एक मुगाली छोट्या काठमाडौं-मुगु 'रारा' ? कतिलाई उल्टो लाग्ला। थोरै पृष्ठभूमि बताएँ भने मात्र यात्रा सुल्टो होला।
मेरो मातृभूमि मुगु जिल्लाको खत्याड-६ (साविक गम्था -३) लाम्रु हो। जुन राराको जिल्ला 'मुगु', राराको पानीखोलो 'खत्याड' र त्यो सानो सुन्दर 'लाम्रु' गाउँ।
एक मुगाली छोट्या 'म'। उबेला गाउँल्याले बोलाउने नाउ 'रूप्या'। 'बा' को २०५० सालमा स्वर्ग वास भयो, जब म ४ वर्षको थिएँ। ०५९/६० तिर राज्य र माओवादी बिचको द्वन्द्वले उग्र रूप लियो। मान्छे मार्नु चल्लो मारेझैं थियो। केही आसेपासेले जियाको मेहेनत र प्रतिष्ठा हेर्न सकेनन्, देख्न सकेनन् र नाम माओवादीको। षड्यन्त्रले 'जिया' को ज्यान जोखिम निश्चित भयो। हामी आमालाई 'जिया' भन्छौँ। जियाको कयौँ दिन जंगलको बासपछि जुम्ला पुग्नुभएछ, अपुष्ट खबर पाइयो। ती क्षणहरू ताजै छन्। जिन्दगीको कथाको बेग्लै महाकाव्य बन्छ, अहिलेलाई छोट्याएँ।
त्यसपछि म पनि भूमिगत जीवनमा होमिएँ सुरूमा बाध्यताले र पछि रहरले। समयले एक योद्धा बनायो, सुरूमा मादल बोकायो, पछि हतियार। म आलोकाँचो थिएँ। २०५९ माघमा दोस्रो युद्धविराम सुरू भयो। २०६० जेठतिर हामी जुम्ला गयौँ।
भेरी-कर्णाली बृहत् आमसभा सहभागी र प्रस्तुती सँगै जियासँग भेट भयो। लगत्तै, युद्धविराम भंग भयो तर मलाई जियाले फर्किन दिने कुरै भएन। म जुम्लामै बसेँ र पढाइलाई पुन: सुरू गरें। यो मेरो जिन्दगीको 'यु-टर्न' हो। त्यसैले मेरो भगवान 'जिया' र "माइती घर" जुम्ला भयो। 'माइती घर' नारीको लागि मात्र नभई त्यो स्थान हो जहाँ हामी आफ्ना सबै मुखौटा फुकालेर बस्न सक्छौं, जहाँ सुरक्षा र प्रेमको आश्रयस्थल बन्छ र बाल्यकालका सुनौला दिनहरू बितेका हुन्छन्। एकपटक नागरिकता बनाउन जुम्लाबाट गमगढी गएको बाहेक फेरि मुगु फर्किने समय जुरेन। त्यो बेला पनि राराको बाटो परेन र उख्खुमै चाहना भए पनि समय र योजना आफ्नो थिएन। त्यसैले 'रारा' बिलकुल नयाँ छ आजसम्म मेरा लागि। पढेँ, लेखें, जागिर पनि खाएँ। जियाको सपना पूरा गरें। उमेर भयो, मेरो र सृजनाको प्रेम पछिको मागी विवाह भयो। जसलाई म मायाले 'सृजु' सम्बोधन गर्छु।

बासी हनिमुन-नयाँ रारा:
विवाहको वर्ष पश्चात हनिमुनको बहानामा रारा घुम्न जाने योजना बन्यो। यतिबेला हाम्रो यात्रा काठमाडौँबाट हुने भयो। अर्को पुरानो जोडी थिए मेरो साथी अशोक तर राराको लागि नयाँ।
उनीहरू जुम्लाबाट जोडिने पक्का भयो। हाम्रो बिल्कुल नयाँ यात्रा हुनेवाला थियो। हामी खुब उत्साहित थियौं। लगत्तै रारा यात्राको श्रीगणेश भयो। यात्रा माध्यम एयरप्लेनमा काठमाडौं- नेपालगञ्ज। साथी दम्पतीसँगै जानलाई जुम्ला हुँदै जाने गरी।

केही छिनपछि प्लेनमा...
