तिहार सकेर फुर्सदिलो समय कहीँ न कतै घुमेर स्मृतिहरू सँगाल्न चाहनु हरेक मानिसको सौख र रहर हो।
समयको गतिशील कालखण्डमा एउटा अमिट छाप छोड्ने अभिप्राय बोकेर तिहार सकेलगत्तै कार्तिक २५ गते सिन्धुपाल्चोक जिल्लामा अवस्थित भैरवकुण्ड जाने निधो गर्छौं।
भक्तपुरबाट बिहान लगभग ६ बजे दुईवटा स्कोर्पियो भैरवकुण्डको लागि प्रस्थान हुन्छन्।
स्कोर्पियो जगाती, साँगा, धुलिखेलको उकालो कुद्छन्। त्यहाँबाट ओरालो झर्दै पाँचखाल हुँदै दोलालघाटमा बिहानको नास्ता खाइसकेर अरनिको राजमार्ग छिचोल्दै हुन्छौँ, सुनकोसी नदीको छेउछाउ लागेर। लगभग ३ घण्टाको यात्रा पश्चात् डाक्लाङ आइपुग्छौँ।
डाक्लाङबाट सिधै बायाँ मोडिएर भोटेकोसी नदी तरिसकेपछि सुरु हुन्छ हिमालको काखैसम्म पुग्ने उकालो कच्ची बाटोको यात्रा।
कच्ची बाटोबाट सिधै उकालै उकालो उक्लेर हामी लिस्तीकोट पुग्छौँ। लिस्तीमाई मन्दिर छेउको होटलमा खाना खाने प्रबन्ध जुर्छ। बाटोमा भोटेकोसी नदीको गहिरो खोँच आकर्षक देखिन्छ। त्यसपछि कच्ची बाटोको यात्रा फेरि निरन्तर चालु हुन्छ, उकालै उकालो।
नेपाल भन्नु नै यिनै हिमालय शृङ्खला, पहाड, पर्वत र नदीनालाको रसास्वादन हो। लगभग तीन घण्टाको यात्रा पश्चात् छगाम हुँदै बगाम आइपुग्छौँ। गुम्बा र गाउँका ससाना बस्तीहरू पनि देखिन्छन्। बगाममा भने सानो एक झुण्ड बस्ती छ। साना होटलहरू पनि छन्।

प्रायः बगाममा बास बसेर उकालो यात्राको यायावर जिन्दगी अनुभव गर्न चाहनेहरू पनि हुन्छन्। कच्ची सडकको यात्रा एक हिसाबले रोमाञ्चक पनि लागिरहेको छ।
बदलिँदो मौसमबीच काठमाडौँबाट असिना पानी बर्सियो भन्ने खबर प्राप्त हुन्छ। अतालिँदो मन बोकेर हामी भने उच्च पहाडी क्षेत्रमा निरन्तर उकालो लागिरहन्छौँ। बाटोको दायाँबायाँ असरल्ल बुकी फूलहरू स्वागत गरिरहेका छन्।
हिमाली सल्ला लोभलाग्दो उचाइमा ठिङ्ग उभिरहेका छन्। झल्याकझुलुक हिमालका दृश्यहरू झ्यालको सिसाबाट देखिइरहन्छन्।
बगाम र चोकरमोकरको बीच बाटोमा पुग्दा नपुग्दै आकाशमा कालोमैलो देखा पर्न थाल्दछ। सँगै ससाना तोरीका गेडा जस्ता असिना अर्थात् फाप्रे बर्सिन थाल्छन्। “हिउँ त होइन फाप्रेको डङ्गुर, माया भयो अमिलो अङ्गुर” भन्ने सरुभक्तको सदाबहार गीत सम्झिन्छु।
फाप्रेको पहिलो अनुभव, उच्च हिमालमा ठिङ्ग उभिरहेका सल्लाहरू, उबडखाबड कच्ची बाटोको उकालो यात्रा र सरसर लागिरहने चिसो बतासले तानिरहन्छ एकोहोरो।

चोकरमोकर पुगेर शेर्पा होटलमा बास बस्ने हाम्रो उद्देश्यमा एकाएक कालो बादल छाउँछ, जसरी आकाशमा केही समयअघिदेखि कालो बादल छाइरहेको छ। बीच बाटोमा हिउँ पर्न थाल्दछ, फुरुरु फुरुरु कपास उडे जस्तो। गाडी बीचैमा रोकिन्छ।
