जीवनका व्यस्त र व्यापारिक जिम्मेवारीहरूबाट केही समय फुर्सद निकालेर नयाँ देशको संस्कृति, प्रकृति र जीवनशैली नजिकबाट नियाल्ने अवसर पाउनु आफैमा एक अद्भुत अनुभव हो।
मिति २०८३ साल भदौ २४ गतेको त्यो दिन मेरो जीवनको एक अविस्मरणीय दिन बन्यो, जब हामी करिब १९ जना व्यवसायी साथीहरू नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलबाट अस्ट्रेलिया प्रस्थान गर्यौँ।
हाम्रो यो यात्रा मलेसियन एयरलाइन्सको दिउँसो १ बजेको उडानमार्फत सिड्नीतर्फ तय भएको थियो।
विमानस्थलमा साथीहरूको उमङ्ग र उत्साहले एउटा बेग्लै ऊर्जा प्रदान गरिरहेको थियो।
सबैले आ–आफ्नो तयारी पूरा गरेर बोर्डिङ पास लिइसकेपछि हामी निर्धारित समयमै जहाजभित्र प्रवेश गर्यौँ।
करिब ५ घण्टाको लामो आकाशको यात्रा मलेसियासम्मको लागि रमाइलो नै भयो। उडानका क्रममा विमानका फ्लाइट एटेन्डेन्टहरूले हामीलाई पानी र खानाका परिकारहरू सेवा गरिरहेका थिए।
म शाकाहारी भएको हुनाले मैले मासुरहित खानाको अनुरोध गरेको थिएँ र मलाई त्यहीअनुसारको खाना उपलब्ध गराइएको थियो।
खानाका परिकारहरू निकै स्वादिला र ताजा थिए। हाम्रा केही साथीहरूले भने यस रमाइलो यात्रामा मदिरापान पनि गरे।
एयरलाइन्समा ड्रिंक्सको व्यवस्था असीमित रूपमा सर्भ गर्ने रहेछ। मलेसियाको समयअनुसार हामी रातिको ८ बजेतिर क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भयौँ।
क्वालालम्पुर विमानस्थलमा हाम्रो करिब ४ घण्टाको ट्रान्जिट समय थियो।
लामो उडानको थकान मेटाउन र समय बिताउन सबै साथीहरू विमानस्थलका विभिन्न क्षेत्रमा टहलिन थाले।
कोही साथीहरू कफी पसलतिर लागे भने कोहीले विभिन्न पेय पदार्थ र खाजाको स्वाद लिन थाले।
सबैजना आ–आफ्नो तरिकाले यो ट्रान्जिट समयको मनोरञ्जन लिइरहेका थिए। यसै क्रममा मैले पनि एउटा तातो कफी मगाएँ र कफीसँगै केही कुकिजहरू खाँदै विमानस्थलको अवलोकन गरेँ।
करिब रातिको ११ बजेतिर हाम्रो उडानका लागि बोर्डिङ खुला भयो र हामी सबै जनाले आफ्नो चेक–इन प्रक्रिया पूरा गर्यौँ। हाम्रो सिड्नी जाने फ्लाइट राति ११:४५ बजेको थियो।
सबै जना आ–आफ्नो सिटमा शान्तसँग बसेर विमान उड्ने प्रतीक्षा गरिरहेका थिए। तर, जब विमान उड्ने तर्खरमा थियो, अचानक जहाजका क्याप्टेनले स्पिकरमार्फत एउटा अप्रत्याशित जानकारी दिए—जहाजको एउटा इन्जिनले राम्रोसँग काम गरिरहेको छैन र प्राविधिक समस्या आएको छ। त्यो सुनेर एकक्षण सबैको सातो उड्यो। त्यो इन्जिन मर्मत गर्न र पूर्ण रूपमा ठीक पार्न करिब डेढ घण्टा समय लाग्यो। त्यो डेढ घण्टा हामी विमानभित्रै निकै तनाव र चिसो मनले बस्यौँ। अन्ततः इन्जिन मर्मत भयो र सबै कुरा ठीक छ भन्ने खबर आएपछि जहाज सिड्नीतर्फ उड्यो।
जहाज त आकाशमा उड्यो, तर मेरो मनमा भने अझै पनि एउटा अनौठो किसिमको चिसो र डर पसेको थियो।
भर्खरै इन्जिन मर्मत गरेर उडाइएको छ, कतै बीच बाटोमा फेरि कुनै समस्या आउने होइन भन्ने चिन्ताले मलाई सताइरहेको थियो।
मेरा अन्य साथीहरू भने यसतिर खासै ध्यान नदिई कोही मज्जाले खाना खाइरहेका थिए भने कोही विभिन्न ड्रिंक्सको आनन्द लिइरहेका थिए। तर मलाई भने त्यो बेला केही पनि खान मन लागेन र मैले केही खाइनँ।
उडान सुरू भएको करिब ४ घण्टा जति भएपछि अचानक हाम्रो जहाज ठूलो टर्बुलेन्स (हावाको तीव्र दबाब क्षेत्र) मा पर्यो, जसले गर्दा जहाज तलमाथि र दायाँबायाँ जोडले हल्लियो। त्यो डरलाग्दो हल्लाइले मलाई झन् धेरै त्रसित बनायो। मेरो नजिकै बसेका एक जना साथीलाई मैले भनेँ, 'मलाई त एकदमै डर लागिरहेछ, अब के गर्ने होला?'
