यात्रा समय : २०८२ जेठ २१-२३
कार्यक्षेत्र परिवर्तन गरेर ७ महिना अगाडि धनगढीबाट बझाङ आउँदै गर्दा एउटा संकल्प थियो, यसपटक खप्तड जाने। धनगढी बसाइँको क्रममा पटकपटकका खप्तड जाने योजनाहरू विफल भएका थिए। त्यसैले पनि यसपटक खप्तड जानैपर्ने थियो।
जेठ २० गते कार्यालयको नियमित काममै थिएँ। दिउँसोको खाजा खाने समयमा क्यान्टिनमा गाउँपालिका अध्यक्षज्यूसँग भेट भयो, अध्यक्षज्यूले आफूहरूको खप्तड जाने योजना रहेको सुनाउँदै ‘तेजजी तपाईं पनि जाने हो?,’ भन्दै सोध्नुभयो।
मैले अध्यक्ष ज्यूको प्रश्न भुइँमा नझर्दै ‘जाने नि यस्तो मौका किन छोड्ने,’ भन्दै उत्तर फर्काएँ।
अध्यक्ष ज्यूले त्यसो भए भोलि बिहान ठिक ७ बजे पालिका पुग्नुहोला, आफूलाई पुग्ने बाटोमा खाने सामान्य खानेकुरा, न्यानो लुगा, छाता, रेनकोट, पानी खाने बोतल बोक्नुहोला बाँकीको व्यवस्थापन उतै हुन्छ भन्दै सुनाएपछि छुट्टियौं।
२१ गते बिहान ७:१५ बजेतिर छोरीले शुभयात्रा ड्याडी भनेपछि यात्रा सुरू भयो। ७ बजे गाउँपालिका कार्यालय खोली पुग्ने भएको योजना अनुसार म कोठामै ढिलो भैसकेको थिएँ। बिहान ७:३० बजे झोताबाट यात्रा सुरू गरेको मैले झानानाको पुल तरेर सेराला गाउँ पुग्ने बेलासम्म टोली थलारा-७ को घोडा दाउना पुगिसकेको रहेछ। म बाइकमा सिधै घोडा दाउना गएँ, झोता बजारबाट ४० मिनेटमा घोडा दाउना गाउँमा पुगे त्यहाँ गाउँपालिका टोलीले म लगायत जिल्लाबाट आउने अतिथि ज्यूहरूलाई पर्खिरहनु भएको थियो।
अतिथि ज्यूहरू र म सँगसँगै त्यहाँ पुगेपछि बाइक त्यहीँ राखेर बोलेरो जिपमा बसेर यात्रा सुरू गर्यौं। खप्तड राष्ट्रिय निकुञ्ज प्रवेश गर्दैगर्दा सुरूमा गाणाबाज चेकपोष्ट आउँछ त्यसको केही तलसम्म थलारा गाउँपालिकाले सडक विस्तार गरेको छ।
जयपृथ्वी राजमार्गको झानाना बजारबाट १ घण्टा गाडीको यात्रा गरेपछि सेरालागाउँ-आठाबिस-घोडा दाउना हुँदै गाणाबाज चेक पोष्ट पुगिन्छ।
तीनवटा गाडीले हामीलाई सडक विस्तार भएको ठाउँसम्म छोडेपछि हाम्रो पैदल यात्रा सुरू भयो।
यात्रा सुरू गर्नुअगाडि पालिका अध्यक्ष ज्यूले बाहिर जिल्लाबाट आउनुभएको अतिथि ज्यूहरूलाई थलारामै उत्पादन गरिएको अल्लोको खादा लगाएर स्वागत गर्दै खप्तड जाने सबभन्दा छोटो स्थल मार्गको बारेमा जानकारी गराउनुभयो।
