डाउनटाउन गएर लाइभ म्युजिकमा रमा, डिस्को जा, प्रसिद्ध स्मारकहरू हेर, अथवा रमणीय दृश्यहरूको आनन्द लिन भन्ने सल्लाह नआएको होइन।
इलन मस्कका टेस्ला, स्पेसएक्स र स्टारलिङ्कका कारखानातिर घुम्न जा भन्ने सुझाव पनि साथीभाइहरूले दिएका थिए। तर म भने संसारकै सबैभन्दा ठूलो सहरी चमेरा बस्ती अवलोकन गर्ने दुर्लभ र विस्मयकारी अवसर गुमाउन चाहन्नथेँ।
एनआरएन अमेरिकाको वार्षिक साधारण सभा र ‘नलेज कन्भेन्सन’को दिनभरको व्यस्तता सकिइसकेको थियो। ज्ञान, विचार र सहकार्यले भरिएको दोस्रो तथा अन्तिम दिन बिस्तारै शान्त साँझमा रूपान्तरण हुँदै थियो। नलेज कन्भेन्सनमा सहभागी साथीहरू बेदनिधि दाहाल, डा. कविता घिमिरे, डा. उमाकान्त मिश्र, डा. परसु दाहाल, सुभाष पौडेल र डा. दिनेश पौडेल, आ–आफ्नो गन्तव्यतर्फ लागिसकेका थिए। मेरो उडान भने भोलिपल्ट बिहान मात्र थियो। त्यसैले लामो समयपछि एउटा पूरै साँझ मेरो आफ्नै थियो।
टेक्सासको राजधानी अस्टिन पुगेपछि पुग्नैपर्ने मानिने ‘ओएसिस’ (The Oasis) मा हामी चार भाइ सुभाष पौडेल, डा. उमाकान्त मिश्र, डा. दिनेश पौडेल र म अघिल्लो दिन नै त्यहाँ पुगिसकेका थियौँ।
दिन ढल्कँदै गएपछि होटलबाट उबर चढेर अस्टिनको प्रसिद्ध ‘कंग्रेस एभेन्यु ब्रिज’तर्फ लागेँ। यात्रा करिब पचास मिनेटको थियो। आधा बाटो काटेपछि चालकसँग कुराकानी सुरु भयो।
'म चमेरा हेर्न जाँदै छु,' मैले भनेँ।
'चमेरा? कहाँ?' उनले अचम्म मान्दै प्रतिप्रश्न गरे।
उनको प्रतिक्रिया देख्दा अस्टिनको यो अद्भुत आकर्षणबारे उनलाई खासै जानकारी नभएको जस्तो लाग्यो। सायद उनी अस्टिनमा नयाँ थिए।
पुल पारि लगेर चालकले मलाई छोडिदिए। सडक वरिपरि हेरेँ, न कतै चहलपहल थियो, न कुनै सूचना वा संकेत। समय पनि धेरै थिएन, त्यसैले अलमलिनुभन्दा दायाँतर्फ लागेर नजिकैको एउटा होटलभित्र छिरेँ।
होटलका एकजना बारटेन्डरलाई सोध्दा उनले सहजै भने, 'पुलमुनिको खाली ठाउँमा जानुहोस्, अथवा पुलमाथि बसेर सूर्यास्त नहुन्जेल पर्खिनुहोस्।'
उनको सुझावपछि म पुलमुनिको स्थानतर्फ लागेँ। मनमा एउटा उत्सुकता थियो, के साँच्चै यहाँ मैले खोजेको त्यो अद्भुत दृश्य देख्न पाउनेछु?

