तपाईंले आज भोलि कलम चलाउन छाड्नु भयो भन्ने मेरा साथीहरूलाई मैले गतिलो जवाफ दिननै पाएको छैन। चिया पसलमा गफिदा साथीहरूले मलाई लेखनको सिलसिलालाई निरन्तरता दिनु भन्दै प्रेरित गर्नुहुन्छ।
तपाईं साना छोटा चलचित्रको कथा लेख्नु हुन्थ्यो, ठूला चलचित्रको कथा पटकथा संवाद गर्न सक्नुहुन्छ, लेख्न नछाड्नुस्। म यहाँ यो प्रसङ्ग किन कोट्याउँदै छु भने, हप्तौं लामा गरिने यस्ता केही यात्राहरूमा जहाँ सबै मन मिल्ने साथीहरू सँगै हुने संयोग जुर्दैन।
त्यहाँ पक्कै पनि लामो कथाहरू, अनेकौँ अनुभव र अनिगिन्ती स्मृतिहरु जोडिएका हुन्छन्। र यी भोगिएका र अनुभूत गरिएका अनौठा घटनाहरू कसैका लागि जीवनभर सम्झनलायक सुन्दर याद बन्न सक्छन्। मैले अगाडिको वर्ष यही शरद ऋतुमा दोलखा जिल्ला स्थित छो – रोल्पा हिमताल पुगेको थिएँ।
त्यो यात्रा पनि पूरा भयो तर यात्रासंस्मरणको लेखनको शिलशिला भने बीचमै रोकियो। कति लेखनका स्तम्भहरू पनि लामो दूरीको उडान भर्ने मालचरिको बथानबाट एक्लिएर अनियन्त्रित उडिरहेको चरा जस्तै भएका छन्।
तर जे होस् म मेरा प्रिय मित्रहरूलाई नुम्बुर हिमालको पवित्रता दूधकुण्डको स्तब्धताको गहनतम गहिराइको मर्म बुझ्ने क्षमता अनि अदम्य साहस धैर्य र आत्मविश्वाससँगै चुनौती अनि कठिन यात्राको यो अविस्मरणीय क्षणलाई समेट्ने जमर्को गर्नेछु।
पहिलो दिन- काठमाडौंदेखि ओखलढुंगा
जागिरे जीवनका आफ्नै व्यस्तता र जिम्मेवारीहरू हुन्छन्। तर व्यस्तताका बावजुद पनि चाडपर्वको छोटो बिदालाई भरपुर सदुपयोग गर्न मन लाग्छ। यही समयलाई यात्रामा रूपान्तरण गर्दै नोभेम्बर ६ देखि हाम्रो यात्राको शिलशिला प्रारम्भ भयो।
राजधानी काठमाडौं देखि उत्तर पूर्वी दिशामा अवस्थित सोलुखुम्बु पुग्नु हाम्रो पहिलो गन्तव्यको योजना थियो। यस यात्रामा मलाई सिन्धुली सुनकोशी निवासी नवराज कार्की लामो समयदेखि काठमाडौंलाई कर्मथलो बनाउँदै भक्तपुर बालकोटमा बसोबास गर्दै आउनुभएका मित्र सँगको यो यात्रा थप आत्मीय र रोचक हुने अपेक्षा थियो।
रोशी खोलाले तहसनहस पारेको झ्ण्डै २९ किलोमिटर सडकखण्ड पार गर्न हामीलाई डेढ घण्टा लाग्यो। प्राकृतिक विपद्का कारण छेतविक्षेत बनाएको सडकको अवस्था देख्दा यात्राको सुरुवातमै मन भने केही गम्भीर भएकै थियो।