'आजको रारा विश्वकै आठौं अचम्मको रूपमा परिचित छ, थाहा छ तपाईंलाई?' सृजुले बताइन्।
म भने कौतुहलतामा पुग्ने सोचमा थिएँ, शान्त थिएँ। 'पछिल्लो आँकडा अनुसार, वार्षिक २० लाख पर्यटकहरू रारा आउँछन्। अनि त्यसको आर्थिक योगदान नेपालको कुल गार्हस्थ उत्पादनको १.५ प्रतिशत हो। उनले भट्ट्याउन छोडिनन्। मैले टाउको हल्लाएँ।
यत्तिकैमा, हामी नेपालगंजको नवनिर्मित पोड-वे स्टेशनमा पुग्यौं। यहाँ ढिला नगरिकन हिँड्न चाहन्थ्यौं। किनकी हामीलाई रारामा घुम्ने समय व्यवस्थापन गर्नुपर्ने थियो र सबै पर्यटकीय अवलोकन र क्रियाकलापको अवसर छोटो समयमै सक्नुपर्ने थियो। नेपालगञ्ज-सुर्खेत-जुम्ला सिधा यात्रा ५० मिनेट र जुम्ला-मुगु २० मिनेटको भएता पनि हाम्रो रूट भने फरक र पर्यटकीय थियो। हाम्रो यात्रा डेढ घन्टा जुम्लासम्म र पौने घण्टा मुगु सम्मको रहने जानकारी भयो। हामी हाम्रो स्मार्ट सुटकेसहरू लिएर स्टेसनभित्र छिर्यौं। 'सृजु' को सुटकेसमा रियलटाइम होलोग्राफिक डिस्प्ले थियो जसले गन्तव्यको वास्तविक समयको दृश्य देखाउँथ्यो।
'हेर, रारा अहिले कस्तो देखिन्छ!' फेरि मलाइ कोट्ट्याउन थालिन्।
मैले फेरि पनि वास्ता गरिनँ।
यात्रा र दृश्यावलोकन
आरामदायी सिट अनि पारदर्शी झ्यालबाट पश्चिम नेपालको अविश्वसनीय भू-दृश्यको अवलोकन सुरू भयो। हाम्रो गति कम्ती थियो, अनि रूट पनि फरक। यो 'पर्यटकीय ट्राभल्स् नम्स रहेछ' दृश्यावलोकनको लागि।
हाम्रो रूट नेपालगञ्ज-सुर्खेत दैलेख- कालिकोट-जुम्ला-मुगु थियो। सुर्खेतको गुँरासेको पर्यटकीय विकास, दैलेखको पेट्रोल खानी र प्रशोधन केन्द्र, पञ्चकोशी तीर्थधामहरू, महाबू धाम, दुल्लु लगायतको पर्यटकीय विकास, माथिबाट हेर्दा पर्यटकहरूको लर्को आदि आदि।
हामी तुरून्त ओर्लिन सकिने भएता पनि केही पर्यटकीय नियमानुसार मिल्दैन थियो। कुनै एक स्थान कम्तीमा दुईदेखि ३ दिनको पूर्ण प्याकेज हुने रहेछन्। यी सबै स्मार्ट डिस्प्लेमा हेर्दै अगाडि बढ्दै थियौं। योसँगै हाम्रो रूट महाबुबाट सिधा जुम्ला नलागी पश्चिम मोडियो।
अछाम पञ्चदेवल, रामारोसनतिर आँखा सेकाउँदै कालिकोटको मान्मा, कोटदरबार, पिली युद्ध संग्रहालय र पर्यटकीय पास हुने बित्तिकै उच्च हिमाली अनेकौं पाटनसम्म उक्लिँदै एकैछिनमा जुम्ला प्रवेश गर्यौं। नाग्म र तातोपानीको विकास र व्यवस्थापनको अवलोकनसँगै तोकिएको ठिक समयमा जुम्ला खलङ्गा पुगियो। स्टेसन जानुपूर्व जुम्लाका प्रमुख स्थान समेत परिक्रमा गरायो। रूट नै त्यसरी बनेको थियो। हुन त त्यहाँ हेर्दा कयौँ लोकल मनोरेलहरू रहेछन्, देखिन्थे। जुम्ला डोल्पा पोड-वे साथीको आँगनबाट नै जाने रहेछ। तर साथीले स्टेसनसम्म मनोरेलमै आएको बताए। जुम्लामा पनि ढिला नगरी साथी 'अशोक' दम्पतीलाई स्टेसनमै रिसिभ गर्यौं र रारातिर हानियौं।
