श्यामबहादुर दाइको सबै क्षेत्रमा रुचि देखिन्छ। देशमा कुनै नयाँ विषय आउनुहुँदैन उहाँको फेसबुक स्ट्याटस आइहाल्छ। भ्याएसम्म त लाइभ वा भिडियो पोस्ट नै आउँछ। भ्याइएनछ भने स्ट्याटस मात्रै भए पनि आउँछ। उहाँको विज्ञता नझल्किएको कुनै विषय नै हुँदैन। रु
स र युक्रेन युद्धको खास र भित्री कारण के थियो? अमेरिकाले इरानमा आक्रमण गर्नु हुन्थ्यो कि हुन्न थ्यो? अमेरिकाले भारत विरुद्ध बढाएको ट्यारिफको रहस्य के हो? सुनको मूल्य बढ्नुको कारण के हो? विश्व राजनीतिको आगामी दिशा के हुन्छ? यी सबै विषयमा उहाँले समयमै स्ट्याटस पोष्टिसक्नु भयो। त्यो पनि दावाका साथ विशेष सूत्रको हवाला दिँदै। फरक नपर्ने ग्यारेन्टीका साथ। स्ट्याटसमा खासै लाइक कमेन्ट नआएपछि भिडियो नै बनाउनुभयो। जे होस उहाँले आफ्नो कर्म छोड्नु भएन।
यी त थिए देश बाहिरका कुरा। देशभित्रका कुरा त कसले के गर्नुपर्थ्यो? कसले किन त्यस्तो गर्यो? अब के हुन्छ? उहाँलाई सबै थाहा छ। फाल्गुन २१ मा कुनै पनि हालतमा चुनाव हुँदैन। भयो भने मलाई मान्छे नभन्नु शीर्षकका स्ट्याटस त उहाँले फागुन २० गतेको राति मात्रै डिलिट गर्नुभएछ। अहिले हेर्दा फेसबुकमा देखिँदैन।
फाल्गुन २१ को बिहानबाट नयाँ कन्टेन्ट आउनु सुरु भयो। निर्वाचनमा कसले कहाँ-कहाँ जित्दै छ? कसले हार्दैछ? को कहाँबाट किन उठ्यो? कयौँ लाइभमार्फत समयमै स्पष्ट पारिसक्नु भएको थियो। भविष्यवाणीको आधार के थियो उनै जानुन्। कति मिल्यो मिलेन त्यो आफ्नो ठाउँमा छ। भनेको मिलेन भन्ने कमेन्ट आइहाले वा कसैले उहाँको पूर्वानुमान उपर प्रश्न उठाए त्यसको स्पष्टीकरणको लागि थप स्ट्याटस वा भिडियो पोस्ट्याइहाल्नु हुन्छ।
यति मात्रै होइन, कुन नेता कहाँबाट परिचालित छ? अब देशमा के हुनेवाला छ? सरकार कति दिन टिक्लादेखि समाचारमा आएका सबैजसो घटनाका बारेको उहाँको विज्ञता निरन्तर झल्की नै रहन्छ। साथै बेलाबेला उहाँले भनेको सबै मिलेको दाबी समेत आइरहन्छ। यो श्यामबहादुर दाइको सामान्य दैनिकी हो।
सामाजिक सञ्जालमा साथी भएकोले म पनि श्यामबहादुर दाइको यो विज्ञताबारे अनविज्ञ छैन। कयौँ पटक त म्यासेन्जरमा आफ्ना भिडियोहरू सेन्ड गरिदिनुहुन्छ वा स्ट्याटस ट्याग र मेन्सन गरिदिनुहुन्छ नहेरी सुखै पाइँदैन।
श्यामबहादुर दाइ पेसाले शिक्षक हुनुहुन्छ। काठमाडौँको एक विद्यालयमा सामाजिक विषय पढाउनुहुन्छ। हाम्रो गृहजिल्ला एउटै भएकोले म उहाँलाई दाइ भनेर सम्बोधन गर्छु।
