‘धनभन्दा विद्या ठुलो’ भनेर मञ्चमा उभिएर गर्वका साथ छाती फुलाउँदै ताली खाँदा हामीलाई लाग्थ्यो, अब जीवन जितियो। कक्षाकोठा भित्र लेखिएको त्यो उत्तर, प्रतियोगितामा जितेको त्यो ट्रफी र गुरुज्यूको ‘वाह, कति राम्रो तर्क!’ भन्ने वाक्य नै हाम्रो भविष्यको बिमा हो जस्तो लाग्थ्यो।
तर समय भन्ने कुरा कस्तो निर्दयी हुँदो रहेछ, जसले कुनै पाठ्यपुस्तक नखोली सिधै जीवनको परीक्षा लिन्छ। र त्यहाँ न त १० अंकको प्रश्न हुन्छ, न त ‘तर्क सहित उत्तर दिनुहोस्’ भन्ने निर्देशन। त्यहाँ त सिधै सोधिन्छ, ‘कमायौ कि कमाएनौ?’
२० वर्ष बितिसकेछ। अहिले एसइई भने जस्तो हाम्रो पालाको एसएलसी भन्ने शब्द नै इतिहास जस्तो लाग्ने भइसकेछ। समय फेरियो, पाठ्यक्रम फेरियो, नाम फेरियो। तर प्रश्न भने उही छ, ‘धन ठुलो कि विद्या?’ हामीले सिकेको पाठ समयले फेल गरिदियो तर पाठ्यपुस्तकले अझै पास गरिरहेको छ।
हामीले बुझेका थियौँ, विद्या भए सबै हुन्छ। पैसा त आफै आउँछ। पैसा भनेको त साइड इफेक्ट हो। मुख्य औषधि विद्या हो। तर जब जीवनको अस्पतालमा भर्ना भयौँ, त्यहाँ डाक्टरले भन्यो, ‘पहिला बिल तिर्नुस्’। अनि बल्ल थाहा भयो, यहाँ विद्याले होइन, पैसाले नै उपचार हुन्छ।
हामीलाई यति राम्रोसँग ‘धनलाई बेवास्ता गर’ भनेर प्रशिक्षित गरियो कि पछि जीवनमा धन कमाउने कुरा आउँदा हामी अलमल्ल पर्यौँ। हामीलाई सानैदेखि एउटा कथा घोटाइयो, विद्या भए सबै हुन्छ, धन त आफैँ आउँछ। तर कसैले कहिल्यै सिकाएन, धन कसरी आउँछ? विद्या प्रयोग गरेर धन कसरी सिर्जना गर्ने ?
हामीले विद्यालाई यति महिमा मण्डित गर्यौं कि पैसा कमाउनु नै अपराध हो जस्तो भावना मनमा गाडियो। यस्तो संस्कार बोकेर जब वास्तविक संसारमा निस्कियौँ, त्यहाँ सबैले पैसा कमाइरहेका थिए। र हामी भने अझै पनि तर्क गर्दै थियौँ, ‘धनभन्दा विद्या ठुलो’। हामीले धनलाई सानो देखाउन सिक्यौँ तर जीवनभर धनकै पछि दौड्यौँ। हामीले मञ्चमा उभिएर धनलाई आलोचना गर्यौँ तर विदेश पुगेर घण्टाको डलर गन्न थाल्यौँ।
हामीले बहस गर्यौं, ‘धन कि विद्या?’ तर जीवनले बहस नै गरेन, सिधै रिजल्ट निकालिदियो, ‘दुवै चाहिन्छ।’ तर यो कुरा स्कुलले किन सिकाएन? किन हामीलाई त्यो उमेरमै सानो व्यापार, सानो उत्पादन, सानो आम्दानीको अनुभव दिइएन? किन हामीलाई कहिल्यै भनिएन, ‘जाऊ, आज १० रुपैयाँ कमाएर ल्याऊ’? बरु भनियो, ‘जाऊ, १० नम्बरको उत्तर लेख’।
हामीले १० नम्बरको उत्तर त लेख्यौँ तर जीवनले १० रुपैयाँ माग्दा हात खाली भयो। अनि सुरु भयो विदेश यात्रा। किनकि त्यहाँ पैसा कमाउने सिस्टम छ। त्यहाँ पैसा कमाउनु पाप होइन, स्किल हो। त्यहाँ बच्चाले जुस बेच्दा कसैले भन्दैन, ‘यो बच्चा लोभी भयो’। बरु भन्छन्, ‘यो बच्चा स्मार्ट भयो’।
हाम्रोमा यदि स्कुलको बच्चाले कापी बेच्यो भने, ‘पढ्न छोडेर व्यापार गर्न लाग्यो’ भनेर गाली आउँछ। त्यहाँ भने, ‘बिजनेस माइन्ड डेभलप भयो’ भनेर ताली आउँछ। त्यहाँका बच्चाहरूलाई कसैले सिकाउँदैन, धन खराब हो। उनीहरूलाई सिकाइन्छ, धन कसरी कमाउने, कसरी बचत गर्ने, कसरी लगानी गर्ने। उनीहरू सानैदेखि सिक्छन्; तिमीले केही बनायौ, केही बेच्यौ भने त्यसको मूल्य हुन्छ।
