नायग्रा फल्स क्यानडा भ्रमण गर्ने नब्बे प्रतिशत पर्यटकले छुटाउन नचाहने गन्तव्य हो। एकचोटि मात्र होइन, पटकपटक जब मानिसहरू क्यानडा भ्रमण गर्छन्, नायग्रा झरनाको दर्शन गर्ने प्रयास गर्छन्। मेरो पनि यस्तै अनुभव छ। लगभग एकै वर्ष २०२४ मा दुईपटक भ्रमण गर्ने मौका मिल्यो। पहिलोपटक परिवारसँग, दोस्रोपटक रोटरियन साथीहरूसँग।
भ्रमणको साथअनुसार स्वाद पनि फरक हुन्छ। साथीहरूसँगको भ्रमणको स्वाद र परिवारहरूसँगको स्वाद फरकफरक हुन्छ। दुवैको आफ्नै आनन्द हुन्छ।
नायग्रा फल्समा रोटरियनहरूसँगको भ्रमणका ती मिठा सम्झनाहरू टोरोन्टोको यात्रा अनुभूति लेखिरहँदा झल्झली आइरहे।
हामी १२ जना साथीहरूले रोटरीको क्यालगरीमा हुन गइरहेको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिताका लागि जाने क्रममा नायग्रा फल्सको पनि अनुभूति गर्ने गरी यात्रा तय गरेका थियौँ। सम्मेलनको यो यात्राको हाम्रो पहिलो गन्तव्य थियो टोरोन्टो।
हामी नेपालबाट बंगलादेश एयरलाइन्सबाट टोरोन्टो उडेका थियौँ। जबजब म विदेश यात्रामा निस्कन्छु, नेपाल एयरलाइन्सको सम्झनाले सताउँछ। नेपाल एयरलाइन्स यसरी खुम्चियो कि सायद उसले उचाइ, विकास, प्रगति भन्ने कुनै शब्दहरू सुन्न चाहँदैन अथवा उसको शब्दकोषमा छैन।
म लगायतका साथीहरू जब नेपालको विमानस्थलमा उडानका लागि समय कुरिरहेका थियौँ, नेपाल एयरलाइन्सको बारेमा कुरा भयो। हामी सबैको निष्कर्ष नेपालको नागरिक उड्डयन क्षेत्र पछाडि पर्नुको मुख्य कारण स्रोतभन्दा पनि कमजोर संस्थागत संरचना र अस्थिर नीति हो भन्ने रह्यो।
लामो समयसम्म क्यान आफैले नियामक, विमानस्थल सञ्चालक र एयर नेभिगेसन सेवाको जिम्मेवारी निर्वाह गर्दा अन्तर्राष्ट्रिय अभ्यास विपरीत त छ नै, त्यसमा पनि नेपालको दीर्घरोग राजनीतिक अस्थिरता, नेतृत्व परिवर्तन र नेपाल एयरलाइन्समा भएको राजनीतिक हस्तक्षेपले सुधारभन्दा पनि नेपाल एयरलाइन्सलाई जीर्णतातिर झारेको देखिन्छ।
नेपाल एयरलाइन्सको सुधार संस्थागत पुनर्संरचनाबाट हुनुपर्छ। क्यानलाई नियामक र सेवा प्रदायकमा विभाजन गर्ने र नेपाल एयरलाइन्सलाई व्यावसायिक रूपमा पुनर्गठन गरी विमानस्थलको दक्ष व्यवस्थापनबाट अन्तर्राष्ट्रिय वायु कम्पनीहरूलाई आकर्षित गर्ने हवाई कूटनीति आजको टड्कारो आवश्यकता भएको हामीले महसुस गर्यौँ।