तुलनात्मक रूपमा हेर्दा पहिलेको अवस्थाभन्दा अहिले निकै सुधार भएको देखिन्छ। यस राजमार्गसँग जोडिएर यात्रा गर्ने यात्रुहरूको पीडालाई राज्यले पनि गम्भीरतापूर्वक लिनेछ भन्ने सहयात्रीको भनाइ सँगै श्री सेतीदेवी मातासँग सुन्दर यात्राको प्रार्थना गर्दै सहयात्री जन्मिनु भएको र हुर्किनुभएको ठाउँ, खेतबारी, भिरपाखा तथा काल्नासँग परिचित हुँदै जाँदा बढ्दो बसाइँसराइका कारण उर्वर माटो क्रमसः बाँझो हुँदै गएको यथार्थ पनि सुनाउनु भयो। भोलिका दिनका मेरा बसाइँहरू पनि यही माटोमा हुनेछ। बाँझो हुँदै गएका खेतहरू सकेसम्म उर्वर बनाउने छु।
बाल्यकालमा मैले यहाँ बिताएका ती अविस्मरणीय पलहरूलाई मेरो छिप्पिसकेको मस्तिष्कले फेरि स्मृतिमा ताजा बनाउनेछ, भन्ने सहयात्रीको अभिव्यक्तिले उहाँको जन्मभूमिप्रतिको असीम प्रेमभाव झल्किन्थ्यो। सिन्धुली जिल्लाको पहिचान बनेका जुनारले सजिएका सडक छेउका पसलहरू, पहाडी भूगोलका सुन्दर दृश्यहरू, विकासको गतिसँगै मुहार फेर्दै गरेका भौतिक संरचनाहरू।
प्रकृतिको आफ्नै लयमा अविरल बगेकी सुनकोशी नदी। बिपी राजमार्गमा घुम्तीहरू। नदीका किनार, बस्तीका बदलिँदा स्वरूप, हामीले खुर्कोटमा खाना खायौँ। त्यसपछि यात्रालाई पुन: अगाडि बढायौं। सिन्धुली जिल्लाको उत्तरी भेगमा अवस्थित ग्वोल्ज्वार र फिक्कल गाउँपालिका पार गर्दै उदयपुर जिल्लाको घुर्मिको केही भू–भागलार्ई छिचोल्दै हामी ओखलढुंगा पुग्दा झमक्क साँझ परेको थियो। ओखलढुंगा बसपार्कको छेउपट्टी झिलिमिली बत्तीले सजिएका फ्याफुल्ला होटलका सञ्चालकसँग बातचित गर्दै खाना खाएर हामी, थकानले गर्दा भोलिको योजनाअनुरूप विस्तारमा पल्टियौं।
दोस्रो दिन- ओखलढुंगादेखि सोलुखुम्बु
सूर्योदयको पहिलो किरणले समग्र ओखल बजारलाई अँगाल्दै थियो। बिहान ठिक ६/३० बजे ओखलढुंगाबाट सोलुखुम्बुको यात्रा प्रारम्भ भयो। ओखलढुंगाको विषम पहाडी भू–भागलाई चिर्दै निर्माण गरिएको सिद्धिचरण राजमार्ग हुँदै हामी अगाडि बढिरहेका थियौं।
पहाडका घुम्तीहरू छिचोल्दै उकालो बाटोसँग लय मिलाउँदै सडकले हामीलाई बिस्तारै उचाइतर्फ डोर्याइरहेको थियो। बाइकले आफ्नो गति समातिसकेको थियो। तिहारको रौनकले ओखलढुंगा झिलिमिली बनेको थियो। घर-घरमा सजिएका रङ्गीचंगी बत्तीहरू, भैलेनी तथा देउसीमा गुञ्जिने बाँसुरी अनि मादलका धुनहरू।
राष्ट्रिय गानका रचनाकार आदरणीय व्याकुल माइला जन्मिएको पवित्र भूमिमा उहाँकै नामसँग नामकरण गरिएको भलिबल प्रतियोगिताका ब्यानरहरू सजिएका थिए। युवाहरूको अनुहारमा छुट्टै उत्साह अनि उमंग देखिन्थ्यो। युगकवि सिद्धिचरण श्रेष्ठका गीतका हरफहरू आहा मेरो प्यारो ओखलढुंगा गुनगुनाउँदै तिमी सधैं यस्तै हाँसिरहनु मेरो प्यारो ओखलढुंगा।
