बेइजिङको व्यस्त सडक छाडेर अग्लो रातो पर्खालभित्र प्रवेश गर्नेबित्तिकै लाग्छ — 'म चीनमा होइन, लुम्बिनी वा काठमाडौँको कुनै प्राचीन गुम्बामा आइपुगेँ।'
हजारौँ किलोमिटर टाढा आफ्नै माटोको सुगन्ध भेट्नुको आनन्द शब्दमा बयान गर्न गाह्रो हुन्छ।
नेपाल र नेपालीको सान अनि पहिचानसँग जोडिएको सेतो स्तूपमा पुगेपछि आफ्नो मातृभूमिको सुगन्ध र पुर्खाहरूको सीपको जीवन्त कथा महसुस गर्न सकिन्छ। स्तूपको आवरण देख्दा नै नेपालीपनको झल्को आँखामा लेपन हुन आइपुग्छ।
बेइजिङको अत्याधुनिकतालाई अग्लो पर्खालले छेकिदिने हो भने यो पर्खालभित्रको भूगोलमा चीन होइन नेपाल मात्रै देखिन्छ। सयौँ कोस टाढा विरानो देशमा आफ्नो मुलुकको बिम्ब देख्दा मन त्यसै त्यसै रमाउँदो रहेछ।
स्तूपको मूल ढोकाबाट भित्र छिर्नेबित्तिकै ढुङ्गाले छापिएको मौलिक शैलीका बुट्टाहरूले आगन्तुकको स्वागत गर्छन्। सन् १२७१ मा अरनिकोको नेतृत्वमा निर्माण सुरू भएको यो स्तूपले साढे सात शताब्दीदेखि चीनको मुटुमा नेपाली वास्तुकलाको झण्डा फहराइरहेको छ। स्तूपको ठूलो गजुर र त्यसमुनिको चक्राकार संरचनाले मल्लकालीन कालीगढीको पराकाष्ठालाई दर्शाउँछ। वरिपरि झुण्डिएका साना घण्टीहरू चिसो हावासँगै बज्दा निस्कने ध्वनिले कुनै प्राचीन नेपाली मन्दिरको आँगनमा उभिएको महसुस गराउँछ।
अझ नेपालीपनको गहिरो अनुभूति त प्रवेशद्वारमै पुग्नेबित्तिकै हुन थाल्यो। चिनियाँ नागरिकले समेत अवलोकनका लागि २० युआन प्रवेश शुल्क तिर्नुपर्ने यस गुम्बामा नेपालीहरूलाई भने कुनै पनि शुल्क लाग्दोरहेनछ। मसँग रहेका प्राध्यापक कुमार खड्का दर्जनौँ पटक यहाँ आइसकेका रहेछन्।
उनले चीनमा बसोबास गर्ने धेरै नेपालीहरूलाई आफ्नो देशको सम्झना हुँदा गुम्बामा आउने गरेको बताए। परदेशको भूमिमा आफ्नै इतिहास, संस्कृति र पुर्खाहरूको कला-कौशलसँग साक्षात्कार गर्ने यो स्थल उनीहरूका लागि केवल एउटा पर्यटकीय गन्तव्य नभई आत्मीयताको केन्द्र बनेको रहेछ।
प्रवेशद्वारमा आफ्नो राहदानी देखाउनासाथ कर्मचारीले मुस्कानसहित स्वागत गर्दा पराई देशमा पनि आफ्नै घरको आँगनमा पाइला टेकेको आभास भयो। यो विशेष सहुलियत केवल एउटा निःशुल्क प्रवेश मात्र नभई, इतिहासका ती महान् कलाकारहरूप्रतिको अगाध सम्मान र दुई देशबीचको अटुट सांस्कृतिक सेतुको प्रमाण पनि थियो। स्तूपको परिसरमा टहलिँदै गर्दा भित्तामा कुँदिएका बुट्टाहरू र बौद्ध दर्शन झल्काउने मूर्तिहरूले अरनिकोको अथक मिहिनेत र उनका साथमा आएका असीभन्दा बढी नेपाली कालीगडहरूको पसिनाको कथा बोलिरहेका थिए।
