डोटीको बडीकेदार गाउँपालिका–३, कडगाउँ– पहाडको काखमा अडिएको, कुहिरोले बिहान ढाक्ने र साँझ परेपछि सपनाले भरिने एउटा सानो गाउँ। त्यहीँ मेरो जन्म भयो। त्यस्तो भूमिमा जहाँ आकाश जति ठुलो आकांक्षा थियो तर हातमा समातिने साधनहरू सधैँ साना थिए।
गाउँमा जीवन सरल थियो तर संघर्षले भरिएको। माटोका आँगन, पाखा–पखेरामा दौडिने बाल्यकाल र अभावसँगै हाँस्न सिकेका दिनहरू– यी नै मेरा पहिलो पाठशाला थिए। हरेक बिहानसँगै आशा उकालो चढ्थ्यो र हरेक साँझसँगै थकानले कथा सुनाउँथ्यो।
स्रोत सीमित थिए तर सपनाहरू सीमाहीन। अभाव धेरै थिए तर हिम्मत कहिल्यै सानो भएन। त्यही साधारण परिवेशभित्र, मेहनत र आत्मविश्वासको मलजलले मेरो बाल्यकाल हुर्कियो।
मनको कुनामा सधैँ एउटा आगो बलिरह्यो– केही ठुलो गर्ने, केही फरक छोड्ने, आफ्नै पहिचान बनाउने। तर त्यो बाटो सजिलो थिएन। उकालोहरू थिए, ढुङ्गा थिए, थकान थियो तर हरपल अघि बढिरहने जिद पनि सँगै थियो। किनकि मलाई थाहा थियो– सपना साना ठाउँमा जन्मिए पनि ती पूरा हुने आकाश भने सधैँ ठुलो नै हुन्छ।
मैले आफ्नो शैक्षिक यात्राको पहिलो अध्याय एसएलसी गाउँमै पूरा गरेँ। जहाँ किताबभन्दा बढी जीवनले पाठ सिकाउँथ्यो। त्यसपछि सपनालाई अझै उचाइ दिन खोज्दै म झरेँ तराईतिर। धनगढीको कैलाली बहुमुखी क्याम्पसमा, विज्ञान संकायमा प्लस–टु अध्ययन गरेँ।
तर पढाइसँगै एउटा मौन यथार्थ सधैँ छायाँझैँ पछ्याइरह्यो– आर्थिक अभाव।
कक्षाकोठामा सूत्र र सिद्धान्तहरू बुझ्दै जाँदा जीवनका प्रश्नहरू झन् जटिल बन्दै गइरहेका थिए। पढाइ सकिएपछि ‘अब के गर्ने?’ भन्ने प्रश्नले मनको ढोका बारम्बार ढक्ढक्याउन थाल्यो। भविष्य कुहिरोले ढाकिएको बाटोजस्तो लाग्थ्यो– हेर्दा त अगाडि फैलिएको तर प्रष्ट देखिँदैनथ्यो।
यही बीचमा सम्झनामा आउँथे बुवा। उहाँसँग धन–सम्पत्ति धेरै थिएन तर सपना असाध्यै धनी थियो। खै! कसरी हो, उहाँले मलाई सधैँ एउटा सेतो कोटमा देख्नुभएको थियो– एक डाक्टरको रूपमा। त्यो सपना मैले सानैदेखि सुन्दै आएको थिएँ, जस्तो कुनै गीत जुन मनमा गुञ्जिरहन्छ।
तर समय निर्दयी बन्यो।
बुवाको साथ छुटेपछि त्यो सपना पनि बिस्तारै टाढिँदै गएको आभास हुन थाल्यो। जस्तो लाग्थ्यो–हातले समाउन खोजेको उज्यालो बिस्तारै औँलाबाट फुस्किँदैछ। अब म एक्लै थिएँ– सपनाहरू थिए तर सहारा थिएन। इच्छा थियो तर बाटो अस्पष्ट थियो।
मनको कुनै कुनामा अझै एउटा आवाज बाँकी थियो– सायद सपना हराउँदैनन्, केवल केही समयका लागि ओझेलमा पर्छन्।
बुवाको निधनसँगै केवल एउटा मानिस मात्रै हराएन– मेरो जीवनको आधार र सपनाहरूको दिशा नै हराएझैँ भयो। जुन सपना कहिल्यै टुट्दैनन् जस्तो लाग्थ्यो, ती पनि बिस्तारै ओझेल पर्न थाले– जस्तो आकाशमा टल्किरहेका ताराहरू एकाएक बादलले ढाकिदिन्छन्।
