भक्तपुर र भक्तपुर इतर मल्लकालीन प्रदेशको रूपमा रहेका थिमी, नगदेश, बोडे, टोखा, साँगा, धुलिखेल, खड्पु लगायतका मल्लकालीन नेवार बस्तीमा मनाइने विश्व प्रसिद्ध बिस्का जात्राको मादकता बिस्तारै फैलँदो छ। भक्तपुरको तमारी चोकमा भैरवनाथको तीन तल्ले रथ र भद्रकाली अजिमाको दुई तल्ले रथ निर्माण कार्य भयो। भक्तपुरबासीहरूमा बिस्का जात्राको प्रतीक्षा व्यग्र थियो।
भक्तपुरको तमारी चोकबाट सुरु हुने बिस्का जात्रालाई मुख्यतः तीन वटा जात्राहरूको सांस्कृतिक सामञ्जस्यका रूपमा पाउन सकिन्छ; भक्तपुरको मुख्य दुई देवताहरू भैरवनाथ र भद्रकाली अजिमासँग जोडिएको भैलख जात्रा, पुरानो वर्षको बिदाइ र नयाँ वर्षको स्वागतार्थ ल्योसिन्द्यो उभ्याउने र ढाल्ने जात्रा र भक्तपुर नगरलाई तान्त्रिक सुरक्षा प्रदान गरिरहेका अष्टमात्रिका, भैरव र गणेशको खत जात्राहरू।
नयाँ वर्ष सुरु हुन ठिक चार दिन अघिबाट बिस्का जात्राको शुभारम्भ हुन्छ। तमारी टोलमा रहेको रथमा काशी भैरवनाथ र बेतालको मूर्ति स्थापना गरी तान्त्रिक पूजा समाप्तिपछि रथको तानातान सुरु हुन्छ। तमारी टोल भक्तपुरको ‘थने’ (माथिल्लो टोल) र ‘क्वने’ (तल्लो टोल) लाई छुट्टाउने केन्द्र बन्न पुग्छ। थने र क्वने टोलमा रथ लैजाने प्रयास हुन्छ। तमारी चोक साहस, शक्ति र सामर्थ्यको रणमैदानमा परिणत हुन्छ। पहिलो दिनको जात्रामा भैरवको रथलाई गहिति र भद्रकालीको रथलाई खलामा तानिन्छ।
मुख्य आकर्षणको रूपमा रहेको ‘भैलख क्व बिज्याइगु’ जात्रा हेर्न जात्रालूहरू तमारी चोकमा ओर्लिन्छन्। खचाखच मानिसहरूबिच तमारी चोकमा भैलख तानातान भएको हेर्नु नै जात्राको आकर्षण हो। भैरवको वाहन बेताललाई रथमा विराजमान गर्ने काम सःमी थरका समुदायकाले गर्छन् भने उनको मुख रङ्गाउने काम धौभारी समुदायले गर्दछन्।
जात्रा सञ्चालनको निम्ति गुठी संस्थानको पूजा भक्तपुर आइपुग्छ। सरकारी तवरबाट जात्रा अवधिभर बाजागाजा बजिरहन्छ। मल्लकालीन समय जात्रामा राजा महाराजाको उपस्थिति रहेको तथ्य इतिहासबाट थाहा पाइन्छ। यद्यपि राजाको प्रतीक खड्गलाई सहर परिक्रमा गराउने प्रचलन छ।