कंग्रेस एभेन्यु पुल कुनै विशाल, उर्लँदो नदीमाथि बनेको रहेनछ। त्यो त अस्टिन सहरको छातीमा शान्तसँग फैलिएको प्रसिद्ध ‘लेडी बर्ड ताल’ (Lady Bird Lake) माथि सहजै मुस्कुराइरहेको रहेछ।
होटलबाट अलिकति ओरालो झरेपछि तालको किनारामा बनेको एउटा पदमार्गमा पुगेँ। त्यहाँ धेरै मानिसहरू भेटिए-कोही हिँडिरहेका थिए भने कोही दौडिरहेका। साँझको पारिलो घाम बिस्तारै अस्ताउँदै थियो, तर गर्मी भने अझै कम भएको थिएन।
म त्यही पदमार्ग समातेर पुलमुनितर्फ लागेँ। त्यो बाटोमा न कङ्क्रिटको तह थियो, न अलकत्राको कालो पत्र। मनमा विचार आयो—विश्वकै समृद्ध मुलुकको एउटा विकसित सहरमा पक्की बाटो बनाउने बजेट नभएर त पक्कै होइन होला। बरू, मानिसका पाइला र प्रकृतिको माटोबीचको जीवन्त सम्बन्ध जोगाइराख्ने यो एउटा सचेत प्रयास रहेछ। प्रविधिको गतिसँगै दौडिरहेको सहरले प्रकृतिसँग पनि कति सुन्दर सन्तुलन कायम गर्न जानेको रहेछ!
पदमार्गको दुवै किनारमा उभिएका बाक्ला रूखहरू र हरिया बोटबिरूवाले वरिपरिको वातावरणलाई हरियालीको काखजस्तै बनाएका थिए। प्रकृतिको त्यो शान्त परिवेशमा मानिसहरू आ–आफ्नै संसारमा रमाइरहेका देखिन्थे।
एउटा रूखमुनि उभिएको एक जोडी मुख जोडेर प्रेममा हराएका जस्ता देखिए। अलि पर, एकजना अधबैंसे व्यक्ति आफ्नो टी–शर्ट खोलेर ढलेको रूखमाथि लमतन्न सुतेका थिए। बाहिरी दृश्य जति रमणीय थियो, त्यत्तिकै एउटा सानो असुविधा पनि थियो—मच्छरको बिगबिगी निकै थियो।
पुलमुनिबाट पुल पार गरेपछि दाहिनेतर्फ एउटा खुला चौर भेटियो। फाट्टफुट्ट मानिसहरू आउन थालिसकेका रहेछन्। उनीहरूमध्ये धेरैजसो कुर्सी र खानेकुराका झोला बोकेर आएका थिए।
म भने केही पनि नलिई गएको थिएँ। यद्यपि पाँच डलरमा कुर्सी भाडामा लिन मिल्ने रहेछ, तर म केहीबेर चौरमै बसेँ। त्यत्तिकैमा एकजना हिस्पानिक मूलका व्यक्ति साइकलमा पानीका बोतल बेच्दै आइपुगे।
हेर्दाहेर्दै चौर मानिसहरूले भरिन थाल्यो। पुलमाथि पनि मानिसहरू लहरै उभिन थाले। पुलको यो पट्टि मात्र होइन, पारिपट्टि पनि मानिसहरूको एउटा सानो झुण्ड देखिन थाल्यो।

हामी सबै एउटै प्रतीक्षाको धागोमा बाँधिएका थियौँ—अँध्यारो छाउने क्षण र त्यसपछि सुरू हुने चमेराहरूको आगमनको। चमेराहरू दिनभर पुलमुनिको साँघुरा कापहरूमा बस्दा रहेछन्, अँध्यारो भएपछि बाहिर निस्कँदा रहेछन्।
मलाई सूर्यास्त हेर्न मन पर्छ, र संसारका धेरै ठाउँहरूबाट हेरेको पनि छु। तर त्यो दिन, मलगायत तालको किनार र पुलमाथि भेला भएका हजारौँ आँखाहरू पश्चिमतिर ढल्किँदै गरेको सूर्यतर्फ होइन, पुलको तल्लो भागका अँध्यारा खोँच र कापतिर केन्द्रित थिए। चमेराहरूको उडान हेर्ने उत्सुकताले त्यस दिनको रमणीय सूर्यास्तलाई समेत ओझेलमा पारेको थियो।