गेट प्रवेश गर्नेबित्तिकै एउटा ठूलो मन्दिर रहेको छ। त्यसको भित्र छिर्दा मन्दिरको गर्भगृहमा रहेका बुद्धका विशाल र कलात्मक मूर्तिहरूले मनमा शान्तिको सञ्चार गराउँछन्। बुद्धका शान्त मुद्रा र ती मूर्तिहरूमा प्रयोग गरिएका सूक्ष्म बुट्टाहरूले नेपाली कलाकारिताको गौरवपूर्ण इतिहासलाई आजको पुस्तासँग जोडिरहेका छन्। मन्दिरको दायाँ-बायाँ रहेका भित्ताहरूमा प्राचीन चित्रकलाको नमुना देख्न सकिन्छ, जहाँ बौद्ध धर्मका विभिन्न पक्षहरूलाई कलाको माध्यमबाट सजीव रूपमा उतारिएको छ।
मन्दिरको ठिक पछाडि त्यो विशाल सेतो स्तूप ठिङ्ग उभिएको छ, जसको उचाइ र भव्यताले जोकोहीलाई पनि मन्त्रमुग्ध बनाउँछ। स्तूपको आधार स्तम्भदेखि टुप्पोसम्म पुग्दा यसको बनोटमा नेपालको स्वयम्भू र बौद्धनाथको झल्को स्पष्ट रूपमा पाइन्छ। स्तूपको माथिल्लो भागमा रहेको सुनौलो रङको गजुरले सूर्यको प्रकाशमा चमक दिँदा, लाग्छ यो केवल ढुङ्गा र माटोको संरचना मात्र नभई दुई सभ्यतालाई जोड्ने एक दैवी ज्योति हो।
परिसरमा हिँड्दै गर्दा देखिने पुराना शिलालेखहरूले यसको ऐतिहासिक महत्त्वलाई थप प्रस्ट पार्छन्। चिनियाँ र तिब्बती लिपिमा लेखिएका ती विवरणहरूले तत्कालीन समयमा अरनिकोलाई चीनका सम्राट कुब्लाइ खाँले कति उच्च सम्मान दिएका थिए भन्ने कुराको पुष्टि गर्दछन्।
अरनिको कसरी चीन गए?
चीनमा अरनिको कसरी गए भन्ने केही रमाइला प्रसङ्गहरू पनि छन्। चीनका सम्राट कुब्लाइ खानले तिब्बतका धर्मगुरू फाग्स-पा (Phags-pa) लाई तिब्बतमा एउटा ठूलो सुनौलो स्तूप निर्माण गर्न आग्रह गरेका थिए। फाग्स-पाले नेपालका राजा भीमदेवसँग कुशल कालीगडहरू पठाइदिन अनुरोध गरे। राजाले १०० जना कालीगड पठाउन खोजे पनि केवल ८० जना मात्र तयार भए। तर, त्यो टोलीको नेतृत्व कसले गर्ने भन्ने अन्योल भयो। त्यतिबेला मात्र १६ वर्षका अरनिको अघि सरे र नेतृत्व लिने इच्छा देखाए। उमेर सानो भएकाले सुरुमा धेरैले पत्याएनन्, तर उनको आत्मविश्वास र कलाप्रतिको ज्ञान देखेर अन्ततः उनकै नेतृत्वमा टोलीलाई तिब्बत पठाइयो।
तिब्बतमा स्तूपको काम सफलतापूर्वक सम्पन्न गरेपछि फाग्स-पा अरनिकोको कामबाट यति प्रभावित भए कि उनले अरनिकोलाई चीनका सम्राट कुब्लाइ खानको दरबारमा लगे। दरबारमा सम्राट कुब्लाइ खानले एक १६–१७ वर्षको विदेशी ठिटोलाई देखेर आश्चर्य मान्दै सोधे— 'तिमी यति सानो देशबाट आएका छौ, के तिमीलाई यहाँ आउँदा अलिकति पनि डर लागेन?'
अरनिकोले निर्भीक भएर उत्तर दिए— 'प्रजाका लागि सम्राट आमाबाबु समान हुन्छन्। आमाबाबुको काखमा आउँदा छोराछोरीलाई कसरी डर लाग्छ र?'