दिनहरू बित्दै गए तर समय जस्तो चलिरहेको थिएन, जस्तो म नै कतै रोकिएको थिएँ। मन यति भरिन्थ्यो कहिलेकाहीँ कि त्यसमा नयाँ कुरा राख्ने ठाउँ नै बाँकी रहँदैनथ्यो। अव्यक्त पीडा, अधुरा चाहना र चुपचाप बग्ने आँसुहरूले भित्रै कतै एउटा मौन आँधी चलिरहन्थ्यो।
कहिलेकाहीँ साहस बटुलेर म ठुलो दाइसँग भन्थेँ– ‘म काठमाडौं गएर डाक्टरको तयारी गर्छु।’ यो वाक्य केवल शब्द थिएन, त्यो मेरो अन्तिम आशा थियो। अझै बाँकी रहेको सपनाको सानो उज्यालो।
तर यथार्थ कठोर थियो। त्यो चाहना व्यवहारमा बदल्ने हैसियत थिएन। ट्युसनको खर्च त टाढाको कुरा, धनगढीमै एउटा सानो कोठा भाडा तिर्न पनि कठिन थियो। त्यसपछि म फेरि चुप हुन्थेँ– आफ्नै मनलाई सम्झाउँदै, आफ्नै सपनालाई थाम्दै, भन्दै– ‘सायद जीवन यस्तै रहेछ।’
तर त्यो चुप्पीभित्र पनि सपना मरेका थिएनन्– उनीहरू केवल पर्खिरहेका थिए। कुनै दिन फेरि उज्यालो भेटिने आशामा।
दुःखका पहाडहरू जति उचाइमा उभिए पनि, मेरो भित्रको पढ्ने रहर भने कहिल्यै थाकेन, कहिल्यै मरेन। त्यो रहर, जस्तो निभ्न नमान्ने दियो– हावाले हल्लायो, तर निभाउन सकेन। म अझै पनि अवसरको खोजीमै थिएँ– जस्तो कुनै यात्रु, जो अँध्यारो बाटोमा पनि उज्यालोको संकेत खोजिरहन्छ।
कहिलेकाहीँ म आफ्ना पुराना शिक्षकहरूलाई भेट्न जान्थेँ। ती शिक्षकहरू जसले कक्षा १० सम्म मलाई केवल पाठ्यपुस्तक होइन, जीवन बुझ्ने आँखा दिएका थिए। उहाँहरूसँग बसेर म सल्लाह लिन्थेँ, आफ्नो अन्योल बाँड्थेँ। र जीवनको यथार्थ बुझ्ने प्रयास गर्थें।
त्यही समय देश चुनावी रङले रंगिएको थियो। गाउँ–शहर सबै ठाउँमा नाराहरू, भाषणहरू र आश्वासनहरूको भेल बगिरहेको थियो। त्यही माहोलबीच, मलाई नेपाली पढाउनुभएका गुरु ईश्वरदत्त शर्माले एउटा सानो तर अर्थपूर्ण कुरा सुनाउनुभयो।
उहाँले भन्नुभयो– ‘चुनावको समयमा आएका नेताहरूको झोला बोक्ने, सहयोग गर्ने काम गर्यौ भने तिमीलाई काठमाडौंका होटलहरूमा काम मिलाइदिन्छन्। त्यहीँ काम गर्दै पढाइ अघि बढाउन सक्छौ।’
त्यो वाक्य मेरो लागि केवल सुझाव थिएन– अँध्यारो सुरुङको अन्त्यमा देखिएको पहिलो उज्यालो थियो। जस्तो लाग्यो– अब सम्भवतः मेरो यात्रा रोकिएको छैन, केवल नयाँ बाटो खोजिरहेको थियो।
त्यो क्षणमा, आशा फेरि मनमा पलायो– सानो थियो तर बलियो लाग्यो। त्यसपछि मैले निर्णय गरेँ– अब पर्खेर होइन, हिँडेर बाटो बनाउनुपर्छ। गुरुले देखाइदिनुभएको सानो उज्यालोलाई समातेर म काठमाडौं जाने साहसिक निर्णयमा पुगेँ।