जात्रालाई सुरु गर्नु पूर्व आज पनि मल्लकालीन राजाको उपस्थितिलाई नाटकीय ढङ्गमा प्रस्तुत गरिन्छ। गुठी संस्थानले भक्तपुर तलेजुको पुजारीलाई खड्ग प्रदान गर्दछ। त्यसपछि तलेजुबाट मूल पुजारी तमारी प्रस्थान गर्छन्। बाजागाजा सहित राजालाई छाताले ओढाएर, गुरुपूरोहित सहित सुकुन्डा र मुस्यांप्वा (चिराग) बालेर तमारी पुग्छन्। तमारीमा राजाको उपस्थिति भएको र भैरव देवता रथमा विराजमान गराउने खबर भैरवनाथ मन्दिरमा रहेका पुजारीकोमा पुर्याउँछन्। त्यसपछि तान्त्रिक विधि विधानका क्रियाहरू सम्पन्न गरिन्छ। भैरवलाई रथमा विराजमान गराउने तयारी हुन्छ।
छाता एवं सुकुन्डा सहितको लायकुमा कुरिरहेका राजगुरु र पुरोहितहरूको टोलीले भैरवनाथको रथ परिक्रमा गर्दछन्। भैरवनाथलाई रथमा विराजमान गरिन्छ। भैरवको पूजा हुन्छ। त्यसपछि खड्ग बोकेका गुठी संस्थानको प्रतिनिधि रथको आ-आफ्नो स्थानमा बस्छन्। आँचाजु, पुजारी, जोशी, भैरव गुठीका नाइके, भैरव भजनका नाइके, चार जना शिल्पकारहरू र दुई महान् लगायतको टोली रथमा बस्छन्।
जात्राको मुख्य नायक हो श्री ३ काशी विश्वनाथ आकाश भैरव। भैरवनाथको जात्रासँगै अरू जात्राहरू जोडिन्छन्। ल्योसिन्द्यो उठाउँदा गुन्जिने ‘बजि ल्हुएगु’ र रथ तान्दा सुनिने ‘हस्से हैँसे’ आवाज भारतको काशीसम्मै गुन्जिन्छ रे। कसै कसैले त ल्योसिन्द्योमा फरफराउने विश्वध्वजा हलिंपत काशी विश्वनाथ भैरवको प्रतीक भन्दछन्। भक्तपुर तमारीमा स्थापना भएको मन्दिरमा काशी विश्वनाथको टाउको र जीउ काशीमै रहेको विश्वास गर्छन्।
एक दिन काशी विश्वनाथलाई भक्तपुरमा हुने नागनागिनीको बिस्का जात्रा हेर्ने औधी रहर जाग्यो। त्यसैले उनी मानव रूप धारण गरी जात्रा हेर्न आए। काशी विश्वनाथको टाउको आम मानिसको टाउको भन्दा अग्लो भएकोले भिडभाडमा टुप्लुक्क देखिन्थ्यो। भद्रकालीको तान्त्रिकले विश्वनाथलाई पहिल्याइहाले। भद्रकाली अजिमाले पनि मेरो पति परमेश्वर यही हो भनेर भने। उनलाई तान्त्रिक विधिबाट भक्तपुरमै विराजमान गराउने मनसाय पोखे। तान्त्रिकले अब काशी विश्वनाथलाई यही बसाउने उपाय खोज्न लागे। यो कुराको सुइँको विश्वनाथले थाहा पाएर भाग्न खोजे। हतपत तान्त्रिकले उनको टुपी समाते, विश्वनाथ महाभैरवको रूपमा देखापरे। तान्त्रिकले हँसियाले टाउको काटिदिए, टाउकोबिनाको विश्वनाथ काशी कर्किए। सो टाउको तमारीको भैरवनाथ मन्दिर बनाई स्थापित गरियो। त्यस कारण काशी विश्वनाथको टाउको मात्र स्थापना भएको भैरव रूपमा प्रख्यात भयो।