हामीले ओखलढुंगा जिल्लालाई पार गर्दैगर्दा पत्ताले बजारमा कफी पिउने योजना बनाएका थियौँ। पत्ताले बजार प्रवेश गर्दैगर्दा उचाइ सँगै अत्यधिक चिसोको महसुस पनि भएको थियो।
आँखा अगाडिनै देखिएको विशाल हिमश्रृङ्खलाहरूको सुन्दरताले बाइक रोक्न पनि बाध्य बनायो। नुप्त्से, सगरमाथा, लोत्से, मकालु, नुम्बुर कार्योकुलुङ लगायतका हिमशृङ्खलाले दिएको चिसो महसुस सँगै हृदयको स्पर्शमा सधैंका लागि नमेटिने गरी प्रकृतिको एउटा अनुपम अनुभूति सँगालिदियो।
सिमीको सुप र तातो कफीसँग हामीले सेता हिमालको अनुपम सौन्दर्यमा आफूलाई हरायौं। तिहारको रौनक बोकेर फुलेका सयपत्री, गुर्दौली फूलहरू, पारिपट्टि आकाशलाई छुन खोजिरहेका सेता हिमालका चुचुराहरू, मुना होटलको सिसामा प्रतिविम्बित भएका तिनै हिमालका बिम्बहरू।
यी सबै दृश्य एकसाथ आँखा अगाडि उभिँदा मन साँच्चैनै मन्त्र मुग्ध भएको थियो। सहयात्री मित्रले यो प्यानारोमा भ्युसँग एउटा तस्बिर कैद गरिएन भने मनमा एउटा व्याकुलताले तर्साइरहनेछ भन्दै तस्बिर क्लिकतर्फ लागियो।
पत्ताले बजारबाट हामी ठाडै ओरालो सोलु हाइड्रोको छेउ हुँदै पुनः उकालो चढ्न सुरू गरियो। पत्ताले बजारमा उचाइले एक्कासी दिएको अल्टिच्युड सिकनेस खोलामा झर्दा अलिक कम्फर्ट भएको मसँगै सहयात्री मित्रले पनि अनुभव भन्नुभयो। स्वच्छ घना र शान्त बनको छेउमा सल्लेरी बजारको छेउपट्टी नुम्बुर हिमालको चिसो स्तब्धताले हाम्रो बाइकको रफ्तातारलाई धिमा बनाएको थियो।
फाप्लु एयरपोर्टको सानो रनवेलाई नियाल्दै अत्यन्तै कठिन कच्ची सडक झण्डै एक घण्टा निरन्तर हामी ताक्सिन्दुतर्फ लागियो। हामीले ताक्सिन्दुको सबैभन्दा उचाइमा रहेको होटलमा बाइक पार्किङ गर्ने योजना बनाएका थियौँ।
हामीले दुधकुण्डबाट फर्कँदा पूर्वयोजना अनुरूप नै एक रात यही होटलमा बिताउने भन्दै आवश्यक सामग्री लियौं बाँकी होटलमै छाडेर हाम्रो यात्राको पदयात्रा हातमा लठ्ठी टेक्दै बिस्तारै हामी घना जंगलको एउटा साँघुरो पदमार्गतर्फ हाम्रा खुट्टाहरू अगाडि बढ्न थाले। तुलनात्मक रूपमा हामीले कम उचाइमा देख्दै आइरहेका वनस्पतिभन्दा केही फरक लाग्ने उच्च हिमाली भेगमा पाइने अग्ला अग्ला रूख अनि कतै टाढाबाट सोसाइरहेको झरना खोलाको आवाज अलिक टाढा अग्ला रूखको टुप्पोबाट मधुर हुँदै आएको कोइलीको कुहुकुहु आवाज। यी अग्ला रूखहरू कलकल बगिरहेको खोला र चराचुरूङ्गीको मधुर स्वरहरू सबै मिलेर हामिलाई आत्मीय स्वागतको गीत गाइरहेका छन् भन्ने लाग्यो। प्रकृतिको यो न्यानो आतिथ्याले यात्राको थकान बिर्साइदिएको थियो। हामीले तेर्सो तेर्सो मार्ग झण्डै डेढ घण्टा निरन्तर हिँड्यौं।