गाउँमा आउने नेताहरूको पछि लागेँ, उहाँहरूको झोला बोकेँ, काममा सघाएँ। आशाका स–साना टुक्राहरूलाई मुटुभित्र सजाउँदै।
हरेकले भन्थे– ‘कामको कुरा गर्छु।’ तर समय बित्दै जाँदा ती वाचा हावाजस्तै हलुका सावित भए– आए, छुए, अनि हराए। त्यसरी एकपछि अर्को ढोका बन्द हुँदै गयो। म फेरि उही पुरानै अन्योलको मोडमा उभिएँ। तर यसपटक हार मान्ने मन थिएन।
अन्ततः मैले गाउँकै एक नेता भैरव साउद समक्ष आफ्नो कुरा राखेँ– मनको सबै पीडा, आशा र संघर्ष सँगालेर।
उहाँले मेरो पीडा भरिएको कथा सुन्नुभयो। र पहिलोपटक कसैले शब्दभन्दा बढी कर्म देखाउनुभयो। एकजनालाई फोन गरिदिनुभयो– त्यो फोन केवल सम्पर्क थिएन, मेरो लागि सम्भावनाको ढोका खुल्ने आवाज थियो।
काठमाडौं जाने बाटो अब प्रष्ट भयो। त्यो खबर लिएर म घर फर्कें– मुटुमा खुसीको उज्यालो बोकेर, आफ्ना मानिसहरूलाई सुनाएँ– जस्तो कुनै लामो अँध्यारोपछि पहिलो घाम देखिएको अनुभूति।
जाने दिन घरको आँगनमा एक किसिमको मौन उत्सव थियो– न त ठुलो हर्ष, न त पूर्ण विदाइको आँसु तर दुवै मिसिएको एक गहिरो अनुभूति। हातमा चार हजार रुपैयाँ थमाइयो– त्यो केवल पैसा थिएन, त्यो घर/परिवारको विश्वास थियो। आमाको माया र सपनालाई थाम्ने अन्तिम सहारा।
ठुलो बस चढ्दा म केवल यात्रा गर्दै थिइनँ– म आफ्नै भविष्यतर्फ अघि बढ्दै थिएँ। हजारौँ सपनाहरू मुटुभित्र सँगालेर। पहाडहरू पछाडि छुट्दै गए। अगाडि फैलिँदै गयो– अपरिचित शहर, जसले मलाई के दिन्छ भन्ने अझै अनिश्चित थियो।
काठमाडौँको नयाँ बसपार्कमा ओर्लिएपछि सहरको भीड, आवाज र हतारले मलाई एकछिन त अल्मल्यायो। त्यहीँबाट मैले हर्क साउँदलाई फोन गरेँ। उहाँले मलाई रत्नपार्क आउन भन्नुभयो।
म सोध्दै–सोध्दै, अनगिन्ती नजरहरूको बीचबाट बाटो खोज्दै, अन्ततः रत्नपार्क पुगेँ।
उहाँ मलाई लिन आउनुभयो– त्यो क्षणमा, त्यो अपरिचित शहरमा उहाँ नै मेरो चिनजानको एउटा मात्र अनुहार हुनुहुन्थ्यो। उहाँले मलाई बागबजारस्थित आफ्नो क्याफेमा लैजानुभयो। त्यो सानो क्याफे, जहाँ मैले पहिलो रात बिताएँ– काम गर्नेहरू बस्ने कोठामा, अपरिचित तर आशाले भरिएको एक नयाँ थालनी।
जसको भरोसामा म काठमाडौं आएको थिएँ, उहाँप्रति म आज पनि हृदयको गहिराइबाट नमन गर्न चाहन्छु किनकि कहिलेकाहीँ सानो सहाराले नै जीवनको दिशा बदलिदिन्छ।
भोलिपल्ट, कामको खोजीमा फेरि पाइला चालेँ। फोन गरेर बोलाइएको ठाउँ– कोटेश्वरको एउटा होटल। त्यहाँ मालिकसँग भेट भयो, कुरा पनि भयो तर शब्दहरू आश्वासनमै सीमित रहे। वास्तविकता फेरि खाली हात फर्कियो।
फेरि मैले बुझेँ– यो शहर सजिलै केही दिँदैन।
फेरि म क्याफेमै फर्किएँ जहाँ कम्तीमा भोक मेटिने र बस्ने ठाउँ थियो। त्यहीँ काम गर्न थालेँ। सानो–सानो काम तर ठुलो उद्देश्य बोकेर।