आइकाओ र ईयूका सुरक्षा मापदण्डको पूर्ण कार्यान्वयनमार्फत मात्र नेपालले उड्डयन क्षेत्र सुरक्षित, प्रतिस्पर्धी र विश्वसनीय बनाउन सकिन्छ, नत्र हामीसँग भएका अन्तर्राष्ट्रिय विमानस्थलहरू केही उडानमै जीर्ण हुनबाट जोगाउन सक्छौँ न आफ्नो देशको एयरलाइन्सबाट ढुक्कसँग विदेश जान नै पाउँछौँ।
हामी एक घण्टा तीस मिनेटमा जब ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लियौँ, विमानस्थलको हालत भने नेपालभन्दा राम्रो महसुस भएन।
विमानस्थल सोचे जस्तो सफा थिएन भने विमानस्थलका सुविधाहरू पनि कमजोर थिए।
मलाई लाग्छ, नेपाल र बंगलादेशको समस्या एकै छ, कमजोर संस्थागत संरचना र राजनीतिक अस्थिरता।
तर नेपाल एयरलाइन्सभन्दा १३ वर्षपछि स्थापना भएको बंगलादेश एयरलाइन्सले आज विश्वमा लन्डन, रोम, टोरोन्टोलगायत २४ अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्दछ।
साथै युरोप र उत्तर अमेरिकासम्म आफ्नै उडान सञ्जाल स्थापना गर्न सकेको छ।
आफ्नो देशकै ध्वजावाहकबाट सिधै विश्व घुम्न जान पाउनु आफ्नो देशका नागरिकहरूलाई पक्कै गौरवको कुरा हो। १६ घण्टाको उडानपछि हामी १२ भाइ टोरोन्टो उत्रियौँ र तीनतिर लाग्यौँ।
हामीले दुई दिन टोरोन्टो र एक दिन नायग्रा फल्सका लागि समय छुट्याएका थियौँ। तीनतिर बाँडिएका हाम्रो नायग्रा फल्समा भेट्ने कार्यक्रम तय भयो।
मैले टोरोन्टोमा एयरबीएनबीमार्फत एक फ्ल्याट बुक गरेको थिएँ। जहाँ हामी आठ जना साथीहरू बसेका थियौँ। हाम्रो तीन दिनको त्यो बसाइमा न हामीले घरपेटीलाई भेट्यौँ न हामीलाई कुनै प्रकारको समस्या भयो।
अनलाइन पैसा तिर्यो, उनीहरूले दिएको निर्देशनलाई पछ्यायो, चाबी निकाल्यो, बस्यो, पकायो, खायो, जस्तो अवस्थामा छ त्यस्तै छोड्यो। कति मज्जा!
तर यो यात्रा विवरण लेखिरहँदा मसँग धेरै नमज्जाको एक अनुभव सुनाउन मन लाग्यो।
सन् २०२३ मा हामी आठ जना साथीहरू रोटरी इन्टरनेसनलको सम्मेलनमा सहभागी हुन अस्ट्रेलियाको मेलबर्न गएका थियौँ। त्यहाँ पनि मैले एउटा फ्ल्याट बुक गरेको थिएँ।
सम्मेलनपछि हामी अस्ट्रेलियाको तास्मानिया जाने योजना थियो। तास्मानियामा बस्ने रोटरी साथी डा. लुइससँग हाम्रो क्लबले सामाजिक तथा सामुदायिक परियोजनामा सहकार्य गरेको थियो। उहाँकै निमन्त्रणामा हामी तास्मानियाको क्लब र रमणीय ठाउँहरू अवलोकन गर्न जाँदै थियौँ।
हाम्रो बिहानको उडान भएकाले हामी विमानस्थलतर्फ लाग्यौँ। एक जना साथी रोटरियन जगदीश हमाल भने सिड्नी फर्कनुपर्ने भएकाले फ्ल्याटमै बस्नुभयो। उहाँको उडान हाम्रोभन्दा ढिलो थियो। आवासको पैसा बुकिङ गर्दा नै तिरिसकेका थियौँ।
