वासिङ्टनको कार्यक्रम समापन गरेपछि हामी मिनियापोलिसतर्फ प्रस्थान गर्ने तयारीमा लाग्यौँ। त्यसका लागि हामी बसमार्फत भर्जिनियास्थित रोनाल्ड रेगन वासिङ्टन नेशनल एयरपोर्टतर्फ लाग्यौँ। बसको सिधा यात्रा करिब ३०-४० मिनेटमै पूरा हुने भए पनि हाम्रो यात्राको उद्देश्य केवल विमानस्थल पुग्नु मात्र थिएन, बाटोभरि राजधानी वरपरका विभिन्न स्थानहरूको अवलोकन गर्दै जाने गरी कार्यक्रम तय गरिएकाले हामीलाई विमानस्थल पुग्न झण्डै दुई घण्टा लाग्यो।
वासिङ्टन र भर्जिनियालाई पोटोम्याक नदीले छुट्याउँछ। त्यो नदी पार गरेपछि राजधानीलाई पछाडि छोड्दै अर्को राज्यमा प्रवेश गरेको अनुभूति आफैमा विशेष थियो। करिब दुई घण्टा चालीस मिनेटको हवाई यात्रापछि हामी मिनेसोटा राज्यको मिनियापोलिस-सेन्ट पल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्यौँ। त्यहाँबाट करिब ११ माइलको बसयात्रा गरेर सहरको केन्द्रमा रहेको होटल पुग्दा साँझ परिसकेको थियो।
पहिलो दृष्टिमै मिनियापोलिस एउटा विकसित, व्यवस्थित र व्यस्त महानगरका रूपमा देखियो। आकाश छुने अग्ला भवनहरू, विश्वप्रसिद्ध कम्पनीका कार्यालयहरू र सहरको चहलपहलले त्यहाँको आर्थिक जीवन्ततालाई सहजै अनुभूति गराइरहेका थिए। हामीले त्यहाँ तीन दिन बितायौँ।
मिनियापोलिसमा हाम्रा केही आधिकारिक बैठकहरू सम्पन्न भएपछि केही घुमघाम र अनौपचारिक भेटघाटका कार्यक्रम पनि तय गरिएका थिए। स्थानीय परिवारसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम त्यसमध्ये सबैभन्दा रोचक थियो। मिनेसोटामा रहेको हाम्रो पाँच सदस्यीय टोलीमध्ये चिलीकी मोनिका कोन्सेलो र मलाई जोएल र मार्थाको घरमा निम्तो गरिएको थियो। साँझ ५ बजेदेखि ८ बजेसम्मको त्यो गृहभेट कार्यक्रम हाम्रो भ्रमणको विशेष अनुभव बन्ने सङ्केत त्यतिबेलै मिलिसकेको थियो।
हामीलाई लिन जोएल साँझ ४:४५ बजे आफ्नै कार लिएर होटल आइपुगे। म औपचारिक कार्यक्रमका लागि जस्तै कोट-प्यान्ट लगाएर तयार भएको देखेर उनले मुस्कुराउँदै भने, 'मेघ, तिमीले सुट नलगाएको भए पनि हुन्थ्यो। यो त नितान्त घरायसी कार्यक्रम हो। आफ्नै घरमा जसरी बस्छौ, त्यसैगरी आए पनि हुन्छ।'
उनको आत्मीय आग्रह सुनेपछि मैले कोट फुकालेर हातमै बोकेँ।
उनले फेरि भने, 'आज म तपाईंहरूलाई केही ठाउँ पनि देखाउँदै लैजान्छु। त्यसले अमेरिकी समाजलाई अलि नजिकबाट बुझ्न मद्दत गर्छ।'
हामी कारमा चढेर पूर्वतर्फ लाग्यौँ। बाटोभरि जोएलले मिनियापोलिसको इतिहास, भूगोल र समाजका विविध पक्षहरूबारे जानकारी दिँदै गए।
मिसिसिपी नदीको किनार देखाउँदै उनले भने, 'यो नदी अमेरिकाको इतिहाससँग गहिरो रूपमा जोडिएको छ। पहिले-पहिले संसारका विभिन्न भागबाट आएका मानिसहरू यही क्षेत्र हुँदै अमेरिका प्रवेश गर्थे। यस क्षेत्रमा गहुँ र मकै प्रशस्त उत्पादन हुने भएकाले धेरै वर्षअघि यहाँ पिठो बनाउने ठूला-ठूला मिलहरू स्थापना भएका थिए।'
उनले वरिपरिका पुराना उद्योग र भवनहरू देखाउँदै त्यहाँको औद्योगिक विकासको कथा सुनाइरहेका थिए। केही बेरपछि हामी दक्षिणतर्फ मोडियौँ। बाटोमा देखिएका विभिन्न बस्तीहरूको सामाजिक इतिहास पनि उनी रोचक ढंगले सुनाउँदै गए।