एउटा टहरोमा हामी सबै जना गुटमुटिन्छौँ। चिसो लाग्न थाल्छ। बाटोको अवस्था नियाल्दा हिमपातले अब त्यहाँबाट उक्लिन असम्भव छ भन्ने निधो गरिन्छ। किनकि चोकरमोकरसम्मै बाक्लो हिमपात भइसकेको अड्कल काट्न गाह्रो भएन।
अब चाहिँ साँच्चै नै एक प्रकारले हाम्रो यात्रामा कठिनाइ थपिने भयो भन्ने कुराले भयग्रस्त हुन पुग्छु। चाउचाउ, चिउरा र केही तरकारीले भोकविरुद्ध युद्ध जारी हुन्छ। कपाकप जे जे छ ब्यागमा खायौँ, अब हिँड्ने तरखर हुन्छ। थाहा छैन कति हिँडाइ छिचोल्नुपर्छ बाक्लो हिउँमा।
ब्यागबाट रेनकोट झिकेर शरीर ढाक्छौँ। टाउकोमा टोपी, हातमा पन्जा, मुखमा एकसरो मास्क र मफ्लर भिरेर फुरुरु उडिरहेका हिउँलाई परवाह नगरी हाम्रो टोली उकालो उक्लिन्छ।
बाक्लो हिउँका पत्रहरूले पदमार्ग थम्याउन गाह्रो छ। बर्सिरहेका हिउँले रोमाञ्चकता थपिँदो छ। सँगै हिउँमा हिँड्न कठिन पनि परिरहेको छ। हिउँमा साथीभाइहरू मोबाइलको क्यामेराले फोटो भिडियोमार्फत स्मृतिहरू कैद गर्न चाहन्छन्।
साँझ थपिँदै जानु र अन्तिम गन्तव्य पुग्न लाग्ने समय अड्कल काट्न नसक्दा मनमा भने नजानिँदो भयले टाउको उठाउन थाल्दछ। मोबाइलको ढुकढुकी पनि बन्द हुन पुग्छ, किनकि त्यहाँ नेटवर्क नै टिप्दैन। झल्याकझुलुक झुकिएर चाहिँ नेटवर्क टिप्न सक्ने सम्भावना भने यथावत् छ।

केही बेरको हिँडाइपछि हिउँले ढाकेको खुला चउर देखापर्दछ। त्यहाँ ससाना दुईवटा गोठहरू छन्, मान्छे भेटिन्छ। अग्लो पठारमा यही हाम्रो अन्तिम गन्तव्य होला भन्ने लाग्छ। सोधपुछपछि चोकरमोकर पुग्न त अझै उकालो लाग्नुपर्छ भन्ने जवाफले नैराश्यता थपिन्छ।
त्यहाँबाट पनि हिउँको एकनास बाटो पछ्याउँदै उकालो लागिरहन्छौँ। साँझको अँध्यारो धर्तीमा सर्लक्क ओर्लिन्छ। त्यसपछि अझैसम्म अन्तिम गन्तव्य पहिल्याउन नसकेका, झुक्किएर एकाध वर्षहरूमा हिमालयको काखमा लुतपुतिएर रमाउन चाहने हामीजस्ता यात्रीहरू रन्थनिनु स्वाभाविक पनि छ। धर्तीमा अब बिस्तारै अँध्यारो रात पर्न थाल्छ।
सेता हिउँले परावर्तन गरेका धमिलो उज्यालोको सहारामा निरन्तर धैर्य साँचेर हिँडिरहन्छौँ। अँध्यारोमा एउटा बत्ती बलेको दुई तले जस्ताको घर देखापर्दछ। अन्तिम बासस्थान/गन्तव्य ठानेर 'शेर्पा होटल, शेर्पा होटल' भनेर चिच्याउँछ एउटा साथी। तर जवाफ शून्य। बत्ती बले पनि त्यो घरबाट चाइँचुइँ केही नसुनिएपछि अँध्यारोमा हामी फेरि उकालो उक्लिन्छौँ। एकैछिनपछि हाम्रो गन्तव्यस्थल चोकरमोकरको शेर्पा होटल आइपुग्छौँ, सायद हामीले आजको युद्ध जित्यौँ।
चिसिएको ज्यान होटलको चिया र तातो पानीले आह्लाद महसुस गर्छ। उच्च हिमाली भेगमा होटल भन्नु काठका खम्बाहरूमा जस्तापाताले मोडेको गोठ हो। गर्मी याममा उच्च लेकमा हिमालतिर गोठ लगाउनु र हिउँ लागेसँगै बेसीतिर झर्ने कुराहरू त कहीँ कतै पढिएको र सुनिएको कुराहरू नै हुन्। अगेनामा पानीको केतली बलेको आगोमाथि छ। दाल लगाएको प्रेसर कुकरले एक सिठी स्यात्त बल गर्दा बिर्कोको माथिल्लो डल्लो उफ्रिन्छ।