यात्रामा थलारा गाउँपालिका अध्यक्ष प्रकाशबहादुर रोकाया, उपाध्यक्ष रामबहादुर खाती, प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पाध्या, गृह मन्त्रालयका कर्मचारी, पत्रकार महासंघका जिल्ला अध्यक्ष डिबी विष्ट लगायत २५ जनाको टिम थियो।

सडक विस्तार भएको ठाउँबाट झन्डै ३० मिनेटको उकालो चढेपछि गाणाबाज चेकपोष्ट पुगियो। बाटोमा काफल, किल्मडा खाँदै उकालो काट्यौं। गाणाबाज चेकपोष्टमा थकाइ मार्ने चौतारो र खानेपानीको व्यवस्थापन गरिएको छ टाढाबाट आउने पर्यटकहरूको लागि बस्नलाई समेत व्यवस्था हुने रहेछ।
त्यहाँ एकछिनको थकाइ मारेपछि हाम्रो टोली फेरि उकालो लाग्यो। गाणाबाज चेकपोष्टबाट १ घण्टामा माइकाथान पुगिन्छ।
उकालो चढ्द गर्दा भूते हान्नुको उकालो भन्ने ठाउँ आउँदो रहेछ त्यो उकालो चढ्न कठिन हुने भएकोले पहिले पहिले मान्छेहरू भूते (भाला) हानेर चढ्दा रहेछन् त्यसैले त्यस ठाउँको नाम भूतेहान्नुको उकालो भन्ने गरिएको रहेछ। तर अहिले त्यति कठिन छैन गाउँपालिकाले पैदल यात्राको लागि सहज हुने बाटो बनाएको छ आरामदायी तरिकाले यात्रा गर्न मिल्ने भएको छ।
त्यो उकालो काटेपछि ग्वाला खेल्नु चौतारो आउँछ त्यहाँ थकाइ मार्ने चौतारो बनाइएको छ। त्यहाँबाट थलाराको मनोरम दृश्य हेर्न मिल्छ। चौतारोमा पुगेपछि भूतेहान्नुको उकालोको थकाइ नै हराउँदो रहेछ। थलारा हुँदै खप्तड जाँदा अन्तिम उकालो नै त्यहीँ हो, त्यसपछि सानातिना थुम्का बाहेक उकालो छैन भन्दा पनि हुन्छ।
माइकाथान
ग्वाला खेल्नु चौतारोबाट ३० मिनेटमा आउँछ माइकाथान। खप्तडका ४ प्रमुख धाममध्येको माइकाथान पनि एक हो। माइकाथान एक पवित्र शक्तिपीठ स्थलले चिनिन्छ। माइकाथानमा दुधेल्ली र खडेल्लीमाईको पूजा गरिन्छ। माइकाथानको चर्चा स्कन्द पुराणमा समेत गरेको पाइन्छ। यो बाटोबाट खप्तड खप्तड जाने पर्यटकहरू व्रत बसेर जाने धार्मिक चलन रहेछ।
बिहानैदेखि शुद्ध व्रत बसेर माइकाथान मन्दिरमा पूजा गरिसकेपछि मात्रै खाना खाने गरिन्छ। माइकाथानमा पूजा गरेपछि मनोकांक्षा पूरा हुने जनविश्वास छ। यसरी खप्तड प्रवेश गर्दागर्दै सुरूमै शक्तिपीठ माइकाथानको दर्शन गर्न पाउँदा मन आनन्दित र शान्त हुने। अन्य बाटोबाट खप्तड जाने पर्यटकहरूले माइकाथानको दर्शन गर्न छुटाइरहेका छन्। मन्दिर परिसरमा धर्मशालाहरू पनि रहेका छन् जहाँ खप्तड आउने/जाने पर्यटकहरूको लागि बस्न उपयुक्त व्यवस्थापन गरिएको छ। सामान्य रूपमा जयपृथ्वी राजमार्गको झानाना पुल तरेपछि तीन घण्टा (१ घण्टा गाडी र दुई घण्टा पैदल) हिँडेपछि खप्तड पुगिने यो नै सबभन्दा छोटो बाटो हो।
