जागिर सुरु गरेपछि सफा मनका केही पूर्वेली साथी, दिदीदाइ र सरहरूसँग घुलमिल भएर होला पूर्वेलीहरू नयाँ लाग्दैन थियो तर पूर्वी भूभागमा काम गर्ने, परिवेश बुझ्ने र घुम्ने रहर थियो। संयोगवश प्राकृतिक सौन्दर्यले भरिपूर्ण, आफूले चाहे अनुकूलको स्वच्छ हावापानी, मौसम र भूबनोट भएको पूर्वी हिमाली जिल्ला सङ्खुवासभामा काम गर्ने अवसर मिलेकोमा खुसी लाग्यो।
साउन १६ गते बिहान हिमाल घर्तीमगर, म र सृजन श्रेष्ठ ३ जनाले उत्तर-दक्षिण (कोशी कोरिडोर) राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको खाँदबारी-किमाथांका सडक खण्ड (१६२ कि.मि.) को यात्रा सार्वजनिक गाडीमा सुरु गर्दै खाँदबारी-मानेभञ्याङ-सेकाहा-भ्याङखोला हुँदै छ्याङ्कुटी पुग्यौँ।
छ्याङ्कुटीलाई नेपाल सरकारद्वारा स्थापित तथा प्रवर्धन गरिनुपर्ने पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ। त्यसपछि चिचिला गाउँपालिका हुँदै अगाडि बढ्दा मनमा सम्झना आयो, हामीले घरमा चुले आरुका साना दानालाई चिचिला भन्थ्यौँ। यहाँ त गाउँपालिकाको नाम रहेछ।
चिचिलाबाट अगाडि देउराली हुँदै करिब १३०० उचाइको नुम बजार पुगेर एकछिन गाडीबाट ओर्ली पानी खायौँ। पोखरापछि नेपालको सबैभन्दा धेरै पानी पर्ने ठाउँ सङ्खुवासभा भनेर पढेको याद आयो। सङ्खुवासभाको पनि नुम आसपासको क्षेत्रमा अधिकतम वर्षा हुने रहेछ। नुमबाट अगाडि करिब ९०० मे.वा. क्षमताको निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजना स्थल हुँदै हेदाङ्नागढी पुग्यौँ, आहा! कति राम्रो हेदाङ्नागढीको धानको फाँट।
अरुण नदी पारिपट्टि १० औँ मनमोहक झरनाहरू बगिरहेका थिए, खोल्सा-खोल्सामा अलैँचीका बिरुवाहरू हुर्किँदै थिए। नेताभिर-गोलाबजार हुँदै दिउँसो १२ बजेतिर वरुण दोभान (वरुण र अरुण नदीको संगम) मा पुग्यौँ। हामी आएको गाडी यहाँसम्म मात्र थियो।
मकालु हिमाल र शिवधारा मुहान भई बगेको वरुण नदीको पानीलाई सबैभन्दा पवित्र मानिने रहेछ। हामीले पनि वरुण दर्शन गर्यौं। मैले दर्शन सँगै वरुण नदीमा नुहाएँ। खाना खाएर अर्को गाडीमा बस्यौँ। गाडीको नाम थियो ‘नुम जाने रेल’।
गाडीमा दुई जना भोटे सिस्टरसँग भेट भयो। नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ समुदायका महिलासँग बोलिहाल्न अलिकति अप्ठ्यारो लागेर हिमाल सरको फोनमा खिचिएका फोटोहरू हेर्दै थियौँ, सिस्टरहरूले नै सामान्य परिचय माग्दा हामीलाई पनि बोल्न र घुलमिल हुन नयाँ ठाउँको बारेमा सोध्न सहज भयो। अप्ठ्यारो बाटोको कारण सिम्बुङ गाउँभन्दा थोरै माथिसम्म मात्र गएर गाडी फर्किएपछि एकछिन आराम गरी करिब ८५ किलोमिटर गाडीको यात्रा सकेर पैदल यात्रा सुरु गर्यौं।
हिमाल सर र मेरो लागि एकदमै नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ अनुभव भएकाले यात्रामा उत्साहित थियौँ। हाम्रो घर पश्चिम रोल्पा/कालिकोट, नेपाल-चीन सिमाना किमाथांका-चेन्ताङ्ग जानुपर्ने। हामी फुर्पू रिजेक भोटे/सोना भोटे घर भोटखोला गाउँपालिकाको हुङहुङ कार्यस्थल भोटखोला-२, चेपुवा। स्थानीयसँगको भेटपछि बाटोमा हिँड्दा सहज भयो। पानी परिरहेको थियो, हिँड्दै गफ गर्दे बेलुकीको ७ बजेतिर भोटखोला गाउँपालिकाको कार्यालय रहेको स्थान हटिया पुगेर होटेलमा बास बस्यौँ।