यस यात्राको पहिलो परीक्षा कामुडाँडा
कामुडाँडाको मुटु फुट्ने नाकको डडाल्नी जस्तै उकालो चढ्न हम्मे हम्मे परेका, प्रत्येक सिँढीमा एक पाइला एक विश्राम गर्दै उक्लिरहेका, प्रचण्ड शारीरिक पीडाका बिचपनी हार मान्न नसकिरहेका ओखलढुंगाका दुई मित्रहरूलाई मैले भने सजिलै मेरा गफमा भुलाउँदै माथि डाँडा सम्म उकालो। उहाँहरुले मेरो हिँडाइको खुबै प्रशंसा गर्नु भयो।
तर वास्तविकता केहो भने– म हिँडाइमा त्यस्तो खप्पिस मान्छे पनि होइन तर उहाँहरुको प्रशंसाले मेरो मन भने फुरुङ्ग भयो। खासमा मेरो हिँड्ने तरिका अलिक फरक छ। म नत छिटो हिँड्न्छु नत थकाइ लाग्दैमा आराम गर्न बसीहाल्छु, मेरो आफ्नै एउटा नियम छ ढिला हिँड्ने तर निरन्तर हिँड्ने।किनकि यात्रामा मलाई लाग्छ गति भन्दा निरन्तरता महत्वपूर्ण हुन्छ।
सम्झिँदा जीवन पनि त यही कामु डाँडाको उकालो जस्तै त रहेछ भन्ने पनि लाग्छ। कसैले छिटो चढ्ला, कसैले बीच बीचमा विश्राम गर्ला कसैलाई आफ्ना प्रत्येक पाइला भारी लाग्लान्। जेजस्तो भए पनि गन्तव्यसम्म पुग्नको लागि निरन्तर चल्नु चाहिँ पर्ने रहेछ।
छो – रोल्पा यात्राको क्रममा बाटो बिर्सिएर तामाकोशी नदीको बगरमा रात बिताउन बाध्य काठमाडौं लाजिम्पाटका दुई युवाको पीडा पनि कम्तीको थिएन।
अन्धेरी रातमा झ्ण्डै तीन हजार उचाइमा नदीले बगाएर ल्याएका केही दाउरा मोबाइल टर्चलाइटको सहायताले जम्मा गर्दै बल्ल तल्ल आगो फुकेर, रातभर आगो निभ्न नदिन उनीहरूले गरेको संघर्ष पनि आफैमा एउटा छुट्टै कथा थियो।
पालैपालो एक साथी सुत्ने र अर्को साथीले आगो फुक्दै निभ्न नदिने फेरि अर्को सुत्ने यही क्रममै उनीहरूले चिसो रात कटाए। बिहान छो रोल्पा पुग्ने रहर रहरमै राखेर घर फर्किने योजना सहित दोनाङ हामी बसेको होटलमा आइपुगेर अब त बाँचियो भन्दै लामो स्वास फेर्दै गरेका ती मित्रहरूलाई मैले फेरि हौसला दिए।
उनीहरूको मनोबल बढाउँदै मसँगै यात्रा अगाडि बढाउन प्रेरित गरे अन्तत: गन्तव्यमा पुगियो यात्रा सफलतापूर्वक सम्पन्न भयो। तर यो यात्राले मनमा एउटा अविस्मरणीय र मिठो अनुभूति सँगालिदियो।
यात्रामा देखिने ठाउँ विशेष र प्रकृतिको अनुपम सौन्दर्य जसरी हाम्रो हृदयको मानसपटलमा सधैंका लागि अंकित भएर बस्छन् त्यसरीनै यात्राको क्रममा भेटिने साथीहरू पनि उत्तिकै विशेष हुँदा रहेछन्।