धन कमाउनु भनेको केवल पैसा जम्मा गर्नु होइन, त्यो एउटा सोच हो। मूल्य सिर्जना गर्ने सोच। जब तिमीले कसैको समस्या समाधान गर्छौ तब तिमीले मूल्य दिन्छौ। र त्यसको बदलामा धन आउँछ। तर हामीलाई समस्या समाधान गर्ने होइन, प्रश्नको उत्तर कण्ठ गर्न सिकाइयो।
हामीले विद्यालाई डिग्रीसँग जोड्यौँ। उनीहरूले विद्यालाई प्रयोगसँग जोड्छन्। हामीले पढ्यौँ, पढ्नको लागि। उनीहरूले पढे, कमाउनको लागि। हामीले डिग्री जोड्यौँ, उनीहरूले नेटवर्क जोड्छन्। हामीले प्रमाणपत्र फ्रेममा राख्यौँ, उनीहरूले स्किल बजारमा बेच्न सिके।
हामीले धनलाई सानो देखायौँ तर धनी बन्ने सपना कहिल्यै छोडेनौँ। हामीले धनलाई आलोचना गर्यौँ तर धन भएको मान्छेलाई सम्मान गर्न छोडेनौँ। हामीले शब्दमा एउटा कुरा भन्यौँ, व्यवहारमा अर्कै गर्यौँ। यही दोहोरोपनले हामीलाई अल्झायो।
अनि परिणाम? हामी स्कुलमा प्रथम भयौँ, जीवनमा रोजगार खोज्यौँ। उनीहरू स्कुलमा सामान्य भए, जीवनमा अवसर सिर्जना गरे। हामीले ‘धन केही होइन’ भनेर सिक्यौँ। उनीहरूले ‘धन कसरी बनाउने’ भनेर सिके। आज हामी उनीहरूको कम्पनीमा काम गरिरहेका छौँ, उनीहरू हाम्रो श्रमबाट नाफा कमाइरहेका रहेछन्।
हामीले कहिल्यै सिकेनौँ, पैसा कसरी आउँछ? पैसा किन महत्त्वपूर्ण छ? पैसा कमाउन कति मेहनत र विद्या चाहिन्छ? हामीलाई केवल सिकाइयो, ‘धनभन्दा विद्या ठुलो’। तर कसैले सोधेन, ‘विद्याले पैसा कमाउन सक्छ कि सक्दैन’?
यदि विद्याले पैसा कमाउन सक्दैन भने त्यो विद्याको के काम? अनि यदि पैसा कमाउन विद्या चाहिन्छ भने किन ती दुईलाई एक अर्काको प्रतिस्पर्धी बनाइयो? किन सहयोगी बनाइएन? हामीले सिक्नुपर्ने थियो, नैतिक तरिकाले पैसा कसरी कमाउने? उत्पादन कसरी गर्ने? बजार कसरी बुझ्ने? ग्राहक कसरी आकर्षित गर्ने? जोखिम कसरी लिने? असफलता कसरी सहने? तर हामीले के सिक्यौँ, ‘तर्क कसरी गर्ने?’
अनि आज हामी तर्क गर्दैछौँ, किन देश गरिब भयो? किन बेरोजगारी बढ्यो? किन युवाहरू बिदेसिए? उत्तर त्यहीँ छ, किनकि हामीले बच्चालाई कमाउन सिकाएनौँ, केवल सोच्न सिकायौँ। देश धनी तब हुन्छ जब नागरिक धनी हुन्छन्। नागरिक धनी तब हुन्छ जब उनीहरू पैसा कमाउन सक्षम हुन्छन्। पैसा कमाउन सक्षम तब हुन्छन् जब उनीहरूले सानो उमेरदेखि नै त्यसको अभ्यास गरेका हुन्छन्।
तर हामीले के गर्यौं? बच्चालाई भन्यौँ, ‘पहिला पढ, पछि कमाऊ’। अनि त्यो ‘पछि’ कहिल्यै आएन। किनकि जब कमाउने समय आयो, उनीहरू तयार थिएनन्। त्यसैले अब समय आएको छ, त्यो पुरानो बहसलाई संग्रहालयमा राख्ने। ‘धनभन्दा विद्या ठुलो’ भन्ने वाक्यलाई फ्रेम गरेर भित्तामा झुन्ड्याउने र नयाँ पाठ सुरु गर्ने, ‘विद्या प्रयोग गरेर धन कसरी कमाउने’।
देश धनी बन्ने सपना ठुला नेताले देखेर मात्र हुँदैन, त्यो सपना स्कुलको पहिलो कक्षामा भर्ना भएको बच्चाले देख्नुपर्छ। त्यो बच्चाले बुझ्नुपर्छ, म केही गर्न सक्छु, म केही बनाउन सक्छु, म कमाउन सक्छु। जब त्यो आत्मविश्वास आउँछ, तब मात्र समाज बदलिन्छ।
अन्ततः साँचो कुरा के हो भने, धन र विद्या दुवै ठुला होइनन्। दुवै आवश्यक छन्। तर जबसम्म त्यो सन्तुलन सिकाइँदैन तबसम्म हामी बहस जित्नेछौँ तर जीवन हार्नेछौँ। अब प्रश्न यो होइन कि धन ठुलो कि विद्या ठुलो? अब प्रश्न यो हो, हामीले बच्चालाई के सिकाउँदै छौँ? तर्क कि वास्तविकता? शब्द कि सीप? उत्तर कि आम्दानी?