तास्मानियाका दुई वटा होबार्ट र लन्सेस्टन विमानस्थलमध्ये होबार्ट नजिक भए पनि कम नियमित उडान हुने भएकाले हामीले नियमित उडान हुने लन्सेस्टनलाई रोजेका थियौँ। हामी लन्सेस्टन विमानस्थलमा समयमै अवतरण गर्यौँ। डा. लुइस र उनकी साथी बाबराले हामीलाई स्वागत गर्नुभयो र सिधै लन्चका लागि नेपाली रेस्टुरेन्टमा लिएर जानुभयो।
रेस्टुरेन्टमा पुगेको केही समयमा रोटरियन जगदीश हमालले फोन गर्नुभयो। फोन उठाएँ। उहाँको स्वर सुन्दा अलि टेन्सन भएजस्तो लाग्यो। मनोजजी, म चेकआउट गर्दा कर्मचारीहरूले कोठा सफा नभएको र सामान अस्तव्यस्त रहेको भन्दै डिपोजिटबाट दुई सय डलर काट्ने भन्दैछन्, के गर्ने होला भन्नुभयो।
मैले फोन कर्मचारीलाई दिन भनेँ र कर्मचारीसँग फोनमा भनेँ, 'प्रमाणबिना यसरी पैसा काट्न मिल्दैन। सामान्य बसाइमा हुनेबाहेक हामीले ठूलो फोहोर वा क्षति गरेका छैनौँ। जबर्जस्ती रकम काट्नुभयो भने म कानुनी बाटो अपनाउँछु।'
केहीबेर कुरा गरेँ र उनीहरूले फोन राखे। मलाई लाग्यो, सबै ठीक भयो होला। लगभग पाँच मिनेटपछि फेरि जगदीशजीले फोन गर्नुभयो। मैले फोन उठाएँ र सोधेँ, 'सबै ठीक भयो नि जगदीशजी?'
उहाँ आत्तिएर, 'कहाँ ठीक हुनु मनोजजी, यहाँ त प्रहरीले कोठाहरू जाँच गर्न थालेका छन्। मलाई पनि जान दिएका छैनन्। मेरो विमानस्थल जाने समय ढिला हुन लागिसकेको छ। तपाईंले फोनमा के भन्नुभयो, उनीहरू त झन् कानुनी कुरामा हिँडेजस्तो छ। अब प्रहरी नै आएको छ, के गर्ने होला?'
सायद मैले फोनमा म कानुनी बाटो जान्छु भनेकोले होला, उनीहरूले तुरून्तै प्रहरी बोलाएछन्।
मैले फेरि कर्मचारीसँग कुरा गरेँ र भनेँ, तपाईंहरूले प्रहरीबाट चेक गरे पनि बढी पैसा काट्नुभयो भने म कानुनी कारबाहीमा जाने दोहोर्याएँ र जगदीशजीलाई डराउनु पर्दैन, तपाईं चेकआउट हुनुस् र समयमै विमानस्थल जानुस् भनेँ र फोन राखेँ। उहाँ विमानस्थल पुगेर कल गर्नुभयो र हामीले फोनबाट बाईबाई गर्यौँ।
मलाई सबै ठीक लागेको थियो तर प्रहरी नै आएको अवस्थामा पक्कै मैले डिपोजिट गरेको पैसा भने फिर्ता हुँदैन जस्तो लागेको थियो। हुन पनि एक हप्तापछि दुई सय डलर अतिरिक्त शुल्कको बिल आयो।
शौचालयको प्यानबाहिर पिसाब परेको र सफा नगरिएको, कोठा तथा ओछ्यान नमिलाइएको, डस्टबिन अव्यवस्थित रहेको र बाहिरबाट ल्याइएका खानेकुरा खाँदा भुइँमा खसेका र राम्रोसँग सरसफाइ नगरेको देखेपछि मैले बसाइको दोस्रो दिनमै साथीहरूलाई सरसफाइबारे सम्झाएको थिएँ।
