'चौपायाको धन
गन्दै नगन्
भन्दै नभन !!!'
भेँडा कति पाल्नुभएको छ बाजे? भन्ने प्रश्नको जबाफमा निसिखोला–६ भल्कोट निवासी ६४ वर्षीय टेकध्वज घर्तीमगरले दिएको उत्तर हो माथिको भनाइ।
मगर टीकाधारा भेँडी गोठका अगुवा गोठाला हुन्। बाउबाजेले गर्दै आएको पेसामा उनी बाल्यकालदेखि नै छन्। कतिबेला व्यथा (रोग) लागेर भेँडा मर्छन् थाहा नै हुँदैन।
कतिपय बाघले हानेर मर्छन्। स्थानीय भाषामा बाघले हान्नुको अर्थ हुन्छ कहिलेकाहीँ चितुवाले बगाल नै मारेर सखाप पारिदिनु हो। चितुवाले धपाएर भीरपहराबाट खसेर मर्छन्, जसलाई बाघले हानेको भन्ने प्रचलन छ। स्याल अनि ब्वाँसाले पनि खाइदिन्छन्।
भेँडाको जात नै एकसुरे हुन्छ। कहिलेकाहीँ बथानको मुली भेँडा भीरपहराबाट हाम फाल्यो भने हुलका सबै भेँडाहरूले हाम फाल्ने गर्छन्, जसले गर्दा गोठ नै रित्तिएर गोठाला घर फर्किने हुन सक्छ। कति जन्मिन्छन् कति मर्छन् लेखाजोखा नै हुँदैन। गणना गरेमा सह जान्छ भन्ने परम्परा भएकोले गन्दैनन् गोठालाहरू। भेँडापालनमा दशकौँ लामो अनुभव छ टेकध्वजको। टिकाधारामा सबभन्दा बढी भेँडा उनकै छन्।
उनी सबैभन्दा साहु गोठाला हुन्। उनको बगालमा ५५६ वटा भेँडाहरू छन्, जसमध्ये ५०६ उनका र ५० छोरीका हुन्। टेकध्वज बाह्रै महिना भेँडी गोठमा बिताउँछन्। चाडपर्वहरूमा समेत उनलाई फुर्सद हुँदैन।
-1786185176.jpeg)
उनी पाका भेँडी गोठाला हुन् त्यसैले अन्य गोठालाहरूले उनकै सिको गर्छन्। उनी सहित दश जना गोठालाहरू हरेक वर्षायाममा चरनका लागि टिकाधारामा आउने गर्छन्। भदौ अन्तिममा छुट्टिन्छन्। हिजोआज दिउँसोको समय बुकीका पाटन भेँडाको बथानले ढाकेर सेताम्मे हुने गर्छन्। भेँडाहरूको भ्याँ भ्याँ अनि गोठालाहरूको सिठ्ठीको आवाजले पाटन गुञ्जायमान हुने गर्छ।
गोठालाहरूले सिठ्ठी र आवाजका भरमा भेँडाहरूलाई नियन्त्रणमा राख्छन्। चरनमा जाने, रोकिने, फर्कने, तयारी अवस्थामा रहने, पाठापाठीलाई दूध चुसाउने जस्ता गतिविधि गोठालाहरूका सिठ्ठीकै भरमा हुन्छन्। सबै गोठालाहरू एउटै साझा गोठमा बस्छन्। गोठ थरी भने समय समयमा फेरिरहन्छन्।
समूहमा नै पकाउँछन्, खान्छन्, कामको बाँडफाँट गर्छन्। सामूहिक भेँडा चराउँछन्। टिकाधारामा आउनेहरूमा टेकध्वजसहित रोल्पा मिरुलका रतनकुमार बुढा, पूर्वी रूकुम लुगुम गाउँका फलप्रकाश गुरूङ, बागलुङ भल्कोटका दलबहादुर घर्ती, उत्तरपुथा गाउँपालिका सेराका लहरमान बी.के., रोल्पा गामका चेतमान रोका क्षेत्री, नरेश बुढा, जङ्गबहादुर घर्ती, भासबहादुर घर्ती छन्।
