कोसल महाजनपदको श्रावस्ती सहर नजिकैको वनमा अङ्गुलिमाल ९९९ वटा औँलाको माला लगाएर हजार वटा बनाउन अन्तिम औँलाका लागि आफ्नै आमालाई मार्न हतारिँदै दगुर्दै थियो। त्यस दिन भगवान् बुद्धको करुणासमापत्ति ध्यानमा अङ्गुलिमाल परे। अङ्गुलिमाललाई उपकार गर्न भगवान् बुद्ध उहाँ भएको बाटोमा पुग्नुभयो।
अङ्गुलिमालले आफ्नो बाटो छेकिएको आवेशमा रिसले चुर हुँदै भगवान् बुद्धलाई भने, ‘पर्ख, रोक! म तँलाई मारेर औँला काटेर लिन्छु।’
भगवान् बुद्धले अङ्गुलिमाललाई भन्नुभयो, ‘म त धेरै पहिले नै रोकिसकेको छु, अब रोकिने पालो तिम्रो हो।’
भगवान् बुद्धको यति वचन सुनेपछि अङ्गुलिमालको कदम रोकियो। उसको विक्षिप्त चित्त शान्त भयो। अङ्गुलिमाल बेहोसीबाट बिउँझियो। त्यसपश्चात् शान्त र स्थिर चित्तले भगवान् बुद्धको धर्मदेशना श्रवण गरेर, विनय पालन र शील आचरण गर्दै उहाँ यही जन्ममा अरहन्त फल प्राप्त गर्न सफल भए।
हरेक दिनको पूर्वाह्न समयमा भगवान् बुद्ध करुणासमापत्ति ध्यानमा बस्नुहुन्थ्यो र सोच्नुहुन्थ्यो— ‘आज कसलाई उपकार गर्न सकिन्छ?’ जुन प्राणीले जन्म जन्मदेखि सु-कर्म सञ्चित गर्दै आएका छन्, जसको संस्कारमा भगवान् बुद्धको धर्मदेशनाबाट उद्धार हुन सक्ने सम्भावना छ, त्यो प्राणी कहाँ छ भनेर खोज्नुहुन्थ्यो। अनि त्यस प्राणीसम्म भगवान् बुद्ध आफैँ पुगेर दुःख मुक्ति मार्ग धर्मको ज्ञान दिएर करुणा गर्नुहुन्थ्यो।
वैशाख पूर्णिमाको दिन, भगवान् बुद्धले बुद्धत्व प्राप्त गरिसकेपछि आफू मात्र होइन, यस संसारका सम्पूर्ण प्राणीहरूको उद्धार गर्ने हेतुले ४५ वर्षसम्म दुःखमुक्तिको मार्गको धर्मदेशना गर्नुभयो। सम्पूर्ण सत्त्व प्राणीहरूप्रति असीम करुणा र अनुकम्पा राख्दै भगवान् बुद्ध आफैँ गाउँ-गाउँ, नगर-नगरमा पैदल यात्रा गर्दै दुःखी र अशान्त व्यक्तिहरूको घर-दैलोमा पुगेर दुःख मुक्तिमार्ग साक्षात्कार गराउनुहुन्थ्यो। गौतम बुद्धले त्यस बेलाको जम्बुद्वीपमा (आधुनिक भारत र नेपालमा) गङ्गा नदीको वरिपरिका धेरै जनपद तथा महाजनपदहरूको पैदल यात्रा गरी धर्मोपदेश दिँदै बिताउनुभयो। उहाँले हिँडेरै बोधगया, मगध, सारनाथ, कोसल, वैशाली, पावा, श्रावस्ती, संकिस्सा, कुशीनगर, कपिलवस्तुदेखि कजनगल लगायतका क्षेत्रहरूसम्म ज्ञान प्रचार गर्न हजारौँ माइल यात्रा गर्नुभयो। भगवान् बुद्ध सामक्ष्य प्रव्रजित भिक्षुहरूलाई पनि विभिन्न ठाउँको भ्रमण गरेर धर्म प्रचार गर्न भन्नुहुन्थ्यो। पछि बुद्ध धर्ममा प्रव्रजित भिक्षुहरूको धम्म पैदल यात्रा जम्बुद्वीपको उत्तरमा श्रीलङ्कादेखि दक्षिणमा अफगानिस्तानसम्म फैलिएको थियो।