उनीहरूका अनौठा स्वभाव, संघर्ष, हाँसो, पीडा, रमाइला क्षण र आत्मीय व्यवहारले यात्राभरि सम्झनाका सुन्दर सम्झनाहरू छर्दा रहेछन्। हामी पनि यहाँ यतिबेला कामुडाँडाको उकालोमा अनवरत सङ्घर्षरत छौं। मेरा सहयात्री प्रायः यात्रामा मभन्दा आधा घण्टा पछाडि नै हिँड्नु हुन्छ उहाँको हिँडाइको चाल नै बेग्लै छ अग्लो कदका लामा लामा पाइला तर बस्दै बस्दै।
मैले यो उकालो चढ्दै गर्दा लेलेका एक मित्रले भनेको सम्झिएँ, एउटा भयंकर डाँडा उक्लिनु पर्छ दाइ कोही कोही त कामुडाँडाको ठाडो उकालो चढ्न नसकेर फर्किएको मेरो पुरानो यात्राको अनुभव छ।
यस्तै सोच्दै लामो सास तान्दै हामी उचाइको होटल एभरेष्ट भ्युमा पुगियो। खाजा खायौँ, अनि होटल दिदीले नै सहरसबेनीमा बस्नको लागि भनिदिनु भयो – मसँग डाँडो उक्लेका दुई मित्रहरू तपाईं हामीलाई भेटाउनु हुन्छ भन्दै अगाडि लाग्नुभयो। दिनको ४ बजे हामीले आफूभन्दा केही पर अडिएको ट्रेकिङ ब्यागको फितालाई दुवै हातमा घुसारेर काधसम्म लग्यो।
लौरो समायौं, तपाईंको यात्रा सुन्दर होस् भन्ने होटल दिदीको कामना सँगै हामी गुराँसका साना साना रूखहरूको बीचमा कलात्मक ढंगले बनाइएको साँघुरो बाटो सानो बेनीतर्फ लाग्यौं। मनतातो पानीले भरिएका थर्मसहरू जुत्ताको सोलले दिएको एउटा अनौंठो आवाज, लठ्ठीको एकटक तिखो स्वर एक पत्र बादलले लुकाउन खोजेको नुम्बुर हिमालको परिदृश्य। कम उचाइमा हामी जति गफियौं त्योभन्दा कम हुँदै गएको सहयात्री सँगको संवादहरू। पारिपट्टि देखिने साँघुरो भिरालो बाटोमा होसियारीपूर्वक गन्तव्यतर्फ तम्सिएका पदयात्रीहरू।
त्यही अर्को पट्टी अलि टाढा हामीभन्दा अगाडि लागेका ओखलढुंगाका दुई मित्रहरूलाई ठम्याउने कोसिस गर्छु, उनीहरूसँग सायद अब भेट होटलमै हुने होला। हामी अगाडि निरन्तर तेर्सो तेर्सो हल्का ओरालो केही ठाडो मार्ग अढाई घण्टा जति हिँड्यौं। यो यात्राको क्रममा भने मेरो मनमा अनेकन अनुत्तरित प्रश्नहरूले घेर्न थालेका थिए।
मेरा सहयात्रीलाई पनि मैले तेर्सो बाटो भएका हुनाले पछाडि सजिलै देख्न सक्थे। उहाँको मनमा पनि केही न केही त कुराहरू पक्कै पनि खेलेका होलान् भन्ने लाग्थ्यो। त्यस्तै मलाई पनि यदि मैले यो यात्राको योजना नबनाएको भए यतिबेला म कहाँ हुन्थे, सायद म यतिबेला आफ्नो सानो परिवारसँग रमाइरहेको हुन्थे होला।
