जीवनसाथी भन्ने शब्द आफैमा पूर्ण, आनन्दित र जिम्मेवारी बोध गराउने शब्द हो। आज म मेरी उनीको बारेमा बताउन जाँदै छु। अहिलेको समयमा मागी विवाह गर्न कति गाह्रो छ भन्ने कुरा हामी केटाहरूलाई सोध्नु। माया प्रेम गर्यो भने पढाइ बिग्रिन्छ भनेर सानैदेखि त्योदेखि टाढा भागियो। पढाइमा त सफल भइयो तर बिहे गर्न निकै सङ्घर्ष गर्न पर्यो।
पढेर डिग्री (एमएससी) पास गरियो, त्यो पनि जीव विज्ञानबाट इकोलोजी विषयमा। त्यसपछि मनमा आयो, अब त बिहे गरेर घर गृहस्थी चलाउन पर्यो। अनि सुरु भयो मेरी उनीको खोजी। सोचाइ त त्यही थियो तर बिचमा बाधक बन्न आउनु भयो बुबा। जागिर र इलम नभई कसरी केटी माग्ने भन्न थाल्नुभयो। त्यसपछि जीवनसाथी खोज्न छोडी लागे म जागिर खोज्न। केही समय लाग्यो तर विज्ञान विषय पढेको हुनाले छिट्टै जागिर प्राप्त गर्न सफल भइयो।
मनमा लाग्यो अब मेरी उनीलाई भेट्न र प्राप्त गर्न अब केही बाधा छैन। भनिन्छ नि जीवन सोचे जस्तो हुँदैन, मेरो जीवनमा पनि त्यस्तै भयो। केटी र उनका परिवारले फरक फरक कारण देखाउँदै बिहेको प्रस्ताव अस्वीकार गर्दै गए। कसैले विदेश जाने भए मात्र बिहे गर्ने नत्र नगर्ने, कसैले गाउँ छाडी सहर जाने भए गर्ने, कसैले बसेको ठाउँ भएन त्यहाँ नगर्ने, कोही विदेश लैजाने भए मात्र गर्ने, कतिको नाडी एउटै भयो, कसैले कुरै नबुझी अरूको लहलहैमा लागेर अस्वीकार गरे। कसैले पनि पढाइ, बानी व्यवहार, बोलीचाली हेरेनन्। शिक्षक र उसको तलब त गिन्तीमा पनि नआउने रहेछ यहाँ।
बिहे गर्न कोही पनि नमानेको देख्दा अचम्म मान्दै आफूलाई नै नियालेँ अनि सोच्न थालेँ-
के विदेश जान्न भन्नु मेरो गल्ती हो? यत्रो पढेर पनि विदेश नै जान पर्छ भने यो पढेको के महत्त्व?
नेपाल भारतको सीमा नजिकै बस्नु गल्ती हो?