जात्राको खलनायकको रूपमा देखा पर्छ बेताल अथवा वेत द्य:। भक्तपुरको जनजनमा वेत द्य: एकदम भयङ्कर डरलाग्दो, मान्छेको रगत नै खान खोज्ने, केटीलाई आफूतिर आकर्षित गर्ने, सुनसान समय दर्शन गर्न जाँदा च्यापै समातेर राख्ने, चकचके, अति उग्र र बदमासको रूपमा रूपमा चित्रित छ। त्यही भएर वेतद्यलाई घोप्टो पारिकन बाँधेर राखिन्छ। बेताललाई उभिएर माथि फर्की पूजा गर्नुपर्ने हुन्छ। बिस्का जात्राको बेला बेतालको मुखकृत कहिले हाँसेको जस्तो कहिले रिसाएको जस्तो गरी परिवर्तन भइरहन्छ भने विश्वास जनमानसमा रहिआएको छ। त्यस कारण वीर बेताल रिसाएर डरलाग्दो देखिएमा केही अप्रिय घटना हुने र जात्रामा मृत्यु समेत घटित हुने जनविश्वास कायम नै छ।
एक समय भक्तपुरमा दुस्मनले आक्रमण गर्यो। त्यो समय बिस्काजात्रा सञ्चालनमा कोही पनि मानिस देखा परेनन्। त्यो समय व्रतबन्ध नै नगरेका एक बालकले एउटा हातले भैरवनाथ र भद्रकालीको रथ तानेर भेलुखेल पुर्याए। अर्को हातले ट्याक्क ल्योसिन्द्यो अड्याई तानेर उभ्याए। ध्वजापताका फरफराए। त्यो देखेर भक्तपुरबासीहरूमा जोस जाँगर सञ्चार भयो। त्यही जोसले दुस्मनलाई भगाएर पठाए। त्यो सानो बालक वीर बेतालको रूपमा आएका रहेछ।
उहिले पाँचतल्ले मन्दिर बनाउँदा काममा सहभागीहरूलाई खाना खुवाउने चलन थियो। एउटा होचो-होचो पुड्को पुड्को मान्छे हरेक दिन खाने बेलामा टुप्लुक्क आइपुग्थे तर काम सिन्को भाँच्दैन थिए। राजाले कसैलाई पनि काममा कडाइ गरेनन् र आफ्नो स्वेच्छाले काम गर्नेहरूलाई गराइरहे। धेरैले त्यो होचो पुड्को मान्छेलाई काम नगरी भात मात्र खायो भनेर दुखेसो सुनाउँथे। सबैले उसलाई खन्चुवा भन्न लागे। राजाले केही प्रतिक्रिया दिँदैनथे। जब मन्दिरको निर्माण सम्पन्न भई गजुर राख्ने समय आयो, पाँचतल्ले मन्दिरको गजुर कसैले पनि उचालेर राख्न सकेनन्। तब कहिले काम नगर्ने त्यो पुड्को मानिसले चालीस धार्नीको गजुर पाँच तले मन्दिरको टुप्पोमा पुर्याइदिए। त्यसपछि त्यो खन्चुवा कहिल्यै पनि देखा परेनन्। आखिर त्यो मान्छे त वीर बेताल पो रहेछन्।
बिस्का जात्राको नायिकाको रूपमा देखा पर्छिन् भद्रकाली अजिमा। वैष्णवी भनिएता पनि यहाँको जनजीवनमा भद्रकाली अजिमा अथवा नकिंजू अजिमाले पुकारिन्छ। नकिंजू अजिमाको दुई तल्ले रथ बच्चाहरूले तान्ने गर्दछन्। भयङ्कर, डरलाग्दो रूप, जहिल्यै भोकाएको जस्तो देखिने ख्याउटे अनुहार, धेरै वटा हात भएकी भद्रकालीको स्वरूप पनि भैरवको जस्तै डरलाग्दो छ।