१७ गते बिहान ६ बजेतिर यात्रा सुरु गर्यौं। जङ्गलको बाटो जुकाको बिगबिगी थियो। खुट्टामा टाँसिएका जुका टिप्दै, नाच्दै, गाउँदै फोटो भिडियो बनाउँदै दिउँसो २ बजेतिर हुङहुङ गाउँ पुग्यौँ। आहा कति राम्रो हुङहुङ गाउँ! कति हेरिरहूँ लाग्ने कोदोको बारीहरू।
त्यो बेलुकीको बास फुर्पू सिस्टरको माइती घरमा भयो। आमाले आफै बनाएको तातो कोदोको लोकल छ्याङ दिनुभयो। मेरो लागि नयाँ चिज भएकाले २ गिलास खाएँ। एकदमै स्वादिष्ट लाग्यो।
१८ गते बिहानै भुटेको भात खाएर यात्रा सुरु गर्यौं। अघिल्लो दिनजस्तै रमाइलो गर्दे ११ बजेतिर चेपुवा पुग्यौँ। किमाथांकाका स्थानीय रिन्जिन शेर्पाले खानाको व्यवस्था गरेका थिए। हामी सबैले खाना खाइसकेपछि सिस्टरहरूसँग छुट्टियौँ। रिन्जिन सहित हामी ४ जनाले १२ बजेतिर यात्रा सुरु गरेको १ घण्टा उकालोपछि लिङ्घम पुग्यौँ। लिङ्घमका घरहरूको डिजाइनले आकर्षण बनायो।
त्यसपछि च्याम्ताङ पुग्यौँ। नेपाली सेनाले बनाउँदै गरेको च्याम्ताङदेखि घोङ्गप्पासम्मको करिब १० कि.मि. निरन्तर बाटो डरलाग्दो चट्टानमा रहेछ। तल अरुण बगेको आवाज मुस्किलले सुनिन्थ्यो। यो बाटो बारे अरूले भनेको सुन्दा मलाई त लाग्थ्यो घर जाँदा कर्णाली राजमार्ग अन्तर्गतको कालिकोट खण्डको बाटोजस्तै त होला तर त्योभन्दा पनि डरलाग्दो रहेछ। नयाँ ट्रयाक भएर माथिबाट ढुङ्गा खस्ने सम्भावना पनि उत्तिकै। छुम्सुर हुँदै बेलुकी ८ बजेतिर नेपाल-चीन सिमानामा रहेको गाउँ सङ्खुवासभा भोटखोला गाउँपालिका वडा नं. १ किमाथांका पुग्यौँ।
१९ गते भोटखोला गाउँपलिकाका पूर्व प्रमुख ठिलेन खम्बा भोटे, वडा नं. १ का वडा अध्यक्ष नुर्पु च्यावा, सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट र नेपाल प्रहरी चौकी किमाथांका प्रमुख सहित किमाथांका भन्सार कार्यालयको नाममा रहेको करिब २०० रोपनी जग्गाको निरीक्षण तथा आन्तरिक विविध विषयमा छलफल गर्यौं। किमाथांका नाका त्रिदेशीय (चीन, नेपाल र भारत) सबैभन्दा छोटो र १२ महिना चल्न सक्ने सदाबहार धेरै सम्भावित नाका हो।
२० गते बिहान चीनको तिब्बत क्षेत्र अन्तर्गतको चेन्ताङ्ग प्रवेशको लागि कामाखोलामा बनेको पुल सिमानामा गयौँ एकदमै कडा चेकजाँच हुने रहेछ चिनियाँ पक्षबाट। त्यहाँको पुलिसले मेरो झपक्कै दारी भएर होला फोटो २ पटक खिचेर चीनको अध्यागमनमा पठाएपछि सिटी नम्बर आयो र चीन जान अनुमति दियो।
किमाथांका भन्सार कार्यालयका भन्सार अधिकृत हिमाल घर्तीमगरको नेतृत्वमा हाम्रो नेपाली टिम र चीनको तिब्बत क्षेत्र अन्तर्गतको डेन्डाङ्गका मेयर, चेन्ताङ्ग अध्यागमन र प्रहरीका प्रमुख बिच स्थानीय व्यापार सहजीकरण, सीमा सुरक्षा, आपसी सम्बन्ध र भन्सार सम्बन्धी छलफल भयो। नेपाली र तिब्बती भाषा अनुवादकको भूमिका भोटखोला गाउँपालिका पूर्व प्रमुखले गर्नुभयो।