जाड, रक्सी, चुरोट, सुर्ती, लागुऔषध जस्ता कुराको सेवन नगर्ने गुण कसैलाई चाहिएको रहेनछ। कसैसँग झगडा नगर्ने, कुनै आपराधिक क्रियाकलापमा संलग्न नभएको, पढेको, हेर्दा पनि राम्रै, जागिर भएको हुँदा पनि कसैले पत्याएनन्। मानौँ उहाँहरू ३२ गुण भएको केटा होइन, ४० गुण भएको केटा खोजिरहनु भएको छ। आफ्नो छोरीको लागि, आफ्नो लागि योग्य वर छान्न पाइन्छ, उहाँहरू आफ्नो ठाउँमा सही हुनुहुन्छ होला तर यता बा-आमा छक्क पर्नुभयो। पहिला आफ्नो पालामा छोरा वा केटा पट्टिका मानिस ठुला पल्टिन्थे, राम्री भनिने कति केटी पनि नसुहाउने र बुढो केटालाई दिन पर्थ्यो। अहिले समय पूर्ण रूपमा परिवर्तन भएछ। पहिला केटाको महत्त्व थियो भने अहिले जमाना परिवर्तन भएर केटीको महत्त्व बढी भएछ।
यस्तो पाराले त बिहे नै नहुने हो कि भन्ने पिर पर्न थाल्यो। केटी नपाउनाको अर्को मुख्य कारण पनि छ। त्यो हो उपाध्याय बाहुन हुनु। नेपालमा उपाध्याय बाहुनको जनसंख्या नै थोरै छ। त्यो थोरैबाट नाडी नलाग्ने, उमेर मिल्ने, शिक्षित, विदेश नजाने आदि खोज्न निकै गाह्रो भयो। हामीले रुचाएकाले हामीलाई नरुचाउने र हामीलाई रुचाउनेलाई हामीले नरुचाउने पनि भयो। सुरुमा समयको माग नबुझी ठुलो बन्नु भएको बा-आमाले पनि अन्ततः केटीको जमाना रहेछ भन्ने कुरा महसुस गर्नुभयो। सुरुमा विज्ञान विषय नै पढेकी जागिरे केटी खोज्नुभएको उहाँहरू पछि पढ्दै गरेकी भए पनि हुन्छ भन्ने स्थितिमा पुग्नुभयो। हामी लचक भएर त्यो स्थितिमा पुग्दा पनि भने जस्तो केटी प्राप्त गर्न सकिएन।
हेर्दा हेर्दै जागिर खाएको पनि करिब दुई वर्ष पुग्न थाल्यो। अब मनमा एउटा नेपाली उखान मात्र आउन थाल्यो। त्यो उखान थियो– प्रतीक्षाको फल मिठो हुन्छ। भाग्यमा अलि बढी नै जाति र ज्ञानी केटी लेखेको छ कि क्या हो र यति खोज्दा पनि नभेटिएको! सबैलाई भनेर थाकिसकेको हुनाले अन्तिममा हामी लमीको शरणमा पर्यौँ। छोटो समयमा नै उहाँले हामीलाई केटी र परिवारको बारेमा बताउँदै भेट्न बोलाउनुभयो।
मिति २०८० साल माघ १७ गते म र मामा भएर गइयो मेरी उनीलाई भेट्न। मनमा अनेक कुरा खेलाउँदै र मिलेन भने पनि कुनै नयाँ कुरा होइन भन्दै। लमी केटीको फुपाजु हुनुहुँदो रहेछ। उहाँकै घर गएर भेटियो। हामी पुगेको केही बेरमै मेरी उनी फलफूल लिएर आइन्। मैले एक नजर उनीतिर हेरे र त्यसपछि उनले ल्याएको फलफूल खान थालेँ। केही समयपछि कुराकानी गर्ने भन्नुभयो र हामी दुवै एउटै कोठामा गएर बोल्यौँ। सरल, साधारण र मिठो बोली देखेर मनमनै हुन्छ भनेँ। त्यसपछि हामी फर्कियौँ र पछि सोध्दा बिहे हुने निश्चित भयो।
अब म सोच्न थालेँ, पहिला अनेक कुराले अरूसँग नमिलेको बिहे अहिले फेरि सजिलै मिल्यो। अहिले उमेरले पनि छेकेन, ठाउँले पनि बाधा दिएन, विदेश जान परेन, पढाइ र राम्रो बानी व्यवहारको बल्ल मूल्याङ्कन भयो। १० वर्षको उमेर अन्तर भए पनि बिहे भयो हाम्रो। मेकअप नगर्ने, साधारण, सरल र मैले खोजे जस्तै रहिछन् मेरी उनी त। पर्खाइको फल साँच्चै नै मिठो हुने रहेछ भन्ने कुरा साँच्चिकै प्रमाणित भयो।
(लेखक त्रिभुवन माध्यमिक विद्यालय बेलाटारीका जीव विज्ञान शिक्षक हुन्।)