अर्का एक जना दलबहादुर घर्तीमगरले बोबाङका काले बी.के.लाई महिनाबारी ज्याला दिई गोठालो राखेका हुन्। नियमित गोठालाहरू तिनै हुन्। रोल्पालीहरूले प्युठानदेखिका भेँडा जिम्मा लिएर आएका छन्। त्यस्तै बोबाङका मक्कु अदैले १५० बढी भेँडा गोठालाहरूको भरमा छोडिदिएका छन्।
भेँडा रेखदेख गरिदिएबापत मक्कुले गोठालाहरूलाई तोकिएको खाद्यान्नको जोहो गरिदिन्छन्। मक्कुले जस्तै अन्यले पनि गोठालाहरूको जिम्मामा भेँडाहरू छोडिदिएका छन्। टिकाधारामा हजारौँ भेँडाहरू चरिचरन गर्ने गर्छन्।
गोठालाहरू आफ्नै छुट्टै संसारमा रम्छन्। गोठको आफ्नै नियम छ। गोठालाहरू नियमित बैठक बस्छन्। अगुवाइ गर्छन् पाका गोठाला टेकध्वज घर्तीले। सर्वसम्मतले पारित भएपछि माइन्युट लेख्छन्। यदि पालना नगरेमा कारबाहीमा पर्छन्। अर्को वर्षबाट गोठ अलग गर्नुपर्ने सम्मको कारबाही हुन सक्छ।
गोठालाहरू घरायसी काम परेमा पालैपालो छुट्टीमा जाने गर्छन्। बिरामी परेको खण्डमा छुट्टीको व्यवस्था हुन्छ। कतै काम परेमा अगुवा गोठालाको स्वीकृति लिनुपर्ने हुन्छ। एक दिन अनुपस्थित भएको जरिबाना रु. ७००। बिहान-बेलुकी खाना पकाउने, पानी बोक्ने, दाउरा जम्मा गर्ने, भाँडा माझ्ने, दूध दुहुने, मोही पार्ने, पाठापाठीको रेखदेख गर्ने जस्ता कामको चटारो हुन्छ।
बिहान वा बेलुकी अनुपस्थित भएमा रु. १०० जरिवाना हुन्छ। उठेको जरिवाना रकम जम्मा गरी राख्छन्। भेँडाहरूको रेखदेखका लागि अजङ्गका ८ वटा भोटे कुकुरहरू पालिएका छन्। कुकुरहरूलाई खानाका लागि प्रति कुकुर मासिक रु. २५०० कोषमा जम्मा गर्नुपर्छ। कोषमा जम्मा भएको पैसाले रासनपानी, नुनतेल किन्छन्। भेँडाको हुल ठूलो हुनाले सबै गोठाला भेँडा चराउन जान्छन्। एक जना भने गोठको रेखदेख गर्न, पानी बोक्न, दाउरा जम्मा गर्न, खाना पकाउनका लागि बस्नुपर्ने हुन्छ। दैनिक समयतालिका एउटै हुन्छ। बिहान आठ बजे भेँडा दुहुनु, पाठापाठीहरूलाई आमाको दूधमा लगाउनु, एघार बजेसम्म खाना खाइसक्नु, बाह्र बजे भेँडा चरनमा लैजानु गोठालाहरूको दैनिकी हो। भेँडा फर्कने बेलासम्म भान्सेले खाना तयार गरिसकेका हुन्छन्। खाना खायो सुत्यो। भोलिपल्ट फेरि त्यही रूटिन।
-1786185176.jpeg)
टेकध्वज भन्छन्, 'पढाइलेखाइ छैन। सानैदेखि बाजेसँगै भेडीगोठ लागियो। परान छउञ्जेल भेँडा डुलाउने हो। यतिका सम्पत्ति चटक्कै छोड्न सकिन्न। छोरा नातिले बिँडो थाम्लान् जस्तो लाग्दैन।'