मेरो मनको डर कम गर्न ती साथीले मलाई अन्यत्र कुरा मोड्ने प्रयास गरे।
त्यही बेला एक जना एयर होस्टेस हामी नजिकै आइन् र हामीले उनीसँग विमानको सुरक्षा र प्राविधिक अवस्थाबारे केही क्षण कुराकानी गर्यौँ।
उनले भनिन्, 'नो वोरिज, वि आर सेफ।'
उनले मलाई मानसिक रूपमा शान्त गराउन विमानभित्रै एकछिन टहलिने सल्लाह दिइन् र मलाई एक कप ताजा न्यानो पानी पिउनका लागि ल्याएर दिइन्। त्यो तातो पानी पिएपछि मेरो शरीरको तनाव केही कम भयो। त्यसपछि उनले मलाई आफ्नो सिटमा गएर आरामका साथ सुत्ने सल्लाह दिइन्।
म आफ्नो सिटमा फर्केर सुत्ने प्रयास त गरेँ, तर मनको ढुकढुकीका कारण लामो समयसम्म राम्रोसँग निदाउन सकिनँ। हामी भोलिपल्ट बिहान करिब ११ बजेतिर सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भयौँ।
विमानस्थलबाट बाहिर निस्केपछि हामी सबै साथीहरू पूर्ववत् व्यवस्था गरिएको आरामदायक बस चढेर होटलतर्फ लाग्यौँ।
होटलमा पुगेर कोठा व्यवस्थापन मिलाएपछि हामीले लन्च गर्यौँ। लन्च सकेलगत्तै हाम्रो टुर गाइडले हामीलाई सिड्नी सहरका प्रसिद्ध स्थलहरूको भ्रमण गराउन लैजानुभयो। त्यहाँ पुगेर हामीले सिड्नी ओपेरा हाउस, सिड्नी टावर, बोन्डी बिच र हार्बर ब्रिजजस्ता विश्वप्रसिद्ध पर्यटकीय स्थलहरूको प्रत्यक्ष अवलोकन गर्यौँ।
हामीलाई सिड्नी सहर घुमाउने र सहजीकरण गर्ने गाइड भारतीय मूलकी एक महिला थिइन्। उहाँले सकेसम्म धेरै राम्रो र सविस्तार रूपमा प्रत्येक ठाउँको ऐतिहासिक तथा सांस्कृतिक महत्त्वबारे जानकारी दिनुभयो। हामीले पनि ती सुन्दर र भव्य स्थलहरूको मनमोहक दृश्य क्यामेरामा कैद गर्दै र अवलोकन गर्दै भरपुर मनोरञ्जन लियौँ।
सिड्नी सहरको बसाइ र हिँडडुलबाट हामीले तुरुन्तै सिक्नुपर्ने र अनुसरण गर्नुपर्ने मुख्य कुरा त्यहाँको यातायात र पैदल यात्रुको अनुशासन रहेछ। नम्बर एक कुरा त के भने, त्यहाँका पैदल यात्रुहरूले नेपालमा जस्तो जहीँतहीँबाट बाटो काट्ने वा जथाभावी दौडने गर्दैनन्। उनीहरू तोकिएको जेब्रा क्रसिङको मात्र प्रयोग गर्दा रहेछन्।
जब कुनै पैदल यात्रुले जेब्रा क्रसिङबाट बाटो काट्न थाल्छन्, तब सडकमा गुडिरहेका सम्पूर्ण सवारी साधनहरू स्वतः रोकिँदा रहेछन्। त्यहाँ सवारी चालकहरूले पैदल यात्रुलाई पहिलो प्राथमिकता दिने गर्दा रहेछन्।
यसैगरी, सहरभित्र छोटो तथा सहज रूपमा आवतजावत गर्नका लागि ट्रामको व्यवस्था गरिएको छ। यसको भाडादर अन्य ट्याक्सी वा निजी सवारी साधनको दाँजोमा निकै नै सस्तो पर्दो रहेछ। त्यसैले त्यहाँका स्थानीय बासिन्दाहरू, विभिन्न देशबाट गएर काम गर्ने रोजगारीहरू र अध्ययनका लागि बसेका विद्यार्थीहरूका लागि यो ट्राम यातायात अति नै उपयोगी र लोकप्रिय साधन बनेको देखियो।
