नेपाल सरकारले यात्रामा सावधानी अपनाउनु भनी सूचना जारी गरेको भोलिपल्ट हामी लाजिम्पाटमा बसेर यात्राको तयारी गर्दै थियौं।
एकातिर चक्रवात ‘अर्नव’ ले भारतमा बितण्डा मच्चाउन सुरू गरिसकेको थियो भने अर्कोतिर परिवार तथा साथीभाइले यात्रा रद्द गर्ने सुझाव दिइरहेका थिए।
तर यो यात्रा त तीन वर्षअघि अन्नपूर्ण बेस क्याम्पमा बसेर तय गरिसकेका थियौं।
अमेरिकाबाट उज्ज्वल दाइ आइपुग्नु भएको थियो भने अन्य सहयात्रीहरूको पनि सबै समय मिलाउन कठिन थियो। हिन्दीमा एउटा भनाइ छ नि, ’अभी नहीं तो कभी नहीं’। अंग्रेजीमा 'नाउ अर नेभर'।
अनि हामी होमियौं सगरमाथा बेस क्याम्प तर्फको ट्रेकिङमा।
'अर्नव' को नेपाल प्रवेशको दुई दिनअघि बिहान ६ बजे काठमाडौंमा आ-आफ्ना घरबाट अदम्य उत्साहका साथ आ-आफ्ना जीवनका नमेटिने यादहरू कोर्न निस्कियौं।
हामीसँग काठमाडौंबाट लुक्ला सम्मको हवाई टिकट हातमा थियो, र आँखामा विश्वकै अत्यन्त जोखिमपूर्ण मानिएको हवाई यात्राका चित्रहरू।
एकै छिनमा नवीन दाइको फोन आयो, एउटा हेलिकप्टर लुक्ला उड्दैछ, तपाईंहरू १० मिनेटमा एयरपोर्ट पुग्नुपर्नेछ। लौ? एउटा अद्भुत यात्राको थालनी झनै रोमाञ्चक बन्दै थियो, अविश्वसनीय।
हामीमध्ये धेरैको यो पहिलो र ऐतिहासिक हेलिकप्टर यात्रा हुन गइरहेको थियो। हामी आफूलाई कति भाग्यमानी भन्दै रमाइरहेका थियौं।
नवीन दाइले हाम्रो ट्रेकिङको व्यवस्थापनमा सहयोग गरिदिनुभएको थियो। उहाँ यस्तै ट्रेकिङ र विशेष गरी हिमाल आरोहणहरूको व्यावसायिक व्यवस्थापन गर्नुहुन्छ।
हतार गरेर हामी हेलिकप्टर चढ्यौं। मलाई त डर लागेको थियो, प्लेन हल्लिँदा सातो जान्छ मेरो। तर अपेक्षा विपरीत एकदमै आरामले सरासर लुक्ला पुगियो। मौसम अत्यन्त सफा थियो। एयरपोर्टदेखि नै देखिन थालेको हिमश्रृंखलाले लुक्ला पुग्दासम्म विश्राम लिएन।
लाक्पा दोर्जे, गौरीशंकर अनि सम्पूर्ण महालंगुर हिमश्रृंखला र अनि झुलुक्क सगरमाथाको चुचुरो। लुक्लामा पाइला टेक्दा नै कस्तो कस्तो अनुभव भइरहेको थियो, संसारै जितेजस्तो, स्वर्गमा नै पाइला टेकेजस्तो, एकै छिनमा पूरै यात्रा नै सफल भएजस्तो, मन फुरूङ्ग उडेजस्तो, कस्तो कस्तो।
हामी चिया खाँदै गर्दा हाम्रो गाइड 'गेली' पनि मन्थलीबाट पुगे अनि सुरू भयो हाम्रो बहुप्रतीक्षित, जीवनकै एक अविस्मरणीय यात्रा, सगरमाथा बेस क्याम्पतर्फ।
पहिलो दिनको छोटो यात्रा फाक्दिङमा बिसायौं। संसारभरबाट जम्मा भएका पर्यटकहरूको लर्को, फाट्टफुट्ट आन्तरिक पर्यटक, टल्किरहने हिउँका टाकुराहरू, दूधकोसीको सुसेलीले हामी कति धनी छौं भन्ने आभास दिइरहेको थियो।
मुस्ताङको झल्को दिने टर्कीको क्यापाडोसिया, शिवपुरी डाँडा जस्तै सिड्नीको ब्लु माउण्टेनमा लाखौं पर्यटक ओइरिएको देख्दा विरक्त लागेकै थियो।