टेकध्वज घर्तीमगरसँग कुराकानी गरिरहँदा हातमा ऊनको धागो बटार्दै आफ्नै सुरमा व्यस्त थिए रोल्पा मिरुलका ४६ वर्षीय रतनकुमार बुढामगर।
उनलाई भने समयको हुरीले बत्ताउँदै भेँडी गोठालो बनाएको हो।
वि.सं. २०५५ सालमा एस.एल.सी. पास गरेका रतनले १२ कक्षा पढेर गाउँकै प्राथमिक स्कुलमा चार वर्ष पढाए।
करारमा खाएको जागिरको तलब सन्तोषजनक नै थियो। द्वन्द्व प्रभावित क्षेत्र रोल्पामा माओवादीहरूलाई नियमित चन्दा दिनुपर्ने, माओवादीमा लाग्न दिनदिनै दबाब आउन थालेपछि रातारात भागेर काठमाडौँ पुगेका उनले त्यहाँ विदेश पठाउने दलाल फेला पारे। विदेशमा कमाइ राम्रो हुने, युद्धको डर पनि नहुने लागेपछि केही समयमै मलेसिया उडे।
सात वर्ष मलेसिया बसेर फर्किएपछि रतनले पुर्ख्यौली पेसा थालेका हुन्। अहिले उनको गोठमा करिब ३५० भेँडाहरू छन्।
उनी भन्छन्, 'यो व्यवसायबाट म सन्तुष्ट नै छु। नभएर पनि के गर्नु? हुन परिगो। राज्यले के नै दिन्छ र हामी गोठालाहरूलाई? स्थानीय सरकार त छ, भएर के गर्छ? हाम्रो नामको अनुदान टाठाबाठाले हसुर्छन्।'
टिकाधारा भेँडी गोठका टेकध्वजपछिका अगुवा रतन हुन्।
गोठको नीतिनियमको माइन्यूट बनाउनेदेखि कामको बाँडफाँट गर्न, आम्दानी-खर्चको हिसाबकिताब गर्ने काम रतनकुमारले नै गर्छन्।
गोठालामध्येका अर्का, उपल्लो सेराका सेते कामी भनी चिनिने लहरमान बी.के ४० वर्षका हुन्।
उनलाई बोलिरहनुपर्छ, नबोली बस्नै सक्दैनन्। हँसिमजाक गर्ने बानी भएका उनी सेराका साहू लालप्रसाद बुढाका गोठाला हुन्। साहूका १९० बढी भेँडा छन्। महिनावारी ज्याला पाउने उनका भने जम्मा ९ वटा भेँडाहरू छन्। त्यस्तै साहू लालप्रसाद बुढाका आफन्तका ३० जति नासो छन्।
उनी द्वन्द्वकालको अन्तिम समयतिर जनयुद्धमा सहभागी भएर तालिममा सहभागी भए। लालसेना बनेर चौरजहारी, कोर्जा, चुनवाङसम्म पुगे।
लडाइँमा जानेबेला हातहतियार फालेर सुइँकुच्चा ठोकेर भेडीगोठतिर गएका उनी भगौडा माओवादी लालसेनाको लिस्टमा परे।
उनी हाँस्दै भन्छन्, 'एक दिन जाँड खाएर हल्लिँदै थिएँ, लालसेनाको घुम्ती टोलीसँग जम्काभेट भयो। नाम्लोले हात बाँधेर टकस्थित कार्यालय लगे। एक दिन, एक रात घरको खाँबोमा बाँधेर राखेर भाटे कारबाही गरे। राति पखाला लागेको बहाना बनाएर ३ जना गार्डसँगै मकैबारीमा बसेँ। आधा घण्टा जति बसेँ हुँला। वास्तवमा मलाई पखाला लागेकै थिएन। गार्डहरूको आँखा छलेर रातारात भागेर भेँडी गोठ गएँ। त्यसपछि लामो समय गाउँमा नै फर्किनँ।'