माइकाथान दर्शन गरेर ३० मिनेटको दूरीमा लाम्पुछे पाटन आउँछ। लाम्पुछे पाटनमा छान्नाल र थलारीका खर्कहरू छन्। हाम्रो टोली सिधै थलाराका मुखिया बाजेको खर्क पुग्यो। त्यहाँ गाउँपालिकाबाट आउने टोलीको लागि खानाको व्यवस्थापन गरिएको थियो। बाजेका ४ भैंसी दुध दिने रहेछन्। खिर, पुरी, दही, जंगलमै पाइने जडीबुटीको हरियो साग खाएपछि भोक र थकाइ एकैसाथ हरायो।
खर्कमा खाना खाँदाखाँदै पानी पर्न सुरू भैसकेको थियो। रेनकोट, प्लास्टिक र छाता ओडेर मुसलधारे पानी सँगै यात्रा सुरू भयो। लाम्पुछे पाटनबाट ३० मिनेटमा नागढुंगा पुगिने माइल बोर्ड देखियो तर हामी त्यसदिन नागढुंगा नगएर सिधै घोडा दाउना पाटनतर्फ लाग्यौं। घोडा दाउना पाटन ४५ मिनेटमा पुगिने रहेछ। घोडा दाउना पुग्दा हाम्रा साथीहरू थकित देखिन्थे। जेठको घाममा हिँड्दा जोकोहीलाई पनि गाह्रै हुन्छ तर घोडा दाउना पुगेपछि लाग्यो खप्तडको अन्तिम गन्तव्य यहीँ हो। ठूलाठूला पाटन, हरियाली र भुइँफूलले रङ्गिन फाटहरु देख्दा लाग्थ्यो साच्चिकै खप्तड त भू–स्वर्ग नै रहेछ।
रंगीचंगी अनगिन्ति भुइँमा फुलले ढक्कमक्क पाटन देखेपछि लाग्यो खप्तडले कार्पेट बिछ्याएर हामीलाई स्वागत गरिरहेको छ। त्यसैले त मान्छेहरू खप्तड भनेपछि मरिहत्ते गर्दा रहेछन् भन्ने आभास भयो। शरीरमा लगाएका प्लास्टिक, रेनकोट र जाकेटहरु फालेर एकछिन् स्वर्गीय आनन्द लियौं। घाँसे मैदानमा पल्टिएर आकाश हेर्दाको आनन्दको बयान गरेरै सकिन्न। खप्तड प्राकृतिक, धार्मिक, सांस्कृतिक र जैविक विविधतापूर्ण भए पनि भौतिक पूर्वाधार र प्रचार–प्रसार कमी छ भन्ने लाग्यो। त्यसपछि केही सामुहिक र एकल तस्बिर लिएपछि हाम्रो टोली दूई समुहमा विभाजन भयो। अध्यक्ष ज्यूसहितको टोली बेलुका बसाइँको व्यवस्थापन मिलाउन सिधै आर्मी ब्यारेकतर्फ लाग्नुभयो भने उपाध्यक्ष ज्यूसहित हामीहरू जेठी बुहरानी, हरिना चडी र र्र्याईघट्ट अवलोकन गर्न दक्षिणतर्फ लाग्यौं।
त्यसदिन जेठी बुहरानी, हरिना चडी र र्र्याईघट्ट अवलोकन गरेपछि हामी सिधै खप्तड बाबाको कुटीतर्फ लाग्यौं। कुटी पुग्दा बेलुकाको ७ बज्नै लागेको थियो अँध्यारो उज्यालोको अवस्था थियो। बाबाले तपस्या गरेको पवित्र ठाउँ भएकाले खप्तड प्राकृतिक दृष्टिले मात्र नभएर तीर्थाटन पर्यटन र पर्या पर्यटनको लागि गन्तव्य बनेको छ। हामी पनि त्यहाँ पुगेर खप्तड बाबाको दर्शन गर्यौं र केही तस्विरहरू लियौं।
