवसरः तत्काल समाधानको एउटा बाटो
यस्तो अवस्थामा, सार्वजनिक संस्थानहरूसँग रहेका पूर्वाधार उपयोग गर्दै ब्राउनफिल्ड परियोजना विकास गर्नु एक व्यावहारिक र प्रभावकारी विकल्प हुन सक्छ।
यसबाट जग्गा अधिग्रहणको समस्या घट्छ, पूर्वाधार (सडक, बिजुली, प्रसारण लाइन) पहिले नै उपलब्ध हुन्छ, परियोजना कार्यान्वयन छिटो हुन्छ र लगानीकर्ताको जोखिम कम हुन्छ।
यसले छोटो अवधिमा औद्योगिक गतिविधि पुनर्जीवित गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ।
परम्परागतबाट आधुनिक औद्योगिक मोडलतर्फ किन सर्ने?
आजको विश्व अर्थतन्त्र तीव्र रूपमा रूपान्तरण हुँदै चौथो औद्योगिक क्रान्ति, अर्थात् इन्डस्ट्री ४.० को चरणमा प्रवेश गरिसकेको छ।
यस नयाँ औद्योगिक युगले उत्पादन प्रणालीको स्वरूप नै बदलिदिएको छ जहाँ यन्त्रहरूबीच आपसी सञ्चार हुन्छ। सेन्सरहरूबाट संकलित डेटा स्वतः विश्लेषण हुन्छ। र, धेरै निर्णय प्रक्रियाहरू मानव हस्तक्षेपबिना नै स्वचालित रूपमा सञ्चालन हुन्छन्।
यसले उद्योगलाई केवल उत्पादन गर्ने ठाउँबाट स्मार्ट, प्रतिक्रियाशील र पूर्वानुमान गर्न सक्ने प्रणालीमा रूपान्तरण गरेको छ।
परम्परागत औद्योगिक मोडलमा उत्पादन, भण्डारण, वितरण र व्यवस्थापन जस्ता कार्यहरू प्रायः छुट्टाछुट्टै प्रणालीमा सञ्चालन हुन्छन्। यस्ता प्रणालीहरूबीच समन्वय कमजोर हुन्छ, सूचना आदानप्रदान ढिलो हुन्छ र निर्णयहरू मुख्यतः अनुभव र अनुमानमा आधारित हुन्छन्।
परिणाम स्वरूप, बजारको मागअनुसार छिटो प्रतिक्रिया दिन सकिँदैन। उत्पादन प्रक्रिया कठोर हुन्छ र सुधारको गति पनि सुस्त रहन्छ।
यसको विपरीत, आधुनिक औद्योगिक मोडल पूर्ण रूपमा एकीकृत, डेटा–चालित र लचिलो हुन्छ। उत्पादनका सबै चरणहरू — कच्चा पदार्थ आपूर्तिदेखि अन्तिम ग्राहकसम्म—डिजिटल रूपमा आपसमा जोडिएका हुन्छन्।
स्वचालन र डिजिटल प्रविधिको प्रयोगले उत्पादन प्रक्रिया तीव्र, सटीक र भरपर्दो बनाउँछ। रियल टाइम डेटा विश्लेषणका माध्यमबाट उद्योगहरूले तुरून्तै निर्णय लिन सक्छन्, समस्याहरू पहिचान गर्न सक्छन् र भविष्यका प्रवृत्तिहरूको पूर्वानुमान गर्न सक्छन्।
आपूर्ति शृंखलाको एकीकरणले लागत घटाउँछ, ढिलाइ कम गर्छ र समग्रमा दक्षता बढाउँछ। यसका साथै, उत्पादनको गुणस्तरमा सुधार आउँछ र उद्योगहरू अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम बन्छन्।
परम्परागत औद्योगिक मोडलले सामान्यतया सीमित उत्पादन क्षमता, कम उत्पादकत्व, उच्च लागत र कमजोर प्रतिस्पर्धात्मकता निम्त्याउँछ।