यसरी दिनहरू महिना बने, महिना एउटा यात्रामा बदलिँदै गए– जहाँ संघर्ष नै साथी थियो र आशा अझै जिउँदो।
सानै उमेरदेखि जीवनले मलाई किताबभन्दा गहिरा पाठहरू सिकाइसकेको थियो– ती पाठ, जसलाई शब्दमा लेख्न सकिँदैन तर मनमा गहिरिएर बस्छन्।
गाउँको त्यो साधारण परिवेश, जहाँ अभाव पनि सामान्य थियो र संघर्ष पनि, बाबाको अभाव, आमाको अथक मेहनत– यी सबै मिलेर मेरो जीवनका अमूल्य गुरु बने। आमाका हातका रेखाहरूमा म मेहनतको कथा पढ्थेँ र बाबाको अनुपस्थितिमा, म मौनताको अर्थ बुझ्थेँ।
बुवा बितेको दुई वर्ष भइसकेको थियो तर उहाँको अभाव समयसँगै घटेन, झन् गहिरिँदै गयो। घरको आर्थिक अवस्था कमजोर थियो, आम्दानीको कुनै निश्चित स्रोत थिएन। जीवन चलाउनु नै एउटा चुनौती थियो।
हामी दाजुभाइ थियौँ तर त्यो सम्बन्ध केवल रगतको मात्र थिएन। त्यो साझा जिम्मेवारीको थियो। हरेकले आ–आफ्नो भागको बोझ बोकेका थियौँ। तर कसैले पनि थकान व्यक्त गर्न सक्दैनथ्यो।
बाबुको अभावले हरेक क्षणमा एउटा खालीपन छोड्थ्यो– जस्तो कुनै गीतमा एक मुख्य स्वर हराएको होस्। कहिलेकाहीँ लाग्थ्यो– ‘बाबु भएको भए, सायद जीवन अलि सजिलो हुन्थ्यो!’
तर त्यो सोचसँगै अर्को सत्य पनि उठ्थ्यो– यही अभावले मलाई बलियो बनाइरहेको थियो। किनकि यही पीडाले मलाई आफ्नै सपना चिन्न सिकायो, आफ्नै बाटो खोज्न सिकायो। र ती सबैबीच बुवाले कहिल्यै नभुलिने एउटा वाक्य आज पनि मेरो मनमा गुञ्जिरहन्छ– जस्तो कुनै अमर धुनः ‘तँलाई जग्गा बेचेर भए पनि पढाउँछु, तर तैले पढ्नुपर्छ।’
त्यो वाक्य केवल प्रेरणा होइन, मेरो जीवनको आधार बन्यो– एक वाचा, जसलाई अब मैले पूरा गर्नुपर्छ।
सुरुमा मेरो सपना स्पष्ट थियो– सेतो कोट लगाएर बिरामीको पीडा कम गर्ने एक डाक्टर बन्ने। तर जीवनले सधैँ सपनाको सीधा बाटो देखाउँदैन। कहिलेकाहीँ घुमाउरो बाटो हुँदै अझ फराकिलो गन्तव्यतर्फ डोर्याउँछ।
त्यही घुम्तीमध्ये एकदिन, कफी पसलको सानो संसारभित्र मेरो भेट एक सरल र सहयोगी व्यक्ति सविन एकतारेसँग भयो। सविनको बोलीमा सहजता थियो र व्यवहारमा आत्मीयता।
उहाँकै सल्लाहले मैले पहिलोपटक ‘बायोमेडिकल इन्जिनियरिङ’ भन्ने शब्द सुनेँ। सुरुमा त्यो शब्द अपरिचित थियो। जस्तो कुनै नयाँ भाषा, जसको अर्थ बुझ्न बाँकी थियो।
तर जब उहाँले भन्नुभयो– ‘अस्पतालका मेसिन हेर्ने काम हो।’ त्यो वाक्यले मेरो मनको कुनै गहिरो तार छोयो। त्यो क्षणमा लाग्यो– सायद यही बाटो भएर पनि म मानिसहरूको जीवनसँग जोडिन सक्छु।