सोलारको एउटा बत्तीको भरमा छौँ सबै जना। एक जोडी होटलका साहु-साहुनी खाना बसाल्न ठूलो कुकर झिक्छन्। बगामका सोही साहुजीको सम्बन्धित मान्छेले भिराइदिएको आलु, तरकारी, मसला, तेल र चामल ब्यागबाट झिकेर हस्तान्तरण गरिदिन्छौँ। एकैछिन अगेनाको तातोले जिउ तातिएको आभास त पाइन्छ तर हिउँको चिसोले थेग्न दिएन।
पाँच-छ कप तातो पानी बिस्तारै सुरुपसुरुप निलेपछि बल्लतल्ल मन्द गतिले चिसिएको ज्यान तात्न खोजेझैँ भान पर्छ। बस्दाबस्दै दुईवटा अरू पदयात्री टोलीहरू होटलमै मिसिन्छन्। चिसो सिरेटोलाई एकछिन भए पनि भुलाउन वा अनुभव नगर्न गीतको रत्यौली पनि चल्छ। केही क्षणको रमाइलो रत्यौलीपछि खाना पाक्छ। पस्किसकिएको खाना दिनभरिको भोको बाघले सिकार लुछेझैँ दाह्राले दाल, भात र तरकारी लुछ्यौँ। ज्यानमा तागत थपिन्छ। जिउ केही तङ्ग्रिएको आभास पाइन्छ।
चिसो सिरेटो चलिरहेको छ। हिउँ परिसकेपछिको खुला आकाशमा टिलपिल गरिरहेका ताराहरू अघिपछिका रातहरूमा भन्दा नजिक लाग्दछ। सायद हामी काठमाडौँको बाह्र सय मिटर उचाइभन्दा चोकरमोकरको लगभग उन्नानचालीस सय मिटरको उचाइमा रहेकाले ताराहरू नजिक रहेको मूर्ख हिसाब गर्दछु, जसमा कुनै तथ्य नहुन सक्दछ। भक्तपुर नगरका हामीहरूले एक दिनअघि नै भाइटिका मनाइसकेर हिँडेको हुनाले आम नेपालीहरूको आज भाइटिका हो। त्यहाँबाट पश्चिम नियाल्दा काठमाडौँ खाल्डोको आकाशमा उज्यालो छरिरहेको सजिलै देख्न सकिन्छ, सायद तिहारको झिलिमिलीले हुनुपर्छ।
खाना खाइसकेर हामी सुत्ने होटल, होटल के भनौँ, टहरोपट्टि लम्कियौँ, मोबाइलको टर्च बालेर। लुगा बदल्ने जोसजाँगर कसैमा पनि देखिएन। जसरी आयौँ त्यसरी नै भुइँमा बिछ्याइएका दसनामाथि पल्टिन्छौँ। एक डल्ला हिउँका चिसा बरफमाथि पल्टिएको झैँ लाग्दछ। सिरक ओढिन्छ। ज्यान बिस्तारै तातिएर निद्रा लाग्छ भन्ने आशा बोकेर। हात, खुट्टा, टाउको र जिउ पूरै चिसिएको छ।

सुत्न खोज्छु, निद्रा के लाग्दथ्यो? घरिघरि ट्वाइलेट जाने साथीहरूले ढोका लगाउँदा आउने चिसो हावाले सुत्न दिएन। छिनछिनमा घडी हेर्छु, अब त ४ बज्यो होला। तर चिप्लेकिराझैँ लम्किरहेको समय घडीमा रातको १०, ११, १२, १, २ बज्दै गरेको हेर्दै बिथोलिएको निद्रामा रातभरि बिउँझिरहन्छु। आँखा चिम्लिएर कहिले बिहान होला र यात्रामा लम्किहालौँ झैँ लाग्दछ। बेलाबेला घडी हेरिरहँदा सकसपूर्ण रात औधी लामो लाग्दछ, चिसोले।
केही साथीहरूलाई उचाइदेखि हुने अल्टिच्युड सिक्नेसले गर्दा सास फेर्न गाह्रो भएको रहेछ। आफैँलाई पनि झिनो टाउको दुखिरहन्छ। समय-समयमा आफ्नै श्वासको गति पनि लामो-लामो भइरहेको छ कि क्या हो लाग्ने। मनमा एक प्रकारले अल्टिच्युड सिक्नेसको त्रास व्याप्त छ। एवम् रीतमा बिहान एकैछिन निदाउन पुग्छु र बिहान ४:३० मा ब्युँझिन्छु।