उनको गफ सुनेर अन्य गोठालाहरू पेट मिचिमिची हाँसे।
गोठालाहरूमध्येका सबैभन्दा कान्छा गोठाला हुन्, लुगुम गाउँका ३२ वर्षीय फलप्रकाश गुरूङ।
टिकाधारामा आउने पुरानो गोठ उनैको हो| उनका बाउबाजे सबैले टिकाधारामै चरिचरन गरेका थिए। घरका कान्छा छोरा उनी बाउको मृत्युपछि भेँडी गोठ सम्हाल्ने जिम्मामा परे। अहिले उनका २४२ भेँडाहरू छन्, जसमध्ये ६० नासो। बाउले ४०० सम्म भेँडापालन गरेको उनलाई सम्झना छ। एस.एल.सी. सम्म पढेका फलप्रकाशका अधिकांश सहपाठीहरू विदेश छन्। उनलाई पनि विदेशको हावाले नछोएको होइन। झाडुपोछा लगाउने काममा कतार गएका उनले गर्मी खप्न सकेनन् र तीन महिना पनि नबसी रित्तो हात फर्किए। वर्षात्मा टिकाधारा र हिउँदमा लुगुम, सिमाना र पाटीहाल्नेमा भेडी डुलाउँदैमा वर्षहरू बिताउँछन्।
-1786185176.jpeg)
रोल्पाबाट भेँडा लिएर आएका रोल्पा गामका चेतमान रोका क्षेत्री, नरेश बुढा, जङ्गबहादुर घर्ती, भासबहादुर घर्तीमगरको बुकी आउने पालो यो वर्ष परेको छ। अर्को वर्ष प्युठान र रोल्पाली गोठालाहरूले उनीहरूलाई पालो दिन्छन्। यो वर्ष बुकी आएकाहरूको अर्को वर्ष आउनुपर्दैन। यसरी उनीहरूले परम्परालाई निरन्तरता दिँदै आएका छन्।
किन पालिन्छ बुकीमा भेँडा?
बुकीमा पालिने भेँडाका साँढहरू अधिकांश पूजापाठका लागि प्रयोग गरिन्छन्। मासुका लागि पनि केही पालिन्छन्। स्थानीयले बराह देवतालाई भेँडाको साँढ बलि दिने गर्छन्। बलि दिएमा मनले आँटेको पुग्ने, रोगव्याधि नलाग्ने, लागेमा निको हुने, पशुधन लाभ हुने विश्वासले गर्दा सो प्रथा व्यापक छ। त्यस्तै कुलकुलायन पुज्ने कार्यमा समेत बलि दिइन्छ। गत वर्ष ढोरपाटनको उत्तरगङ्गामा रहेको बराहमा जनैपूर्णिमामा ११७६ बलि दिइएको थाहा भएको थियो। त्यस्तै वैशाख पूर्णिमामा ६३५ भेँडाको साँढको बलि दिइएको थियो। जल्पा बराह, रुद्रताल बराह, सिद्ध बराह, मैकोट मैथान, रोल्पाको जलजला जस्ता देउताहरूलाई सयौँको सङ्ख्यामा बलि दिइन्छ।
गोठालाहरूको गोठमा पूजाको समयमा व्यापारीहरू गोठमै आइपुग्छन्। धेरैजसो पाठा अनि साँढहरू जनैपूर्णिमाको बेलामा बिक्री हुन्छन्। टेकध्वज भन्छन्, “दुःख त छ। माल भयो भने बिक्रीको चिन्ता हुँदैन। व्यापारीहरू गोठमै लिन आइपुग्छन्। ६ महिना पुगेका पाठाहरू पन्ध्र हजारका दरमा बिक्री हुन्छन्।”
-1786185176.jpeg)
किन घट्दै छन् बुकीमा भेँडा?