केही साथीहरूले यही बेला स्विट्जरल्याण्डको टिटलिस माउण्टेनमा हिउँ खेलाउँदै गरेको फोटो सामाजिक सञ्जालमा हेर्दै थिएँ।
तर हाम्रो यो अनुपम सुन्दरता किन विश्व विजेता बनेन भनेर नेपालको स्विट्जरल्याण्डमा बसेर उहिले स्विट्जरल्याण्डको नेपाल भन्ने ठाउँमा आफू डुल्दै गरेको परिकल्पना गरेको थियो, यो मनले।
फाक्दिङमा गेली दाजुले हामीलाई एउटा सुन्दर होटलभित्र छिराए।
होटलको भित्तामा होटलका साहुजीले हिमाल चढेको फोटो देखेर रिसेप्सनमा बसेकी नानीसँग उत्सुकता प्रकट गर्यौं।
हामी त्यो बेला तीन छक्क पर्यौं जब ती साहुजीले सगरमाथाको पाँच पटक सफल आरोहण गरिसकेको थाहा पायौं। यो यात्राले हामीलाई छक्क पार्दै थियो अनि मख्ख पनि।
फाक्दिङ हामी दिउँसै पुगेका थियौं, बजार पनि डुलिसकेका थियौं, बाहिर चिसो पनि बढ्दै जाने भएकोले हामीले तास खेल्ने निधो गर्यौं। फाक्दिङमै तास किन्यौं र डाइनिङ हलमा बसेर मज्जाले तातो पानीसँग तास खेल्न थाल्यौं। धुम्बल खेल्ने प्रस्ताव उज्ज्वल दाइको थियो, सबैलाई नियम बताएर खेल्न थाल्यौं। यसपछि हामीले प्रत्येक दिन धुम्बल खेल्यौं।
दोस्रो दिन हाम्रो लागि कठिन हुनेवाला थियो। बिहानै हिँडन सुरू गर्यौं, दूधकोसीको तीरै तीर। यसै दिनबाट नेपालमा ‘अर्नव’ भित्रिने पूर्वानुमान थियो। त्यसैले अलिक हतार पनि गर्नु थियो। बाटोभरि झलमल्ल थामसेर्कु हिमाल, सुन्दर झरनाहरू, खच्चडका लस्कर, रङ्गीन जंगल, स्तुपा, ढुंगामा कुँदिएका श्लोकहरूतर्फ क्यामरा तेर्स्याइरह्यौं।
फाक्दिङबाट केहीबेर हिँडेपछि सगरमाथा राष्ट्रिय निकुञ्जमा प्रवेश गर्यौं र यसको लागि अनुमति लियौं। दुइटा कुराहरू चाहिँ म पर्खिरहेको थिएँ, जुन मेरा लागि विशेष थिएँ र जसका फोटो भिडिओहरूले मलाई पहिलादेखि नै आकर्षित गरिरहेका थिए।
पहिलो थियो हिलारी ब्रिज अनि दोस्रो नाम्चे बजार। सुभाष सरले बाटोमा आउने प्रत्येक पुललाई 'यो हिलारी ब्रिज हो?' भनेर सोधिरहनु भएको थियो। त्यहाँ पुग्दा हामी साँच्चै उत्साहित भयौं।
विदेशी पर्यटकहरूको त घुइँचो नै थियो। एकछिन त जाम नै भएको थियो।
अर्को थियो, नाम्चे बजार। पहाडको बीचमा अर्धवृत्त आकारमा लहरै एकनासका घरहरू, फोटो त धेरै देखियो, अब आफ्नै आँखाले हेर्ने मौका थियो। नाम्चेको पहिलो झलकले नै मोहित भएँ म। ठमेलका जस्ता पबहरू, लाइभ म्युजिक, ब्राण्डेड पसलहरू र होटेलहरू।
हिमालको काखमा यति सुविधा मैले अपेक्षा गरेको थिइनँ। हामी होटल पुग्दा आलीआली पानी पर्न सुरू भइसकेको थियो। एकातिर ट्रेकिङ रोमाञ्चक हुँदै थियो भने अर्कोतिर ‘अर्नव’ ले कस्तो चुनौती ल्याउला, हामी पुग्न सकौंला या नसकौंला भन्ने अन्योल पनि थियो।