तर मनमा उठेका अनेकौं अनुत्तरित प्रश्नहरूले मलाई मनभित्रै घोचिरहेका थिए। मेरा तमाम वैचारिक मन्थनहरूमा मैले शान्तिलाई नै मुख्य केन्द्रबिन्दुमा राखेको थिएँ। घरको सहज परिवेशबाट यी अग्ला साँघुरा र भिराला मार्गहरूको शून्यतामा आफ्नै मनस्थितिमाथि कुडुलो परेको कल्पनालाई नियन्त्रण गर्न सकिरहेको थिइनँ। यो यात्राको मार्ग चाहे जतिसुकै विकट वा असहज होस् मलाई स्वीकृति हुनेछ। सानोबेनीबाट आधा घण्टाको उकालो चढेर हामी होटल दुधकुण्ड इनमा बस्यौं।
यो हाम्रो पूर्वतयारी अनुरूप नै थियो। हामीभन्दा २० मिनेट पहिले अगाडि पुगेका साथीहरू अनि भोलिको यात्राको लागि तयारीमा बाँकी साथीहरू दुधकुण्डबाट फर्किएका पदयात्रीहरूका अनुभवहरू। सबै सुन्दै हामी ओछ्यानमा गयौँ, उचाइले गर्दा उकुसमुकुसमा बिताएको त्यो रात हामी सुतेको पनि होइन नसुतेको पनि होइन।
तेस्रो दिन
बिहान ६ बजे उठेर हेर्दा होटलको झ्यालबाट सेता हिमाल आँखै अगाडि, हामी हिमालको कति समीप आएछौ, हिजो बेलुकीको हिँडाइले महसुस गरायो। मैले छेउको विस्तारमा अझै पनि निदाउने प्रयत्न गरिरहेका मित्रलाई घच्घचाउने कोसिस गरे, पर्दा उघार्नुस् निन्द्रा आफै भाग्नेछ। उहाँले पर्दा एक हातले पन्छाउँदै आँखालाई हुचिलका जस्तै गहिरा बनाएर हेर्नुभयो। हामी नुम्बुर हिमालभन्दा पनि धेरै अगाडि आयौ कि, मैले भने अब हाम्रो दिशा बदलिएको छ। हामीले ब्रेकफास्ट लियौं अनि यस यात्राको प्रमुख आकर्षक गन्तव्य दुधकुण्डतर्फ धकेलियौं।
हामीले यात्रामा दुई होटल भेट्यौं नुम्बुर अनि बेस क्याम्प लज। अलिक माथि ढुंगाले चिनिएको सिँढीमा चार पाँच जना पदयात्रीहरू दुधकुण्डतर्फ उक्लिँदै थिए। त्यही समूहमा ओखलढुंगाका दुई मित्र पनि थिए प्रवीण अनि रूपेश।
हामी झण्डै सहरसबेनीबाट एक घण्टा सुख्खा बाटो हिँड्यौं। त्यसपछि सुरू भयो हाम्रो हिउँले ढाकिएको सेताम्मे मार्ग झण्डै १०/१२ फिट उचाइले ढाकिएको हाम्रो एउटा अपूर्व अनुभव कठिन सँगै रमाइलो स्नो ट्रेकिङ। हामी झण्डै तीन घण्टा अनवरत स्नोमा हिँड्यौं।
मलाई यो तीन घण्टाको यात्रामा खुला आकाशमुनि अपूर्व असीम स्वतन्त्रताको अनुभूति भइरहेको थियो। मेरा आँखाले साना ठूला हिमाललाई आँखा अगाडि चारैतिर घुमेर हेर्दा म एउटा अलौकिक अनि दिव्य ठाउँमा छु भन्ने लाग्यो।
सायद अब यही सानो देखिएको भाग चढेर सकाउन केही मिनेट लाग्ला त्यही फेदीमा कुण्ड होला भन्ने लाग्यो नभन्दै रहेछ पनि अलि टाढा समथर झण्डै १०० मिटर अगाडि मेरो आँखाले देखेसम्म क्षितिजको अन्तिम सीमासम्म त्यो अलौकिक दृश्य सेतो अग्लो हिमालको फेदीमा विशाल कुण्डसँगै त्रिशूल ठडिएको हेर्दै विस्तारै मेरो खुट्टाहरूमा शक्ति हराएजस्तै मैले ब्याग छेउको बिसौनीमा टेकाएँ।
