नेपालको कृषि प्रणालीमा वर्षभरि नै देखिने एउटा ठुलो संकट हो मलको आपूर्तिमा हुने ढिलासुस्ती र अभाव। हाम्रो देशको वार्षिक रूपमा हुने मल आवश्यकताको कुरा गर्ने हो भने औसत ७ देखि ८ लाख मेट्रिक टन हुन्छ। सरकारले मल अनुदानमार्फत ६ लाख मेट्रिक टन आवश्यकताको पूर्ति गर्ने कुरा गरे पनि व्यवहारमा भने करिब ४.५ लाख मेट्रिक टन आसपास मात्र वितरण हुन सकेको देखिन्छ।
आवश्यक अन्य मलको जोहो भने किसानले अनौपचारिक रूपमा भित्रिएका मल वा बिना मलकै खेती गर्नु पर्ने बाध्यता रहन्छ। यसरी हेर्दा सरकारको वार्षिक कृषि बजेटको ठुलो हिस्सा मल आपूर्तिमै जाने गर्दछ। यो आर्थिक वर्षमा पनि सरकारले करिब ७८ अर्बको कुल कृषि बजेटको ठुलो हिस्सा अर्थात् ३२ अर्ब मल आपूर्तिमै खर्च हुने देखिन्छ। अब प्रश्न उठ्छ, के नेपालको कृषि प्रणालीमा रासायनिक मल संकटको विकल्प केही पनि नभएको हो, या हामीले खाली आयातमा निर्भर हुनुपर्ने बाध्यताको समाधान खोज्ने बेला आएको छ?
देशको खेती योग्य जमिनको प्रति हेक्टर मल खपत हेर्ने हो भने करिब ६८ केजी प्रति हेक्टर जति देखिन्छ, जुन विश्व औसत करिब १५० केजी प्रति हेक्टरको तुलनामा धेरै नै कम हो। आवश्यकता अनुसारको मल आपूर्ति नहुनुले हाम्रो खेतीमा पर्ने असर एकातिर हुन्छ भने यो बाहेक पनि वैकल्पिक मल संकटको समाधानको खोजी नहुँदा र किसानका लागि रासायनिक मलप्रतिको परनिर्भरतालाई घटाउन नसक्दा हामीले मल संकट भोग्नु परेको छ।
सरकारले अनुदानमुखी मल व्यवस्थापनको विकल्प अब खोज्न जरुरी भएको छ। हामीले रासायनिक मललाई प्रतिस्थापित गर्न त सक्दैनौँ, तर पनि पूर्ण रूपमा परनिर्भर हुनुपर्ने बाध्यता भने हटाउन जरुरी छ। वैकल्पिक मल व्यवस्थापनका उपायहरू जस्तै एकीकृत पोषण व्यवस्थापन, जैविक मल, जैविक जीवाणु मल तथा हरित मलको प्रयोगका लागि किसानलाई तालिम प्रदान गर्ने, कृषि अनुसन्धानमा जोड दिने कार्यहरूमा थप जोड दिनुपर्ने देखिन्छ।
नेपालको अधिकतम मल खपत धान खेतीका लागि हुन्छ। राष्ट्रिय स्तरमा धान खेतीका लागि मात्र करिब दुई लाख पचास हजार मेट्रिक टन रासायनिक मलको आवश्यकता पर्ने देखिन्छ। धान खेतीको समयमा पूर्ण रूपमा रासायनिक मलको माग उच्च हुने हुँदा यसले एकातर्फ मल अभावको सम्भावना सिर्जना गर्छ भने, अर्कोतर्फ सिफारिसभन्दा कम मल प्रयोग गर्नुपर्ने बाध्यता सिर्जना गर्छ। तर किसानका लागि विकल्प पनि नभएका होइनन्।
धान खेतीभन्दा २ महिना अघि खेतमा ढैँचा खेती गरेर ४० देखि ४५ दिनको ढैँचालाई ट्याक्टर वा हलोले जोतेर माटोमै कुहाउनु सकियो भने यसले विशेष गरी नाइट्रोजनयुक्त मलको आवश्यकता ३० प्रतिशतसम्म घटाउन सक्छ। यसरी माटोमा मिसाइएको बारीमा १५ दिनसम्म पानी जमाएर धान रोप्ने हो भने यसले नाइट्रोजन स्थिरीकरण र प्राङ्गारिक पदार्थ वृद्धि मार्फत मल आवश्यकता घटाउन सहयोग गर्छ, जसले गर्दा माटोको पानी सोस्ने क्षमता बढ्छ र माटो खुकुलो हुन्छ।
यस बाहेक पनि धेरै अनुसन्धानहरूमा ७५% रासायनिक मल र २५% जैविक स्रोतको संयोजनले राम्रो तथा दिगो उत्पादन दिने देखिएको छ। साथै यसले माटोको अम्लीयपन बढ्न दिँदैन। यो सँगै धन खेतीमा प्रयोग गर्ने सकिने जैविक मल हो अजोला। अजोलाको हकमा धान रोपेको ७ देखि १० दिनपछि जब खेतमा अलिकति पानी जमेको हुन्छ, तब प्रति कट्टा करिब ३-४ केजीका दरले ताजा अजोला खेतमा छर्दा २ देखि ३ हप्तामा यसले खेतको पानीको सतहलाई पूरै हरियो कम्बलले जस्तै ढाक्छ। पछि पानी सुक्दै जाँदा वा धान गोड्ने बेलामा यसलाई माटोभित्र दबाउँदा यो कुहिएर मल बन्छ। यसको उपयोगले पनि युरिया मलको आवश्यकता उल्लेखनीय रूपमा घटाउन मद्दत गर्छ।