मैले आफ्नो आर्थिक अवस्था खुलेर सुनाएँ। उहाँले केही सोच्नुभएन– भोलिपल्ट नै फारम ल्याइदिनुभयो। मैले त्यो फारम भरेँ, जस्तो आफ्नो भविष्यको पहिलो पाना लेख्दैछु। उहाँले आफैँ कलेजमा बुझाइदिनुभयो। त्यो सहयोग केवल कागज बुझाउने थिएन, मेरो सम्भावनामा विश्वास जनाउने थियो।
तीन दिनपछि परीक्षा भयो। जब परिणाम आयो– मेरो नाम पढ्न पाउने सूचीमा थियो। त्यो सानो खबरले मनभित्र ठुलो उज्यालो फैलायो। तर यात्रा अझै सजिलो थिएन। अब भर्ना गर्नुपर्ने थियो। भर्नाका लागि चाहिन्थ्यो ४० हजार रुपैयाँ।
घर फोन गरेँ। दाइ केही बेर मौन बस्नुभयो– त्यो मौनतामा असहायता, चिन्ता र जिम्मेवारी सबै मिसिएको थियो। उहाँले भन्नुभयो– ‘यति पैसा जुटाउन सजिलो छैन।’
तर उहाँ रोकिनुभएन। उहाँ गाउँ जानुभयो– ऋण खोज्न, मेरो सपनाका लागि।
अन्ततः ३५ हजार रुपैयाँ जुट्यो। तर समय सकिँदै थियो– र अझै पाँच हजारको कमी थियो।
त्यही बेला क्याफेका सञ्चालक, मेरा आदरणीय अंकल हर्क साउँदले बाँकी रकम सहयोग गर्नुभयो। त्यो सहयोग केवल पैसा थिएन– मेरो सपनालाई थाम्ने अर्को हात थियो। त्यसरी संघर्ष, सहयोग र विश्वासको संगमबाट मेरो बायोमेडिकल इन्जिनियरिङको यात्रा सुरु भयो।
डाक्टर बन्ने सपना बाटो बदलिएको थियो। तर उद्देश्य अझै उही थियो– मानिसको जीवनसँग जोडिने र केही अर्थपूर्ण गर्ने।
पढाइ सजिलो थिएन– त्यो केवल किताबको कुरा थिएन, जीवनकै परीक्षा थियो। फारम भर्ने दिनको अनिश्चय, प्रवेश परीक्षाको तनाव, शुल्क जुटाउने जद्दोजहद र घरपरिवारसँग गरेका ती कठिन संवादहरू। सबै सम्झँदा आज पनि मन भारी हुन्छ, जस्तो कुनै अविश्वसनीय यात्रा फेरि आँखामा खेलिरहेको हो।
तर अँध्यारोमा पनि उज्यालो थिए– क्याफेका सञ्चालक, आफन्तहरूको आर्थिक सहयोग र सविन एकतारे सरको निरन्तर मार्गदर्शन। यी सबैले मेरो सपनालाई थामेर अघि बढाइदिए। त्यो सहयोग केवल पैसा वा समय थिएन। त्यो विश्वास थियो। मेरो सम्भावनामा विश्वास।
त्यसपछि मैले काम गर्दै पढ्ने जीवनको बाटो रोजेँ। कोठा खोजेँ, सानो कोठामा बस्न थालेँ।
बिहान चार बजे उठ्ने बानीले दिनको सुरुवात हुन्थ्यो। चाना भुटेर झोलामा हाल्न थाल्थेँ। दिनभरि त्यो सानो थोरैले गुजारा चल्थ्यो।
बिहान आरआर कलेजमा पोलिटिकल साइन्स पढ्थेँ, दिउँसो टेकुमा बायोमेडिकल इन्जिनियरिङको ज्ञानमा डुब्थेँ।
जीवन एक धैर्यको पाठशाला थियो– सडकमा राखिएका बेन्चमा बसेर खाना खानु, आफ्नो लाज र डरलाई सामना गर्नु, तर बिस्तारै ती डरहरू हराए।
त्यसरी दुई वर्ष बिते– सपनाको आगो, संघर्षको धुलो र विश्वासको उज्यालोले मिश्रित। यति समयभित्र म मात्र बडिनँ, मेरो हरेक पाइला मेरो आत्मविश्वासले भरियो। सपनाले मलाई यो सहरको कठिन बाटोमा पनि अडिग र धैर्यवान बनाइदियो।
