महाकाली राजमार्गको गोकुलेश्वर, बैतडीबाट चौलानी नदीको पुल पार गरी दार्चुला जिल्ला प्रवेश गरेसँगै अपि हिमाल र त्यहाँको मैदान कस्तो होला र कति चाँडो देख्न पाइएला भन्ने कौतूहल मनमा बोकेर हामी अगाडि बढ्दै थियौँ।
टोली नेता किरण सुवेदी, सचिवज्यू दीपकराज भट्ट, कोषाध्यक्षज्यू अशोक सिंह पुजारा र वसन्त लेखक (बले सर) सँगै तीर्थ महारा साहुजीले स्टेयरिङ सम्हालेको गाडीमा हाम्रो यात्रा अगाडि बढिरहेको थियो।
दिउँसोको खाना अपि होटल गोकुलेश्वरमा खाइसकेपश्चात् अपि होटलबाट हाम्रो यात्रा अपि हिमालतर्फ अगाडि बढ्यो।
दार्चुलाको गोकुलेश्वर बजारबाट अलि अगाडि बढ्यौँ, त्यसपश्चात् चौलानीको किनारैकिनार केही समय अगाडि बढ्यौँ। त्यसपछि फेरि दार्चुला र बैतडी जिल्लालाई छुट्याउने चौलानीलाई पुलबाट एकपटक पार गरेर बैतडीको डिलासैनी गाउँपालिकाभित्र प्रवेश गर्दै चौलानीका छालैछाल हुँदै अगाडि बढ्दै गयौँ।
सडकको रिभर रुटमा महारा साहुजीको ४०९२ स्कार्पियोमा बैतडीको डिलासैनी गाउँपालिकाको भूमिबाट यात्रा गर्दै चौलानीको मुहान हेर्न नदीको बहाव पछ्याउँदै अपि हिमालका लागि अगाडि लाग्यौँ।
हामी चौलानी हेर्दै, चौलानीको मनोरम दृश्य र चौलानीका छालहरूको आनन्द लिँदै अगाडि बढिरहेका थियौँ।
विद्युत् उत्पादन गर्न टर्बाइनमा पानीको बहावले हिर्काउन खोला बीचबीचमा गायब हुन्थ्यो त कतै टेलरेसबाट फेरि खोलामै पानी फालेपछि बीचमा खोला केही समय देखापर्थ्यो र चौलानीले आफ्ना सुसाहटहरू सुनाउँथ्यो।

पुनः टनेल तथा पेनस्टकले खोला गायब पार्थ्यो। दस प्रतिशत खोलामै पानी छोड्नुपर्ने नियम रहे पनि पानी पर्याप्त मात्रामा खोलामा देखिँदैनथ्यो। बाँध बनाएर अग्ला अग्ला कङ्क्रिटका स्ट्रक्चरले पानी थुनेर कतै टनेलबाट त कतै पेनस्टकबाट, लोअर चमेलिया, अपर चमेलिया, मिडिल चमेलिया, सुपर चमेलिया गर्दै पानीको बहावबाट पानीको जवानीलाई तरङ्गमा फाल्ने प्रवृत्ति पनि हामी बाटोमा देखिरहेका थियौँ।
लटिनाथ हुँदै मार्मा गाउँपालिकामा हामी प्रवेश गर्यौँ। कतै डीबीएसटी (DBST) बाटो त कतै खाल्डाखुल्डी हुँदै हामी अगाडि बढिरहेका थियौँ। मार्मा गाउँपालिका, दार्चुला पुगेपछि अपि हिमालसँग नजिक पुगेजस्तो लाग्दै गयो। मार्मापश्चात् कच्ची बाटो हुँदै हामी अपि हिमाल गाउँपालिकातिर लाग्यौँ।
अपि हिमाल गाउँपालिका, जहाँको गाउँपालिकामा हालसम्म पनि कुनै सडक जोडिएको छैन र यसपटक सडक जोडिनेछ भन्ने हल्ला हामीले पनि हेर्नका लागि गइरहेका थियौँ। प्राविधिक टोलीसँगको हाम्रो यात्रा रहेकोले सडक योजनाले गाउँपालिकाको गाउँकार्यपालिका भवनलाई सडक सञ्जालले जोडिरहेको थियो भने सँगसँगै त्यही अपि हिमाल गाउँपालिकामा रहेको अपि बेस क्याम्पमा पनि पुग्नु नै हाम्रो ठूलो धोको थियो।