खप्तड पुग्ने र खप्तडको विषयमा चासो राख्नेहरूका लागि खप्तड बाबाको जीवनीको विषयमा धेरै लेखिरहनु जस्तो लाग्दैन। यद्यपी खप्तड पुगेपछि धेरै पर्यटक खप्तड बाबाको जीवनी जान्न चाहन्छन् मैले पनि केही नयाँ विषय जान्न पाएँ।

खप्तड बाबा
खप्तडमा ५० वर्ष बिताएका बाबा आध्यात्मिक गुरू र विचारकका रूपमा चिनिन्छन्। सन् १८८० मा भारत कश्मीरको नेहरू परिवारमा जन्मिएका बाबा १९८६ सालमा नेपाल आएका थिए। संन्यास लिनुपूर्व उनी प्रतिभावान डाक्टर थिए। उनले कोलकातास्थित ट्रपिकल मेडिकल कलेजबाट एमबिबिएस र बेलायतबाट सर्जन अध्ययन गरेका थिए। उनले काशीको दक्षिणा मूर्ति मठमा रहेर पूर्वीय दर्शन अध्ययन अध्यापनपश्चात गहन साधनाका लागि नेपालको खप्तड लेक रोजेका थिए। २०५३ साल जेष्ठ कृष्ण सप्तमीका दिन बाबाको निधन भएको हो।
खप्तड बाबाको कुटी दर्शन गरेपछि हामी सिधै त्रिवेणीधामतर्फ लाग्यौं। त्रिवेणीधाममा गंगा दशहराको मेला थियो। सुदूरपश्चिम लगायत देशविदेशका विभिन्न स्थानबाट मेला हेर्न आउने मानिसहरूको खचाखच थियो। हामी त्रिवेणीधाम पुग्दा रातिको ८ बजिसकेको थियो। पाटन झिलिमिली उज्यालो, टेन्ट र त्रिपालले भरिएको थियो। दिउँसै खप्तड पुग्नेहरू डेउडामा झुम्मिएका थिए। हामी दिनभरको थकान मेटाउन केदारढुंगा अगाडि अडेस लाग्यौं। हाकिम साबले घरबाट बनाएर लिनुभएको निसस्से (सुदूरपश्चिममा बनाइने विशेष प्रकारको रोटी) खायौं र त्यसदिन दिनभरको घुमफिरले थकाइ लागिसकेको कारण सिधै आर्मी ब्यारेकतर्फ लाग्यौं। आर्मी ब्यारेक नजिकै एक जना थलाराकै मान्छेको होटल रहेछ। अध्यक्ष ज्यूले हामीलाई बसाइँको व्यवस्थापन त्यहीँ गर्नुभएको थियो। होटलमा पाकेको तातोतातो खानेकुरा खाएर त्यसरातको बसाइँ टेन्टमा भयो। नेपालीमा एउटा उखान छ ‘भोक मिठो कि, भोजन मिठो’ भन्ने साँच्चिकै त्यसरात हामीलाई भोक प्यारो थियो निन्द्रा प्यारो थियो। टेन्टमा स्लिपिङ ब्यागभित्र छिरेर सुत्न पाउनु कुनै पाँच तारे होटलको आरामदायी बसाइँभन्दा कम थिएन।
दोस्रो दिन (२२ गते) बिहानै उठेर त्रिवेणीधाममा स्नान गर्ने योजना थियो। बिहान ५ बजेतिर उठेर बाहिर हेर्दा पाटन तुसारोले पूरै सेताम्मे थियो। ३५ देखप ४० डिग्री तापक्रमबाट जाने मान्छेहरूको लागि कठ्याङ्ग्रिने चिसोभन्दा पनि हुन्छ। होटलबाट सिधै हामी त्रिवेणीधामतर्फ लाग्यौं।