‘अर्नव’ लाई हामीले मानवीकरण गरिसकेका थियौं। अनि दिनैभरि अर्नव दाजुको चर्चा थियो। मौसम पूर्वानुमान अनुसार हामी नाम्चे पुगेको तेस्रो दिन दिउँसो १ बजेबाट घाम लाग्ने अनुमान भएकोले त्यही अनुसार हामीले यात्राको तालिका तय गर्यौं।
दुई रात नाम्चेमा बिताउने र तेस्रो दिन त्यहाँबाट हिँडेर नजिकैको गाउँ खुम्जुङमा बास बस्ने तय गर्यौं।
खुम्जुङ एक दिन अगाडि नै पुग्ने हाम्रो सुरूको योजना थियो तर अब अर्नव दाजुले हाम्रो योजना एकदिन पछाडि धकेलिदिनुभयो। बेलुका राम्रैसँग पानी पर्न सुरू भयो।
छाता ओढेर हामीले नाम्चे बजारलाई सरसर्ती नियाल्यौं। बाँकी समय बिताउनको लागि त हामीसँग तास छँदै थियो। पर्सीसम्म हामी धुम्बलमै व्यस्त भयौं।
नाम्चे वरिपरिका डाँडा निरन्तर सेताम्मे हुँदै गए। पानी एकनासले परिरह्यो। माथिल्लो भेगमा दुई-तीन फिटसम्म हिउँ परेको खबरहरू आइरहे, सँगै बाटो बन्द भएर पर्यटकहरू फर्किरहेको समाचार पनि। यति धेरै हिउँसँग मेरो खास्सै साक्षात्कार भएको थिएन । म रोमाञ्चित भएँ। तर हामी पनि फर्कनुपर्ने हो कि, निराशाको बादल पनि मडारिरहेको थियो।
हामी नाम्चेमै हुँदा डिङबोचेमा एउटा होटलमा ग्यास सिलिन्डर पड्केर आगलागी भएको दु:खद् खबर पनि सुनियो।
अन्ततः तेस्रो दिन खुम्जुङको लागि तयार भयौं तर पानी रोकिने छाँटकाँट थिएन।
के गर्ने? कसो गर्ने अन्योलबीच रेनकोट ओढेर हिँड्ने निधो गर्यौं अनि हिँड्यौं खुम्जुङतिर।
दुई-तीन घण्टाको मात्र बाटो थियो तर निरन्तर पानी परिरहेकै थियो। हातहरू ठिहिर्याए, जिउ कक्रक्क पर्यो, अन्ततः खुम्जुङ पुग्दा हामी सबै जना भित्रैसम्म भिजिसकेका थियौं, कारण थियो रेनकोट।
प्रायःहामी सबैको रेनकोट हामीले तीन वर्षअघि अन्नपूर्ण बेस क्याम्प जाँदा किनेका थियौं। सायद तीन वर्षमा काम नलाग्ने भइसकेको रहेछ, राख्दा राख्दै। खुम्जुङमा तातो डाइनिङ हलमा बसेर आफूलाई सुकायौं अनि कपडाहरूलाई पनि।
चारैतिर पहाड अनि हिमालको बीचमा सम्म जमिन। खुम्जुङ भ्यालीलाई ग्रिन भिलेज पनि भनिँदो रहेछ।
कारण, हरियो छाना अनि हरियो रङ्ग पोतिएका घरहरू। खुम्जुङमा बिहान उठ्दा त मौसम यस्तो खुलेको, झलमल्ल घाम लागेको अनि सेता हिमालहरू आँखै खाने गरी टल्किरहेका। अहिले नै यति मनमोहक छ, भने सगरमाथाको नजिक पुग्दै गर्दा कस्तो हुने होला? फुरूङ्ग मनले आफैलाई सोध्यो। होटलबाट पाँच मिनेट मात्र अगाडि बढेका के थियौं, एउटा सिनेमाको सम्पादित दृश्य झैं, एउटा पोस्टर झैं, अवास्तविक जस्तो तस्बिर आँखा सामुन्ने झलल्ल बल्यो।
अविश्वसनीय मानेर एक टकले आँखा सो तस्बिरमा अडेको अड्यै भयो। आँखा अगाडि थियो स्वच्छ, सफा, गाढा नीलो आकाश, बादलको त नामोनिशान थिएन। अनि नीलो आकाशको पृष्ठभूमिमा ठिङ्ग उभिएको थियो, धर्तीकै सुन्दर मध्येको एक, आमा डब्लम। आमा डब्लम हिमाल यसरी अनायासै कुनै खबर नै नगरी जम्काभेट गर्न आउला भन्ने कल्पना सम्म मैले गरेको थिइनँ।
