मेघौलीको जंगलमा मृग देख्दा मलाई लमजुङको पात्ले खेत सम्झना आयो। मृग र बाँदर खेतमा पसे भने हाम्रो आँखा सोझै बालीमा जान्थ्यो। चितवनमा भने मेरा आँखा मृगमै अडियो। कतिबेर हामी उसैलाई हेरिरह्यौं।
कामको सिलसिलामा काठमाडौंलाई कर्मथलो बनाएपछि गाउँको माटोसँगको साइनो पातलिँदै गएको थियो। त्यो जम्काभेटले एकाएक गाउँको माटोको सुवास सम्झाइदियो।
यसपालि हाम्रो घरमा दसैंको टीका थिएन। परिवारका तेह्र जना मिलेर मेघौलीको सिद्धार्थ वाइल्डलाइफ रिट्रिट पुग्यौं।
ममी, दुई जना अंकल, अंटी र भाउजूका लागि जंगलमै पुगेर वन्यजन्तु हेर्ने अनुभव नौलो थियो। केटाकेटीलाई हात्ती भेट्ने हतार थियो। भाइ बुहारी भने हनिमुन जोडी जसरी रम्दै थिए। मेरी श्रीमतीलाई चाहिँ जंगलतिर फर्किएको बार्दलीले तान्यो।
थारू घरको झल्को दिने भिल्ला
कोठामा पस्दा मेरो आँखा पहिले बत्तीमा गयो। बत्तीमा ढडिया राखिएको थियो। थारू समुदायले माछा मार्न प्रयोग गर्ने त्यो ढडियाले यहाँ बत्तीको छोपनीको काम गर्दो रहेछ। कोठाका कुँदिएका कलाकृतिमा थारू जीवनशैली झल्किन्थ्यो। पिँढीमा काठका फल्याकबाट बनाइएका मेच थिए। भिल्लाको बनोटदेखि कोठाभित्रका साना वस्तुसम्ममा स्थानीय घरको छाप देखिन्थ्यो।
रिसोर्ट चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती जंगलको उत्तरी छेउमा छ। अधिकांश भिल्लाको पछाडि बार्दली छ। त्यहाँ उभिँदा रूखका हाँगा र हरियालीले घेरेकाले जंगलमै बास बसेजस्तो हुने। बार्दलीमा श्रीमतीसँग। वनबाट शीतल हावा आउँथ्यो। चराको स्वरमा किराफट्याङ्ग्राको आवाज मिसिन्थ्यो। हामी केहीबेर चुपचाप हरियाली हेरिरहन्थ्यौं। सँगै बस्दा हरेक मौनता कुराले भर्नुपर्दैन रहेछ।
भरतपुर विमानस्थलबाट करिब ३० किलोमिटर टाढा रहेको यो रिसोर्ट अहिले चल्तीमा नरहेको मेघौली बिमानस्थल नजिकै छ। पहिले साराङ वाइल्डलाइफ स्याङ्चुरीका नामले चिनिन्थ्यो। करिब १२ बिघामा फैलिएको रिसोर्टका १७ भिल्लामा २४ कोठा छन्। परिसरभित्रै सानो खोला बग्छ। सफारीमा निस्कने बेला नभए पनि यतै डुल्दै चरा नियाल्न सकिन्छ।
स्विमिङ पुलछेउ बार छ। पुलको झुल्ने खटियामा ढल्केर दिउँसो सुस्ताउन मिल्छ। तेह्र जना सँगै घुम्न जाँदा कसैलाई पौडी खेल्न मन लाग्ने, कसैलाई छायामा बस्न। आआफ्नै तरिकाले दिन बिताएर साँझ एउटै टेबलमा भेट्दा सुनाउने कुरा सबैसँग हुन्थे।
पात्ले खेत सम्झाउने सफारी
जंगलमा जिप सफारी गयौं। लमजुङमा प्रकृतिकै काखमा हुर्केका हामीलाई वनको बाटो परिचित लाग्थ्यो। एकसिङ्गे गैँडासँग एकै यात्रामा धेरैपटक जम्काभेट हुनुको मज्जा बेग्लै थियो। गैँडा देखिँदा मेरो ध्यान बेलाबेला परिवारका जेष्ठ सदस्यहरूतिर फर्किन्थ्यो। पहिलोपटक यसरी जंगल घुमिरहनुभएका उहाँहरू रमाएको हेर्नु पनि यात्राको एउटा सुख रहेछ।
पैदल जंगल घुम्दा फेरि अर्कै अनुभव भयो। जिपबाट हेरेको वनलाई पाइला रोकेर सुन्न पाइयो। चराको स्वर र बाटोछेउका साना कुरामा पनि ध्यान जान थाल्यो।
सन् १९७३ मा स्थापना भएको चितवन नेपालको पहिलो राष्ट्रिय निकुञ्ज हो।
सन् १९८४ मा यो युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत भयो। यहाँका सालका वन, घाँसे मैदान र नदी एकसिङ्गे गैँडा, पाटेबाघ र घडियाल गोहीका बासस्थान हुन्। निकुञ्जको पश्चिमी प्रवेश क्षेत्र मेघौलीबाट मध्यवर्ती वन र नदी दुवैतिर घुम्न सकिन्छ।
टोयोटाको जन्मदिन