भगवान् बुद्धले हामीलाई दिनुभएको ज्ञानअनुसार यो संसार अनित्य छ, समय अनित्य छ र हाम्रो यो जीवन पनि अनित्य छ। हामीले कयौँ पटक जन्म लिइसकेका होलाउँ। कयौँ पटक सँगै जन्मिएका पनि होलाउँ। फेरि एक पटक हामी सबै आजको युगमा सँगै जन्मिएका छौँ। आजको हाम्रो यो युगलाई प्रविधि र डिजिटल युग भनिन्छ। अत्यधिक होडबाजी र ‘अरूभन्दा अगाडि बढ्ने’ तृष्णाले गर्दा प्रत्येक व्यक्तिको जीवनमा कहीँ न कहीँ अशान्ति र घुटन छ। आफ्नै जीवनको सङ्घर्षमा शान्ति कतै हराएको छ, दिनदिनको होडबाजीमा शान्ति कतै लुकेको छ।
यही अस्तव्यस्त जीवनको चपेटामा रुमल्लिएका जनमानसहरूलाई ‘शान्तिको बाटो अझै छ, शान्ति पाउन सम्भव छ, शान्तिका लागि प्रयास गर्न सकिन्छ’ भन्ने आशाको किरण जगाउन भन्ते पञ्ञाकारासहित अन्य १९ जना भिक्षुहरू, सहायकहरू र स्वयंसेवकहरूको समूहले सन् २०२५ अक्टोबर २६ मा अमेरिकामा शान्ति पदयात्रा सुरु गरे। यो पैदल चारिकालाई बुद्ध धर्ममा प्रव्रजित भिक्षुहरूले बुद्ध शासनको आयु चिरस्थायी बनाउन भगवान् बुद्धको समयदेखि नै पालन गर्दै आएको विनय नियमको निरन्तरता हो पनि भन्न सकिन्छ। बुद्ध शासनको आयु चिरस्थायी बनाउन मेरो पनि केही जिम्मेवारी छ भन्ने भावनाले भन्ते पञ्ञाकाराको समूहले सुरु गरेको यो समयसापेक्ष र सान्दर्भिक शान्ति पदयात्रामा सामेल हुन म पनि १०८–१०९ दिनको यो शान्ति पदयात्राको लागि वासिङ्टन डिसी पुगेँ। १०८ औँ दिनमा म, रोजी र नोरीन बिहानै नेशनल मेथोडिस्ट चर्चमा पुग्यौँ, कृष्णलाई त्यहीँ भेटेँ।
टाढैदेखि भन्तेहरू आइरहनुभएको दृश्य देखियो। झन् नजिक, झन् नजिक हुन थाल्यो। सबैभन्दा अगाडि भन्ते पञ्ञाकारा, सँगै नीरज, अनि अरू भन्तेहरू लस्करै हिँड्दै अगाडि आइरहनुभएको देखेँ। त्यो समय शान्त, निर्मल र खुसी छर्कँदै गरिरहेको आभासमा परिणत भयो। भन्तेहरूको आगमनको दृश्य धेरै नै रमणीय थियो। भन्तेहरूको मैत्री र करुणाले भरिएको अनुहार हँसिलो थियो। न कुनै थकान देखिन्थ्यो, न कुनै दुःख। सबै भन्तेहरूमा सजगता, चेतनशील, धैर्य र शान्तिको प्रत्येक पाइलाको सन्देश उजागर हुँदै थियो। शान्तिको पदयात्रामा हिँडेका भन्तेहरूले मौनतामा शान्तिको शक्ति हुन्छ भन्ने शिक्षा दिइरहेका थिए। जति जति भन्तेहरू नजिकिँदै आए धेरै जसो कुरिरहेका जनताहरूको आँखाबाट श्रद्धा र आदरको आँसु छचल्किन थाल्यो।
