अपर मुस्ताङको दामोदर कुण्ड जाने मनमा लहर चलिरहेको थियो। मौनतामा नै थोरै योजनाहरू मनमनै बुन्दै थिएँ।
साउनको २६ मा हिँड्ने मनसाय ५ दिन अघि मात्र बनाएँ र साथी मिरा र शोभा पनि जाने कुरा भयो। यात्रा गर्नु अघि खासै कुनै पूर्वतयारी गर्न भ्याइएन, घरमै रहेका पुरानै सरसामान जुत्ता, चस्मा, ज्याकेट, रेनकोट, पन्जा, थर्मस, लौरो, ब्यागले काम चलाउने भएँ। केही चकलेट, ड्राइफ्रुट्सहरू, जीवनजल, सिटामोल, फ्लेक्जन, डाइमोक्स, सनस्क्रिन क्रिम, लिपगार्ड पनि घरमै भएकाले यसपालि केही किनमेल गरिनँ। योगा भने प्रातःकाल दैनिक २ घण्टा गर्थें नै, विशेष गरी अल्टिच्युडका लागि अनुलोम-विलोम र कपालभाती लाभकारी सिद्ध भयो।
बिहानको ५ बजे कलंकीबाट हुइँकिएको हाइसले ११ बजे पोखरा पुर्यायो। पोखरा पुगेपछि शोभाको दाजु जिबु गुरुङ पृथ्वीचोकमा लिन आउनुभयो र उहाँको आतिथ्य सत्कार (दालभात) ग्रहण गरियो। दिउँसोको २ बजे बाग्लुङ बसपार्कबाट बसमा लागियो बेनी।
तेस्रो दिन बेनीबाट स्कार्पियो रिजर्भ गर्यौँ अनि लागियो यात्रातर्फ।
बिहानको ११ बजे हामी रुप्से झरना पुग्यौँ, वर्षायाम भएकाले होला झरनाको बहाव निकै ठूलो देखिन्थ्यो।
रुप्से झरनालाई क्यामेरामा कैद गर्दै, रुप्से नजिकै भात खाएर अघि बढ्यौँ।
स्याउको सिजन, हरियालीको सौन्दर्यले सुनमा सुगन्ध, मुस्ताङ झनै सुन्दर भएको देख्दा जति बयान गरे पनि कम हुन्छ।
दिउँसोको ३ बजे मुक्तिनाथ छेउ पुगियो। पुग्दा भर्खरै पानी परेर आकाश खुलेर हल्का हावामा चिसोको मिठास दिएकाले मन दंग भयो। मुक्तिनाथ मन्दिरको तल छेउको होटलमा बस्ने बन्दोबस्त भयो।
एकछिन आराम गरेर हामी मन्दिरसम्म घुम्न निस्कियौँ। चिसोमा कफी चुस्की लिन मन लाग्यो। एउटा होटेलमा कफी पिउँदै, मुस्ताङे उसिनेको तातो आलु गोलभेडाको अचारसित मज्जाले खाइयो।
मन्दिर पुग्न भर्याङको विकास पनि भएछ। हेर्दै फोटो खिच्दै बिस्तारै उक्लिँदा ७ जनाको हुल आफ्नै तालमा दामोदर कुण्डबारे गफिँदै तल झर्दै थिए। बोल्न मन लाग्यो र सोधेँ, 'के तपाईंहरू दामोदर कुण्ड जाने हो?'
तिनीहरू सबैले एक स्वरमा भने, 'हो हो, हामी दामोदर कुण्ड जाने हो।'
'के छ तपाईंहरूको सवारी साधन?'
उनीहरूले 'हाम्रो केही छैन, यतै पाइएला नि भनेर काठमाडौँदेखि यहीसम्म बस चढेर आएको, अब भोलि नै बुझ्नुपर्छ यता के पाइन्छ' भने।
मैले भनेँ, 'हामीसित एउटा स्कार्पियो गाडी छ, तपाईंहरू चाहनुहुन्छ भने हामीसित मिलेर जान सक्नुहुन्छ। हामी पनि दामोदर कुण्ड नै जाने हो। हामी ३ जना छौँ। तपाईंहरू कति जना हुनुहुन्छ?'