एक समय भक्तपुरमा महामारी र अनिकाल भयो। जनजीवन कठिन हुन थाल्यो। बस्ने ठाउँ नभएर भद्रकाली अजिमा माकुराको जालोमा बस्न पर्यो।चारैतिर हाहाकार फैलियो। अन्न अभावले आफैले आफ्नो आन्द्रा निकालेर खान थाले। यस्तो हाहाकारको समयमा पनि भक्तपुरको मातृका किन भक्तपुर छोडेर गइनन् भन्ने जान्न इच्छा काशी विश्वनाथ भैरवलाई जागृत भयो। काशी विश्वनाथको भक्तपुर सवारी भयो। महामारी फैलाउने दुई अजिङ्गरलाई खड्गले काटेर पुनः शान्ति स्थापना गरे। यसैको सम्झना स्वरूप भैरव भद्रकालीको जात्रा सुरु भयो। भद्रकाली अजिमाको मूर्ति नियालेर हेरेमा आफ्नो आन्द्रा आफैले निकालेर खाइरहेको देख्न सकिन्छ।
भक्तपुरको तालाक्व र ल्यसिंखेलमा दुई वटा काठको ५५ हाते ल्योसिन्द्यो ठड्याइन्छ। यसका लागि चाहिने ल्योसिन्द्यो भक्तपुरकै पूर्व भेगमा अवस्थित चित्तपोलको ल्यसिंगू जङ्गलबाट विधिवत् पूजाआजा विधि सम्पन्न गरी तानेर ल्याउने गरिन्छ। त्यसका लागि जङ्गलमा एउटा बोका छोडिन्छ। उक्त बोकाको सिङले जुन रुखमा हान्छ, त्यही रुखमा बोकाको बली दिई तान्त्रिक पूजा गरी सल्लाको रुख ढालिन्छ। सोही काठको ल्योसिन्द्यो तानेर भेलुखेल र तालाक्व पुर्याइन्छ।
बिस्का जात्राको ल्योसिन्द्योलाई मानवत्त्वकरण गरी जीवन प्रदान गर्ने काम गरिन्छ। ल्योसिन्द्योलाई भाले र पोथीमा वर्गीकरण गरिन्छ। मानिसलाई गर्नुपर्ने पास्नी, बेल विवाह, व्रतबन्ध र विवाह जस्ता कर्मकाण्ड सम्पन्न गरिन्छ। पूर्ण तान्त्रिक विधिबाट मानवत्व प्राप्त गरिसकेपछि त्यसमा आठ वटा डोरी बाँध्ने काम हुन्छ। ती आठ वटा डोरी भक्तपुरको अष्टमातृकाका प्रतीक हुन्। जब ती आठ वटा मातृकाको शक्ति एक हुन्छन् तब ल्योसिन्द्यो उभिन्छ।
नेवारी जनजिब्रोमा हलिंपत भनिने विश्वध्वजामा तान्त्रिक भावका सुन्दर चित्रहरू कोरिएका छन्।अ ष्टमंगल सूचक चिन्हहरू, झन्डा, चन्द्र सूर्य जस्ता चित्रहरू छन्। यसको किनारामा स-साना घण्टाहरू छन्।
नव वर्षको पहिलो दिन ल्यासिंखेलमा ५५ हाते ल्योसिन्द्यो ढालिसकेर भैरवनाथको रथ र भद्रकालीको रथलाई तानेर गःहिति पुर्याइन्छ। त्यसपश्चात् त्यहाँ यी दुई रथलाई जुधाएर ‘ख: ल्वाकेगु’ जात्रा सम्पन्न भएपछि टोल टोलमा रहेका देवी देवताहरूको पनि ‘खः ल्वाकेगु’(खत जुधाउने) जात्रा विधिवत् रूपमा शुभारम्भ हुने गर्दछ।
बिस्का जात्राको अर्को आकर्षण भनेको टोल टोलमा हुने खटजात्राहरू हुन्। भक्तपुरको वरिपरि अष्टमात्रिका देवताहरूको द्य:छेँहरू (देवघर) छन्। त्यसै गरी विभिन्न मुख्य गणेशहरूका पनि आ-आफ्नै गणेश द्य:छेंहरू छन्। वर्षदिन यी नै द्य:छेँहरूमा यी देवी देवताहरू विराजमान हुन्छन् भने बिस्का जात्राको दिन सबै देव देवीहरू बाहिर ल्याई खत जात्राहरू गरिन्छन्। देवी देवताहरूलाई आ-आफ्नो पीठमा लगेर विराजमान गराइन्छ।