योभन्दा उत्कृष्ट समय फेरि आउन पनि समय नै लाग्छ होला, प्रत्येक तस्बिर उत्कृष्ट थियो। यो दृश्य यति मनमोहक थियो कि त्यो वर्णन गर्न मसँग शब्दहरूको खडेरी पारिरहेको छ। अब यहाँबाट जति हिँड्यो उति मनमोहक दृश्य, यो दिन त हामीले फोटो खिच्दा खिच्दै धेरै समय खर्चियौं। हरेक मोडमा, हरेक पुलमा, हरेक खुड्किलामा हामीले फोटो क्लिक गर्यौं।
हामी तलतल दूधकोसीसम्म पुग्यौं अनि फेरि माथि माथि उकालो चढ्यौं। जब हामी पहाडको टुप्पामा पुग्यौं, त्यहाँ थियो, तेङबोचे। अनि तेङबोचेको चारैतिर हिमालै हिमाल, अनि ठ्याक्कै अगाडि थियो एउटा लामो हिमश्रृंखला र सोही हिमश्रृंखलाको पछाडिबाट चियाइरहेको थियो, सगरमाथा।
यो पदयात्रामा पहिलोपटक हामीले सगरमाथा देख्यौं, सँगसँगै यति धेरै हिमालहरू, थामसेर्कु, आमा डब्लम, ल्होत्से, नुप्त्से अनि अरू हिमाल, कति हो कति।
प्राचीन गुम्बा पनि तेङबोचेको आकर्षण थियो। हाम्रो देश अति सुन्दर छ भन्ने त थाहै थियो तर यसरी छक्कै पार्ने सुन्दरताले नेपाली भएकोमा गर्विलो महसुस गरेँ।
तेङबोचेमा वरिपरि थोरै थोरै हिउँ जम्मा भएको थियो। त्यहाँबाट बिहान फेरि दूधकोसीतिर ओरालो लाग्यौं अनि फेरि उकालो।
खुड्किलाहरूको छेउमा एउटा मात्र रूख अनि पृष्ठभूमिमा आमा डब्लम, यो इन्टरनेटमा भेटिने चर्चित तस्बिर थियो, जहाँ फोटो खिच्न म आतुर थिएँ। मेरा धेरै इच्छाहरू यहाँ भटाभट पूरा हुँदै थिए।
हामी पाङबोचे कटेर शोमारेमा पुगेर खाना खायौं। यहाँसम्म पुग्दा चारैतिर हिउँ नै हिउँ थियो। बाक्लो बाक्लो हिउँ, यो मेरो जीवनको पहिलो र अनुपम अनुभव थियो। हिउँमा बाटोहरू थोरै थोरै खुलिसकेका थिए। हिउँ नै हिउँले ढाकिएका बाटोहरू हिँड्दै हिमालमाथि पुगिसकेको अनुभूति गर्न कति रोमाञ्चक थिएन, मेरो लागि।
विश्व-प्रसिद्ध असंख्य हिमालहरूको बीचबाट हामी निरन्तर हिँडिरहेका थियौं। डिङबोचे पुग्दा आमा डब्लमको काखैमा पुगे जस्तो महसुस भयो। यहाँ हामी दुई रात बिताउने योजना थियो, शरीरलाई उचाइमा अभ्यस्त बनाउनको लागि। हामी ४,३५० मिटरको उचाइमा थियौं। डिङबोचेमा राम्रा होटलहरू थिए र अझै सुविधासम्पन्न होटलहरू निर्माण भइरहेका देखिन्थे।
भोलिपल्ट हामी ३-४०० मिटर थप उचाइसम्म हिँडेर फर्किने योजना थियो। गेली दाजुले हामीलाई नजिकैको डाँडाको माथिसम्म लैजानुभयो। थप उचाइबाट हिमश्रृंखलाको काखैमा बसेको डिङबोचे झन् मनमोहक देखियो।
हामी डिङबोचेमै हुँदा नजिकै फेरिचेमा हेलिकप्टर दुर्घटना भयो।
एक जना विदेशी पर्यटकको निधन भएको दुःखद खबर सुन्नुपर्यो।