मैले साथीहरूलाई सचेत गराएको थिएँ, 'हामीले दुई–तीनवटा शौचालय साझा प्रयोग गरिरहेका छौँ। प्रयोग गरेपछि आफै सफा गरौँ। कोठा र ओछ्यान मिलाऔँ, फोहोर डस्टबिनमा राखौँ र खानेकुरा व्यवस्थित राखौँ, नत्र पछि दुर्गन्ध वा अरू समस्या आउन सक्छ।'
तर साथीहरूले यसलाई त्यति गम्भीर रूपमा लिनुभएनछ। फोनमा कर्मचारीसँग प्रतिवाद गरे पनि फर्केर सोच्दा हाम्रो आफ्नै लापरबाहीलाई बेवास्ता गर्न मिल्दैनथ्यो। पछि साथीहरूले पनि गल्ती स्वीकार गर्नुभयो र अन्तमा सानो लापरबाहीका कारण हामी दुई सय डलर जरिवानामा पर्यौँ।
यो घटनाले हामीलाई ठूलो पाठ सिकायो। पैसा तिरेर बस्दैमा हामीलाई जथाभावी गर्ने अधिकार हुँदैन। हामीले तिरेको रकम ठाउँ प्रयोग गर्नका लागि थियो, न कि फोहोर गर्न वा दुरूपयोग गर्नका लागि।
जहाँ बसे पनि आफूले प्रयोग गरेका कोठा, शौचालय, भान्सा र सामान सफा तथा व्यवस्थित राख्नु हाम्रो जिम्मेवारी हो। त्यस दिन प्रहरी आउँदा साथीले भोगेको डर र उडान छुट्ला भन्ने चिन्ता सम्झँदा आज पनि गल्ती महसुस हुन्छ। सानो असावधानीले अनावश्यक खर्च र तनावमा अल्झिनुपर्यो। त्यसैले यो घटना हामी आठ जना साथीहरूको यात्राको सम्झना मात्र रहेन, आफूले प्रयोग गरेको ठाउँ, सम्पत्ति र नियमको सम्मान गर्न सिकाउने ठूलो पाठ पनि बन्यो।
यो घटना मात्र होइन, यस्ता धेरै उदाहरणहरू छन्, जसले नेपालीहरूमा …सिभिक सेन्स, जसलाई म …नागरिक सभ्यता भन्न रूचाउँछु, छैन। एक नागरिकले अर्को नागरिकलाई गर्नुपर्ने दायित्व हामीले सोचेका हुँदैनौँ। हामी अधिकारको कुरा गर्छौं, सबैलाई अधिकार चाहिएको छ, एक नागरिकको अधिकारका लागि अर्को नागरिकको कर्तव्य बिर्सिएका हुन्छौँ, जसले गर्दा सबै नागरिकहरू अधिकारविहीन हुन पुग्दछन्।
एक नागरिकले अर्को नागरिकको अधिकारलाई सम्मान गरेर मात्र आफ्नो अधिकारको रक्षा हुन्छ, न कि मागेर। त्यसकारण अधिकारसँगसँगै कर्तव्य आउँछ। अधिकार र कर्तव्य एकै सिक्काका एकएक पाटा हुन्। कर्तव्यबिनाको अधिकारले अन्ततः दुवै पक्षलाई अधिकारबाट वञ्चित गराउँछ।
हामी सल्लाहअनुसार नायग्रा फल्सको यात्रामा बिहान निस्कियौँ। साथीहरूले मलाई नायग्रा फल्सको क्रुजको यात्राका लागि टिकट बुक गर्ने जिम्मा दिनुभएको थियो।
मैले बेलुका टिकट बुक गर्दै थिएँ। अनलाइन हेरेँ। झन्डै १० डलर सस्तो टिकट देखेँ।
'डिल्लीजी, अनलाइन त सस्तो छ।'
डिल्लीजीले 'ल ल, सस्तो भएको बेला किनिहाल्नुस्।' मैले १२ वटा टिकट लिएँ। झन्डै रातको १२ बजेको थियो, हामी सुत्दा।