अब हाम्रो यात्रा ढिलो गतिको अर्थात् पौने घण्टाको थियो। पर्यटकलाई पछिल्लो घुम्ने योजना बनाउन सजिलोको लागि जानकारी दिने हेतुले रहेछ, पर्यटकीय रूट फरक थियो। हामी एकैछिन गुठिचौर, चिमारा, खाली, डाँफे, छालाचौर हुँदै सिंजा भ्याली प्रवेश गर्यौं।
नेपालको खस भाषाको उद्गम सिंजामा इतिहासका चिनारीहरू संरक्षण अद्भुत देखिन्थे। यी सबै स्थान ठाउँमा पर्यटकको लर्को देखिन्थे, अनि अनेकौं पर्यटकीय गतिविधिहरू भैरहेका पनि। यी सबैको प्याकेज सायद एक महिना हुनसक्थ्यो। हामीले त्यी सिंजाका हरिया बस्ती, ती रैथाने बाली, हिमाली वनहरूलाई छिचोल्दै हाम्रो यात्रा गरिरहेका थियौँ। एकैछिनमा जुम्ला-मुगु सिमाना "भुलभुले" भिजुअल्ली देखियो।
आहा: ती फाँट, ती सुइरे रूखका त्रिकोण जङ्गल, ती सयरंगी फूलहरू, माथिसम्म हरर बास्ना। त्यहाँ भने एकछिन ओराल्ने रहेछ करिब १५ मिनेटका लागि, अटो सेक्युरिटी चेक र दृश्यवलोकनको लागि। त्यहाँ पछि फर्किंदाको प्लान बनाउने रहेछन्, बुकिङ गर्ने रहेछन्। सो पश्चात साथीसँग भलाकुसारी र दृश्यावलोकनकै बीच हाम्रो पोडले 'तपाईं राराको क्षेत्रमा प्रवेश गर्दै हुनुहुन्छ' भन्ने जानकारी दियो।
अचानक क्षितिजमा केही देखियो- रारा एक्सप्रेस स्टेसन। यो मिलिचौरभन्दा तल सल्लेरीमा थियो। यो स्टेसन नै एउटा कलात्मक थियो, एउटा विशाल काँचले बनेको संरचना जसले हिमालयको प्राकृतिक चमकलाई प्रतिबिम्बित गर्थ्यो र परिदृश्यसँग मिसिन्थ्यो।
स्टेसनमा ओर्लिंदा हामीले पहिलो पटक राराको वातावरण महसुस गर्यौं। यतिबेला दिनको ३ बजेको थियो।
'आहा ! वायुको शुद्धता कस्तो छ!' मैले गहिरो सास फेर्दै भनेँ।
स्टेसन बाहिर, उच्च सुविधायुक्त स्वागत केन्द्र थियो- जहाँ हामीलाई राराको इतिहास र विकासको बारेमा जानकारी दिइयो। एक होलोग्राफिक प्रदर्शनले सय वर्षदेखि हालसम्मको राराको दृश्य देखायो र त्यसलाई आजको अत्याधुनिक पर्यटन केन्द्रसँग तुलना गर्यो।
'अविश्वसनीय,' मैले विस्मित हुँदै भनेँ। 'यति विकास कसरी सम्भव भयो, त्यो पनि प्राकृतिक सुन्दरता र पारिस्थितिकी प्रणालीलाई क्षति नपुर्याइकन?'