अजोलाले खेतको पानीको सतहलाई पूरै ढाक्ने हुनाले सूर्यको प्रकाश भुइँसम्म पुग्न पाउँदैन। यसले गर्दा धान खेतमा अनावश्यक झारपात उम्रिन पाउँदैन। जैविक मलको उपयोगिताका लागि माटो जाँच गरी आवश्यक मल आपूर्ति गर्ने हो भने पनि हाम्रो मल संकट केही हदसम्म कम हुने देखिन्छ।
धानका लागि मात्र नभएर अन्य बालीका लागि पनि थुप्रै जैविक उपायहरू अनुसन्धानरत छन्। माइकोराइजा जस्ता मित्र ढुसीले जराको पहुँच नपुगेको टाढा-टाढाको माटोबाट पनि फस्फोरस, जिंक र पानी सोसेर बिरुवालाई उपलब्ध गराउँछ, कोसेबालीमा नाइट्रोजन बढाउन राइजोबियम ब्याक्टेरिया, तथा मकै र गहुँ जस्ता गैर-कोसेबालीका लागि एजोटोब्याक्टर र एजोस्पिरिलम उपयोगी मानिन्छन्।
माटोमा कडा भएर जमेको फस्फोरस र पोटास तत्त्वलाई घुलाउन पिएसबी र केएसबी जस्ता तत्त्व पगाल्ने ब्याक्टेरियाहरू प्रयोग गर्न सकिन्छ भने माटोबाट सर्ने ढुसीजन्य रोग नियन्त्रणका लागि ट्राइकोडर्मा जस्ता मित्र ढुसी र कीरा रोक्न बिटी ब्याक्टेरियाको प्रयोग गर्न सकिन्छ। यी सबै जैविक उपायहरूलाई पाउडर वा तरल रूपमा बीउ उपचार गरेर वा माटोमा मिसाएर सजिलै प्रयोग गर्न सकिन्छ।
हामीले कुरा गरेको जैविक मल उपयोगको नीति हरेक पञ्चवर्षीय योजनादेखि कृषि नीतिमा नभेटिने होइनन्। आजको आवश्यकता केवल आपूर्ति कमीभन्दा पनि ज्ञान, विस्तार सेवा र कार्यान्वयन क्षमताको कमी जस्तो देखिन्छ। नेपालको सन्दर्भमा नीति र कार्यान्वयन बिचको खाडल यति ठुलो छ कि यो सधैँ हामीलाई प्रतिउत्पादक हुन्छ। किसानलाई जैविक मलमा अनुदान र तालिम दिने काम एकदमै आवश्यक देखिन्छ। यसको लागि सबैभन्दा बढी उपयोगी माध्यम हो निजी एग्रोभेट सँगको सहकार्य।
आज बिउबिजन, विषादीदेखि मलसम्मको सुलभ माध्यम एग्रोभेट बनेका छन्। तसर्थ सरकारी तालिम व्यवस्थापनमा जोड, जैविक मलमा अनुदान, कृषि अनुसन्धान र निजी क्षेत्रसँगको सहकार्यबाट हाम्रो मल आवश्यकता केही हदसम्म कम गर्न सकिन्छ। माटोको उर्वराशक्ति सुधार गर्दै बाली उत्पादन वृद्धि गर्न जैविक तथा पशुजन्य मलहरूको प्रयोग प्रभावकारी समाधानका रूपमा देखिन्छ। गोठेमल माटोको संरचना, पानी धारण क्षमता र समग्र माटो स्वास्थ्य सुधार गर्न उपयोगी हुन्छ, जसअनुसार धान बालीमा प्रति हेक्टर १० देखि १५ मेट्रिक टन गोठेमल प्रयोग गर्दा करिब २५ केजी नाइट्रोजन उपलब्ध भई लगभग ५५ केजी युरिया बराबरको प्रभाव दिन्छ।
त्यसै गरी, गँड्यौला मलले माटोमा पोषक तत्त्वको उपलब्धता बढाउँदै बालीको वृद्धि र उत्पादन सुधार गर्छ, जसले आवश्यक नाइट्रोजनमध्ये करिब २५ प्रतिशत आपूर्ति गरी लगभग ५६.३ केजी युरिया बराबरको योगदान दिन सक्छ। कुखुराको सुली पनि नाइट्रोजनको महत्त्वपूर्ण स्रोत हो, जसअनुसार प्रति हेक्टर करिब ५ टन प्रयोग गर्दा आवश्यक नाइट्रोजनको ठुलो हिस्सा पूरा भई लगभग २६० केजी युरिया बराबरको प्रभाव देखिन्छ। यी तीनै स्रोतहरूको समुचित प्रयोगले रासायनिक मलमा निर्भरता घटाउँदै दिगो कृषि प्रणालीतर्फ उन्मुख हुने व्यवहारिक समाधान प्रदान गर्दछ।
किसानले रासायनिक मलको लागि मात्र हारगुहार गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने सबैभन्दा प्रभावकारी उपाय भनेकै निजी क्षेत्रसँगको सहकार्य र अब अपनाउनुपर्ने वैकल्पिक माटो सुधारका उपायहरू हुन्। कृषि विश्वविद्यालयदेखि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) सम्म विद्यार्थी र अनुसन्धानकर्ताले गरेका जैविक मलका अनुसन्धान व्यवहारिक प्रयोगमा रूपान्तरण हुन नसकेको अवस्था एकातर्फ छ भने किसानले मलको आवश्यकतामा भोग्नु परेको बाध्यता अर्कोतर्फ छ। तसर्थ रासायनिक मलको पूर्ण रूपमा प्रतिस्थापन सम्भव नभए पनि जैविक उपायको अवलम्बनले केही हदसम्म हाम्रा मल संकटका समस्याहरू कम गर्न सक्दछन्।