२०८३ कार्तिक २६ गतेको बिहान ५:०० बजे भैरवकुण्डका लागि हिँड्ने तरखर चल्दछ। न्यानो लुगाफाटाले शरीर ढाकेर होटलमा तातो कालो चिया सुरुप्प निल्दछौँ। बोतलभरि तातो पानी भरेर भैरवकुण्डको यात्रामा लम्किन्छौँ, ठाडो उकालो। अँध्यारो एवम् रीतमा व्याप्त छ।
चोकरमोकरबाट उकालो लाग्दछौँ। बिहानको सूर्योदयका लागि घाम पूर्वबाट उदाउने कोसिस गर्दछ। हिमालयका सेता हिउँहरू बिहानको पहिलो किरणसँगै सुनजस्तै चम्किने कोसिस गर्दछन्। हिमालको काखमा एकैछिन हराउन चाहना गर्ने हामीजस्ता आकलझुक्कलका पदयात्रीहरू रोमाञ्चित हुन्छौँ। पदयात्राभरि हिउँहरू छन्। हिँड्दा सुनिने हिउँको छ्याकछ्याक आवाज रमाइलो लाग्दछ। हिमालका हिउँ र पत्थरिला पहाडहरू अजङ्ग उभिइरहेका छन्। लगभग ४१०० मिटरभन्दा माथिको उचाइमा अवस्थित भैरवकुण्डलाई आँखाले नियाल्नु जो छ।
ठाडो उकालो सकेर कहिले तेर्सैतेर्सो, कहिले तेर्सैतेर्सो फेरि ठाडो उकालो घुम्ती मोडिँदै, थाक्नेभन्दा पनि गन्तव्यमा पुग्ने अभिलाषामा हुटहुटी थप्दै खुट्टाका पाइतालाहरू लम्किरहन्छन्। बेलाबेलामा गोजीको मोबाइल झिकेर केही थान यादहरू तस्बिर र भिडियोमा कैद गर्ने कोसिस पनि हुन्छ। हिमालमा हराउनुको मज्जा असीमित छ, शब्दहरूमा कहाँ बाँधिन्छन् र यसका उच्छ्वासहरू। स्वर्गमा डुल्नुको अतृप्त भोक यी हिमालहरूसँग एकाकार भइरहनु पो रहेछ। स्वर्गको एक टुक्रामा रुमलिइरहेछौँ।
पूर्वबाट सूर्य सर्लक्कै उदाउँछ। हिमालको एकसरो लहर ठिङ्ग उभिइरहेको छ। हामी हिँडिरहेका छौँ गन्तव्यतिर। नयनहरूमा कैद गर्दै रमणीय दृश्यहरू। बर्फिला हिउँहरू, चट्टानहरू र आकाशैसम्म चुलिएका हिमालयले कथाहरू सुनाइरहन्छन्। हजारौँ वर्षअघि टेथिस सागरमा युरेसियन प्लेट र इन्डियन टेक्टोनिक प्लेटहरूको टकरावले बिस्तारै हिमालय बन्ने प्रक्रिया सुरु हुन्छ। यो टकराव दिनप्रतिदिन आफ्नै गतिमा सरिरहेको छ र हिमालयले उचाइ लिने गति पनि चलिनै रहन्छ। यो हिमालय क्षेत्र संसारकै जवान हिमालय हो। त्यसैले यस हिमालयको टेक्टोनिक क्षेत्रभित्र समय-समयमा ठूला-ठूला भूकम्पहरू र पहिरोहरू गइरहन्छन्।
सेत्ताम्मे हिमालको हिउँमा टल्किएका पारिलो घामले आँखै खोल्न हम्मेहम्मे पर्छ। पदमार्गको दायाँबायाँ एकाध टहराहरू पनि छन्, जुन खाली छन्। सायद सिजनमा यिनै टहराहरूमा पसल थाप्छन् होला भन्ने लाग्छ। हिमाल उक्लिरहेका हामीहरू बर्फिला हिउँहरूमा चिप्लिएर बज्रिन्छौँ, ऐय्या भन्दै उठ्दछौँ र लम्किन्छौँ। हिमाल मोहक, आकर्षक र रोमाञ्चक छ। हिमाल र हिमाल जित्न चाहनेका कथाहरू जस्तो मानिलिऊँ हामी पनि पदयात्राका साहसी पर्वतारोही हौँ।