उनीहरू ७ जना भएको कुरा गरे।
'ओहो, सबै मिलाएर १० जना त अट्दैन,' मैले भनेँ।
उनीहरूलाई ढुंगा खोज्दा देउता मिलेझैँ भयो र भन्न थाले, 'ओहो नानी, मिलाउनुस् न, मिलेर जाउँला अटिन्छ, अलिकति टाइट हुने त हो नि, लौ मिलौँ सँगै जाउँ।'
मैले भनेँ, 'तपाईंहरूको फोन नम्बर दिनुस्, म सरसल्लाह गरेर भरे कल गर्छु।'
हामी मन्दिरतिर उक्लियौँ, उनीहरू तल झरे।
साँझको आरतीले मन्दिर गुञ्जायमान थियो। केही मन्दिर अघिल्तिरको पाप कुण्ड र पुण्य कुण्डमा डुबुल्की मार्दै थिए भने कोही एक सय आठ धारामा नुहाउँदै फन्को मार्दै थिए। हामीले ढोका बाहिरैबाट मुक्तिनाथ बाबालाई नमन गरी भोलि बिहान दर्शन गर्ने भयौँ।
बिहानै हामी मन्दिरतिर लाग्यौँ। एक सय आठ धारामा टाउको थाप्न भनेर सुर कसेँ तर चिसोले कटक्कै पार्यो। धारा मुनि कुदेँ, चिसोले हातपाखुरा नै झर्ला झैँ भयो, कुण्डमा डुबुल्की लाउन सकिनँ र भँगेरा स्नान गरेँ। यसपालिको दर्शन असाध्यै सान्निध्यका साथ भयो।
मन्दिरबाट तल ओर्लिँदा ती ७ जना हामीलाई कुरेर गाडी नजिकै बसिरहेका रहेछन्। उनीहरूलाई पनि साथ लिएर बढ्यौँ। गाडी हुइँकियो अपर मुस्ताङतिर।
हाम्रो घुमन्ते योजनाबारे ती सात जनालाई सुनाएँ। उनीहरू ५५ वर्षदेखि ६७ वर्षसम्मका काठमाडौँवासी रहेछन्। हामीसित मिसिएपछि हाम्रो योजनामै घुम्ने उनीहरूको मनसाय भयो। मुस्ताङको मरूभूमि, थुम्का, पहाडहरू देखेर हामी अचम्मित हुन्थ्यौँ। कसरी बने होलान् यस्ता कलारूपी पहाड! ढुंगा, माटो र बालुवाका थुम्का अनि अनौठा आकृतिहरू—कतै गजुर जस्ता, कतै सोली जस्ता, कतै भकारी जस्ता देखेर दंग थियौँ।
छुसाङ पुग्दा सवा दश बजिसकेको थियो। गाडी रोकियो, त्यहाँ पुलिसको अड्डामा सबै घुमन्तेहरूले इन्ट्री गर्नुपर्ने रहेछ। छुसाङलाई निहाल्दा नदीका दोभानमा रहेको सानो बस्ती, रातो माटोको पहाडी भित्तामा गुफाका प्वालै प्वाल देखेर आश्चर्यचकित भएँ। होटलको आँगनमा स्याउ लटरम्म फलेका थिए। स्याउ छुन मनाही थियो, फोटो खिच्न भने जति पनि पाइने रे।
३ बजेतिर लोमान्थाङ पुगियो। बेलुकी बास बस्न फेरि यही फर्किनुछ भनेर गाडी अगाडि नै बढ्यो। लोमान्थाङ कटेपछि एउटा आर्मीको क्याम्प आयो, त्यहाँ भने प्रत्येक व्यक्तिहरूको परिचयपत्र खुल्ने कागजात देखाउनुपर्ने नियम रहेछ। कोरला बोर्डर पुग्दा बेलुकीको ४ बजिसकेको थियो। चिसो निकै हुनाले हुस्सु र बादलले ढाकेर हावा चलिरहेको थियो। एक्कासि ४६०० मा पुग्दा टाउको टनटन दुख्न थाल्यो। खुल्ला पसलहरूमा त्रिपालले छोपिसकेका थिए। चियाघर पालभित्र निकै न्यानो थियो। १ घण्टा त्यहाँ बिताएर लोमान्थाङ फर्कियौँ।