म चौरबाट उठेर अलिक तल पुलमुनि, पानीको छेउतिर गएँ। त्यहाँ पनि २०–२५ जना मानिसहरू जम्मा भएका रहेछन्। मलाई त्यहाँबाट दृश्य अझ राम्रो देखिन्छ जस्तो लाग्यो, त्यसैले त्यहीँ अडिएँ।
जब घाम अस्ताउन लाग्यो र अँध्यारो बिस्तारै छाउन थाल्यो, प्रायः सबैको हातमा भएका फोनमा रातो थोप्ला देखिन थाले। कसै कसैले व्यावसायिक क्यामेरा र दूरबिन पनि बोकेका थिए। हामी सबै एउटै क्षणको प्रतीक्षामा थियौँ—पन्ध्र लाख चमेराहरूको आगमनको।
वरिपरिका केही स्थानीय मानिसहरू भने आफ्नै नियमित तालमा थिए। कोही पदमार्गमा हिँडिरहेका थिए, कोही दौडिरहेका थिए—मानौँ उनीहरूका लागि यो दैनिक जीवनको सामान्य हिस्सा थियो, तर हामी आगन्तुकहरूका लागि प्रकृतिको एउटा दुर्लभ र रोमाञ्चक दृश्य।
पारिपट्टि सहरका भवनहरूमा बत्तीहरू बल्न थाले। एकातिर हामी र चमेराहरू अँध्यारोको प्रतीक्षामा थियौँ भने अर्कोतिर सहर उज्यालिँदै थियो।
घाम अस्ताएपछि त झन् सबैका आँखा पुलमुनितिर केन्द्रित भए।
'सूर्यास्त भइसक्यो, खै त निस्केनन्?' मैले मनमनै प्रश्न गरेँ।
वन विज्ञानको विद्यार्थी भएकोले वन्यजन्तु आफ्नै नियम र लयअनुसार चल्छन् भन्ने मलाई थाहा थियो। तैपनि तुरून्त परिणाम खोज्ने तीव्र गतिमा दौडिरहेको संसारका अनगिन्ती मानिसहरूमध्ये म पनि एक हुँ।
तर त्यस साँझ चमेराहरूले मलाई एउटा महत्त्वपूर्ण पाठ सिकाए—धैर्यको।
झन्डै १५–२० मिनेट पर्खिएपछि चलखेल सुरू भयो। पुलमुनिबाट केही चमेराहरू बाहिर निस्किए।
'उ निस्कियो!' एकजनाले उत्साहित हुँदै भने।
'हो, हो, निस्कियो!' अर्काले थपे।
क्षणभरमै सबैका फोनहरू त्यतैतिर सोझिए। हेर्दाहेर्दै अचानक एउटा मसिनो तर एकरूप ध्वनिसँगै दर्जनौँ चमेराहरू निस्कन थाले। त्यसपछि हजारौँ। केही मिनेटभित्रै आकाशको दृश्य नै परिवर्तन भयो।
आकाशमा एउटा विशाल कालो तरङ्ग बग्यो।

लाखौँ चमेराहरू एकअर्कासँग नठोक्किई कसरी उड्छन्? उनीहरूलाई कुनै ट्राफिक नियमको आवश्यकता पर्दैन, तर मानिसलाई किन पर्छ? भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्न सक्छ।
तर यसको उत्तर उनीहरूको असाधारण संवेदन क्षमता र प्रभावकारी सञ्चार प्रणालीमा लुकेको छ। चमेराहरूले प्रतिध्वनि (echolocation) को माध्यमबाट वरिपरिको अवस्था पहिचान गर्छन्, एकअर्कासँग समन्वय गर्छन् र अँध्यारोमा पनि अद्भुत सटीकताका साथ उडान भर्छन्।
थप अध्ययन गर्दा थाहा भयो—विश्वका विशाल ‘फ्लाइङ फक्स’ जस्ता चमेराहरू, जसको तौल करिब १.५ किलोग्राम र पखेटाको फैलावट ४–५ फिटसम्म हुन्छ, तिनको तुलनामा अस्टिनका ‘मेक्सिकन फ्रि–टेल्ड’ चमेराहरू निकै साना, हलुका र सूक्ष्म रहेछन्।
यी चमेराहरूको तौल जम्मा ११–१२ ग्राम र पखेटाको फैलावट करिब एक बित्ता जति मात्र भए पनि, थाइल्यान्डमा पाइने ‘बम्बलबी’ चमेराभन्दा भने केही ठूला रहेछन्। तर आकारले उनीहरूको क्षमतालाई सीमित गर्दैन रहेछ, केही अध्ययनहरूले यी चमेराहरूको उडान गति १६० किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने उल्लेख गरेका छन्।