'यो जैविक इन्जिनियरिङ र पारिस्थितिक वास्तुकलाको चमत्कार हो,' ब्रिफरले बताए।
'प्रत्येक निर्माण र प्रविधि जल र वन्यजन्तु संरक्षणलाई ध्यानमा राखेर विकास गरिएको छ। यसमा रारा राष्ट्रिय निकुन्जको संरक्षणलाई उच्च प्रविधियुक्त तरिकाले विशेष ध्यान दिएको सुरूमै बताए र घुम्दा हामीले ध्यान दिनुपर्ने कुराको डिजिटल स्क्रिन सेयर गरे हाम्रो स्मार्ट फोनमा।

राराको अविस्मरणीय एक हप्ते अनुभव
पहिलो दिन: 'इको केबुल कार' र 'अन्डरवाटर लाउन्ज' को जादु
रारा भित्रको यात्रा 'इको केबलकार' बाट सुरू भयो, जसको पारदर्शी भुइँबाट तलका मनमोहक दृश्यहरू स्पष्ट देखिन्थे। 'बायोमिमिक्री स्काई लज' माथिको 'मुर्मा टप' नजिकै रूखको आकृतिमा बनेका 'रूख होटलहरू' प्राकृतिक सामग्री र उच्च प्रविधिले बनेका थिए। यी होटलहरू शतप्रतिशत आत्मनिर्भर र कार्बन सोस्ने प्रकृतिका भएकाले रारा क्षेत्र 'कार्बन नेगेटिभ' बनेको होटल प्रबन्धकले बताए।
मेरो कोठाको विशाल स्मार्ट ग्लासको झ्यालबाट राराको अद्भुत दृश्य देखिन्थ्यो। तालमाथि घुम्दै गरेका बादलका टुक्राहरूले चमत्कारी इन्द्रेणी बनाउँदै थिए, जुन कृत्रिम वर्षा प्रणालीको कमाल थियो।
यो लजमा बायोमेट्रिक एन्ट्री, स्वचालित तापक्रम नियन्त्रण र स्मार्ट वातावरण अनुकूलन प्रणाली जस्ता अत्याधुनिक सुविधा थिए। साँझमा, 'रारा अन्डरवाटर लाउन्ज' मा अर्गानिक डिनरपछि हामीले 'फ्युचरिस्टिक नाइट इल्युमिनेशन' र 'बायोलुमिनेसेन्ट केनोइङ'को मज्जा लियौं।
ताल वरिपरि नीलो, हरियो र बैजनी प्रकाशले चम्किँदा स्वर्गीय दृश्य सिर्जना भयो। पारदर्शी डुङ्गामा तालको बीचमा जाँदा पानीमुनिको जीवन चम्किन थाल्यो। रातको अन्धकारमा ताराहरू र चम्किलो जलीय जीवनको ब्रह्माण्डबीच हामी थियौं, एक अद्भूत रङ्गीन संसारमा हराउँदै राति अबेर लज फर्कियौं। साँच्चै, रातिको संसार झनै रंगीन थियो-राराको, अनि हाम्रो पनि।
दोस्रो दिन: बोर्डवाक र तालमुनिको रात्रि बसाइँ
बिहानै अशोकले फोन गरेपछि हामी 'सनराइज डेक' पुग्यौं, जुन अत्याधुनिक कार्बन फाइबरले बनेको तैरिने डेक थियो। सूर्योदयमा तालको बीचमा अद्भुत कृत्रिम इन्द्रेणी देखियो। हल्का ब्रेकफास्टपछि हामी केबलकारमा तालको किनारमा झर्यौं। तालको चारैतिर 'बायोसिन्थेटिक फ्लोटिङ न्यानोफाइबर्स'बाट बनेको अद्वितीय बोर्डवाक थियो, जुन जलीय जीवनलाई असर नगरी पर्यटकको भार थामिरहेको थियो। बोर्डवाकको एक भाग पारदर्शी हुँदा हामी सिधै तालको बीचमा हिँडिरहेको जस्तो अनुभव भयो।
त्यसपछि हामी तालको केन्द्रमा रहेको 'अक्वा अब्जरभेटरी' गयौं, जहाँ विशाल झ्यालहरूबाट राराको पानीमुनिको संसार देख्न सकिन्थ्यो। यो जैविक विविधताको स्वर्ग थियो। हामीले अब्जरभेटरीको 'स्लीपिङ पड्स' मा रात बिताउने निर्णय गर्यौं, जहाँ पानीमुनि सुतेर जलीय जीवन अवलोकन गर्न सकिन्थ्यो। रातभर तालभित्र झिलिमिली देखिने जैविक प्रकाश उत्सर्जन गर्ने अल्गीहरूले हाम्रो रातलाई अझ रंगीन बनाइदिए। यो रात झन् रङ्गिन भयो।