एउटा बस्ती देखाउँदै उनले भने, 'यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मानिसहरूको बसोबास धेरै थियो। अहिले भने सबै समुदाय एकआपसमा घुलमिल भइसकेका छन्।'
सहरको मुख्य भाग पार गरेपछि जोएल हामीलाई पुरानो आवासीय क्षेत्रमा लिएर गए। त्यहाँका पुराना शैलीका घरहरू, सादा वास्तुकला र हरियालीले ढाकिएका आँगनहरू हेर्दा निकै मनमोहक लाग्थे। त्यसपछि उनी हामीलाई हरियो चौर हुँदै एउटा ठूलो तालको किनारमा पुर्याए। त्यो थियो लेक अफ द आइल्स (Lake of the Isles)। चारैतिर हरियो चौर, वरिपरि घना रुख र शान्त पानीले सजिएको त्यो ताल साँच्चै मन लोभ्याउने थियो। बेलुकाको समय भएकाले धेरै मानिसहरू डुङ्गा चलाइरहेका थिए। तर त्यहाँ मोटरयुक्त डुङ्गा सञ्चालन गर्न प्रतिबन्ध रहेछ। माछा मार्न पनि अनुमति-पत्र लिनुपर्ने र समुदायले तोकेका नियमअनुसार मात्र माछा मार्न पाइने जानकारी जोएलले दिए।
मैले जिज्ञासा राखेँ, 'यस तालको संरक्षण कसले गर्छ?'
उनले सहज रूपमा उत्तर दिए, 'यसको संरक्षण सरकारभन्दा बढी समुदायले गर्छ। यो समुदायको साझा जिम्मेवारी हो।'
त्यसपछि हामी अर्को तालतर्फ लाग्यौँ— ब्डे माका स्का (Bde Maka Ska) (पहिले यसलाई लेक क्यालहुन भनिन्थ्यो।)। साँझको समयमा त्यहाँ निकै चहलपहल थियो। मानिसहरू दौडिरहेका थिए, साइकल चलाइरहेका थिए, परिवारसँग घुमिरहेका थिए। जोएलले हाँस्दै भने, 'लेक अफ द आइल्समा प्रायः वृद्धवृद्धाहरू घुम्न आउँछन्, तर यहाँ भने युवापुस्ताको चहलपहल बढी हुन्छ।'
यसरी तालहरू घुम्दाघुम्दै समय निकै बितिसकेको थियो। जोएलले मार्थालाई फोन गरेर भने, 'म पाहुनाहरूलाई तालहरू देखाउँदै ल्याउँदै छु, तिमी बस्दै गर।'
हरियालीले सजिएका बस्ती, शान्त ताल र सुन्दर चौरहरू पार गर्दै अन्ततः हामी जोएलको घर पुग्यौँ। घर बाहिरबाट हेर्दा निकै सामान्य देखिन्थ्यो, तर त्यसको वरिपरिको वातावरण असाध्यै आकर्षक थियो। हामी पुग्नेबित्तिकै मार्था आँगनमै आइन् र मुस्कुराउँदै परिचय दिइन्, 'म मार्था जेसलक्विस्ट।'
घर वरिपरि घना रूखहरू थिए। तल सानो बाटो थियो र त्यसको छेउमै एउटा सानो पोखरी। पोखरीमा हरियो लेउ लागेकाले त्यो पनि हरियै देखिन्थ्यो।
मैले अनायासै भनेँ, 'ओहो! कस्तो हरियालीमा बस्नुभएको रहेछ, कति रमाइलो ठाउँ!'
मार्थाले हाँस्दै उत्तर दिइन्, 'हो नि, यहाँ सबैतिर हरियाली नै हरियाली छ। उ तलको पोखरी हेर्नुस्, पानी पनि हरियो देखिन्छ।'
त्यसपछि उनीहरूले हामीलाई घरको पछाडिबाट माथिल्लो आँगनमा लगे। त्यहाँ पुग्ने काठका खुड्किलाहरूमा पनि समयको छाप थियो। कतैकतै लेउ लागेर कालो भइसकेका थिए। त्यो दृश्य देख्दा मलाई आफ्नै गाउँको गोठतर्फ उक्लिरहेको अनुभूति भयो।
माथि पुग्दा हरियो चौरमाथि काठको टेबल र कुर्सी मिलाएर राखिएको थियो। जोएलले भने, 'बस्नुहोस्। रेस्टरूम त्यहाँ छ। तपाईंहरू आफ्नै घरमा जस्तै सहज हुनुहोस्।'
हामी चारै जना त्यहीँ बसेर गफ गर्न थाल्यौँ। त्यतिबेला चिलीकी साथी मोनिकाले मार्थालाई सोधिन्, 'म चुरोट खान्छु, यहाँ खान मिल्छ?'