हामी एकअर्का बिचको भाषा नबुझे पनि, छुट्टाछुट्टै देशका नागरिक भए पनि भेट हुँदा मानवीय सम्बन्ध थियो, सद्भाव र आत्मीयता थियो। सीमा वारपारका बस्तीहरूबिच पारिवारिक सम्बन्ध जसले सदियौँदेखि भाइचाराको रूप लिएको थियो।
काठमाडौँका सडक र सामाजिक सञ्जालमा सीमाबारे चर्को बोलिराख्दा सीमाका नागरिकको आत्मीय भावनामा चोट पुगेको कुरा बुझ्न किन सकेका छैनन् होला भन्ने कुराले मनमा चिसो भयो। जसले गर्दा आपसी मननमुटाव, नैतिक दबाब पर्छ नै। सीमा क्षेत्रका वास्तविक समस्या केही दिनका चर्को नाराभन्दा धेरै फरक हुन्छ। त्यसैले यसमा संयमित हुनुपर्छ।
दिउँसो खानामा सुख्खा भात र बङ्गुरको मासु सहित सिन्का (चपस्टिक) आयो। सिन्काले पहिलो पटक खाना खाएको अनुभव गरेँ। घुमघाम र सामान किनेपछि बेलुकी फर्कियौँ। आफू भोट समुदायको परिवेशसँग सहजै घुलमिल भएपछि मनमनै हाँस्दै भन्थेँ- मेरो जनै र हिन्दु सम्प्रदायले सबैसँग मिल्न सिकाएको छ, केही छुट पनि दिएको छ, बाँकी पवित्र नदी वरुणमा नुहाएपछि त शुद्ध भइहालिन्छ।
२१ गते बिहान सदरमुकाम खाँदबारी फर्किन बाटो तय गर्यौं। आउँदा कुहिरोले स्पष्ट नदेखिएको बाटो फर्किँदा सफा मौसमको कारण झलमल्ल देखियो। अग्ला पहाडमा अनि ठुला-ठुला रुखहरू, हरियाली, बिसौँ मनमोहक झरनाहरू, खोलाहरू। हिँड्दा थकाइ पनि लागेन छुट्टै खुसी उत्पन्न भइरह्यो।
नेपाली सेनाले बनाउँदै गरेको डरलाग्दा चट्टानको बाटो हिँड्दा मनमा लाग्यो, राज्यको उपस्थिति त आफ्नो क्षमता अनुसार हुँदै आएको छ। हिँड्दै गर्दा सानोमा आफैले देखेको कुरा सम्झिएँ- २०६२ सालको पुस/माघमा कर्णाली राजमार्गको ट्रयाक खुलाउँदा कालिकोटको मेरो तिलागुफा नगरपालिकामा पर्ने शेराभिडका ढुङ्गा फुटाउनको लागि गाउँका सबै मिलेर तिला नदी पारिका देवदारका रुख काटेर नदीवारि पार गराई ढुङ्गामा बालेर तातेपछि तिला नदीको पानी खन्याएर फुटाएको।
सायद प्रविधिको कारण आगामी पुस्ताले यो कुरा विश्वास गर्न गाह्रो देखिन्छ। उस्तै परे कल्पना पनि गर्न सक्दैन होला। म आफैले देखेको यो कुरा लेखेर राखेँ भने म पछिको पुस्ताको लागि एउटा इतिहास हुनेछ।
धेरै गहिराइमा अरुण सुसाएको मसिनो आवाज सुनिँदै थियो। अरुण पारिपट्टि सङ्खुवासभाको सबैभन्दा बिकट मानिने रिदाक र थुदाम क्षेत्र देखियो। प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा थुदाम मतदान केन्द्रमा खसेको करिब ७/८ भोट सदरमुकाम ल्याउन कठिन भएकाले मतगणना ढिलो भएको थियो। पछि हेलिकप्टरबाट ल्याइएको थियो।
मनमनै सोचेँ- त्यत्ति भोटको लागि त्यत्रो खर्च किन गरेको होला? स्थानीय राजनीतिक दलका प्रतिनिधिको रोहबरमा मतगणना गरी जिल्लामा रिपोर्ट दिएको भए प्रशासनिक खर्च धेरै जोगिन्थ्यो होला। आर्थिक मितव्ययिता र सुशासन साना-साना कुराबाट नै सुरु गरे पनि त हुन्छ होला।
त्यो दिन चेपुवा सोना भोटेको घरमा बास भयो। फर्किदा नयाँ बाटो प्रयोग गर्ने रहरले २२ गते बिहान चेपुवा-रुकुमा-माक्पालुङ्ग-मानसे-बरुण दोभानको यात्रा सुरु गर्यौं। उकाली-ओराली धेरै, जङ्गलको बाटो, खाने बस्ने ठाउँ सहजै नभेटिने जानकारी दिँदै फुर्पु सिस्टरले बिहानै बनाएर ल्याएको कोदोको रोटी खाएर यात्रा सुरु गर्यौं।