यसको विपरीत, आधुनिक औद्योगिक प्रणालीले दक्षता, गति, गुणस्तर र नवप्रवर्तनलाई प्राथमिकता दिन्छ।
आजको विश्वमा केवल सस्तो श्रममा आधारित प्रतिस्पर्धा दीर्घकालीन रूपमा टिकाउ छैन। विशेषगरी नेपालजस्तो देशमा, जहाँ उत्पादन लागत विभिन्न कारणले उच्च रहन्छ र घरेलु बजार सानो छ, त्यहाँ प्रविधिमा आधारित दक्षता र नवप्रवर्तन नै वास्तविक प्रतिस्पर्धात्मकताको आधार बन्न सक्छ।
यस सन्दर्भमा, नेपालले आफ्नो आर्थिक सोचमा महत्वपूर्ण परिवर्तन ल्याउन आवश्यक छ। श्रम निर्यातमा आधारित अर्थतन्त्रले अल्पकालीन आम्दानी त दिन सक्छ, तर दीर्घकालीन औद्योगिक विकास र आत्मनिर्भरता सुनिश्चित गर्न सक्दैन।
त्यसैले अबको बाटो भनेको उत्पादन–आधारित, प्रविधिमुखी र नवप्रवर्तन–केन्द्रित अर्थतन्त्रतर्फ रूपान्तरण गर्नु हो। यसका लागि औद्योगिक नीतिमा सुधार, प्रविधिमा लगानी, सीपयुक्त जनशक्ति विकास र निजी क्षेत्रसँग सहकार्य अत्यावश्यक छ।
यही मार्गले मात्र नेपाललाई परम्परागत संरचनाबाट बाहिर निकाल्दै स्मार्ट, दिगो र प्रतिस्पर्धात्मक औद्योगिक राष्ट्रको रूपमा स्थापित गर्न सक्छ।
यही सन्दर्भमा स्मार्ट इन्डस्ट्री रेडिनेस इन्डेक्स (एसआइआरआई) जस्तो अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त फ्रेमवर्कको भूमिका अत्यन्त महत्वपूर्ण देखिन्छ।
विश्वका धेरै देशहरूले एसआइआरआई का १६ आयामहरू प्रयोग गरेर आफ्ना उद्योगहरूको डिजिटल परिपक्वता मापन गर्ने, कमजोरीहरू पहिचान गर्ने र रूपान्तरणका लागि स्पष्ट रोडम्याप तयार गर्ने काम गरिरहेका छन्।
विशेषगरी सिंगापुर, जर्मनी र अन्य उन्नत औद्योगिक राष्ट्रहरूले एसआइआरआईलाई नीति निर्माण, उद्योग मूल्यांकन र क्षमता विकाससँग जोडेर सफलतापूर्वक कार्यान्वयन गरेका छन्।
स्मार्ट इन्डस्ट्री रेडिनेस इन्डेक्स (एसआइआरआई) का १६ आयामहरू
एसआइआरआईले औद्योगिक रूपान्तरणलाई व्यवस्थित, मापनयोग्य र दिगो बनाउने उद्देश्यले १६ वटा महत्वपूर्ण आयामहरू प्रस्तुत गरेको छ। यी आयामहरूले उद्योगको वर्तमान अवस्था कहाँ छ भन्ने मात्र देखाउँदैनन्, बरू भविष्यतर्फ कसरी अघि बढ्ने भन्ने स्पष्ट मार्गचित्र पनि दिन्छन्।
समग्र रूपमा हेर्दा, यी आयामहरू चार मुख्य पक्षमा विभाजित छन् —प्रक्रिया, प्रविधि, संगठन र उत्पादन।
यिनले आधुनिक उद्योगको मेरूदण्ड तयार गर्छन्।