मार्थाले सहज रूपमा भनिन्, 'किन नमिल्नु? मज्जाले खानुहोस्।'
मोनिकाले चुरोट सल्काइन्। जोएलले मलाई हेर्दै हाँस्दै सोधे, 'मेघ, तिम्रो चाहिँ कुनै नराम्रो बानी छैन?'
मैले पनि हाँस्दै जवाफ दिएँ, 'मेरो नराम्रो बानी आज कुनै भेटियो भने सम्झाइदिनुहोला।'
त्यसपछि सबै हाँस्न थाल्यौँ।
करिब दस मिनेटपछि उनीहरूले हामीलाई भान्सातिर लगे। एउटा कचौरामा ओखर र काजु राखिएको थियो। मार्थाले भनिन्, 'मेघ, मन पर्छ भने खाँदै गर।'
मैले केही टुक्रा टिपेर खाएँ।
भान्सामा विभिन्न पेय पदार्थ र परिकारहरू मिलाएर राखिएका थिए। जोएलले मलाई सोधे, 'के पिउने?'
मैले भनेँ, 'आज तपाईंको रोजाइअनुसार केही नयाँ स्वाद चाख्न चाहन्छु।'
मार्थाले सोधिन्, 'बियर पिउँछौ?'
'पिउँछु, तर ब्रान्ड तपाईंको रोजाइको होस्,' मैले उत्तर दिएँ।
जोएलले हाँस्दै भने, 'म चाहिँ मदिरा पिउँदिनँ, तर मेघलाई स्थानीय बियरको स्वाद चखाउनुपर्छ।'
उनले एउटा स्थानीय बियर निकालिदिए। मोनिकाले वाइन रोजिन्, र मार्थाले पनि वाइन लिइन्। हामी आँगनमै बसेर पेयसँगै कुराकानी गरिरह्यौँ। जोएलले भने आफ्नै गिलास नलिई मार्थाको गिलासबाट एक चुस्की मात्र चाखे। त्यो दृश्य मलाई केही अनौठो लाग्यो। हाम्रो समाजमा 'मदिरा पिउँदिनँ' भन्नेहरूले यसरी चाख्ने चलन कमै हुन्छ।
मेरो अनुहारको भाव बुझेजस्तो गर्दै जोएलले भने, 'मेघ, म पिउँदिनँ, तर मार्थालाई यो निकै मन पर्छ। त्यसैले उनको गिलासबाट एक चुस्की मात्र।'
मार्था मुसुक्क हाँसिन्। जोएलले फेरि ठट्टा गरे, 'मार्थालाई त वाइन नपिई निद्रा नै लाग्दैन।'
मार्थाले झन् रमाइलो पार्दै भनिन्, 'अरू बेला भने मेरो निद्रा जोएलले नै लिन्छन् नि!'
त्यसपछि सबैको हाँसोले माहोल गुञ्जियो।
केहीबेरपछि मार्था र मोनिका भान्सातिर लागे। जोएल र म भने अमेरिकी समाजदेखि नेपालको राजनीति र संस्कृतिसम्मका विषयमा कुरा गर्दै बस्यौँ।
केही समयपछि मार्था आएर भनिन्, 'अब खाना खाऊँ।'
खाना खाने ठाउँ घरको अर्को कुनामा निकै कलात्मक ढंगले बनाइएको रहेछ। चारैतिर काठको घेराबार थियो। जोएलले भने, 'यहाँ लामखुट्टे धेरै हुन्छन्, त्यसैले जाली लगाएको।'
मलाई सबैभन्दा रोचक लागेको कुरा के थियो भने उनले बिजुलीको बत्ती बालेनन्। बरू काठकै सुन्दर होल्डरमा मैनबत्ती बालेर वातावरण उज्यालो बनाए। अमेरिकामा त्यो प्राकृतिक प्रकाशमा बसेर खाना खाने अनुभव मेरो लागि बिल्कुल नयाँ थियो।
मार्था र मोनिकाले उसिनेको मकै, आँप मिसाइएको 'समर फुड' लगायतका परिकार ल्याइन्। खाना सुरू भएसँगै कुराकानी पनि अझ गहिरियो। उनीहरूलाई नेपालको समाज, परिवार र संस्कृतिबारे निकै चासो थियो। विशेषगरी जोएल सन् २००७ मा चार दिनका लागि नेपाल आएकाले नेपालप्रति उनको उत्सुकता झन् बढी थियो।
विवाह, प्रेम, नातासम्बन्ध, पारिवारिक जीवनशैली र नेपाली संस्कृतिका अनेक पक्षबारे लामो संवाद चल्यो। एउटा प्रसङ्गमा महिला र पुरुषको भूमिकाबारे कुरा निस्कियो। जोएलले सोधे, 'मेघ, नेपालमा महिलाहरूले धेरै काम गर्नुपर्छ, पुरुषहरूले घरको काममा त्यति सहयोग गर्दैनन्, होइन?'