ओरालो हिँडेर अरुण नदी तरेपछि उकालो बाटोमा निर्माणाधीन १०६३ मेगावाट क्षमताको अपर अरुण हाइड्रोपावर हुँदै रुकुमा गाउँ पुग्यौँ। मैले जिस्काएँ- हाम्रोमा त रुकुम छ यहाँ त रुकुमा रहेछ, केही सम्बन्ध छ कि क्या हो केटाकेटी साथीजस्तो नाम।
घाम एकदमै चर्को थियो। करिब १२ केजी जत्तिको झोला बोकेको थिएँ। त्यही माथि उकालै उकालो बाटो। सामान्य गर्मीमा र अलिकति हिँड्दा पसिना बग्ने मेरो शरीर झन् यस्तो बाटोमा त पहिलो स्तरका नदी जस्तै सदाबहार टाउको बाट पसिना बग्दै जुत्तासम्म बगिरहे।
११ बजेतिर करिब २६०० उचाइमा रहेको माक्पालुङ्गको डाँडामा ६५ वर्षीय भोटे बुवाको एक मात्र पसल रहेछ। त्यही खाना खायौँ र उकालो बाटो लाग्यौँ। करिब २८०० उचाइमा पुगेपछि नियमित ओरालो झर्दै फेरि अरुण नदी तर्दै वरुण दोभान पुगी एकछिन वरुणको दर्शन गरी पानी खाएर गोला बजार बेलुकी ७ बजे तिर पुगी बास बस्यौँ।
मैले आजसम्म सबैभन्दा धेरै उकाली-ओराली हिँडेको यात्रा यही थियो। सबैभन्दा बढी पसिना बगेको बाटो यही थियो। शरीर थाकेर हिँड्नै नसकिने अवस्थामा पुगिसकेको थियो। बिहानदेखि बेलुकासम्मको डरलाग्दो उकाली-ओराली हिँड्दै गर्दा मनमा धेरै कुरा खेल्यो-
हामी भाइबहिनी सानो हुँदा बुवा देशबाट (भारत) घर फर्किदा नेपालगन्ज सुर्खेतबाट भारी बोकी यस्तै बाटो हिँडेर घर पुगेको, बजैलाई कोहलपुरबाट बोकेर ल्याएको। परिवारको खुसीको लागि बाध्यताको भुमरीका यात्राको बेला बुवाका कति जोर जुत्ता फाटे होलान्, पातो (दाम्लो) लागेको थाप्लो (कपाल) कति दुख्यो होला, कति लिटर पसिना बग्यो होला, गह्रुङ्गो झोला बोकेको कुम दुखेर कति रातो भयो होला, घर पुग्दा बुवाको त्यही कुम र थाप्लोमा आमाले कति दिन गाईको घिउ तताएर मालिस गरिन् होला?
मेरो यो पहिलो भोट यात्राको समयमा कुलदेवता बाबिरा मष्टा र थार्पमष्टा लगायतलाई पनि सम्झिएँ। उनीहरू पनि भोटबाटै आएका हुन् रे। महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन कृति पढेको याद गरेँ।
२३ गते बिहान मात्र गोला बजारबाट गाडीको यात्रा सुरु गर्यौं। गाडीमा सङ्खुवासभा नुमका रमेश राईसँग परिचय भयो। रमेश सर विश्व खाद्य कार्यक्रममा कालिकोट, जुम्ला र मुगु बसी काम गरिसक्नु भएको रहेछ। मेरो जिल्ला, गाविस, ठाउँ र आफन्तहरूलाई चिनेको कुरा सुन्दा धेरै आत्मीयता महसुस भयो।
बुवासँग भएको डब्लुएफपी लेखेको झोला रमेश सरले नै दिनुभएको रहेछ त्यो बेला। सङ्खुवासभा र कालिकोटको भूगोल, अलैँची, रुद्राक्ष दानाको खेती, हाइड्रोपावर लगायत धेरै विषयमा कुरा भयो धेरै कुरा सोधेँ, सिकेँ। करिब ५ घण्टाको गाडीको यात्रापछि खाँदबारी पुगियो।
पूर्वी नेपाल-चीन सिमाना किमाथांका-चेन्ताङ्ग समग्रमा भोट क्षेत्रको यात्रा मेरो लागि अविस्मरणीय रह्यो। धेरै कुरा देख्न पाएँ, महसुस गर्न पाएँ, सिक्न पाएँ, अनुभव लिन पाएँ। यात्रामा साथ सहयोग गर्ने सम्पूर्ण दृश्य अदृश्यलाई धन्यवाद।