तेस्रो दिन: 'राइजिङ मिस्ट ट्रेल' र 'एड्रिनालिन जोन'
तेस्रो बिहान हामी 'राइजिङ मिस्ट ट्रेल'मा हिँड्न निस्कियौं। 'कम्प्रेसन-इन्हान्स्ड हाइकिङ बुट्स' ले थकान कम गर्यो। पदमार्गमा घना 'प्राकृतिक नियन्त्रित तुवाँलो' बीच हिँड्दै हामी 'एड्रिनालिन जोन' पुग्यौं, जहाँ साहसिक खेलहरू खेलिन्थे। हाम्रो रोजाइ 'नेबुला ग्लाइडर'मा स्काई जिपलाइन चढ्ने भयो, जसले तालमाथि तैरिएर बादल छुनेजस्तो अनुभव दियो। यो एक अद्भुत आनन्द र अनुभव थियो।
दिउँसोको खाना 'फ्लोटिङ रेस्टुरेन्ट'मा खायौं, जुन सौर्य ऊर्जाले चल्थ्यो र सबै परिकार स्थानीय जैविक उत्पादन थिए। हामीले असला माछा र जडीबुटी सूपसँगै 'कर्णाली स्पेसल थाली' रोज्यौं। खानापछि हामी 'इको-कल्चरल हब' गयौं, जहाँ स्थानीय मुगाली संस्कृति र परम्पराको प्रदर्शन थियो। हामीले खस भाका, गान, देउडा र नृत्य हेर्यौं र हामी पनि सामेल भयौँ।
'हामीले हाम्रो सांस्कृतिक परम्परा संरक्षण गरेका छौं, तर प्रविधिसँग अनुकूलन पनि गरेका छौं,' प्रदर्शकले भने।
यहाँको खाना पूर्णतया जैविक र स्थानीय स्रोतबाट आएको थियो।
'अलि परका स्थानीय किसानहरूले सबै खाद्य सामग्री उत्पादन गर्छन्, राराको पर्यटन मोडल पूर्ण रूपमा स्थानीय अर्थतन्त्रमा आधारित छ,' उनले भने।

चौथो दिन: मिलीचौर साहसिक खेल र उड्ने अनुभवहरू
बिहानै हामी स्थानीय प्रजातिका घोडामा 'हर्स राइडिङ' गर्दै 'मिलीचौर' पुग्यौँ, जुन 'एरियल एक्सपिरियन्स जोन' थियो। जहाँ धेरै प्रकारका साहसिक खेलहरू खेल्न सकिन्थ्यो।
गाइडले प्यारा-ग्लाइडिङ, जेट प्याक हाई फ्लाइङ वा 'भर्चुअल फ्लाइट सिमुलेटर' मध्ये छनोट गर्न सोधे। हामीले 'स्मार्ट विङ्ग सुट' लगाएर प्यारा-ग्लाइडिङ रोज्यौं। तालमाथि उड्दै हिमालको दृश्यमा रम्नु मेरा लागि अविश्वसनीय अनुभव थियो।
साँझमा, हामीले 'रारा नाइट सफारी' मा भाग लियौं, जहाँ नाइट भिजन चस्मा लगाएर रातचर जीवहरूको अवलोकन गर्यौं।
'आहा! प्रकृतिलाई यसरी नजिकबाट हेर्न पाउँदा कति रोमाञ्चक !' सृजुले भनिन्।
पाँचौँ दिन: नेचर वाक र साइकलिङ
यो दिन हामीले 'एआई गाइडेड नेचर वाक'मा भाग लियौं। 'एआई-सक्षम स्मार्ट चस्मा' ले प्रत्येक वनस्पति र जीवजन्तुबारे जानकारी दिन्थ्यो। हामीले वनस्पति र वन्यजन्तुको भरपुर जानकारी लियौँ।
दिउँसोको खानापछि, हामीले 'एक्स्ट्रिम माउन्टेन बाइकिङ' गर्यौं। दिनभरको थकान मेटाउन हामीले 'रारा हट स्प्रिङ्स तथा स्पा' मा आराम गर्यौं, जहाँ आयुर्वेदिक खनिजका तातोपानीका कुण्डहरू छालाका लागि लाभप्रद थिए। साँझमा, हामीले मिलीचौरमा 'कर्णाली स्टार गेजिङ' को अनुभव गर्यौं, जहाँ विशेषज्ञहरूले तारामण्डल र ग्रहहरू देखाए।
छैटौँ दिन: मुर्मा टप र हिमालयन अरोरा
छैटौँ दिनको यात्रा 'मुर्मा टप'तर्फ भयो, जहाँबाट रारा तालको सबभन्दा राम्रो दृश्य देख्न सकिन्थ्यो।