मलाई पनि यस्तो लाग्यो म कुनै संवेजनीय स्थलमा भ्रमण गरिरहेछु, जहाँ पुगेपछि श्रद्धा विभोर भएर आउँछ। भन्ते पञ्ञाकाराले मलाई टाढैबाट देख्नुभयो। मलाई देखेर मुस्काउनुभयो। लाग्छ, मलाई देखेर खुसी जनाउनुभयो र टाढैदेखि आशीर्वाद दिनुभयो। मैले खादा चढाएँ, उहाँले लिनुभयो। कुरा पदयात्राको १०८ औँ दिनको हो, त्यस बिहान अमेरिकन युनिभर्सिटीमा भन्तेहरूसँग विद्यार्थी र शिक्षकहरूको अन्तरक्रिया कार्यक्रम थियो। भन्तेहरू त्यस बिहानको अन्तरक्रिया कार्यक्रम सिध्याएर चर्चमा भोजनको लागि आउँदा भन्तेहरूलाई हेर्न बाटोको दुवै छेउमा हजारौँ मानिस प्रतीक्षा गरिरहेका थिए। हामी पनि चर्च पुग्ने भर्याङमा अघिल्लो पङ्क्तिमा स्वागतका लागि खादा लिएर कुरिरहेका थियौँ।
शान्ति पदयात्रासँग म प्रत्यक्ष अप्रत्यक्ष संलग्न छु। सुरुमै हामीले (म र नीरज) विचार गरेअनुसार मेरो पक्षको ‘वाक फर पिस’ पूरा गर्न फेब्रुअरी १० र ११ को वासिङ्टन डिसीमा हुने अन्तिम चरणको पदयात्रा र समापन समारोहमा मैले भाग लिएकी थिएँ। फेब्रुअरी १० मा बिहान नेशनल युनाइटेड मेथोडिस्ट चर्च, दिउँसो वासिङ्टन क्याथेड्रल चर्चमा इन्टरफेथ सेरेमोनी अनि युनिटी वाक गर्दै बेलुका जर्ज वासिङ्टन युनिभर्सिटीमा भन्ते पञ्ञाकारासँग विद्यार्थी र शिक्षकहरूको अन्तरक्रिया कार्यक्रम थियो। भोजन सकिएपछि हामी डेढ घण्टाको शान्ति पदयात्रा गरेर इन्टरफेथ सेरेमोनीका लागि वासिङ्टन नेशनल क्याथेड्रल पुग्यौँ। बाटोमा जर्जियामा देखा परेका एक विरोधी उही बोर्ड लिएर कराइरहेको भेट्यौँ। सायद उनले भन्तेहरूलाई जर्जियादेखि पछ्याइरहेका थिए। भन्तेहरू नजिक पुगेपछि त्यो मान्छे झन्-झन् ठुलो स्वरमा कराउन थाल्यो। त्यसपछि तुरुन्तै ट्राफिक पुलिस र पुलिस कारहरू थपियो। साइकल र मोटर साइकल ट्राफिक पुलिसहरू पनि आइपुगे। भन्तेहरूलाई बाटोको दुवैतिर छेकबारको घेरा लगाएर पदयात्रा गराए। भन्तेहरूलाई अमेरिकामा दिएको यो सम्मानले मन नै हर्षित भयो।
आजको यो पदयात्राको लागि धेरै नै अरू नयाँ भन्तेहरू थपिन आएका थिए। भिक्षु पञ्ञाकाराको नेतृत्वमा रहेको यो शान्ति पदयात्रामा भाग लिनको लागि सुरुमा १९ जना भिक्षुहरू अमेरिका, थाइल्याण्ड, भियतनाम, लाओस, म्यानमार, र फ्रान्सबाट आउनुभएको थियो। यो शान्ति पदयात्रा कार्यक्रमको संयोजन डा. नीरज बज्राचार्यले गर्नुभएको थियो। यो शान्ति पैदल यात्राको लागि चाहिने सम्पूर्ण तयारीपछि अक्टोबर २६, २०२५ मा फोर्ट वर्थको ह्युङ डाओ विपश्यना भावना सेन्टरबाट यात्रा सुरु भयो। टेक्सासको राजधानी अस्टिन भएर लुजियाना, मिसिसिप्पी, अलाबामा, जर्जिया, साउथ क्यारोलिना, नर्थ क्यारोलिना, भर्जिनिया, मेरिल्याण्ड हुँदै अमेरिकाको राजधानी वासिङ्टन डिसीमा शान्ति पैदल यात्रा समाप्त गरियो।