लुक्लादेखि सगरमाथा आधार शिविर तर्फको हवाईमार्गमा अविरल हेलिकप्टरहरू उडिरहेका देखिन्थे, ट्याक्सी जस्तै। यो क्षेत्रमा हेलिकप्टर व्यवसाय आकर्षक रहेको भान हुन्थ्यो।
साथै, यो पदयात्रामा आन्तरिक पर्यटकहरू थोरै देखिनु, यो कुरा मलाई अचम्म लाग्यो। हामी बसेका होटलहरू विदेशी पाहुनाले खचाखच थिए। अनि काठमाडौंबाट यति टाढा, यति उचाइमा रेष्टुरेन्टको मेनु देख्दा पनि म अचम्मित भएँ।
ताजा पाउरोटीहरू, साग, कुखुराको मासु सुलभ रूपमा उपलब्ध थिए। पास्ता, पिज्जा, सिजलर लगायत कुनै पनि विशिष्ट परिकारहरू उपलब्ध भएको देख्दा म त दङ्ग नै परें।
'दाल भात पावर, ट्वेन्टी फोर आवर' एक भारतीय महिला पर्यटकले भनेकी थिइन्, अनि हामीले पनि कम्तीमा एक छाक त दाल भात नै खायौं। खाजामा, खानामा अण्डा कहिल्यै छुटेन। अनि हामीले फर्किँदा भनेका थियौं, अब अण्डा चाहिँ हेर्नु पनि नपरोस्।
मलाई खुम्जुङको रातदेखि नै राम्ररी निद्रा परेको थिएन। डिङबोचेमा राति फेरि निद्रा लागेन अनि सास फेर्न पनि थोरै सकस भएको हो जस्तो लागेर लेक लागेको औषधि खाइदिएँ।
त्यसपछि हरेक दिन यो औषधि खाएँ। यसपछि मैले गाह्रो महसुस गरिनँ, निद्रा पनि राम्ररी लाग्न थाल्यो। डिङबोचेमा हामीले धेरै हिउँ खेल्यौं अनि हिउँमै क्रिकेट पनि खेल्यौं। जब हामी डिङबोचेबाट अगाडि लाग्यौं, दृश्यहरू झन् मनमोहक हुँदै गए। थुकला पास कट्नको लागि निरन्तर ठाडो उकालो चढ्न निकै कठिन थियो। तर थुकला पास अगाडिको दृश्यले हाम्रो सबै थकान मेटाइदियो। लोबुचे र पुमोरी हिमालको झलकले मनै लोभ्यायो।
लोबुचेको बास त्यति आनन्दमय भएन, चिसो पनि धेरै भयो र होटलको डाइनिङ हल पनि न्यानो थिएन। यहाँ फोन पनि नलाग्ने भएकाले महङ्गोमा इन्टरनेट सुविधा लिएर परिवारसँग सम्पर्क गर्यौं।
अर्को दिन निकै कठिन हुने अपेक्षा थियो। हामी गोरक्षेप हुँदै सगरमाथा बेस क्याम्प पुगेर दिउँसै गोरक्षेप फर्किने अनि कालापत्थर पुगेर फर्किने योजना थियो। सन्तोष सर र सुभाष सरको चाहिँ सगरमाथा बेस क्याम्पबाट फर्केर गोरक्षेपबाट हेलिकप्टरबाट लुक्ला र तुरून्त काठमाडौं पुग्ने तालिका थियो।
हामीले यात्रा सुरू गरेको नवौं दिन हाम्रो लक्ष्यमा पुग्ने दिन थियो। ४,९१० मिटरबाट ५,३६४ मिटरमा अवस्थित बेस क्याम्प पुग्नु थियो। विभिन्न गाइडहरूसँगको कुराकानीमा कालापत्थरको बाटोबारे मिश्रित सुझावहरू पाइरहेका थियौं।
हिउँ परेपछि कालापत्थर जाने बाटो खोलिएको छैन, एउटा ठाडो बाटो छ, नजाँदा बेस भन्ने सुझावहरू पाएकोले हामी अन्योलमा थियौं। तर बेस क्याम्प पुग्नैपर्ने थियो। म सानो हुँदा महत्वपूर्ण परीक्षा दिन जानुअघि जस्तो महसुस हुने गर्थ्यो, त्यो दिन मलाई त्यस्तै भइरहेको थियो।