'हाई-स्पिड हिमालयन एलिभेटर' प्रयोग गरी हामी मुर्मा टपसम्म पुग्यौं। त्यहाँ 'स्काई डेक' थियो, जहाँबाट हावामा तैरिरहेको जस्तो अनुभव भयो। मुर्मा टपमा हामीले 'हिमालयन ग्लाइडिङ'को अनुभव लियौं, जुन हिमालहरूबीचबाट उड्दै रारा तालमाथि घुम्दै सुरक्षित अवतरण हुने अविश्वसनीय अनुभव थियो।
दिउँसोको खानापछि, हामी 'रारा बायोडाइभर्सिटी रिसर्च सेन्टर' गयौं, जहाँ ५०० भन्दा बढी प्रजातिका जीवजन्तु र वनस्पतिको अध्ययन गरिन्थ्यो। हामीले 'भर्चुअल इकोसिस्टम'मा तालको थ्री-डी मोडल हेर्यौं र 'भर्चुअल रियालिटी चस्मा' लगाएर तालको भित्री संसारमा 'भर्चुअल डाइभिङ' गर्यौं। साँझमा, 'हिमालयन आर्टिफिसियल अरोरा' को विशेष कार्यक्रम थियो। आकाशमा हरियो, नीलो, बैजनी र गुलाबी रंगका प्रकाशहरू देखा पर्न थाले। वैज्ञानिकले बताएअनुसार वातावरणको माथिल्लो तहमा छरिने विशेष जैविक कणहरूले प्रकाश उत्सर्जन गर्थे र यी पूर्णतया हानिरहित थिए। हामी घण्टौंसम्म यसको सौन्दर्यतामा मन्त्रमुग्ध भयौं।

सातौँ दिन: जल मनोरञ्जन र बिदाइ
रारा बसाइँको अन्तिम दिन हामीले 'रारा वाटर स्पोर्ट्स डे' मा भाग लियौं। पहिलो गतिविधि 'इको-केयाकिङ' थियो, जहाँ बायोडिग्रेडेबल सामग्रीले बनेका केयाकहरू प्रयोग गरियो। त्यसपछि हामीलाई 'फ्लोटिङ स्पा र हिमालयन हर्बल मसाज'को अनुभव दिइयो, जहाँ स्थानीय जडीबुटी र प्राकृतिक तेल प्रयोग गरिन्थ्यो।
खाना र आरामपछि हामी चारैजना राराको किनारमा उभियौं। तालको पानीमा रंगहरू प्रतिबिम्बित हुँदा हाम्रो अविस्मरणीय यात्राका सम्झनाहरू संजोयौं। यो यात्राले हामीलाई प्रविधि र प्रकृतिको अद्भुत सामञ्जस्यको अनुभव गरायो, जहाँ आधुनिकताले प्राकृतिक सौन्दर्यलाई अझ निखारेको थियो।
'रारा नेपालको एउटा अनमोल रत्न मात्र होइन,' मैले गहिरो सोचका साथ भनें। 'यो हाम्रो विश्व र यसको भविष्यको लागि एउटा प्रतीक हो। यसको सुन्दरता र इनोभेसनको सम्मिश्रणले हामीलाई थाहा दिन्छ कि सामञ्जस्यपूर्ण संसार सम्भव छ।'
रारा छोड्न मनले फिटिक्कै मानेको थिएन तर बिदाइको तयारी भब्य हुँदै थियो।
यत्तिकैमा एयर होस्टेसले अनाउन्स गरिन्, म झल्यास्स ब्यझिएँ।
भन्दै थिइन् 'अब हामी केही छिनमा नेपालगञ्ज विमानस्थलमा अवतरण गर्दैछौँ, कृपया सिटको पेटी बाँधी सिट सिधा राखिदिनुहोला।'
यस्सो हेरेँ सृजु झन् मज्जाले निदाएकी रहिछिन। मैले उनलाई ब्युझाएँ।
'आज राति राराको कल्पनाले निदाएको थिइनँ।'
सृजुले भनिन, अनि म पनि। उनले पनि राराको अद्भुत सपना देखेको बताइन्। मेरो भन्दा अदभुत, किनकि म एक सेन्चुरी पछिको सपनाको रारामा घुमिरहेको अद्भुत आनन्द र त्यसपछिको खिन्नतामा भएको बेला मेरी सृजु दुई सेन्चुरी पछिको सपनाको रारामा घुमिरहेकी रहिछिन्। अल्ली यात्रा अधुरोमै टुंगियो भनेर आहालाई डाहामा बदल्दै, वास्तविकता खिन्नता प्रकट गर्दै मुर्मुरिन थालिन्।
उनले झन् कस्तो 'सपनाको रारा' को मजा लिइन् होला? मैले कल्पना नै गर्न सकिन, अनि तपाईंहरूले नि......?