त्रिवेणीधाम गंगा, जमूना र सरस्वती नदीको संगमस्थल हो। त्रिवेणीधाममा स्नान गर्ने, मन्दिरमा पूजा गर्ने र मेला हेर्नेहरूको घुइँचो थियो। त्यहीँ भीडभाड हामी पनि मिसियौं। हाम्रो समूहका अधिकांश साथीहरूले स्नान र पूजा गरे। पूजा गरिसकेपछि हामी तीन समूहमा विभाजन भयौं। गृह मन्त्रालय र सुरक्षा निकायका सरहरू सोही दिन जिल्लामा कार्यक्रम भएको कारणले फर्किनुभयो। अध्यक्षज्यू लगायत केही साथीहरू पटक/पटक खप्तड अवलोकन गरिसकेको भन्दै त्रिवेणीधाममै रूमलिए। उपाध्यक्षज्यू र हाकिम साबसहित हामीहरू खप्तडका बाँकी गन्तव्यहरूतर्फ लम्कियौं।

सामान्यतया निकुञ्ज मुख्यालय केन्द्र मानिने त्रिवेणीधाम, खप्तड बाबा आश्रम, खापर दह, सहस्त्रलिङ्ग, घोडा दाउना पाटन, नागढ़ुंगा, माइकाथान र जेठिबुहारानी घुमफिर गर्न पर्यटकलाई दुई दिन लाग्दछ। तर हाम्रो टिमले थलाराको बाटो हुँदै आएको कारण माइकाथान, जेठीबुहारानी, र्र्यैघट्ट, घोडा दाउना पाटन र खप्तड बाबा आश्रमको अघिल्लो दिन नै अवलोकन गरिसकेका थियौं। हामीलाई अब खापर दह, सहस्त्रलिंग र नागढ़ुंगा मात्रै जानुपर्ने थियो । नागढुंगा फर्किनेबेला बाटोमै पर्ने भएपछी हामी सहस्त्रलिंग र खापर दह तर्फ लाग्यौं ।
सहस्त्रलिंग
त्रिवेणीधामबाट ४.५ किलोमिटरको दूरीमा सहस्त्रलिंग मन्दिर छ जसलाई गुरु गोरख गुल्म पनि भनिँदो रहेछ। अघिल्लो दिन नै नराम्रोसँग थाकेका हामीहरू सहस्त्रलिंगको उकालो काट्नु सहज भन्ने पक्कै थिएन तर खप्तड पुगेर शिवलाई भेट्ने तीव्र इच्छाशक्तिले हामीलाई उकालो तानिरह्यो। सहस्त्रलिंग दर्शन गरेर फर्किनेहरूको लामलस्कर देख्दा लाग्थ्यो हामीलाई ढिलो भइसक्यो त्यहीमाथि हाम्रो उकालो चढाइ सुस्त थियो। उकालो चढ्दै गर्दा केही साथीहरू पतदो (जंगलमा पाइने हरियो साग) टिप्नतिर लागे लेखा अधिकृत दिपक पाण्डे सर र म धेरै थाकेकाले बाटो नछोडिकन उक्लिनतिर लाग्यौं।
झन्डै २ घण्टाको उकालो काटेपछि सानो सानो पहाडका थुम्का जस्ता देखिने एउटै आकार स्वरूपमा रहेको केही ठूला ढुङ्गाका शिलाहरू देखिए। त्यस भीमकाय ढुङ्गाको टुप्पामा पुग्न दर्शनार्थीको ठूलो लाइन थियो। पहाडको टुप्पोले मात्र नपुगेर त्यसमाथि पनि भीमकाय ढुङ्गा खडा गरेर त्यसको माथि चुचुरामा आलिसान महल खडा गरी वरिपरि घना जङ्गलका बीचमा शिव ध्यानमा मग्न रहेछन् जस्तो लाग्यो।