डर लागे जस्तो, आत्तिए जस्तो, के होला, कस्तो होला, पुग्न सकिएला कि नसकिएला, यस्तै यस्तै।
यो दिन कठिन थियो, सबभन्दा बढी उचाइमा पुग्नु थियो। यस्तै के के सोच्दै गोरक्षेप पुगियो अनि चिया खाजा खाएर सुरू गर्यौं अन्तिम खुड्किलो। यति धेरै दिनको यात्रापछि, सारा हिमालहरू पछाडि पारेर अघि बढेपछि हामी गन्तव्यको अत्यन्त नजिक थियौं।
गोरक्षेपबाट केही अगाडि बढेपछि सगरमाथाको चुचुरो देखिन थाल्यो, हामी बाटोभरि फोटो, भिडिओ खिच्दै अगाडि बढ्यौं र अन्ततः सगरमाथा बेस क्याम्प पुग्यौं।
ल्होत्से र नुप्त्सेको बीचबाट सगरमाथा चियाइरहेको थियो। सगरमाथा बेस क्याम्प लेखिएको ढुंगामा उभिएर फोटो खिच्न लाम थियो, हामी पनि उत्साहका साथ लाममा बस्यौं।
ढुंगामा उभिएर फोटो खिच्दा एउटा जितको खुसी थियो। सफलताको उत्सव थियो। एउटा गर्वको अनुभूति थियो। एउटा मेडल पाए जस्तो, जागिरमा प्रमोसन पाए जस्तो। त्यहाँ फोन लाग्थ्यो, अनि मैले आमा र श्रीमतीलाई फोन गरेर खुसी सुनाएँ। आमाले त डिङबोचेमा हुँदै 'हिमालमै पुगिसकेछौ त अब फर्की' भन्नुभएको थियो।
केहीबेर बेस क्याम्पमा बिताएर हतारले हामी फर्कियौं। अचम्म, न थकाइ थियो, न चिन्ता, न टाउको दुखेको थियो न लेक। शरीर यति हलुका भएको थियो कि अब सबै कुरा सजिलै गर्छु जस्तो, सगरमाथा नै चढ्छु जस्तो।
दुई जना सरहरू छिटो छिटो फर्किँदै हुनुहुन्थ्यो, हामी आलिक पछिपछि। उहाँहरू गोरक्षेपबाट हेलिकप्टर चढेको हामी टाढाबाट नियालिरहेका थियौं। केहीबेरमा हामी गोरक्षेप पुग्यौं। खाजा खायौं र थोरै भए पनि कालापत्थर चढ्ने निधो गर्यौं। विशेषगरी कालापत्थर सूर्यास्त हेर्नको लागि प्रसिद्ध छ। हामी कालापत्थरतिर लम्किँदै गर्दा साँझ परिसकेको थियो।
ल्होत्से, नुप्त्से अनि सगरमाथा रातो हुन थालिसकेको थियो। नुप्त्से हिमाल त झलमल्ल सुन झैं टल्किरहेको थियो। ती मनमोहक दृश्यहरू कैद गर्दै केहीबेर उकालो चढ्यौं तर बाटो अत्यन्त अप्ठ्यारो थियो, ठाडो उकालो चढ्न कठिन भइरहेको थियो। केहीबेर चढेपछि हामी फर्किने निधो गर्यौं अनि गोरक्षेप नै फर्कियौं।
दुई जना काठमाडौं पुग्नुभयो, हामी तीन जना चाहिँ गोरक्षेपमै बस्यौं। तिहार सुरू भइसकेको थियो, हामीलाई पनि छिटो काठमाडौं पुग्नु थियो।
हामी गोरक्षेपबाट लोबुचे हुँदै दिउँसो २ बजेतिर फेरिचे पुग्यौं।
दुर्घटनाग्रस्त हेलिकप्टरको छेउबाटै हामीलाई लिन हेलिकप्टर आयो, करिब १० मिनेटमा हामी लुक्ला ओर्लियौं।
लुक्लामा हामीले थोरै उत्सव मनायौं। भोलिपल्ट हवाई जहाजबाट काठमाडौं फर्कियौं। यात्राको एघारौं दिन असंख्य सम्झनाहरू बोकेर हामीले यात्रा टुङ्ग्यायौं।
‘अर्नव’ दाजुलाई हामीले धन्यवाद दियौं, यो यात्रालाई थप अविस्मरणीय बनाइदिनुभएकोमा।





-1795252185.jpeg)