बायोमेडिकल इन्जिनियरिङ मेरो लागि सजिलो थिएन किनभने मेरो पृष्ठभूमि नेपाली माध्यमको थियो। तर मनको दृढताले हार मान्न दिएन। दिन–रातको मेहनत, पढाइमा ध्यान र आत्मसंघर्षले म नियमित पास भएँ। अन्ततः मेरो ब्याचमा दोस्रो स्थान हासिल गरेँ। त्यो सफलता केवल अंकको मात्रै थिएन, यो मेरो आत्मविश्वासको पहिलो ठुलो प्रमाण थियो।
इन्टर्नसिप सकेपछि मेरो बाटो फेरि नयाँ मोडमा आयो। सुरेश श्रेष्ठ सरलाई भेटेँ– उहाँको मार्गदर्शनले मेरो करियरलाई स्पष्ट दिशा दियो।
त्यसै क्रममा मैले थाहा पाएँ कि निक साइमन्स इन्स्टिच्युटबाट जागिरको अवसर खुल्नेछ। तर त्यसको सर्त थियो– दुर्गम स्थानमा काम गर्नुपर्ने।
मैले हिम्मत जुटाएँ र आवेदन दिएँ। अन्तर्वार्तामा पास भएपछि मेरो गन्तव्य बाजुरा जिल्ला अस्पताल तय भयो।
निक साइमन्स इन्स्टिच्युटले सबै व्यवस्थापन गरिदियो– पहिलो पटक प्लेन चढ्दा डर र उत्सुकता दुवै एउटै मुटुमा सँगै बगे।
सुरेश श्रेष्ठ सर र सागर सिंह सरको अभिभावकत्वमा मैले दुर्गम मानिने ठाउँमा कर्मको यात्रामा पाइला राखेँ। यात्रा सजिलो थिएन तर चुनौतीले मेरो क्षमतामा विश्वास थप्यो। अनुभवले मलाई केवल पेसागत मात्र नभई जीवनका पाठहरू पनि सिकायो।
त्यसरी दुई वर्षसम्म बाजुरा अस्पतालमा काम गर्दा मेरो आँखामा सेवा र जिम्मेवारीको नयाँ अर्थ आयो। उहाँहरूको सहयोग, मार्गदर्शन र विश्वासले मेरो पेसागत यात्रा उज्यालो र दृढ बनायो। त्यो समय केवल कामको थिएन, मेरो सपनालाई आकार दिने, मेरो व्यक्तित्वलाई परिभाषित गर्ने अध्याय थियो।
मनमा पढ्ने आगो अझै निभेको थिएन। त्यसै जिज्ञासाले मलाई फेरि काठमाडौं फर्कायो। तर शहर फर्किएँ भनेको सजिलो थिएन– त्यतिबेला पूरा विश्वलाई थुनामा पार्ने कोरोना महामारी सुरु भइसकेको थियो।
कलेजको कक्षाकोठा खाली थिए, अध्यापन अनलाइनको पर्दामा सिमित भयो। तर यो चुनौतीले पनि मेरो इच्छा निस्तेज पार्न सकेन। त्यही समय, सशस्त्र प्रहरी बल अस्पतालमा कोभिड आईसीयूका लागि बायोमेडिकल टेक्निसियन आवश्यक पर्यो।
मैले अवसर समातेँ र नौ महिना त्यहाँ काम गरेँ। त्यो समय केवल पेसागत अनुभव थिएन– यो जीवन र मृत्युको बीचको पाठशाला जहाँ मैले सेवा, धैर्यता र जिम्मेवारीको गहिरो अर्थ सिकेँ।
पछि फेरि क्याम्पस फर्किएँ जहाँ पढाइ पुनः नियमित हुने भयो। एपिएफको करार जागिर सकिसकेको थियो तर खर्च जुटाउन र आफ्नो जीवन अगाडि बढाउन अस्पताल–अस्पताल धाएँ। निजी अस्पतालहरूमा काम पाएँ। अब मेरो दिन चार भागमा विभाजित थियो– बिहान क्याम्पस, दिउँसो–साँझ अस्पताल र राति ११ बजेसम्म काम अनि राति २–३ बजेसम्म किताबमा आँखाले झिम्क। बिहान ६ बजे फेरि क्याम्पस।
यसरी चार वर्ष बिते। चार वर्ष जहाँ धैर्यता, संघर्ष र लगनले मेरा दिन–रात बुने। तर मेहनत व्यर्थ गएन।