बेस क्याम्पका लागि हाम्रो यात्रा ओखल भन्ने ठाउँमा पुग्यो। ओखलबाट झन् बाटो खराब थियो। महारा साहुजीको गाडीलाई पार्किङमा खडा राखेर फोर ह्विलर बोलेरोमा चढेर गलड्याङ, बल्डेंग, बुल्डुङ, दायाँबायाँ हुँदै हामी यात्रामा अगाडि बढ्यौँ।
अगाडि बढ्ने क्रममा हामी मकरीगाड भन्ने ठाउँमा पुग्यौँ। सानो मकरीगाड बजार, एउटा मकरीगाड खोलाको किनारमा बसेको भ्याली उपत्यकाजस्तो सानो ठाउँ, हाइड्रोपावर रहेको, घोडा खच्चडहरूले भरिपूर्ण र विभिन्न अपि हिमाल गाउँपालिकाका बासिन्दाहरूको व्यापारिक केन्द्र मकरीगाड।
मकरीगाडमा हामीले चाउचाउ खाएपश्चात् हाम्रो यात्रा सुरू भयो। मकरीगाडबाट खण्डेश्वरतिरको सडकमा मकरीगाडबाट खण्डेश्वरको यात्रा अझै नै अविस्मरणीय, भुल्न नसकिने र कतैकतै डर लाग्दो भन्ने थियो। चौलानीको किनारमा हामी फोर ह्विलर गाडीमा, सम्भवतः यात्रु बनेर हाम्रो टोली नै पहिलो पटक त्यो ठाउँमा गाडीमा गइरहेको थियो। करिब १३०० मिटर उबडखाबड हुँदै भट्टाड भन्ने ठाउँमा हामी पुग्यौँ।
भट्टाडबाट अगाडि अलिअलि तेर्सो समथर सफ्ट माटोको ट्रेकमा पहिलो पटक गाडी गुडाउँदै बाटोको ट्र्याक पुगेको ठाउँ कफलधार पुग्यौँ। चौलानी किनारमा रहेको कफलधार, चौलानीपारि रहेका बस्तीका बासिन्दाको भारी बिसाउने ठाउँ हो। चौलानीवारि पालिका, सडक, सहर, कोलाहल, सुविधा, लुट, झगडा, ठगपन्जा, फोहोर सबथोक छ भने कफलधारको पारि चौलानीपारि कृषि उत्पादन, माया, स्नेह, सहयोगी, मनका धनी, मनकारी मान्छे छन्, जसले अपि बेस क्याम्प जाने बाटोको निःस्वार्थ संरक्षण गरिरहेका छन्। पारि पालिकाका बासिन्दाको पनि वरिपट्टि पालिका छ।
साँझ परिसकेको भएर हामी फेरि मकरीगाड फर्कियौँ। राति मकरीगाडमा राजा र धामीजीसँगको बसाइपश्चात् अर्को दिन सबेरै उठेर महरा साहुजीलाई केही दिनका लागि बाई भन्दै अरू अभियन्ता साथीहरू सबै तयार भएर केही लुगाहरू मकरीगाडमै राजाको बसाइस्थानमा छोडेर अपि बेस क्याम्पका लागि अगाडि बढ्यौँ। जय भोलेनाथ, जय शम्भु भन्दै हाम्रो यात्रा सुरु, शुभारम्भ भयो।
त्यसपछि फेरि भट्टाड, कफलधार हुँदै अगाडि लम्कियौँ। कफलधारमा हामीले निगालोको लौरो बोक्यौँ र त्यसपछि हाम्रो यात्रा घोरेटो बाटोबाट सुरु भयो। एकाएक कफलधारबाट ओरालोमा लामा लामा पाइला फाल्दै फेरि तेस्रो पटक चौलानीलाई पार गरेर अगाडि बढ्यौँ। अगाडि बढ्दा सुरूआतमै एउटा घुसा नपुग्दै, अगाडि घुसाको काठो भन्ने जुन सुनिरहेका थियौँ, त्यो उक्लिनुअगाडि हामी एक पसल/होटलमा रोकियौँ। बर्सा होटल एन्ड लजमा छाच/मही खायौँ र त्यहाँ त्यो पसलकी साहुनी बर्साले अपिका हामी पाउनु भएकाले हामीबाट छाच/महीको पैसा लिनुभएन। त्यसपश्चात् हाम्रो यात्रा अगाडि बढ्यो।