नेपालकै सन्दर्भमा हेर्ने हो भने, तराई र काठमाडौँका पुराना रुखहरूमा पाइने ‘इन्डियन फ्लाइङ फक्स’ (बडुर) को पखेटा ४ फिटसम्म फैलिएको हुन्छ। अर्कोतिर, पोखराको प्रसिद्ध चमेरे गुफा र पहाडी भेगमा पाइने साना कीरा खाने चमेराहरू भने अस्टिनकै चमेराजत्रा वा अझ साना हुन्छन्।
कोही फर्किँदै पनि थिए। पछि थाहा भयो, यी चमेराहरूले प्रत्येक रात हजारौँ कीरा खाएर प्राकृतिक कीट नियन्त्रण प्रणालीको काम गर्छन्, जसले कृषि र वातावरणलाई फाइदा पुर्याउँदै रासायनिक कीटनाशकको आवश्यकता घटाउँछ।
यदि यिनीहरूले त्यसरी लाखौँको संख्यामा कीरा नियन्त्रण नगर्ने हो भने अस्टिन मात्र होइन, दक्षिणपूर्वी अमेरिकाको ठूलो भूभाग नै कीराको समस्याले आक्रान्त हुने थियो होला। प्रकृतिले सन्तुलन कायम गर्ने आफ्नै अद्भुत व्यवस्था बनाएको रहेछ।
त्यहाँ उभिएर म सोच्दै थिएँ, सहरहरूलाई प्रायः प्रकृतिमाथि मानिसको विजयका प्रतीकका रूपमा चित्रण गरिन्छ—जहाँ वन फाँडेर कङ्क्रिटका संरचना उभ्याइन्छन्, नदीहरूको बाटो साँघुर्याएर राजमार्ग विस्तार गरिन्छ, र मानव महत्त्वाकाङ्क्षाको फैलावटसँगै प्रकृति बिस्तारै किनारातिर धकेलिन्छ।
तर संसारमा केही यस्ता दुर्लभ सहर पनि छन्, जहाँ कथा फरक ढंगले लेखिन्छ। जहाँ सहर वन्यजीवका लागि सुरक्षित आश्रय बन्छ, र मानिसले निर्माण गरेको एउटा साधारण संरचनासमेत लाखौँ जीवहरूको आश्रयमा रूपान्तरित हुन्छ।
काठमाडौं उपत्यकाका केशरमहल, रानीपोखरी, स्वयम्भू, पशुपतिनाथ र पाटन क्षेत्रमा चमेराहरूले त्यसरी नै बासस्थान बनाएका छन्। भनिन्छ, सामान्यतः ठूला फलाहारी चमेरा अग्ला रूखमा बस्छन् भने साना कीराहारी चमेरा गुफा, पुराना घर, र मन्दिरका छानामा आश्रय लिन्छन्।
त्यो पुल सन् १९१० मा बनेको भए पनि, सन् १९८० को दशकको सुरूआतमा कंग्रेस एभेन्यु पुलको पुनर्निर्माणपछि मात्र यी चमेराहरूले यहाँ आफ्नो नयाँ घर बनाउन थालेका रहेछन्। पुलका कङ्क्रिट संरचनाबीच बनेका साँघुरा चिराहरू संयोगवश उनीहरूका लागि अँध्यारा, न्यानो र सुरक्षित आश्रयस्थल बन्न पुगे।
पहिलो वर्ष यी चमेराहरूले यो नयाँ बासस्थान कसरी पत्ता लगाए होलान्? धेरैका लागि यो एउटा कौतूहल जगाउने प्रश्न हुन सक्छ।
यो दृश्य केवल वन्यजन्तुको अद्भुत प्रदर्शन मात्र होइन; मानव र प्रकृतिबीचको सहअस्तित्वको जीवन्त पाठ पनि हो। कसरी प्रजातिहरू परिवर्तनशील वातावरणमा अनुकूल हुन्छन् भन्ने कुराको उदाहरण हो यो। मानौँ यी चमेराहरू प्रकृतिको आफ्नै भाषामा भनिरहेका थिए—'तिमी पुल बनाऊ, हामी यहाँ आफ्नो बस्ती बसाउँछौँ।'