केही दिन अघि संयोगवश म उहाँले पढाउने स्कुलमा पुगेँ। स्कुलमा पुग्दा शिक्षक अभिभावक बैठक चलिरहेको रहेछ। काम विशेष गएको र प्रधानाध्यापकलाई भेट्नुपर्ने भएकोले एकछिन बस्नुपर्ने भयो। त्यहाँ बस्दा मैले थाहा पाएँ कि त्यो बैठक उहाँकै विषयमा बोलाइएको रहेछ। रेगुलर स्कुल नआउने, उहाँले पढाउने विषयको नतिजा खस्किँदै गइरहेको र पढाइप्रति विद्यार्थी समेत असन्तुष्ट रहेको लगायत विषयमा अभिभावकहरूको बारम्बार गुनासो आएकोले बैठक बोलाइएको रहेछ। यो कुरा त्यहाँ आएका केही अभिभावक र प्रधानाध्यापकबाट थाहा पाएँ।
बैठक सकिएपछि उहाँले राम्रो मान्छेलाई कुनै पनि ठाउँमा टिक्न गाह्रो भएको र यो पेसा नै छोड्ने संक्षिप्त सफाइसँगै अहिलेको सरकारका कमीकमजोरी, अब के गर्नुपर्ला र अमेरिका इरान वार्ता असफल हुनुका भित्री कारणहरूको रहस्योद्घाटन सहित गफगाफलाई बिट मार्नुभयो।
यी सबै कुरा सुनिसकेपछि श्यामबहादुर दाइका फेसबुक स्ट्याटसहरू झलझलती मेरो आँखामा नाच्न थाले। सबैका काम कर्तव्य अधिकार जिम्मेवारी र दायित्वबारे प्रस्ट उहाँ आफ्नो काममा यतिको कमजोर कसरी हुन सक्नुहुन्छ? सामाजिक, राजनीतिक, आर्थिक, शैक्षिक, भू-राजनीति सबै विषयको ज्ञान र विज्ञता बाँड्दा आफ्नो कर्तव्य र जिम्मेवारी बिर्सेका हामी सबैको लागि तितो सत्य पो हो कि यो?
यो एउटा प्रतिनिधिमूलक घटना मात्रै हो। हामी कयौँ श्यामबहादुर दाइहरूको यथार्थ यही छ। सामाजिक सञ्जालमा आफूलाई अब्बल देखाउन, कसैलाई उचाल्न र कसैलाई पछार्न तँछाडमछाडमा छौँ हामी। क्षणिक मनोरञ्जन र भाइरल हुन प्रभाव नै नबुझी बनाइएका सतही कन्टेन्टले समाजलाई कता डोर्याइरहेको छ? अर्कोलाई कस्तो असर गरिरहेको छ किन हेक्का राख्दैनौ हामी? कुनै पनि विषयमा प्रतिक्रिया दिन किन यति हतारमा छौँ हामी?
हामी आफ्नो बाहेक अरूको कारणले चिन्तित छौँ जसले गर्दा आफ्नो कर्तव्य धेरै पछाडि छुटिसकेको पत्तो नै छैन।
संविधानले दिएको वाक स्वतन्त्रताको उपयोग गर्दा कसैको सम्मानपूर्वक बाँच्न पाउने अधिकार हनन त भइरहेको छैन? किन विचार नगर्ने? अरूले के गर्नुपर्थ्यो भन्नेमा समय खर्चिदा आफूले के गर्न छुट्यो भन्ने कुरा पो बिर्सियो कि?
सचेत नागरिकले देशको राजनीतिक सामाजिक आर्थिक विषयमा जानकारी राख्नु, प्रतिक्रिया दिनु, विचार व्यक्त गर्नु आवश्यक छ तर त्यसको लागि सूचनाको आधिकारिक स्रोत, विषयको सत्य-तथ्य जाँच र हामीले व्यक्त गर्ने विचारले देशको सार्वभौमिकता सामाजिक सम्बन्ध र कसैको व्यक्तिगत जीवनमा पार्ने प्रभावको हेक्का राख्नु अपरिहार्य छ। हामी सबैले आ-आफ्नो कर्तव्य निर्वाह गरे अरूको कर्तव्यको चिन्ता गरिरहनै पर्दैन कि?
यति भन्दै गर्दा म पनि अलि बढी नै विज्ञ पो पल्टिएँ कि? म लागेँ आफ्नो नित्यकर्म तर्फ।