घुसाको त्यो उकालो, उकालोसँगसँगै त्यहाँका जनमानसमा भेटिएको कफलधारसम्म पुगेको सडकको खुसीयाली र सुपर चमेलिया पचासी मेगावाटका लागि चाइनिज कम्पनीले आएर डीजीपीएस राखेर सर्वे गरिरहेको देख्दा हामी हर्षविभोर भयौँ। प्राविधिक मान्छे भएर प्राविधिकहरूलाई नयाँ योजनाको रेखा कोरिरहेको आँखाअगाडि देख्न पाउँदा अविरल बगिरहने चौलानी फेरि ड्याममा थुनिएर घरबजार चकमन्न बनाउने र राज्यकोषमा योगदान गर्न फेरि तयार हुँदै थियो।
बिहानको भिटामिन डीको मूल स्रोत मानिने सूर्यका किरणले शरीरबाट चौलानीको बहाव जित्न खोज्ने अमिलो पसिना चुहाउँदै उकालो लम्कँदै, बाटोमा बस्दै बस्दै पानी पिउँदै उकालो लाग्यौँ। घुसाको उकालो पाँच, दस, बीस, पचास, साठी मिनेट, डेढ घण्टा, दुई घण्टा हामी हिँड्दा हिँड्दै करिब तीन घण्टाको शिखर पार गरेर घुसाको उकालो काट्यौँ।
घुसाको उकालो, घुसाको उकालो, घुसाको उकालो, अति नै कठिन उकालो। त्यो घुसाको उकालो चढ्दा बाटोमा फर्किउँ भन्ने अनेकौँ पटक आएका विचारहरूमै अल्झिँदै अत्यन्त विचारहरूलाई जित्दै घुसाको पहिलो नरेश धामीको होमस्टे हुँदै आधा घण्टाको हिँडाइपछि २४३० मिटर उचाइमा रहेको नाली भन्ने ठाउँमा पुग्यौँ, जहाँ बर्सा नानीले, बर्सा साहुनीले भनेको उहाँको दिदीको पसलमा ढाई सय रुपैयाँमा छाच पिउँदै सादा खाना खायौँ।
२४३० मिटर उचाइमा रहेको त्यो नाली गाउँबाट खाना खाइसकेपछि पहिलो दिनको दिवाकालीन हिँडाइका लागि पाइला अगाडि बढाउँदै बिस्तारै स्मार्ट मोबाइल फोनहरूका स्क्रिनसँगको कन्ट्याक्ट टाइम कम हुँदै फोनहरूको आवाज नसुनिने र नेटवर्क नआउने समस्या सुरु भइसकेको थियो। नालीबाट करिब आधा घण्टाको ओरालो झराइपश्चात् हामी २२८० मिटर रहेको आरुखोड गाउँ पार गर्दै २२८४ मिटर उचाइमा रहेको सित्ती भन्ने ठाउँमा पुग्यौँ। सित्ती यस्तो ठाउँ हो जहाँ आलु पोखरा (पुलुम) प्रशस्तै मात्रामा फल्छन्, जसलाई हामीले रूखहरूमा फलेको आफ्नै आँखाअगाडि देख्न सक्दथ्यौँ।
सित्तीपश्चात् हामी पेरिस डाँडाको ओरालो झर्दै २०५० मिटर उचाइमा रहेको खायकोट भन्ने ठाउँ पुग्यौँ। करिब चार बजेतिर हामी खायकोट पुग्दा हाम्रो पहिलो दिनको बस्ने रोजाइ भने सिमार थियो अथवा सिमार नपुग्न सके मात्र छिरछिरे बस्ने थियो। त्यस दिन मुसलधारे पानी परेको कारण हामी अगाडि बढ्न सकेनौँ र हाम्रो रातिको बसाइ चौलानी किनार, लोथ्याल जातिको गाउँ, २०५० मिटर रहेको खायकोटमा भयो। खायकोटमा प्रकाश पौडेल र सुरेश भट्ट दादासँग भेट भयो। उहाँहरू पनि हामीजस्तै अपि बेस क्याम्प जाने क्रममा त्यतै बास बसेका रहेछन्।
अर्को दिन बिहान सबेरै उठेर हामी ६ जना हिँड्यौँ र फेरि हामीले चौथोपटक खायकोटमा चौलानीलाई पार गर्यौँ। घुसाबाट खायकोटसम्म दायाँतिर रहेको चौलानी फेरि बायाँतिर आयो एकाएक।