भोलिपल्ट बिहानै दरबार नियाल्न निस्कियौँ। त्यहाँका राजा राजकुमार विष्ट रहेछन्। दरबारको बाहिर ठूलो पर्खाल थियो भने पर्खालभित्र बाक्लो बस्ती, बस्तीहरूका घर माटोले बनेका अनि एकआपसमा टाँसिएर रहेको देख्न पाइन्थ्यो। घुम्दा बाटो नै अलमल हुने सयौँ वर्ष पुराना गुम्बाहरूले त्यहाँको विशेष संस्कृति र मौलिकताको झल्को दिन्थ्यो। त्यहाँ एक घरको छतलाई भ्यु पोइन्ट बनाएकाले लोमान्थाङ भ्यालीका सम्पूर्ण दृश्य अवलोकनका लागि प्रतिव्यक्ति रु ५० को टिकट लिएर वरिपरिका दृश्यपान गर्यौँ।

चराङ, यारा हुँदै दामोदर कुण्ड
दामोदर कुण्ड जाँदा बाटोको सोधपुछ गरी बेलैमा घोडा व्यवस्थाका लागि निधो गर्नुपर्ने रहेछ। हामीले भोलिको यात्राका लागि १० घोडाको बन्दोबस्तका लागि आज बस्ने होटलमा टासीलाई भनेँ। सुर्खाङ पुग्ने करिब ४ किलोमिटर अगाडि कालीगण्डकी नदीको पुल तर्नुपर्ने हुन्छ। त्यो पुलको छेउको माटो बगाएर लगेको ३ दिन भएछ र हामी त्यहीँ अड्कियौँ। पुलको छेउमा सानो सिमेन्टको भाग रहेछ र मान्छेहरू जोखिम उठाएर भने पनि आउन-जान सक्ने रहेछन्। आज यारामा टासी लामाको घरमा हाम्रो बास थियो। टासीकी छोरी पासाङले सिमी-आलुको तरकारी र दाल, भात, अचार बनाएर राखेकी रहिछन्, खाना खाँदा १ बजिसकेको थियो।
भोलिपल्ट खानाका लागि चामल र गुन्द्रुक टासीकी छोरीले पोको पारेर घोडावालालाई दिइन्। त्यहाँ बास बस्ने ठाउँ भनेको ठाँटी र दामोदर कुण्ड दुई ठाउँ मात्र हो। जेठदेखि साउनको जनैपूर्णिमासम्म मात्र बासस्थानमा यारा-घाराको समिति मिलेर चलाउँदा रहेछन्, समितिको अध्यक्ष तिनै टासी लामा रहेछन्। अरू बेलामा भने ठाँटीमा ताला लाग्दो रहेछ। ठाँटीमा ओढ्ने-ओछ्याउने कपडाहरू थिए। यात्रीहरूले त्यो सुविधा निःशुल्क पाउने रहेछन्। अर्थात् जुन होटलमा बस्यो, त्यहीँबाट खानाको जोहो गरिदिने र सँगै जाने घोडावालाले पकाएर खुवाउने रहेछन्। दामोदर कुण्ड जानेले समितिको अध्यक्षसित सम्पर्क गरेर साँचो लिएर व्यवस्था जुटाएर मात्र यात्रा गर्नुपर्ने रहेछ। आफूखुसी सोधखोज नगरी गएमा खाने र बस्ने व्यवस्था केही नहुने कुरा पासाङले जानकारी गराइन्।
सबैजना घोडा चढिसकेपछि म पनि चढेँ। सुरूमा त निकै डराएँ। घोडाको लगाम आफैले समाएर अगाडि काठीमा राम्रोसित समाउनुपर्ने रहेछ। लिडर सबभन्दा अगाडिको घोडामा चढ्यो, त्यसपछि अरू घोडा लस्करै पंक्ति मिलाएर आफैँ लाइनमा हिँड्ने रहेछन्। पछाडि एक जना घोडावाला पुच्छर समाएर हिँड्ने रहेछ। तन र मन एकाग्र बनाएँ, मनलाई आफैँ दरो बनाएर निडर झैँ नबसी खैरियत छैन। घोडा बिनाको यो यात्रा गाह्रो थियो। सर्टकट नागबेली कालीगण्डकी नदीलाई नै बाटो बनाइयो। ज्यान भने थरथर कापेको थियो, कुन बेला लडाइहाल्छ कि जस्तो डर पसेका बेलामा बोली चुइँक्क निस्किन सकेन। घोडा घरि नदीभित्रबाट हिँड्थ्यो, घरि तिरबाट, घरि सानो खोँच भित्ताबाट। घोडाका खुट्टाका खुर नदीका ढुंगामा पर्दा भने सत्तै जाने। दुवैतिर ठूला-ठूला पहाड, बीचमा नदी। नदीको बगरमा देखिएका काला चक्र परेका शालिग्राम कति हुन् कति!