प्रक्रिया सम्बन्धी आयामहरू अन्तर्गत उत्पादनका विभिन्न तहहरूबीचको समन्वय र एकीकरण अत्यन्त महत्वपूर्ण हुन्छ। भर्टिकल इन्टिग्रेसन र होराइजोन्टल इन्टिग्रेसन जस्ता अवधारणाले उत्पादनदेखि वितरणसम्मका सम्पूर्ण चरणहरू आपसमा जोड्ने काम गर्छन्, जसले दक्षता बढाउँछ र समय तथा लागत दुवै घटाउँछ।
त्यस्तै इन्टिग्रेटेड प्रडक्ट लाइफसाइकलले उत्पादनको डिजाइनदेखि अन्तिम प्रयोगसम्मको सम्पूर्ण चक्रलाई डिजिटल रूपमा व्यवस्थापन गर्न मद्दत गर्छ।
सप फ्लोर अटोमेसन, इन्टरप्राइज अटोमेसन र फेसिलिटी अटोमेसन जस्ता आयामहरूले उत्पादन प्रक्रियालाई स्वचालित बनाउँदै मानवीय त्रुटि कम गर्ने, उत्पादन क्षमता बढाउने र गुणस्तर सुनिश्चित गर्ने दिशामा योगदान पुर्याउँछन्।
तर नेपालको सन्दर्भमा यी प्रक्रियाहरू अझै पूर्ण रूपमा कार्यान्वयनमा आइसकेका छैनन्, धेरै उद्योगहरू आंशिक स्वचालनमै सीमित छन्।
प्रविधिको दृष्टिकोणले हेर्दा, कनेक्टिभिटी र डेटा व्यवस्थापन नै आधुनिक उद्योगको मुटु हो। सप फ्लोर कनेक्टिभिटी, इन्टरप्राइज कनेक्टिभिटी र फेसिलिटी कनेक्टिभिटी जस्ता आयामहरूले उद्योगभित्रका सबै प्रणालीलाई एकअर्कासँग जोड्ने काम गर्छन्, जसले वास्तविक समयमा सूचना आदानप्रदान सम्भव बनाउँछ।
आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् कृत्रिम बुद्धिमत्ताको प्रयोगले डेटा विश्लेषण, पूर्वानुमान र निर्णय प्रक्रियालाई थप प्रभावकारी बनाउँछ। तर नेपालमा अझै पनि यी प्रविधिहरूको प्रयोग सीमित छ र डेटा–आधारित निर्णय प्रणाली प्रारम्भिक चरणमै रहेको देखिन्छ।
यसले उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता कमजोर बनाइरहेको छ।
संगठनात्मक पक्षमा, प्रविधि मात्र पर्याप्त हुँदैन; त्यसलाई सञ्चालन गर्ने सक्षम जनशक्ति, नेतृत्व र स्पष्ट रणनीति आवश्यक हुन्छ।
ट्यालेन्ट रेडिनेसले उद्योगमा आवश्यक सीपयुक्त मानव संसाधनको उपलब्धता सुनिश्चित गर्छ भने लिडरसिप कम्पिटेन्सीले परिवर्तनलाई सही दिशामा नेतृत्व गर्न मद्दत गर्छ।
इन्टर एन्ड इन्ट्रा कम्पनी सहकार्यले उद्योगहरूबीच र उद्योगभित्र सहकार्यको वातावरण सिर्जना गर्छ। यसले नवप्रवर्तन र दक्षता बढाउँछ।
रणनीति तथा सुशासनले दीर्घकालीन लक्ष्य, नीतिगत स्पष्टता र सुशासन सुनिश्चित गर्छ। नेपालमा हेर्दा, प्रविधिको अभावभन्दा पनि ठूलो चुनौती दक्ष जनशक्ति र सक्षम नेतृत्वको अभाव नै छ। यसले औद्योगिक रूपान्तरणको गति सुस्त बनाएको छ।