करिब २ घण्टाको उकालो हिँडाइपश्चात् पहिलो दिन बास बस्न खोजेको २५०० मिटरमा रहेको छिरछिरेमा पुग्यौँ। अविरल बगिरहने चौलानीको तिरैतिर चौलानीको आवाज र बहावसँग प्रतिस्पर्धाका भावनाले चौलानीको मूल पुग्ने हुटहुटी राख्दै २९०० मिटरमा रहेको सिमार भन्ने ठाउँमा पुग्यौँ। सिमारमा दिउँसो खाना खाइसकेपछि हामी त्यस दिन सिमार हुँदै दोमोल (२९३० मि) पार गर्दै समथर फाँट भएको ३२६८ मि रहेको भल्लेखोला हुँदै ३६०० मिटरमा रहेको धौलीओडारमा हामीले खाजा खायौँ र त्यहाँका साहुजीको अनुरोधअनुसार बिहान अपि बेस क्याम्पमा राम्रो दृश्य देखिने र हिमालहरू देखिने, पछि नदेखिन सक्ने समस्या हुने रहेकाले हामी बास बस्न ३९०० मिटरमा रहेको अपि बेस क्याम्पका लागि लाग्यौँ।
धौलीओडारबाट हामी माथि लागेपछि अलिकति सासप्रश्वासमा थोरै समस्या खेप्न थालेका थियौँ र त्यो सासप्रश्वासलाई भुलाउन अचानक उकालोमा नरे काका भेटिए। उहाँका फस्का सुन्दै हामीले उकालो लाग्यौँ। घुसाको त्यो उकालोभन्दा पनि उकालो रहेको धौलीओडारका सिँढीहरू, धौलीओडारबाट त्यो अपि बेस क्याम्पका सिनोहरू हामी हेर्दै, यार्सा टिपेर ओरालो झर्दै गरेका दिदीबहिनीहरू र दाइहरूसँग गफ गर्दै, यार्सा बेच्ने हो, कति हो, हजुर भन्दै गफिँदै हामी हिँड्दै गयौँ। र बीचबीचमा हामी जता पनि रोक्थ्यौँ चिया खाजा खानका लागि। त्यो गाननको त्यो स्वाद, गानन जडीबुटीको त्यो चिया, खानामा रहेको त्यो स्वाद लिँदै हामी अगाडि बढ्यौँ।

खायकोटबाट लिएको त्यो लसुन टोक्दै, पिरो लसुनको स्वाद लिँदै अगाडि बढिरहेका थियौँ र अत्यन्तै बिस्तारै साँझ अपि बेस क्याम्प पुग्यौँ। अपि बेस क्याम्पमा पुगेर त्यो अपिको मनोरम दृश्य हेर्दा हाम्रो थकान, घुसाको त्यो उकालो, धौलीओडारबाट बेस क्याम्पको ती एकोहोरा टोपी खस्ने ठाडा सिँढीहरूको उकालो, सबै हाम्रो दुई दिन बाटोको निरन्तर हिँडाइ एकाएक खुसीमा परिणत भयो र हामी निकै आनन्दित हुँदै गयौँ।
त्यही बेला नै त्यो हिमाल हाँसेको हेर्दा अपिको चुचुरोलाई चुम्नु भन्ने एउटा कौतूहलता, एउटा हौसला आउँदै गयो। राति नरे काकाको भतिजको होटलमा हामी बसेर रात बिताउँदै गर्दाखेरि चाहिँ यार्सागुम्बा मिसाएको जौको लोकल तान्दै आगो ताप्दै हामी एकाएक सबै कुरा मोबाइलबाट टाढा, सम्पर्कविहीन, सबैबाट टाढा एकान्तमा साधना गर्ने ठाउँमा पुगेका थियौँ।
राति अलिअलि सास फेर्न गाह्रो, ३९०० मिटरमा रहेको अपि बेस क्याम्पमा घरी दायाँ, घरी बायाँ कोल्टे फेर्दै, जौको झोलमा यार्सा मिसाएको त्यो लोकल खाँदा हाम्रो घाँटी मिसिएको अक्सिजनको कमी, पानीको तिर्खा लाग्ने, पानी पिउँदा गुलियो लाग्ने त्यो पानीको मजा लिँदै र सासप्रश्वासमा केही गाह्रो हुँदै हामीले रात कटायौँ र बिहान सबेरै उठेर अपि बेस क्याम्पको त्यो मैदानका लागि निस्कियौँ।