केही घण्टाको निरन्तर यात्रापछि हिमालको काखमा मनोरम भैरवकुण्ड देखापर्दछ। मनमा छुट्टै प्रकारको खुसी छाउँछ। एक पर्वतारोहीले हिमाललाई जितेझैँ, एउटा कठिनतम् संघर्षपछिको उपलब्धिझैँ। बिहान सखारै हिँडेको एउटा टोली भ्यू पोइन्टको चुचुरोमा हिँडिरहेका छन्। वरपर सेताम्मे हिउँले टाकुराहरू ढाकिएका छन्। सूर्योदयको तेज झन्-झन् थपिएको छ। भैरवकुण्डको पानीका लहरहरू हावाका झोक्काहरूले बुर्लुक-बुर्लुक उफ्रिरहेका छन्। निर्मल, स्वच्छ, स्वच्छन्द पानीमा हिमालको प्रतिबिम्ब झल्किरहेछ।
कुण्डको छेउमा भैरवकुण्डसँग सम्बन्धित जानकारी र सरसफाइसम्बन्धी नियमहरूका फेहरिस्त टाँगिएका छन्। मनमा सन्तुष्टिको एक लहर हिमालजस्तै उभिन्छ। कुण्डको एकछेउ मन्दिर स्थापित छ। भैरवकुण्ड देखिने गरी फोटो र भिडियो खिचिन्छ। मन्दिरको पनि दर्शन हुन्छ। मन्दिरभित्र उमा महेश्वरको मूर्ति स्थापित छ। भैरवकुण्डको लगभग ४१०० मिटर उचाइमा काठमाडौँ उपत्यकामा देखिने शिवले पार्वतीलाई आफ्नो आलिङ्गनमा बेरिरहेको उमा महेश्वरको मूर्ति देखेर आश्चर्य पनि लाग्दछ।
सेताम्मे हिउँका ढिस्काहरू, चिसो हावा, बादलका टुक्रा-टाक्रीहरू, बौद्धमार्गीले झुन्ड्याएका ध्वजा-पताकाहरू एउटा यात्रीले सँगाल्ने अनुपम स्मृतिहरू हुन्। मानसपटलको कुनाकाप्चामा भौतारिरहने जीवनका नमेटिने यादहरूका इतिहास पनि हुन्।
हिमालका टाकुराहरूमा हिउँहरू फुलिरहेको हेर्नु, यात्रीहरूका भावनाहरूलाई तरङ्गित गरिदिने कुण्डको बुर्लुक्क उफ्रिरहने निर्मल पानी र खुलेको निलो आकाशलाई औधी स्नेहले पुरेर मोहित भइरहन्छु।
जति हेर्यो उति हेरिरहूँ लागिरहेका हिमाललाई छोडेर हिँड्न मन लागेन। जति-जति फर्किने समय नजिकियो, उति-उति हिमालबाट टाढिनु एउटा प्रेमी आफ्नो प्रेमिकाबाट छुटेझैँ लाग्दछ। जति-जति टाढिने प्रयास हुन्छ उति-उति नै एउटा प्रेमिल मनले आफ्नो प्रेमिकाको अनुहारमा अतृप्त माया भेटेझैँ, मुटुभरि मायाको उभार उर्लेझैँ, म भने एकनास हिमालसँग प्रेमिल हुन्छु। हिमालसँग झन्-झन् मोहित हुन्छु। हिमाल झन्-झन् प्रेमिकाका आँखाहरूझैँ स्वप्निल लाग्न थाल्दछ। छुट्टिन नचाहेका प्रेमिल जोडीले प्रेमीको पलेंटीमा आफ्नो टाउको राखेर सुस्ताउन चाहेझैँ प्रेमिल समय हिमालको काखैमा रहेर नियाल्न चाहिरहेछु।
नचाहँदा नचाहँदै पनि फर्किनुपर्ने समयले मन बिथोलिदिन्छ। बिहान ९ बजेतिर भैरवकुण्डलाई बिदाइ गर्दै फर्किन्छौँ। फर्किनुअघि हिउँमा आ-आफ्नो नाम कोर्छु। हिमालका हिउँहरूमा मैले आफ्नो अस्तित्व दर्शाउन एउटा नाम लेखिदिन्छु। मैले हिउँमा कोरेका नामहरू अनन्तसम्म हिउँहरूमा साँचिऊन्। अन्तिममा कवि तीर्थ श्रेष्ठको “हिउँमा लेखिएका नामहरू” नामक कविता छिनछिनमा सम्झिरहन्छु हिमालको काखैमा बसेर कि
'हामीले लेखेर आएका छौँ
हिउँमा आ-आफ्ना नामहरू
एकछिनपछि हिउँ थपियो भने
रहने छैनन् हाम्रा नामहरू'