उत्पादनसम्बन्धी आयामहरूमा उत्पादन विकास तथा कस्टमाइजेसन र इनोभेसन प्रमुख छन्। आजको प्रतिस्पर्धात्मक बजारमा केवल सस्तो उत्पादन गर्नु मात्र पर्याप्त हुँदैन; ग्राहकको आवश्यकता अनुसार अनुकूलन र निरन्तर नवप्रवर्तन अनिवार्य हुन्छ।
तर नेपालका अधिकांश उद्योगहरू अझै पनि कस्ट–बेस्ड प्रतिस्पर्धामा केन्द्रित छन्, जहाँ लागत घटाउने प्रयास हुन्छ, तर मूल्य अभिवृद्धि र नवप्रवर्तनमा अपेक्षित ध्यान दिइएको पाइँदैन।
नेपालका लागि यसको सान्दर्भिकता
नेपालको वर्तमान औद्योगिक अवस्थालाई नजिकबाट विश्लेषण गर्दा हामी अझै रूपान्तरणको प्रारम्भिक चरणमै रहेको स्पष्ट देखिन्छ।
धेरै उद्योगहरूमा भर्टिकल इन्टिग्रेसन सीमित रूपमा डिजिटल उपकरण प्रयोग गरेर मात्र भइरहेको छ, जहाँ विभिन्न उत्पादन चरणहरूबीच पूर्ण स्वचालित र रियल टाइम एकीकरण अझै स्थापित भइसकेको छैन।
इन्टरप्राइज कनेक्टिभिटी पनि कमजोर भएकाले सूचना प्रवाह सुस्त छ र निर्णय प्रक्रिया ढिलो तथा कम प्रभावकारी हुने गरेको छ। समग्रमा, अधिकांश उद्योगहरू अझै म्यानुअल वा सेमी–डिजिटल प्रणालीमा निर्भर छन्।
यसले उत्पादन क्षमता, गुणस्तर र प्रतिस्पर्धात्मकतामा प्रत्यक्ष असर पारिरहेको छ।
यससँगै, नेपालको आपूर्ति शृंखला प्रणाली अझै असंगठित छ। कच्चा पदार्थ आपूर्ति, उत्पादन र वितरणबीच समन्वयको कमी हुँदा लागत बढ्ने, ढिलाइ हुने र बजारमा प्रतिस्पर्धा गर्न कठिन हुने अवस्था देखिन्छ।
अर्को महत्वपूर्ण पक्ष भनेको डेटामा आधारित निर्णय क्षमताको अभाव हो। उद्योगहरूमा अझै पनि अनुभव र परम्परागत अभ्यासमा आधारित निर्णय लिने प्रवृत्ति छ। यसले आधुनिक बजारको गतिशीलता र ग्राहकको मागअनुसार छिटो अनुकूलन हुन अवरोध सिर्जना गरिरहेको छ।
यदि यी अवस्थालाई स्मार्ट इन्डस्ट्री रेडिनेस इन्डेक्स (एसआइआरआई) को मापदण्डमा हेर्ने हो भने, नेपालका अधिकांश औद्योगिक अभ्यासहरू ब्यान्ड १ (म्यानुअल) र ब्यान्ड २ (डिजिटल सपोर्ट) को स्तरमै सीमित छन्।
अबको चुनौती र अवसर भनेको यस अवस्थाबाट माथि उठ्दै ब्यान्ड ४ (अटोमेटेड) र ब्यान्ड ५ (इन्Iटेलिजेन्ट) तर्फ स्पष्ट रूपान्तरणको यात्रा तय गर्नु हो, जहाँ स्वचालन, डेटा र कृत्रिम बुद्धिमत्ताले उद्योगलाई उच्च उत्पादकता र प्रतिस्पर्धात्मकतामा पुर्याउँछ।
सरकारको भूमिका
यस रूपान्तरणलाई सफल बनाउन सरकारको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ।