म पनि ब्यागसँगै अलिक पर टुसुक्क बसेँ। घोप्टिएर गन्तव्यमा पुगेको लामो सास फेर्दै टाउको ठड्याएर सहयात्रीलाई हेरे उहाँलाई अलिक टाढा जे होस् समथर भूभाग टेकिसक्नुभएको थियो साथमा प्रवीण र रूपेश पनि थिए।
मैले फेरि कुण्डतर्फ आफ्नो शरीरलाई रोटेट गरेको थिएँ। धूप बालेर कुण्डमा प्रार्थना गरेका तीर्थारूहरू एक पत्र धूपको धुवाँ आकाशतर्फ मडारिँदै थियो।
एक जना विदेशी पर्यटक अलिक आध्यामिक दूधकुण्डको पवित्रता र कुण्डको गर्भबाट बाहिरिने अनौठो ध्वनिसँगै न्यूनतम हुने उहाँको आध्यात्मिक शक्ति र कुण्डको विशाल सुन्दरतालाई आफ्नो हृदयमा ग्रहण गर्न सक्ने खुबी, उहाँको साधनामा प्रष्ट देखिन सकिन्थ्यो।
हामी पनि उहाँको साधनबाट प्रफुल्लित भयौं। मैले हिजोको घना जंगलको साँघुरो बाटोमा चालेको पहिलो पाइला सम्झिएँ, त्यो कठिन उकालोमा आफ्ना प्रत्येक पाइलासँग गरेको संघर्ष सम्झिएँ। अपरिचित ती दुवै मित्रहरू आँखा चिम्लिँदा पनि सबभन्दा नजिकका प्रिय मित्र जस्तै भएको महसुस गरेँ।
नुम्बूर हिमालको पवित्रता अनि उचाइलाई सम्झिएँ। म यहाँसम्म आइपुग्न अनेकौं आरोह अवरोह पार गरेको छु।
अनगिन्ती कठिन यात्राहरूको सामना गरेको छु। कतिपय कष्टहरूलाई स्वच्छाले अंगालेको छु भने कतिपय पीडालाई दृढ इच्छाशक्तिले पराजित पनि गरेको छु। यहाँसम्म आउँदा भोक तिर्खा थकानको असीम सीमा पनि अनुभूत गरेँ।
शरीरले असह्य कष्ट पीडा भोगिरहँदा पनि मनलाई विचलित हुन दिइनँ। सायद यही संघर्ष त्याग र आत्मस्वीकृतिको यात्राले मलाई आज दुधकुण्डको शून्यतामा ल्याइपुर्याएको छ। दुधकुण्डलाई हेरेपछि हृदयबाट प्रस्फुटन भइरहेको स्वर्गानुभूति अनि आनन्दभूतिको संकल्पपश्चात् अनायासै मेरो हृदयको अन्तस्करणबाट प्रस्फुटन भएको ओम नमो सिवाय। साथीहरू तस्बिर लिनमा व्यस्त हुनुहुन्थ्यो।
मैले सम्भव भएसम्म मनलाई दूधकुण्डको गहिराइमा केन्द्रित गरेको थिएँ। केही तस्बिर नेपालको झण्डा सहित कैद गरियो। सहरको कोलाहलबाट मुक्ति पाएर शून्यतामा पुग्ने र आत्मालाई शान्त बनाउने अनेकौं उपायहरू होलान् तर म यतिबेला दूधकुण्डको निःशब्द अनि अपूर्व अनुभूति हृदयको गहिराइमा कहिले नमेटिने यात्रा संस्मरणको मिठो अनि बलियो स्तंभ दुशकुण्डको त्रिशूल जस्तै गढाएर फर्किएको छु मित्रहरू, भेट पक्कै पनि चिया पसलमा कसो नहोला।
-1795852821.png)
-1795852808.png)
-1795852808.png)