त्यहाँ अवलोकन गर्दा अर्को एउटा निकै राम्रो र लोभलाग्दो पक्ष भनेको सहरभरि बनाइएका हरियालीयुक्त सार्वजनिक पार्कहरू हुन्।
सरकारले सहरको बीच–बीचमा ठूला–ठूला र चिटिक्क परेका पार्कहरू निर्माण गरेर राखेको रहेछ। बिहानको समयमा स्थानीय मानिसहरू यी पार्कहरूमा निस्केर नियमित मर्निङ वाक गर्दा रहेछन्।
कोही युवा तथा वृद्धहरू हरियो घाँसे मैदानमा विभिन्न किसिमका शारीरिक व्यायाम गरिरहेको दृश्यले जो कोहीको पनि मन लोभ्याउँथ्यो। यी पार्कहरूको विशेषता के भने, ठाउँ–ठाउँमा पिउने पानीको व्यवस्था गरिएको हुँदो रहेछ, जसको पानी सीधै धारा खोलेर खान मिल्ने खालको शुद्ध हुँदो रहेछ।
मैले पनि अन्य स्थानीय मानिसहरूले त्यहाँको पानी पिइरहेको देखेर धारा खोलेर पानी पिएँ, जुन एकदमै चिसो र मीठो थियो।
अस्ट्रेलियामा हामी बसेको होटलमा पनि पिउने पानीका रूपमा सिधै धाराको पानी नै पिउनुपर्ने नियम रहेछ। त्यहाँ मिनरल वाटर वा बट्टाको पानी किन्ने चलन निकै कम वा विरलै हुने रहेछ, किनकि सिधै धाराको पानी पिउन योग्य हुन्छ। त्यहाँको पानी पूर्ण रूपमा शुद्ध र प्राकृतिक भएकाले पिउँदा स्वास्थ्यमा कुनै किसिमको नराम्रो समस्या परेन।
हाम्रो यात्राको दोस्रो दिनको घुम्ने तालिकामा ‘ब्लु माउन्टेन’ नामक प्रख्यात पर्यटकीय स्थल रहेको थियो।
उक्त रमणीय ठाउँ हामी बसेको होटलबाट गाडीमा करिब डेढ घण्टा जतिको दूरीमा अवस्थित थियो।
बिहानै होटलबाट निस्केर बाटामा रमणीय दृश्यहरू अवलोकन गर्दै हामी ब्लु माउन्टेनमा पुग्यौँ।
यो ठाउँ देख्दा मलाई मेरो आफ्नै देश नेपालको बागलुङ वा बेनीतिरका डाँडाकाँडा र पहाडी भूगोलको झल्को आएको थियो। अग्ला–अग्ला पहाडी डाँडा र गहिरा खोंचहरूलाई व्यवस्थित गरेर पर्यटकहरूका लागि केबलकार तथा विभिन्न साहसिक साधनहरूको आकर्षक प्रबन्ध मिलाइएको रहेछ।
त्यो ब्लु माउन्टेन क्षेत्रमा पूर्ण रूपमा घुम्न पूरै एक दिन नै लाग्दो रहेछ। जस्तै कि त्यहाँका प्रख्यात ‘थ्री सिस्टर्स’ पहाडी चट्टानहरू, ९० डिग्रीको ठाडो उचाइमा चल्ने रोमाञ्चक ट्रेन राइड र विशाल राष्ट्रिय निकुञ्ज यी सबै कुरा राम्ररी अवलोकन गर्न ८ देखि १० घण्टाको समय लाग्ने रहेछ। हाम्रो लन्चको व्यवस्था पनि त्यहीँ नै गरिएको थियो। लन्चमा बर्गरको परिकार थियो। मैले त्यहाँ भेज बर्गर खाएँ। त्यसको स्वाद नेपालमा पाइने बर्गरभन्दा निकै फरक र मीठो लाग्यो। हाम्रा अन्य सबै साथीहरूले पनि आ–आफ्नो रुचिअनुसार त्यहाँका विभिन्न खानाका परिकारहरू स्वाद मानेर खाए। कसैले शाकाहारी भोजन छनोट गरे भने कसैले मांसाहारी (ननभेज) परिकारको आनन्द लिए। ब्लु माउन्टेनका ती अपार प्राकृतिक सौन्दर्य र हरियाली डाँडाकाँडाका दृश्यहरू क्यामेरामा कैद गरेपछि हामी अपराह्न करिब ३ बजेतिर आफ्नो होटलतर्फ फर्कियौँ।