भन्तेहरूको यो पदयात्राको सुरुमा बिस्तारै एक जना दुईजना गर्दै मानिसहरूले बुझ्न आए, सहमति जनाए अनि यो पदयात्रालाई स्वीकार गर्ने र सहमति जनाउँदै बाटोमा आउनेहरू हजारौँ पुगे। हजारौँ भन्तेहरूसँगै हिँडे। प्रहरी विभागहरू, चर्चहरू, मन्दिरहरू र परिवारहरूले भन्तेहरूलाई स्वागत गरे। धेरै सहरहरूले शान्ति पदयात्राको घोषणापत्र र कृतज्ञतापत्रहरू पनि दिए। अपरिचितहरू समर्थक बने। पर्यवेक्षकहरू सहभागी बने। एकपछि अर्को पाइला चाल्दै, खाली खुट्टा र स्थिर हुँदै, भन्तेहरूले राज्य रेखा, सहर, राजमार्ग, हिउँ, हावा र वर्षा पार गरे। वासिङ्टन डिसीसम्म पुग्दा यो शान्ति पदयात्राले विश्वव्यापी प्रचार पाइसकेको थियो भने यो समारोहमा भाग लिन आउनेहरू लाखौँमा पुगे। लाखौँले अनलाइन हेरे।
धेरै मिडियामा समाचार कभरेज भइसकेको थियो। सबैजसो सोसियल मिडियाले घर घरमा शान्ति पदयात्राबारे सूचना पुर्याइसकेको थियो। त्यसैले अहिलेसम्ममा धेरै ठाउँबाट भन्तेहरू यो पदयात्रामा थोरै भए पनि जोडिन आउनुभयो। वासिङ्टन नेशनल क्याथेड्रलको इन्टरफेथ सेरेमोनीमा शान्ति सभा र अन्तरधार्मिक समारोह थियो। त्यहाँको अन्तरधार्मिक कार्यक्रमले शान्ति, सद्भाव र करुणाप्रति साझा समर्पणमा हजारौँ विविध सहभागीहरू र धार्मिक नेताहरूलाई एकसाथ भेला गर्यो।
यस समारोहमा आदरणीय भिक्षु खीमाले आयोजनाको लागि हार्दिक कृतज्ञता व्यक्त गर्नुहुँदै वासिङ्टन नेशनल क्याथेड्रल चर्चलाई धन्यवाद दिनुभयो। यसरी धार्मिक महत्त्व भएको स्थानले अर्को धर्मलाई ढोका खोलेर खुला हृदयले नयाँ आशातर्फ डो¥याउने भन्नुभयो।
त्यसपछि भन्ते पञ्ञाकारा भीडलाई सम्बोधन गर्दै भन्नुभयो, ‘मेरो पछाडि अहिले, हामीसँग विभिन्न धार्मिक नेताहरू छन् र तपाईंहरू सबैको अगाडि, यहाँ सबै धार्मिक नेताहरू शान्तिको एकमात्र महत्वाकाङ्क्षा लिएर सँगै उभिएको देख्न सक्नुहुन्छ। यो मेरो लागि पहिलो पटक हो कि हामी सँगै शान्ति पदयात्राका लागि हिँडिरहेका छौँ। हामी आफ्नो लागि शान्ति खोज्न, हाम्रो राष्ट्र र संसारलाई बाँड्न यो बाटोमा सँगै हिँडिरहेका छौँ। मेरो लागि, यो त्यो क्षण हो जुन म मेरो बाँकी जीवनभर सम्झिनेछु। र म आशा गर्छु कि तपाईंले पनि त्यस्तै गर्नुहुनेछ।’ समारोहमा अरू भन्तेहरूले पनि मन्तव्य दिनुभएको थियो।
क्याथेड्रलको बाहिरको कार्यक्रम सकेपछि चर्चभित्र पनि भन्तेहरूलाई त्यस चर्चका पादरी, डिन, बिशप र अन्य कार्यकारी व्यक्तित्वहरूबाट स्वागत समारोह थियो। चर्चभित्र भन्तेहरू र केही प्रतिनिधिहरूलाई मात्र प्रवेश गर्न दिएको थियो। हामीसँग प्रतिनिधि जनाउने ब्याज भएकोले म र कृष्ण भित्र जान पायौँ। चर्चको पादरीले र अन्य सदस्यहरूले विभिन्न धर्म र धर्मावलम्बीहरूको यो समाजमा आफ्नै महत्त्व र स्थान भएको प्रकाश पार्नुभयो। विभिन्न धर्मावलम्बीहरूबीच अन्तरक्रिया पनि थियो।