ढोरपाटन क्षेत्रमा भेँडाको माग अत्यधिक भए पनि भेँडापालन पेसामा आकर्षण घट्दो छ।
धेरै दुःख हुने भएकाले नयाँ युवापुस्ता भेँडापालन गर्न खोज्दैनन्। साथै भेँडाहरूका नवजात शिशुहरूको मृत्युदर उच्च हुने गर्छ। एक वर्ष कटाउन बडो मुश्किल हुन्छ। सो कटेपछि भने गोठालाहरूले लामो सास फेर्छन्। हिउँदको बेला गोठालाहरूलाई एक वर्षसम्मका पाठापाठी बचाउन मुश्किल हुन्छ।
वर्षातमा बुकी भेँडी गोठ लैजानेमध्ये रूकुमका फलप्रकाशले हिउँदमा लुगुम अनि सिमाना वरपरको जंगलमा चरिचरन गर्छन्। कात्तिकदेखि वैशाखसम्म उनका सानाठूला गरी ४२ वटा मरे। ढोरपाटन–६ का गोविन्द अदै एक हप्ता लगाई म्याग्दी रुम हुँदै जङ्गलको बाटो ताराखोलाको सामुदायिक वनमा भेँडा चराउन पुग्छन्। भेँडा चराएबापत उनले समाजमा केही शुल्क तिर्छन्। उनी मङ्सिरदेखि चैतसम्म ताराखोला बस्छन्। यो हिउँदमा मात्रै व्यथाले उनका २३ वटा भेँडा मरे, दुइटा चितुवाले खाइदियो र ५ वटा हराए। ढोरपाटन छेन्टुङका वीरबहादुर बी.के.ले यो वर्ष मात्रै ६० बाख्रा बेची केही रकम थपेर ४५ वटा भेँडापालन सुरु गरे। हिउँदमा सानाठूला १७ वटा मरे। त्यस्तै ढोरपाटन छेन्टुङका हिमप्रसाद बी.के. (सुके काइँला) को गोठमा रहेका ८० भेँडामध्ये २० वटा मरे।
वर्षात्मा भेँडापालन सहज भए पनि हिउँदमा भेँडा मर्नु भेँडागोठालाहरूको साझा समस्या हो। बाघले हान्नु, झाडीमा अल्झिनु, पहराबाट हाम फाल्नु, विषालु घाँस खाई मर्नु जस्ता कैयौँ समस्याहरू छन्। उनीहरूले क्षतिपूर्ति कहीँ कतैबाट पाउँदैनन्। समस्याको पहिचान आवश्यक छ। सरकारले पशुपालक किसानहरूको लागि छुट्याएको अनुदान भेडीगोठसम्म पुग्दैन। नजिकमा रहेको स्थानीय सरकारले कहिल्यै चासो राखेको देखिँदैन।
भेँडापालन पेसामा नयाँ पुस्ताको चासो देखिँदैन। बुकीमा भेँडाको सङ्ख्या वर्षेनि घट्दै गइरहेको छ। ढोरपाटन बुकीमा भेँडा डुलाउने अन्तिम पुस्ता टेकध्वज, रतनकुमार, सेते अनि फलप्रकाश हुने त होइनन्? राज्यले भेँडापालक किसानहरूलाई वास्ता गरेको देखिँदैन। स्थानीय सरकारले नयाँ पुस्तालाई यो पेसामा आकर्षित गर्न ध्यान दिनुपर्ने देखिन्छ। नत्र ढोरपाटन बुकीमा भेँडापालन पेसा नै सङ्कटमा पर्ने देखिन्छ।
-1786185176.jpeg)