रिसोर्टमा तीनवटा हात्ती छन्। श्यामकली, उनको भाले छावा टोयोटा र साराङकली। चितवनमा आफ्नै हात्ती भएका थोरै रिसोर्टमध्ये यो पनि पर्छ। हाम्रो परिवारका केटाकेटीको पहिलो रोजाइ हात्तीसँग समय बिताउनु थियो। ठूलाहरू पनि उत्तिकै रमाउनुभयो।
दसैंको टीकाकै दिन टोयोटा दुई वर्षको भयो। उसको जन्मदिन रहेछ भन्ने थाहा पाएपछि अनन्याको उत्साह झन् बढ्यो। टोयाटालाई केरा खुबै मन पर्दो रहेछ। हामीले उसलाई केरा खुवाएर जन्मदिनको शुभकामना दियौं।
ममी र काकाहरूले हात्तीलाई ढोग्नुभयो। उहाँहरू हात्तीको पेटमुनिबाट पनि छिर्नुभयो। हात्तीलाई गजराजका रूपमा श्रद्धा गर्ने हाम्रो हिन्दू संस्कार त्यही बेला सम्झिएँ।
हात्तीले सुँड उठाएर नमस्कार गर्दा अनन्या र सुबु खुसी भए। शशांक र सम्राटलाई चाहिँ आफ्नै हातले हात्तीलाई खुवाउन पाउनुको मज्जा थियो। रिसोर्टमा हात्तीलाई घाँस र दाना दिन, बगैंचामा उनीहरूसँगै हिँड्न र नुहाउने बेला हेर्न पाइँदो रहेछ। हात्तीलाई खुवाउँदै आफैं पनि बिहानको नास्ता गर्ने विकल्प रहेछ।
चौरको पिङ र बिहानको साइकल
बगैंचासहितको फराकिलो चौर पाएपछि केटाकेटी त्यतै रमाए। चौरको एक कुनामा लिङ्गेपिङ हालिएको थियो। पिङमा भने हामी सबैको पालो आयो।
बिहान व्यायाम गर्न साइकल लिएर निस्कँदा शशांक र सम्राटले साथ दिए। साइकल चलाउन चाहने पाहुनालाई रिसोर्टले नै साइकल उपलब्ध गराउँदो रहेछ।
थारू संस्कृति र भान्साको स्वाद
गाउँ र थारू संग्रहालय घुमेपछि कोठाभित्र देखेका कलाकृति फेरि सम्झिएँ। संग्रहालयमा यहाँका रैथाने थारू समुदायको रहनसहन र परम्परा बुझ्न पाइयो। साँझ रिसोर्टमा स्थानीय कलाकारले थारू सांस्कृतिक प्रस्तुति दिन्छन्। दिउँसो संग्रहालयमा चिनेको संस्कृतिलाई साँझ नृत्यमा हेर्न पाइन्छ।
हामीलाई हर्क दाइ र शिवजीले घुमाउनुभयो। रिसोर्टका सबैजसो नेचर गाइड माहुते स्थानीय रहेछन्। उहाँहरूको साथले वन र गाउँमा देखेका कुरा त्यहाँको जनजीवनसँग जोडेर बुझ्न सजिलो भयो।
थारू खानाको थालीमा ढिक्री, चिचर र हाँसको मासु हाम्रो समूहका धेरैलाई मिठो लाग्यो। घोँगी बाक्लो ग्रेभीमा वा झोलमा मगाउन मिल्दो रहेछ। मकैको चपले भोक मात्र मेटाएन त्यसको स्वाद अझै जिब्रोमा छ। घण्टीफूलको रस मिसाइएको ‘मेघौली मिस्ट’ मकटेलको स्वाद पनि यादगार थियो।
गोलाघाटको साँझ
राप्तीमा डुङ्गा चढेर गोलाघाटतिर लाग्यौं। जिप र पैदल यात्रामा हेरेको जंगल यसपटक पानीबाट देखिँदै थियो। डुङ्गाबाट नदीकिनारमा निस्कने वन्यजन्तु नियाल्न पाइन्छ। पानीमा माछा खोजिरहेका चरा र मौसमअनुसार बसाइँ सरेर आउने चराहरू हेर्न पनि यो यात्रा रमाइलो हुन्छ।
गोलाघाटमा राप्ती र नारायणी मिसिन्छन्। घाम ओर्लंदै जाँदा फराकिलो नदीमाथिको उज्यालो बिस्तारै फिक्का हुँदै गयो। मौसम खुलेकाले त्यहाँबाट उत्तरतिर हिमालचुली, बुद्ध हिमाल र मनास्लु हिमशृंखला देखिए। त्यही दिशातिर हेर्दा फेरि लमजुङ सम्झिएँ।
काठमाडौंमा राति रिल्स हेर्दाहेर्दै निदाउने बानी परेको छ। बिहान अलार्मले ब्युँझाउँछ। मेघौलीमा केही रात झ्याउँकिरीको गुनगुन सुन्दै निदाएँ। बिहान चराको चिरबिरले आँखा खुल्यो। केही दिनका लागि फेरिएको त्यो लयले मन शान्त भयो।
तेह्र जना मेघौली पुगेका थियौं। फर्कंदा सम्झना भने आआफ्नै थिए। केटाकेटीका लागि टोयोटाको जन्मदिन, पिङ र पौडी। श्रीमतीका लागि जंगलतिर फर्किएको बार्दली। मेरा लागि चितवनको मृग र उसले सम्झाएको लमजुङको पात्ले खेत।