दर्शनार्थीहरूकै बीचमा हामीले पनि दर्शन ग-यौँ। गेटमै टिका लगाएर भित्र प्रवेश गरेका हामीहरुले पुजारीलाई धुप र दक्षिणा दिएपछि पुजारीले शिवको प्रसाद दिनुभयो। भीमकाय ढुङ्गाको माथि चुचुरामा सानो प्वाल छ, तलबाट फालेर त्यहाँ सिक्का छिराउने चलन रहेछ। पाण्डे सरले भन्नुभयो ‘लौ हामीले त सिक्का ल्याउने छुटायौं’ ‘म संग पनि छैन सर के गर्ने होला ?’ भन्दै मैले थपेँ।
हामी भन्दा अगाडि आएर दर्शन गरिसकेका प्रविन दाइलाई ५० रुपैयाँ दिएर सिक्का खोज्न पठायौं। भीमकाय ढुङ्गाको चुचुरोमा सिक्का छिराउन सक्नेको मनोकांक्षा पूरा हुने विश्वास रहेछ। सिक्का आयो। ५/६ ओटा सिक्का फाल्दा पनि मैले त केही गरी छिराउन सकिनँ। पाण्डे सरले बल्लतल्ल एउटा सिक्का छिराउनु भयो। प्रविन दाइले त ४/५ ओटा नै छिराउनु भएछ। हामी आएको जनाउ दिन घन्टीहरू बजायौँ र आ-आफ्नो शक्ति प्रदर्शन गर्दै मन्दिरबाट ओर्लिएर अघि आएकै बाटो प्रफुल्लित मन बनाएर होटलतिरै फर्कियौँ।
त्यसदिन हाकिम साब लगायत केहि जिल्लाको टिमका साथीहरू दिउँसो २ बजेतिर नागढुंगा माइकाथान हुँदै थलाराको बाटोबाटै फर्किनुभयो। अध्यक्ष, उपाध्यक्ष, लेखा अधिकृत पाण्डे सर र इन्जिनियर संगीत सरसहित हामीहरू आज पनि यतै बस्ने निर्णय भयो। फर्किएको टोलीलाई बाटोमा असिना पानीले नराम्रोसँग दु:ख दिएछ।
२३ गते बिहानै हाम्रो टोलीले पनि यात्रा तय गर्यो। बिहान ६ बजे यात्रा सुरू गरेर ११ बजे गाउँपालिका पुग्ने र त्यसदिन थोरै भए पनि कार्यालयको काम भ्याउने मनसायमा थियौं पाण्डे सर र म। खाजा खाँदाखाँदै ६:४० भैसकेको थियो त्यसपछि यात्रा सुरू गर्यौं। ३० मिनेट हिँडेपछि घोडा दाउना पाटन पुगियो। बिहानको पारिलो घाम, चारैतिर हरियाली र रङ्गिन भुइँफुलहरूले भरिएको प्रकृतिको सुन्दर पाटनमा घोडाहरू चरिरहेको दृश्य साँच्चिकै सुन्दर थियो। त्यहाँ पुगेपछि मन हल्का मात्र होइन, तनावबाट मुक्ति मिलेको आभास भयो। एकछिन फोटो र भिडिओ खिचेपछि हामी सिधै नागढ़ुंगातर्फ लाग्यौं।

नागढ़ुंगा
घोडादाउना पाटनबाट ३० मिनेट हिडेपछि नागढुंगा आइपुग्यौं। ठूलाठूला ढुंगाहरूमा सर्पहरू हिँडिरहेको जस्तो देखिरहेका थियौं। बझाङको थलारा क्षेत्रमा पर्ने नागढुंगा ऐतिहासिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थल मानिन्छ। नागढुंगासँग यहाँका स्थानीय समुदायको पुरानो आस्था, जनविश्वास गाँसिएको छ। मान्यता अनुसार, सैकडौँ वर्ष अघि एकजना तपस्वीले यहाँ तपस्या गरेका थिए, जसको प्रभावले यो स्थान शक्तिशाली धार्मिक केन्द्रमा रूपान्तरण भएको हो यो ढुंगा रातीमा विचित्र आवाज निकाल्ने, कहिलेकाहीँ आफ्नो स्थानबाट सर्ने जस्ता रहस्यमय गतिविधिहरू गर्ने विश्वास छ। यसैले यो ढुंगालाई ज्युँदो नागको प्रतीक मानिन्छ। जब वर्षा नपरेर खडेरी पर्ने खतरा हुन्छ, नागढुंगामा दूध र जल चढाएर पूजा गरेमा वर्षा हुने विश्वास छ।