अपि बेस क्याम्प जहाँ घाँसे मैदान छ, त्यहाँ पुगेर मनोरम दृश्यसँग फोटो खिच्यौँ, रमायौँ एकछिन, क्रिकेटको बल र ब्याटसँग रमायौँ, फोटो भिडियो गर्दै, चौलानीको मुहान पुग्नुअघि करिब दुई घण्टा त्यहाँ बिताएपछि भेडाका थानहरू, यार्सा खोज्ने मान्छेका लहरहरू हेर्दै हामी नरे काकाजस्ता दसौँ नरे काका र सँगै दिदीबहिनीहरू यार्सा टिप्ने देख्यौँ। बर्सा नानीले, बर्सा साहुनीले गरेको व्यापारजस्तै अनेकौँ बर्साहरू त्यहाँ बर्सिरहेको हामीले देख्यौँ।
तेस्रो दिन यात्राको जब हामी अपि बेस क्याम्प र चौलानीको मूल हेरेर फर्कियौँ, त्यसपश्चात् लोकल आलु, प्याजको तरकारीसँग रोटा खाएर घानो नालोको चहार मचुस्ट लिएर हामी ४२०० मिटरमा रहेको कालीढुंगा ताल हेर्न गयौँ।
करिब दुई घण्टाको उकालो हिँडाइ, ३९०० मिटरमा रहेको अपि बेस क्याम्पबाट ४२०० मिटरमा हिमालको फेदमा रहेको कालीढुंगा ताल पुगिसकेपछि हाम्रो थकान सबै मेटियो। मनोरम दृश्यले आहा अपि भन्ने, त्यो बाटोमा देखेका हिउँको गहिराइ नाप्नलाई राखिएका ती फिट इन्च देखिएका खम्बाहरूको माथि लेखिएको आहा अपि आहानै रहेको कालीढुंगा तालपश्चात् हामी फर्किएर आउँदा सिमसिम पानीलाई नीला राता प्लास्टिक ओढ्दै चौलानी बढेको महसुस गर्दै बेस क्याम्प झरेर तातो घिउ चरर पार्दै भात खाएर, काँचो गानानको जोहो गरी धौलीओडार हुँदै सिमारमा लोकल भाले बोकेर छिरछिरेमा बास बस्यौँ।
बिहानको घामका किरण पछ्याउँदै काममा फर्किने हुटहुटीले फेरि त्यही उकालो ओरालो गर्दै खायकोट हुँदै सित्तीमा आउने बेलामा हामीले पुलुङ खायौँ खुबै मात्रामा र त्यसपश्चात् हामी फेरि नालीमा खाना खाएर बर्सा देखुवाएको तमीठो आमाले पैसा नलिनु भनेको मही (छाच) फेरि खाने आसमा झरेर फर्कियौँ। छाचको सट्टा मिठो चिया खाएर कफलधार, भट्टाड हुँदै मकरीगाडमा कुरिरहेका महरा साहुबाको आतिथ्य स्वीकार्दै बास बस्न गोकुलेश्वरमा रहेको अपिनम्पा होटलमा पुग्यौँ, जहाँ अपि बेस क्याम्प उक्लिनुअगाडि प्रारम्भिक तयारी र छलफल गरेका थियौँ। केही दिनको चौलानीको छालैछाल, छालैछालाको आनन्दीय आवाज सम्झिँदै महाकाली राजमार्गमा टेक्दै आफ्नो काममा अगाडि बिलायौँ!!!
पाटन – सतबाझ – बसाली – पन्ज्युनयां – गोकुलेश्वर – लटिनाथ – ओखल – मकरीगाड – भट्टाड – कफलधार – धनबोरा (१५५० मि) – घुसाँको उकालो – नाली (२४३० मि) – आरुबोट (२२८० मि) – सित्ती (२२८४ मि) – खायकोट (२०५० मि) – छिरछिरे (२५०० मि) – सिमार (२९०० मि) – दोमोल (२९३० मि) – भल्लेखोला (३२६८ मि) – धौलीओडार (३६०० मि) – अपि बेस क्याम्प (३९०० मि) – कालीढुंगा ताल (४२०० मि) – अपि बेस क्याम्प हुँदै पाटन
(लेखक सिभिल/वातावरण इन्जिनियर हुन् र पेशाले सडक विभागमा इन्जिनियर पदमा कार्यरत छन्।)