पढाइ नियमित तरिकाले पूरा भयो। इन्जिनियरिङको डिग्री हासिल भयो। त्यो यात्रा केवल शिक्षा होइन– यो मेरो आत्मविश्वास, इच्छाशक्ति र संघर्षको गाथा थियो। जसले मलाई सिकायो– सपनाको मूल्य केवल इच्छामा होइन, लगन र संघर्षमा पनि हुन्छ।
कर्मको यात्रामा भेटिएका साथीहरूले मलाई बारम्बार सम्झाइदिन्थे– ‘साथी, तिमी नेपालमै रहँदै यति धेरै संघर्ष गर्दैछौ। यदि यही मेहनत कुनै समृद्ध देशमा गरेको भए तिमीले बाँकी पढाइ सजिलै पूरा गर्नेथियौ, आमालाई पनि थोरै सुख दिने अवसर पाउनेथियौ।’
सुनिरहँदा, कहिलेकाहीँ म पनि त्यो कुरामा गहिरिएर डुब्थेँ। विदेशको ढोकाहरू, अवसरहरूको चमक, उज्यालो भविष्यका बाटाहरू मनभित्र चित्रित हुन थाल्थे। जस्तो सारा संसार मेरो हातमा छ तर केवल इच्छाअनुसार पाइँदैन।
तर केही समयपछि बुझेँ– विदेश जानको लागि केवल इच्छाशक्तिले पर्याप्त छैन। त्यसका लागि ठुलो आर्थिक तयारी, समयको संयोजन र परिस्थितिको अनुकूलता आवश्यक हुन्छ। हाम्रो पारिवारिक हैसियत त्यो सबै कुरामा पुग्दैनथ्यो।
त्यो बुझेपछि मैले फेरि आफ्नो बाटो फर्काएँ– विदेशको सपना केवल कल्पना थिएन तर वर्तमान परिस्थितिमा सम्भव थिएन। मैले आफ्नो मन भित्र एउटा स्पष्ट साँचो बुनेँ– इच्छाशक्ति मात्र होइन, संगसँगै आर्थिक क्षमता र परिस्थिति पनि मिल्नु पर्छ।
र त्यस दिनदेखि मैले आफ्नो मेहनत, समय र सपना नेपालमै आकार दिन सिकेँ। जहाँ सीमित साधन भए पनि, मनको दृढता र कर्मले मार्ग बनाउँछ। अन्ततः मैले मनलाई सम्झाएँ– अब आफ्नो देशमै रहँदै, आफ्नै माटोमा उभिएर केही अर्थपूर्ण गर्नुपर्छ। यो सोचले मलाई लोक सेवा तर्फ डोर्यायो।
मैले निर्णय गरेँ– सहायक बायोमेडिकल इन्जिनियरिङ पदको लागि परीक्षा दिन। संकल्प र तयारीको साथ मैले परीक्षा दिएँ। लिखित, मौखिक सबै चरण पार गर्दै अन्ततः एक नम्बरमै सिफारिस भएँ।
त्यो क्षण मेरो जीवनको एउटा नयाँ अध्यायको सुरुवात थियो। आज म गर्वका साथ भन्छु– मैले निजामती सेवामा आफ्नो स्थान बनाइसकेको छु।
यो यात्रा केवल पेसागत सफलताको कथा मात्र होइन। जब म फर्केर हेर्छु, देख्छु– अभावले मलाई अडिग बनायो, संघर्षले आत्मविश्वास दिएर अघि बढ्न सिकायो र विश्वासले जीवनलाई अर्थ दिएको छ।
यो मेरो जीवनको कथा हो जहाँ आत्मनिर्भरता, साहस र आशा एउटै सूत्रमा बुन्निएका छन्। सपनाको मूल्य केवल मंजिलमा होइन, त्यो यात्रा त्यही संघर्ष, त्यही विश्वास र कर्ममै छ।
यसरी, मेरो कथा केवल मेरो होइन– यो त्यो हरेक युवा र साधारण मानिसको कथा हो जसले आफ्नो सीमित साधन, कठिनाइ र पीडाबाट अपरिचित उज्यालोतिर पाइला चाल्न हिम्मत गर्छ।