त्यहाँ भन्ते पञ्ञाकारालाई सोधिएको थियो, क्रिस्चियानिटीबारे के सोच्नुहुन्छ? भन्तेले भन्नुभयो, ‘म सबै धर्महरूको सम्मान गर्छु। म कुनै पनि धर्मको विरुद्धमा बोल्दिनँ। अरूले बौद्ध धर्मको बारेमा जे भने पनि, यसले हामीलाई विचलित गर्दैन। हाम्रो लागि, हामी हाम्रो धर्मको अभ्यास र सम्मान गर्छौँ। मेरो लागि, सबै धर्महरूले मानिसहरूलाई राम्रो जीवन कसरी बिताउने, राम्रो मानिस कसरी बन्ने, समाज र हामी बस्ने देशलाई कसरी समर्थन गर्ने भनेर सिकाउँछन्। चर्च, मन्दिर र अन्य पूजास्थलहरूले अर्को पुस्तालाई राम्रो मानिस बन्न सिकाउँछन्। मसँग अन्य धर्महरूको तर्फबाट बोल्ने ज्ञान छैन। तर म एउटा सन्देश साझा गर्छु, हामीसँग फरक पृष्ठभूमि, विश्वास र धर्म हुन सक्छ तर हाम्रा सबै अभ्यासहरूमा एउटा साझा धर्म पनि छ त्यो हो प्रेम, दया, करुणा र शान्तिको धर्म। म सबै धर्महरूको सम्मान गर्छु। विभाजनको आवश्यकता छैन। संसार यसरी एकताबद्ध हुनुपर्छ। गहिरो कृतज्ञताका साथ, म बिशप र क्रिस्चियन, मुस्लिम, हिन्दु, यहूदी, बौद्ध, हाम्रा शिक्षकहरू र उनीहरूका शिक्षकहरू, सिख, बहाई, आदिवासी, अन्तरधार्मिक र आध्यात्मिक नेताहरूलाई हार्दिक धन्यवाद दिन्छु जसले हाम्रो आह्वानलाई स्वीकार गर्नुभयो र छोटो सूचनामा राष्ट्रिय क्याथेड्रलमा हामीसँग सामेल हुनुभयो। तपाईंले आफ्नो हृदय खोल्नुभयो र यो पवित्र स्थानलाई घर जस्तो महसुस गराउनुभयो।’
अर्को प्रश्नको उत्तरमा आदरणीय भन्ते बोधिले भीडलाई सम्बोधन गर्दै भन्नुभयो, ‘विगतका पुस्ताहरू नागरिक अधिकारको पक्ष युद्धको विरुद्धमा उभिएका थिए। आज यो विश्वमा फेरि डरको समय आएको जस्तो महसुस हुन्छ तर जवाफ थप चिच्याहट होइन, थप क्रोध होइन, थप विभाजन होइन। जवाफ भनेको एक पटकमा एक कदम शान्तिको लागि हिँड्ने शान्त साहस हो। १०८ दिन केवल सङ्ख्या होइन, १०८ दिनले हामी सबैले भित्र बोकेको मानव सङ्घर्षलाई प्रतिनिधित्व गर्दछ र भन्तेहरूले टेकेको हरेक पाइलाले ती सङ्घर्षहरू फुक्का, नरम र मुक्त भएको महसुस गराउँछ। यो पदयात्रा कहिल्यै दूरीको बारेमा होइन। भन्तेहरू कुनै शक्ति प्रमाणित गर्न होइन तर शान्ति अभ्यास गर्न हिँडिरहेका थिए। सायद त्यो नै वास्तविक शिक्षा हो कि शान्ति हामीले भन्ने कुरा होइन।’ भन्तेहरूले दिन खोजेको शिक्षा एक पटकमा एक पाइला, एक पटकमा एक हृदय, एक पटकमा एक श्वासमा शान्तिको परिवर्तन हो। यो पदयात्रा चोटपटक, आँधीबेहरी र आलोचनाहरूका बाबजुद सही मार्गको कर्तव्यबोधको बारेमा थियो।