पहिलो, नीतिगत सुधारतर्फ स्पष्ट र दीर्घकालीन दृष्टिकोण आवश्यक छ। इन्डस्ट्री ४.० लाई केन्द्रमा राखेर नीति निर्माण गर्नुपर्छ, जसले डिजिटल रूपान्तरणलाई प्रोत्साहन गर्नुका साथै निजी क्षेत्रलाई लगानीका लागि प्रेरित गर्छ।
सार्वजनिक निजी साझेदारी (पिपिपी) को विस्तारले ठूलो स्तरका औद्योगिक परियोजनाहरू कार्यान्वयन गर्न सहयोग पुर्याउँछ र जोखिम बाँडफाँटको वातावरण सिर्जना गर्छ।
दोस्रो, पूर्वाधार विकास बिना औद्योगिक रूपान्तरण सम्भव छैन। भरपर्दो र निरन्तर ऊर्जा आपूर्ति, व्यवस्थित औद्योगिक क्षेत्र र उच्चस्तरीय डिजिटल पूर्वाधार—जस्तै फाइभ–जी, इन्टरनेट अफ थिङ्स (आइओटी) र डेटा सेन्टरहरूले उद्योगलाई आधुनिक प्रविधिसँग जोड्न आधार तयार गर्छन्।
यी पूर्वाधारहरू नभएसम्म स्वचालन र कनेक्टिभिटी जस्ता अवधारणाहरू व्यवहारमा लागू गर्न कठिन हुन्छ।
तेस्रो, मानव संसाधन विकासमा विशेष ध्यान दिन आवश्यक छ। प्रविधि प्रयोग गर्न सक्षम जनशक्ति बिना इन्डस्ट्री ४.० सम्भव छैन। त्यसैले प्राविधिक शिक्षा, सीप विकास कार्यक्रम, र इन्डस्ट्री–एकेडेमिया सहकार्यलाई सुदृढ बनाउनुपर्छ।
विशेष गरी एआई, रोबोटिक्स र डेटा एनालाइसिस जस्ता क्षेत्रमा दक्षता विकास गर्नु अहिलेको आवश्यकता हो, जसले उद्योगहरूलाई स्मार्ट र प्रतिस्पर्धात्मक बनाउँछ।
अन्ततः, नवप्रवर्तन र अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्छ। अनुसन्धान ताथ विकास (आर एन्ड डी) मा लगानी वृद्धि, स्टार्टअप र इनोभेसन इकोसिस्टमको विकास र प्रविधि हस्तान्तरणका पहलहरूले दीर्घकालीन औद्योगिक विकासको आधार तयार गर्छन्।
यसरी सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाहरूबीच समन्वय र सहकार्यमार्फत मात्र नेपालले परम्परागत औद्योगिक अवस्थाबाट आधुनिक, स्मार्ट र दिगो औद्योगिक अर्थतन्त्रतर्फ प्रभावकारी रूपान्तरण गर्न सक्छ।
नेपालले दिगो समृद्धि हासिल गर्न अब औद्योगिक विकासलाई राष्ट्रिय प्राथमिकता बनाउनैपर्छ। केवल परम्परागत मोडेलमा अडिग रहँदा हामी विश्व प्रतिस्पर्धामा पछाडि पर्नेछौं।
नेपालले अब औद्योगिक विकासलाई केवल एक क्षेत्र होइन, राष्ट्रिय रूपान्तरणको माध्यमका रूपमा हेर्नुपर्छ।
अब समय आएको छ— सोच परिवर्तन गर्ने, प्रविधिलाई प्राथमिकता दिने र उद्योगलाई स्मार्ट तथा प्रतिस्पर्धात्मक बनाउने।
इन्डस्ट्री ४.० तर्फको यात्रा केवल विकल्प होइन, आवश्यकता हो। यही बाटोले मात्र नेपाललाई आत्मनिर्भर, उत्पादनमुखी र समृद्ध अर्थतन्त्रतर्फ लैजान सक्छ।
(लेखक अक्षित राज पौड्याल औद्योगिक इन्जिनियर हुन्।)