भोलिपल्ट हामी तोकिएको समयमा लाइनमा बस्यौँ। पन्ध्र मिनेटको लाइनपछि हामी टिकट चेकिङमा पुग्यौँ। टिकट त अर्कै परेछ। केही साथीहरू ठुस्किनुभयो। मैले अनलाइन टिकटको शुल्क झन्डै १० क्यानेडियन डलर सस्तो भेटिएको भनेर गफ लगाएको थिएँ।
साथीहरूले नायग्रा सिटी क्रुज जान चाहनुभएको थियो। यहाँ सबैभन्दा लोकप्रिय पनि यही हो। यो यात्रा नायग्रा झरनाको नजिक पुर्याउने करिब बीस मिनेटको अमेरिकन फल्स, ब्राइडल भेल फल्स र विशाल हर्सशु फल्सको दृश्य अवलोकन गर्न सकिने क्रुज यात्रा हो। जहाँ झरनाको गर्जन, पानीका छिटाबाट निस्किएको कुहिरोजस्तो भित्र पुग्दा हुने रोमाञ्चक अनुभव वास्तवमै अविस्मरणीय हुन्छ।
यात्रामा यात्रुहरूलाई पानीका छिटाबाट जोगाउन अमेरिकी साइडबाट यात्रा गर्नेहरूलाई निलो र क्यानेडियन साइडका यात्रुलाई रातो वर्षाती दिइन्छ भने क्यानेडियन साइडको यात्राको नाम नायग्रा सिटी क्रुज हो र अमेरिकी साइडको मेड अफ द मिस्ट भनिन्छ। यही वर्षातीको रङले कुन क्रुज अमेरिकी हो र कुन क्यानेडियन साइडको हो चिन्न सकिन्छ।
हामी लाइनबाट फर्कियौँ र मैले किनेको टिकटको बारेमा सोधपुछ गरेँ। मैले सस्तो देखेर जर्नी बिहाइन्ड द फल्सको टिकट लिएछु। मैले लोकेसन सोधपुछ गरेँ र साथीहरूलाई लिएर अघि बढेँ। साथीहरूमा निराशा थियो। डिल्लीजी लगायत केही साथीहरू ठुस्किनुभयो भने बसन्ती लगायतका साथीहरूले 'यस्तै हो' भनेर सम्झाउनु पनि भयो। यही क्रममा हामी गन्तव्यमा पुग्यौँ। हामीलाई पहेँलो रङको वर्षाती दिइयो।
जर्नी बिहाइन्ड द फल्स क्यानडातर्फबाट मात्र नायग्रा झरनानजिक गएर अनुभव गर्ने कार्यक्रम रहेछ। हामी लिफ्टबाट करिब १२५ फिट तल झरेपछि सुरूङ हुँदै हर्सशु झरनाको पछाडि बनाइएको झ्यालबाट झरनाको नजिक पुगेपछि भने मसँग रिसाएका डिल्लीजीले भन्नुभयो, 'झुक्किए पनि राम्रो कुरा देख्न पाइयो, मनोजजी धन्यवाद।'
हुन पनि धेरैपटक झरनाको अवलोकन गरे पनि यो भने पहिलो थियो।
विशाल झरनाको झन्डै दश–पन्ध्र फिट नजिक बसेर पानीको गर्जन, कम्पन र छिटाबीच प्रकृतिको अद्भुत शक्ति महसुस गर्दा साँच्चै नै रोमाञ्चक र अविस्मरणीय थियो।
अन्ततः सबै साथीहरूले मलाई धन्यवाद दिनुभयो। हामी सबै खुसीका साथ निस्कियौँ। डिल्लीजी र मबाहेक अरू साथीहरूले भने नायग्रा सिटी क्रुजको टिकट लिनुभयो र क्रुज यात्रातिर लाग्नुभयो। हामी भने कफी पिएर उहाँहरूको क्रुज यात्राको फोटो लिनतिर लाग्यौँ।
क्रमशः