नागढुंगामा एकछिन तस्बिरहरू खिचेपछि हामीहरू सिधै लाम्पुछे पाटन आयौं, जानेबेला थलारीका खर्कमा दही खाएका हामी फर्किने बेला चाहिँ छान्नालका खर्कतिर लाग्यौं। खप्तड छान्नाको गडीगाउँका बाजेहरूले त्यहीँ भैंसी पालेर बस्नु भएको रहेछ। हामीले गोठमै बसेर दही खाएपछि माइकाथान तर्फको यात्रा अगाडी बढायौं। झन्डै १ घण्टा हिँडेपछि माइकाथान पुगियो माइकाथानमा पुगेर फर्किने बेलाको पुजा गरेपछि, लगभग खप्तडको यात्रा पुरा भयो, मिलेसम्म फेरि खप्तड आउने बाचा गर्यौं र ओरालो झर्यौं।
कसरी पुग्ने थलारा हुँदै खप्तड ?
खप्तड जानको लागि डोटीको झिंग्राना र बझाङ छान्ना प्रचलित बाटोहरू हुन् तर पैदलयात्रा गर्न रूचाउने र माइकाथान, जेठिबुहारानी, घोडादाउना पाटन, नागढ़ुंगा, खप्तड बाबा आश्रम हुँदै त्रिवेणीधामको यात्रा गर्न चाहने पर्यटकका थलाराको बाटो उपयुक्त छ।
धनगढीबाट बिहान बस चढेर दिउँसो ३ देखि ४ बजे जयपृथ्वी राजमार्गको झानाना बजार पुर्याउँछ। झानाना बजारबाट जिप चढेर सेतीको पुल तरेपछि झन्डै १ घण्टामा थलारा गाउँपालिका-७ को घोडादाउना गाउँ पुगिन्छ। घोडादाउनामा होमस्टेहरू छन् एक रात त्यहीँ बास बसेर भोलिपल्ट खप्तड पुग्न सकिन्छ।
थलाराको बाटो हुँदै खप्तड जाने पर्यटकहरूले गाडीको यात्रापछि सामान्यतया २ घण्टा पैदल हिँडेपछि खप्तड पुगिन्छ। बाटोमै माइकाथान, जेठिबुहारानी, घोडादाउना पाटन, नागढ़ुंगा, खप्तड बाबा आश्रम पर्ने हुँदा दुई दिनमै खप्तडका अधिकांश ठाउँहरु अवलोकन गर्न पाइन्छ। खप्तडमा दुई साना होटल छन्। ती खप्तड मेलामा मात्र खुल्छन्। खप्तडमा बास बस्न चार धर्मशाला छन्। खप्तड क्षेत्र पर्यटन विकास समितिले बीचपानी र निकुञ्ज कार्यालयनजिक पर्यटक बस्ने दुई घर बनाइदिएको छ। खप्तड यात्रामा परिचित रुट गाइड र समूहमा यात्रा गर्ने हो भने सजिलो र रमणीय हुन्छ। थलाराबाट खप्तड जाने पदमार्ग अन्य चल्तीको बाटोहरुको तुलनामा निकै सजिलो पर्दछ। खप्तड यात्रामा न्यानो कपडा स्लिपिङ ब्याग र ड्राइफुड्स साथमा बोक्दा राम्रो हुन्छ।
-1750497673.jpg)