केहीबेरमा हामी नेपालगंज एयरपोर्ट झर्यौं, बाहिर हपहपी गर्मी थियो। अटो रिक्सा समातेर अव्यवस्थित, फोहोर र धुलाम्मे बसपार्क गयौं। अर्को दिनको टिकट लियौं जुम्लाको लागि फोर्स गाडीको। अर्को दिन सुर्खेत जुम्ला कर्णाली राजमार्ग नामको डोरेटो र ओट्टासिल उद्रिएको, चोक्टा चोक्टा धुलाम्मे सडकमा राति अबेर जुम्ला पुग्यौं। जे होस् सकुसल पुग्यौं तर अनुहार र शरीर आफ्ना थिएनन्। दोस्रो दिन दुई वटा बाइकमा दुई जोडी, बाटोमा एक अर्कालाइ नचिनिने "घट्टे" अनुहार, तैपनि हामि हाम्रो वास्तविकतालाइ आत्मसाथ गर्दै, सिंजा पाण्डवगुफा, जिअभिर, भुलभुले सँग सामिप्य हुँदै बेलुका घामसँगै रारा पुग्यौँ। रारामा राम्रो खाने बस्ने होटल धरी रहेनछन्। उदेक लाग्यो, सपनाको संसारमा पुग्दा पनि झ्याउ लाग्नु कम्ता बिडम्बना हो।
एक खैलो-मैलो होटलमा कोच्चियौं, बाध्यता थियो। भोलि बिहान भने राराको प्राकृतिक सुन्दरताले सबै बिर्सायो। हामी तालसँग सामिप्य भयौं। आहा- रारा !! आहा- सुन्दरता !!! बस त्यति नै थियो।
एक दिनको समय पनि धेरै भयो। रारा सुन्दरताको सिङ्गो स्वरूप बाहेक पर्यटनका हाँगाहरू थिएनन्। जुन हाँगा हाँगामा चढेर कम्तीमा एक हप्ता बिताउन सकियोस्। जस्तो 'सपनाको रारा'......!!!
हामी दोस्रो दिन नै फर्कियौं, जुम्ला, सुर्खेत, नेपालगंज हुँदै काठमाडौँ।
बाटोमै छ दिन लाग्यो, रारा एक दिन, अनि यात्रा एक हप्ताको भएछ। जुन सपनाको समयजति तर फरक - समयजति बाटोमै सखाप।
स्मरण रहोस्: यो यात्रा संस्मरण २०७६, वैशाख अर्थात ६ वर्ष पहिलाको हो। तर अहिले सडक राम्रो छ। काठमाडौंबाट दुई दिनमै पुग्न सकिन्छ। सुविधासम्पन्न तारेसहित थुप्रै नयाँ होटलहरू खुलेका छन्।
साँच्चै रारा स्वर्ग छ। एक स्वर्गको अलौकिक टुक्रा धर्तीमा झरेको। यही स्वर्गको टुक्रामा जेठ १८ गतेदेखि ३१ गते सम्मको लागि रारा पर्यटन महोत्सव चलिरहेको छ।
त्यो पनि पहिलो पटक निजी क्षेत्रको आयोजनामा।
यसैले राराको सम्झना दिलायो। वसन्त ऋतुसँगै अब रङ्गीनविरङ्गी फूलहरू फुल्न सुरू हुँदैछन्। एकपटक पुग्नै पर्ने गन्तव्य स्वर्गको टुक्रा रारा। जहाँ प्रकृतिले तान्छ। आफ्नो ठान्छ। फलस्वरूप त्यसपछि थुप्रै पटक रारा गइयो। आज मेरो सबै भन्दा सामिप्यमा छ मेरो रारा। तर पनि सपनाको रारा जस्तो कहिले होला ...... ?
जहाँ पर्यटक कम्तीमा एक हप्ता रारामा हराउन सकून् अनि रारा समर्पित हुन सकोस् !!!