बिस्का जात्राको छैटौँ दिन भक्तपुरको महाकाली र महालक्ष्मीको ‘ख ल्वाकेगु’ जात्रा हुन्छ। सातौँ दिन ब्रम्हायणी जात्रा हुन्छ। आठौँ दिन छुमागणेश जात्रा हुन्छ। ल्योसिन्द्यो ढालिसकेपछि बाराही अजिमाको टिप्वा जात्रा पनि धूमधामसँग मनाइन्छ। इन्द्रायणी देवीको जात्रा हुन्छ। यस प्रकार यहाँ मुख्य देवी देवताहरूको ख ल्वाकेगु जात्रा त हुन्छ नै, त्यसका अलावा भक्तपुर भरिका टोल टोलमा अवस्थित मुख्य देवी देवताहरूको खत जात्रा पनि धूमधामसँग मनाइन्छ। आ-आफ्नो इलाका क्षेत्रमा घुमाएर पूजा थाप्ने काम हुन्छ।
भक्तपुरको बिस्का जात्राको आठौँ दिन देवतालाई ‘द्य स्वगङ वियगु’ अर्थात् सगुन दिने काम हुन्छ। बिहानैदेखि बाजागाजा सहित प्रत्येक देवीदेवताहरूलाई पाटी, सत्तल र दबूमा राखिन्छ। दिनभर घुमेर थाके पनि बिस्काको रौनक भने थाकेको हुँदैन। भक्तपुरवासीहरू प्रदक्षिणाभन्दा अलि फरक मार्गमा घुमेर त्यो दिनको अन्त्य गर्छन्। अन्तिम दिन ‘द्य थाहा बिज्याइगु’ जात्रासँगै बिस्का जात्राको समापन हुन्छ।
बिस्का जात्राको पर्याय बनेको छ भक्तपुर, किनकि यो यहाँको मौलिक जात्रा हो। नववर्षको स्वागत गर्न धूमधामसँग जात्रा हुने स्थान पनि भक्तपुर नै हो।संसारभरिका मानिसहरूले उत्सुकतापूर्वक नियाल्ने जात्रा हो बिस्का। संसारका आँखाले नियालिरहने विश्व प्रसिद्ध बिस्का जात्रा सभ्य रूपमा मनाउनु हामी सबै भक्तपुरबासीहरूको साझा कर्तव्य र दायित्व पनि हो।
चाडपर्व जात्राहरू आ-आफ्नो तर्फबाट शान्त र संयमित भएर मनाउने, रथमा सम्बन्धित व्यक्तिहरू मात्र बस्ने, रथलाई पूर्वमा क्वाछें र पश्चिममा बुल्चा टोलसम्म मात्र तान्ने, रथ यात्रा समयमै समाप्त गर्ने, व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउने र जात्रालाई सौहार्दपूर्ण रूपमा मनाउन सके बिस्का जात्राको सुन्दरता थप बढ्नेछ। बिस्का जात्रालाई सुख, समृद्धि र सद्भावको जात्रा बनाउन हातेमालो आवश्यक छ। उच्छृङ्खल र अराजक गतिविधि शून्य बनाई बिस्का जात्रामा माया बाँड्न सके, खुसी बाँड्न सके, सद्भाव बाँड्न सके साँचो अर्थमा नयाँ वर्षको स्वागत हुनेछ। जात्रालाई सभ्य र संस्कृत बनाऔँ। संसारमै शान्ति छाओस्। सम्पूर्ण नेपालीहरूलाई नयाँ वर्ष २०८३ को शुभकामना।