कालीगण्डकीको बाटो सकेपछि घोडा उक्लियो भीरै भीर, एकफिटे कोल्टे बाटोको धारमा घोडाका खुट्टा अडिएका छन्। देखेर मन चिसो भयो, उफ् कस्तो धरापमा छ!
ठूलो, फराकिलो, हरियाली, रंगीचंगी फूलहरूले ढकमक्क भएको सुन्दर पाटन आइपुग्यो। मनै लोभिने यो पाटनमा केही बेर विश्राम लिने भयौँ। सबै घोडाबाट ओर्लियौँ। हिँडेको धेरै बेरपछि सबैले राहतको सास फेरे। चिसो हिमाली काखमा पारिलो घाम, हरियो चौर, ढकमक्क फुलेका वनलसुन र वनफूलको दृश्य अत्यन्तै मनमोहक थियो। समुद्र सतहदेखि करिब ४ हजार मिटरभन्दा माथि रहेको यस हरियाली चौर, निलो आकाशमा कपासझैँ सेता कुदिरहेका बादलका आकृतिहरू कुदिरहेका थिए। पारिपट्टि बलौटे पहाडी भित्तामा रातो लुरी गुम्बा रहेछ।
पुनः लाग्यौँ उकालो। केहीबेरमा सहज बाटो आयो, यो घाराबाट आउने कच्ची मोटरबाटो रहेछ। अब भने धराप बाटोको डरले सताएन। सहज बाटोमा भने यी घोडाहरू छुच्चा पनि हुने रहेछन्। ठूलो र बलियो घोडाले साना घोडालाई आफूभन्दा अघि लागेमा पछाडिबाट अगाडिको घोडालाई बेला-बेलामा टोकिदिने, पछाडिका घोडालाई लात्तीले हिर्काइदिने—यस्ता काम घोडाले गरेको देख्दा बेला-बेलामा भने अत्याइदिन्थ्यो। चार बज्दा हामी भञ्ज्याङमा पुग्यौँ, त्यहाँ बाटो बन्दै थियो, बाटोमा ठूला ढुंगाहरू थिए। अब हल्का ओरालो झर्नुपर्ने भयो, हामी ज्यान खुकुलो पारेर गफिँदै हिँड्यौँ। बाटोमा अद्भुत पहाडी र हिमाली मनमोहक दृश्यले मन तानेर लान्थ्यो। चार घण्टाको यात्रापछि आजको बासस्थान निलो जस्ताले छाएको एक मात्र ठाँटी घर देखियो।
साँझमा ठाँटी पुग्दा ६ बजेको थियो। ठाँटीमा २ वटा कोठा र एक भान्सा घर थियो भने १ गोदाम कोठा थियो। वरिपरि चकमन्न थियो भने छेउबाट नदी बगिरहेको। यहाँ हरियाली चौर र पानीको सुविधा भएकाले बिहानदेखिको समय अनि घोडा र यात्रीहरू दुवैका लागि बस्न उपयुक्त रहेछ। भान्सामा आगो बालेछन्, धुवाँको बासना आयो। तातोपानी र कालो चियाको चुस्कीले ज्यानमा फुर्ती आयो। राति गुन्द्रुक र भात खाएर सुतियो।
बिहान ६ बजे यसो टहल्न निस्कियौँ। हिमाली ठूला, चिल्ला, काला कागका कर्कश स्वर गुञ्जिरहेका थिए। त्यही थुम्कोमा केही बेर कपालभाती, अनुलोम-विलोम र ध्यान गरेँ। केही बेरपछि आँखा खोल्दा नजिकै हिमाली खरायो ठिङ्ग हेरिरहेको रहेछ, त्यो देखेर रमाएँ। बिहान नेपाली राष्ट्रिय तरकारी गुन्द्रुक र भात खायौँ।