मैले उत्तर दिएँ, 'नेपाली समाजमा अहिले धेरै परिवर्तन भइरहेको छ। आजकल धेरै पुरुषहरूले पनि घरको काममा महिलाहरूलाई सहयोग गर्न थालेका छन्।'
मेरो कुरा सकिन नपाउँदै मार्थाले भनिन्, 'त्यो त नेपालमा मात्र होइन, संसारभरकै अवस्था हो। महिलाहरूले घरको काम अलि बढी गर्छन्, किनभने उनीहरूले खाना अझ मिठो बनाउँछन्, परिवारको जिम्मेवारी बढी बोध गर्दछन्। आजकै कुरा हेर न। तिमीहरू बाहिर बसेर गफ गरिरह्यौ, म र मोनिकाले भित्र बसेर खाना तयार गर्यौँ। मोनिका मलाई सघाउन आइन्, तर मेघ आएनन्, तिमी पनि आएनौ। तिमी मेघसँग कुरा गर्न पाउँदा खुसी भयौ, मैले त त्यो अवसर नै पाइनँ।'
सबैजना हाँस्न थाल्यौँ। जोएलले भने, 'म त उनीहरूलाई यहाँ ल्याएर ल्याउने काममा थिएँ नि!'
मार्थाले फेरि गम्भीर हुँदै भनिन्, 'त्यो काम म पनि गर्न सक्थेँ। त्यसैले समस्या कामको होइन। महिला र पुरुषबीच अवसर र स्रोतमा समान पहुँच हुनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो।'
उनको त्यो भनाइमा अमेरिकी समाजले लैङ्गिक समानतालाई कसरी हेर्छ भन्ने दृष्टिकोण स्पष्ट झल्किन्थ्यो।
उनीहरूले हामीलाई घरका सबै कोठाहरू देखाए र भने, 'अमेरिकीहरू घरभित्र कसरी बस्छन् भनेर तपाईंहरूलाई बुझ्नका लागि मैले यहाँ भएका सबै कुराहरू देखाउँदै छौँ। यी कोठाहरूमा तपाईंहरू आउनुहुन्छ भनेर हामीले कुनै विशेष तयारी वा सरसफाइ गरेका छैनौँ,' जोएलले भने।
जोएलले एउटा कोठा देखाउँदै भने, 'अमेरिकी केटीहरूको कोठाभित्र कस्तो हुन्छ, आज त्यो पनि देख्न पाउनुहुनेछ। हामीसँग एक जना आफन्तकी छोरी बस्छिन्, उनी अहिले साथीसँग घुम्न गएकी छिन्। त्यही भएर हेर्ने मौका मिल्यो, नत्र केटीको कोठा हेर्ने मौका मिल्दैन, हैन मेघ?' भन्दै जोएल हाँसे।
कुराकानीको क्रममै थाहा भयो, मार्था पहिले शिक्षिका रहिछन्। पछि उनले युएसएडमा पनि काम गरिछन्। जोएल भने बैंकबाट अवकाश प्राप्त गरिसकेका रहेछन्। उनीहरूको जीवनशैली हेर्दा अमेरिकी समाजमा अवकाशपछिको जीवन पनि कति व्यवस्थित, स्वतन्त्र र रमाइलो हुन सक्छ भन्ने कुरा प्रत्यक्ष अनुभव थियो।
त्यो साँझ केवल एउटा पारिवारिक निम्तो मात्र थिएन। अमेरिकी समाजको आत्मीयता, समुदायप्रतिको जिम्मेवारी, प्रकृतिप्रेम, सरल जीवनशैली र महिला–पुरूष सम्बन्धप्रतिको खुलापनलाई नजिकबाट बुझ्ने अवसर पनि थियो।