अरनिकोको यो कूटनीतिक र चतुर उत्तर सुनेर कुब्लाइ खान निकै प्रभावित भए।
कुब्लाइ खानले अरनिकोको परीक्षा लिन दरबारमा रहेको एउटा पुरानो तामाको मूर्ति देखाए। त्यो मूर्ति चीनका वरिष्ठ कालीगडहरूले बनाउन खोज्दा बिग्रिएको थियो र कसैले पनि त्यसलाई मिलाउन सकेका थिएनन्। सम्राटले अरनिकोलाई भने— 'यदि तिमी साँच्चै महान् कालीगड हौ भने यसलाई बनाएर देखाऊ।'
अरनिकोले त्यो बिग्रिएको मूर्तिलाई पुनः पगालेर, नयाँ ढाँचामा ढालेर यति सुन्दर र आकर्षक बनाए कि दरबारका सबै चिनियाँ कलाकार र सम्राट स्वयं दङ्ग परे। त्यसपछि सम्राटले उनलाई चीनका 'सबै कालीगडहरूका नाइके' को उपाधि दिएका थिए।
चीनमा अरनिकोलाई 'आ-नि-गो' (Anige) भनेर चिनिन्थ्यो। उनको प्रतिभाबाट प्रभावित भएर सम्राट कुब्लाइ खानले उनलाई उच्च सरकारी पदहरू दिए। चिनियाँ दरबारमै बसोबासको व्यवस्था मिलाए।
अरनिकोले निर्माण गरेको स्तूप सन् १९५० को दशकसम्म बेइजिङको सबैभन्दा अग्लो संरचना रहेको थियो। स्तूपको वरिपरि रहेका साना साना चैत्यहरू र प्रार्थना चक्रहरू (माने) घुमाउँदै गर्दा स्थानीय चिनियाँ पर्यटकहरूले श्रद्धापूर्वक शिर निहुराएको देख्दा, नेपाली कलाले भाषा र भूगोलको सीमा नाघेर विश्वकै मन जितेको अनुभव हुन्छ। अझ त्यसमा अरनिकोकै प्रतिमा देख्दा छाती गर्वले फराकिलो हुन्छ।
तेह्रौँ शताब्दीमा नेपाली कलाकार अरनिकोले निर्माण गरेको यो विशाल संरचनाले केवल वास्तुकलाको नमुना मात्र प्रस्तुत गर्दैन, बरु नेपाल र चीनबीचको गहिरो सांस्कृतिक र कूटनीतिक सम्बन्धको बलियो आधार स्तम्भका रूपमा पनि ठिङ्ग उभिएको छ। यसको भव्य गजुर र चिटिक्क परेको सेतो बनावटलाई नियाल्दा, कुनै बेला एक साधारण नेपाली युवकले आफ्नो कलाको जादुले चिनियाँ सम्राट र जनतालाई कसरी मोहित पारे होलान् भन्ने गर्विलो अनुभूति मनमा खेलिरहन्छ।
स्तूपको परिसरमा पाइला टेक्नेबित्तिकै त्यहाँको शान्त वातावरणले व्यस्त बेइजिङ शहरको कोलाहललाई बिर्साइदिन्छ। वरिपरिका राता पर्खाल र परम्परागत चिनियाँ शैलीका संरचनाहरूका बीचमा ठडिएको यो स्तूपले नेपाली प्यागोडा शैली र तिब्बती चैत्य निर्माण कलाको अनुपम सम्मिश्रण झल्काउँछ। यहाँ आउने धेरैजसो नेपाली पर्यटकहरूका लागि यो केवल एउटा ऐतिहासिक स्मारक मात्र नभई, परदेशमा आफ्नोपन महसुस गराउने एक पवित्र तीर्थस्थलजस्तै बनेको छ।
स्तूपको तलपट्टि रहेका चक्रहरू घुमाउँदै र त्यसको कलात्मकतालाई तस्बिरमा कैद गर्दै गर्दा, प्रत्येक नेपालीले अरनिकोको साहस र सिर्जनशीलतालाई नमन नगरी रहन सक्दैन। वास्तवमै, यो सेतो गुम्बा नेपाली कला कौशलको विश्वव्यापी हस्ताक्षर हो, जसले सदियौँदेखि हिमाली देशको गरिमालाई विदेशी भूमिमा उच्च पारिरहेको छ।