ट्राफिक, भवनहरू र मानवीय गतिविधिले घेरिएको व्यस्त सहरी पुल कसरी लाखौं चमेराहरूको घर बन्न सक्छ? यसको उत्तर इन्जिनियरिङ र प्रकृतिबीचको एउटा अप्रत्याशित साझेदारीमा निहित छ।
सुरूका दिनहरूमा चमेराहरूको आगमन सबैलाई मन परेको थिएन। धेरै बासिन्दाहरू यी जीवहरूलाई रोग र डरको स्रोतका रूपमा हेर्थे। केहीले त तिनीहरूलाई हटाउनसमेत चाहेका थिए।
संसारभरि पुस्तौँदेखि चमेराहरू गलत बुझाइको सिकार हुँदै आएका छन्। धेरै संस्कृतिमा तिनलाई अन्धकार, डर वा खतरासँग जोडेर हेरिन्छ। तर वास्तविकता भने निकै फरक छ। अधिकांश चमेराहरू मानिसबाट टाढा रहन्छन् र स्वस्थ पारिस्थितिक प्रणाली कायम राख्न अत्यन्त महत्वपूर्ण भूमिका खेल्छन्। तिनीहरू प्रकृतिका मौन संरक्षक हुन्।
तर अस्टिनमा वैज्ञानिकहरू र संरक्षणविद्हरूको अथक प्रयास, साथै स्थानीय समुदायसँगको संवादले जनधारणा परिवर्तन गर्न मद्दत गर्यो।
मानिसहरूले बुझ्न थाले—यी चमेराहरू खतरा होइनन्; उनीहरू त प्रकृतिले दिएको एउटा अमूल्य उपहार हुन्। उनीहरूले वातावरणलाई सन्तुलित राख्न महत्वपूर्ण भूमिका खेलिरहेका छन्।
खासमा यो उनीहरूको स्थायी घर होइन रहेछ, बरू एउटा ‘समर भ्याकेसन होम’ जस्तै रहेछ। गर्मी मौसम बिताउन प्रत्येक वर्ष हजारौँ किलोमिटर यात्रा गर्दै यी मेक्सिकन फ्रि–टेल्ड चमेराहरू अस्टिन आइपुग्छन्। कुनै बर्ष अलि धेरै आउँछन भने कुनै बर्ष कम। यहाँ उनीहरू बच्चा जन्माउँछन् र हुर्काउँछन्। जाडो सुरु भएपछि भने फेरि मेक्सिको हुँदै अझ दक्षिणतर्फ, सेन्ट्रल अमेरिकासम्म फर्कन्छन्।
केही पर्यटकहरू डुङ्गामा चढेर पनि चमेराहरूको अद्भुत उडान अवलोकन गरिरहेका थिए। लेडी बर्ड तालबाट हेर्दा यो दृश्य अझ विशेष देखिँदो हो, किनकि आगन्तुकहरूले पानीमाथि उडिरहेका लाखौँ चमेराहरू र पृष्ठभूमिमा फैलिएको अस्टिनको सहररेखा एकैसाथ देख्न सक्छन्।
बिस्तारै भीड शान्त हुँदै गयो। म पनि पुलमाथि गएँ र केहीबेर त्यहाँबाट दृश्य अवलोकन गरेँ। मलगायत सबैका फोनका क्यामेरा चमेराहरूतर्फ सोझिएका थिए। ती फोनका उज्याला पर्दा र फ्ल्यासले उनीहरूको प्राकृतिक व्यवहारमा असर परिरहेको छ भन्ने थाहा हुँदाहुँदै पनि, म त्यही कर्ममा सहभागी भइरहेकामा मनमा संकोच जागिरहेको थियो।

अन्तिम समूह पनि अँध्यारो आकाशमा हराएपछि नदीको मन्द आवाज र सहरका बत्तीहरूको उज्यालो मात्र बाँकी रह्यो। भीड बिस्तारै तितरबितर भयो—आफ्ना क्यामेरामा तस्बिर, मनमा अविस्मरणीय सम्झना र आफूभन्दा माथि लुकेको प्रकृतिको अद्भुत संसारप्रति अझ गहिरो सम्मान बोकेर।
सङ्गीत, प्रविधि, विश्वविद्यालयहरू र सहरको मुटु भएर बग्ने सुन्दर कोलोराडो नदीका लागि प्रसिद्ध अस्टिनको अर्को असाधारण परिचय धेरैलाई थाहा नहुन सक्छ। तर अस्टिन पुग्ने जो कोहीले कंग्रेस एभेन्यु पुलमुनि हरेक साँझ दोहोरिने प्रकृति र मानव सभ्यताबीचको यो अद्भुत सहअस्तित्व अवश्य अनुभव गर्नुपर्ने रहेछ।