९ बजे हाम्रो यात्रा सुरू भयो। घोडा बिस्तारै उकालो लाग्दै गयो। आजको बाटो निकै कठिन छ भन्ने कुरा हामीलाई राति नै थाहा थियो। मनमा त्रासलाई आउनै नदिने निधो गरेँ। आज पानीको बोतलमा जीवनजल आफूले लगाएको ज्याकेटको खल्तीमा राखेँ, बेला-बेलामा जब मुख सुक्थ्यो प्यास मेटाउँथे। दुई बोतल पानीले आज पुर्याउनुपर्नेछ, बाटोमा कतै पानी छैन—हिमाली मरूभूमि यात्रा। ५२०० र ५७०० का उकालो पनि छन्। ५७०० मा भने पहिलो पटक सास फेर्दा कस्तो होला भन्ने खुल्दुली भने मनभित्र चलिरहेको थियो। त्यसैले याराबाट अक्सिजन लिएकाले म ढुक्क थिएँ। बाटो एउटै मात्र थियो, त्यसैले घोडाले पनि आफ्नो बाटो चिन्थ्यो। म अभ्यस्त भएछु, उकालोमा घोडाको टाउकातिर झुक्थेँ, ओरालोमा पछाडि ढल्कन्थेँ।

सानी उकालो भनिने ५२०० मिटरको उकालो आइपुगेछ। यो उकालोमा हामी सबै ओर्लियौँ, ज्यान पनि फुकेको अनुभव भयो। यो ठाउँ निकै रमाइलो लाग्यो, चकमन्न छ। घोरलका केही बथान चरिरहेको, हावामा हुस्सु मिसिएर कुदिरहेको। पानी परेर आधा ज्यान भिज्यो, कम्मरभन्दा माथि रेनकोटले बचायो, तल भने भिज्यो, भिजेको लुगा ज्यानमै सुक्यो।
घोडाले चिनेको बाटो घोडालाई मात्र थाहा छ। नाक ठोक्किने उकालो, आफू डल्लो परेर अगाडि झुकेको झुक्यै! उफ, मनमा भने बेसरी राम नाम धड्किन थाल्यो, अत्यन्तै कठिन थियो। घोडाहरू स्याँ-स्याँ घुर्ररर गर्छन्, मुटु ढुकढुक छ। यदि खुट्टो एक इन्च दायाँ टेक्यो भने घोडा, मान्छे कहाँ जान्छन्, कसैले पत्तो लाउन नसक्लान्। यहाँ भगवान् भनेको घोडा नै रहेछ, यमराज पनि घोडा नै। मन बुझाउनुको विकल्प छैन।
बेलुकी ४ बजेतिर हामी ठूली उकालो अर्थात् ५७०० मिटरको उकालो पुग्यौँ। यहाँ देउराली मानेर प्रार्थना गर्ने चलन रहेछ, यात्री र घोडावालाहरूले पनि त्यो देउरालीलाई केही ढुंगा चढाए। आस्था र विश्वासले मानिसलाई आत्मबल दिने रहेछ।
मलाई ओर्लिन र हिँड्न मन लाग्यो। एक घण्टा पैदल हिँडेपछि भने बिस्तारै टाउको टनटन दुखेझैँ भयो। घोडा निकै अघि बढेको हुनाले भेट्न सक्ने कुरै भएन, घोडाहरूले कुरेर बसेछन्। करिब एक घण्टा जति घोडाको यात्रा गरेपछि देखियो आजको बासस्थान निलो घर।
साँझको करिब ५:३० बजे हामी बासस्थानमा पुग्यौँ। खरायोहरू आ-आफ्नो दुलोबाट निस्केर ठिङ्ग उभिएर हामीलाई हेरिरहेका थिए।
कुण्ड यहाँबाट माथि लाग्दा सुरूमै आउने कुण्डमा ५-६ वटा हिमाली राजहाँसहरूले भर्खरै नुहाएर पखेटाका पानी टकटक्याउँदै ओभानो बनाइरहेका थिए। हिमालमा मैले पहिलो पटक राजहाँस देखेँ। हामी अघि बढ्दै गयौँ, माथि पुगेपछि चक्र कुण्ड देखियो, साथमा अर्को कुण्ड पनि जोडिएको थियो। यहाँ अरू पनि धेरै कुण्डहरूका अवशेष भएको देखिन्थ्यो, अहिले यहाँ तीनवटा कुण्डहरू रहेछन्। आज कृष्ण जन्माष्टमी भएकाले पनि हामीले चक्र कुण्डमा नुहाउने र पूजापाठ गरी लाखबत्ती बालियो। चक्र कुण्डको बीचमा चक्र जस्तो गोलाकार वृत्त देखिन्थ्यो, जहाँबाट पानीको मूल देखियो, पानीमा बाफ आइरहेको थियो।