हाम्रो यात्राको तेस्रो दिन स्थानीय सपिङ मलहरूको अवलोकन तथा बजार घुम्ने तालिका निर्धारण गरिएको थियो। सोही कार्यतालिकाअनुसार बिहान होटलमा स्वादिष्ट ब्रेकफास्ट खाएपछि हामी सबै जना सपिङका लागि बाहिर निस्क्यौँ। सडकमा पुग्दा सिड्नीमा बस्ने हाम्रा केही साथीहरूका आफन्तहरू र चिनजानका मानिसहरू उनीहरूलाई भेट्न आइपुगेका थिए।
अस्ट्रेलियाका ठूला–ठूला सपिङ मलहरूमा पाइने प्रायः सबै सामानहरूको मूल्य निकै महँगो नै रहेछ, सम्भवतः ती सबै अन्तर्राष्ट्रिय रूपमा प्रख्यात ब्रान्डेड सामानहरू भएकाले होला। धेरैजसो साथीहरूले पसलका सामानहरू हेर्दै ‘विन्डो सपिङ’ मात्र गरे। सपिङ मलहरूभित्र र त्यहाँका ठूला होटलहरूमा काम गरिरहेका धेरै नेपाली भाइबहिनीहरू भेटिए, जो मुख्यतया उच्च शिक्षा अध्ययनका लागि त्यहाँ गएका विद्यार्थीहरू रहेछन्। उनीहरूले आफ्नो कलेजको पढाइको समयबाहेकको बचेको समय मिलाएर विभिन्न रेस्टुरेन्ट तथा मलहरूमा पार्टटाइम काम गर्ने गरेका रहेछन्। त्यहाँ बेलुका ७ बजे प्रायः बजार बन्द हुने रहेछ।
त्यहाँ काम गरेबापतको पारिश्रमिक घण्टाको हिसाबले पाउने रहेछ र एक घण्टा काम गरेबापत ३० अस्ट्रेलियन डलरदेखि ५० डलरसम्म कमाइ हुने गरेको उनीहरूले बताए।
ती नेपाली विद्यार्थी तथा युवाहरूसँग गफगाफ गर्ने र उनीहरूको विदेशको सङ्घर्षमय जीवनबारे बुझ्ने सुवर्ण अवसर पनि मैले पाएँ। जब मैले उनीहरूलाई सोधेँ, 'यहाँको जीवनशैली कस्तो छ त भाइबहिनीहरू?', तब उनीहरूको उत्तर मिश्रित पाइयो। कसै–कसैले भने, 'सब ठीकै छ दाइ, यहाँ कमाइ राम्रै हुन्छ।'
तर अधिकांशले चाहिँ भने, 'यहाँ सोचेजस्तो सजिलो छैन, जीवन एकदमै गाह्रो छ, कहिलेकाहीँ त लाग्छ यहाँ बेकारमा आएछु।'
उनीहरूले आफ्नो पीडा पोख्दै भने कि विदेशमा जति नै कमाइ भए पनि खर्च पनि त्यति नै उच्च हुन्छ। बस्नका लागि कोठा भाडा महँगो छ, खानपिन महँगो छ र दैनिक उपभोग्य सामानहरू पनि अत्यधिक महँगा रहेछन्। उनीहरूको एउटै सपना छ—आफ्नो पढाइ सफलतापूर्वक सकेपछि आफ्नै मातृभूमि नेपाल नै फर्किने। उनीहरूले भावुक हुँदै भने कि विदेशमा जतिसुकै सुविधा भए पनि आफ्नो देश र घरपरिवारको झल्को र मायाले सधैँ सताइरहन्छ, नेपालको अति नै याद आउँछ।
सिड्नी सहरमा धेरै नेपाली रेस्टुरेन्टहरू पनि सञ्चालनमा रहेछन्। त्यसै दिन बेलुकाको खाना हामीले मेरी फुपूको छोरा इन्द्र भाइकी छोरी पाल्जुमको साथमा एउटा नेपाली रेस्टुरेन्टमा गएर सँगै खायौँ। विदेशको भूमिमा नेपाली स्वादको खाना खान पाउँदा यस्तो महसुस भयो कि मानौँ हामी नेपालमै पो छौँ। त्यहाँ नेपालीहरू मात्र नभई अन्य विभिन्न देशका विदेशी नागरिकहरू पनि नेपाली परिकारको स्वाद लिन आएको देख्दा गर्व महसुस भयो।
क्रमशः