भोलिपल्ट फेब्रुअरी ११ मा बिहानै जर्ज वासिङ्टन युनिभर्सिटी पुग्यौँ। भन्ते पञ्ञाकाराको बिहानै दुईवटा अन्तर्वार्ता थियो। त्यसैले भन्ते र नीरज व्यस्त हुनुभयो। त्यही बेला न्युयोर्क स्टेट रिप्रिजेन्टेटिभ एडवार्ड गिब्स, न्युयोर्क स्टेटले जारी गरेको घोषणापत्र दिनलाई आउनुभएको रहेछ। तर नीरज र भन्ते व्यस्त नै भएकोले मैले केही समय उहाँसँग कुरा गर्दै बसेँ। केही क्षणपछि उहाँहरू आउनुभयो अनि स्टेट रिप्रिजेन्टेटिभले घोषणा पत्र पढेर सुनाउनुभयो। न्युयोर्क राज्यको पिन भन्तेको सङ्घाती चीवरमा लगाइदिनु पर्ने थियो तर उहाँ अलि नर्भस हुनुभएर मसँग सहायता माग्नुभयो। त्यो पिन भन्ते पञ्ञाकाराको सङ्घातीमा लगाइदिएँ। एकाएक भन्ते पञ्ञाकाराको चीवरमा पिन लगाइदिने पुण्य अवसर मिल्यो। यो मेरो लागि अचम्मैको क्षण भयो। भन्ते पञ्ञाकाराको चीवर छुने मौका पाएँ। यसबाहेक सायदै फेरि मैले भन्तेको चीवरलाई छोएर वन्दना गर्ने मौका आउला। शान्ति पदयात्राका लागि टेक्सासदेखि वासिङ्टन डिसीसम्म गएको सबभन्दा ठुलो उपलब्धि मेरो लागि यही नै भयो। मलाई लाग्छ कि मेरो कुनै पूर्वजन्मको सञ्चित पुण्यले मलाई यो अवसर मिलेको हुनुपर्छ।
भन्ते पञ्ञाकारा मेरो लागि नयाँ नाम होइन। नयाँ भेटघाट पनि होइन। नयाँ चिनाजानी पनि होइन। नेप्लिज बुद्धिष्ट एशोसिएशन इन टेक्सासमा आबद्ध भएर २०१८ देखि हामीले बुद्ध धर्म सम्बन्धी कार्यक्रमहरू गर्दै आएका छौँ। डालस फोर्ट वर्थ सहरमा झन्डै ३८ वटा जति विभिन्न परम्पराका बौद्ध विहारहरू छन्। ती सबै विहारहरूसँग समन्वय राखी काम गरिरहेका छौँ। २०२५ को बुद्ध पूर्णिमा नेप्लिज बुद्धिष्ट एशोसिएशन र भन्ते पञ्ञाकाराको ह्युङ डाओ विपश्यना भावना सेन्टर मिलेर टेक्सासको राजधानी अस्टिनमा मनाएका थियौँ। टेक्सास हाउस रिप्रिजेन्टेटिभ, सलमान भोजानीले अस्टिनमा मे १५ लाई ‘वैशाख डे’ मनाउने कानुन पारित गराउनुभएको थियो। २०२५ को वैशाख डेमा ११ वटा देशहरूबाट ५९ जना भन्तेहरू सम्मिलित हुनुभएको थियो। तर शान्ति पदयात्रा सुरु भएपछि पहिलो पटक भन्ते पञ्ञाकारालाई भेट्न म कुरिरहेकी थिएँ।
पहिले भन्ते पञ्ञाकारालाई भेट्न जाँदा आलोक कुकुर भन्तेको वरिपरि त्यहीँ हुन्थ्यो। हामीलाई उहिले नै थाहा थियो आलोकलाई भन्ते पञ्ञाकाराले नेपाल भारत २०२२ सालमा पदयात्रा गर्दा भारतबाट ल्याउनुभएको हो। हामी त्यहाँ जाँदा विहारको चौरमा खेलिरहेको हुन्थ्यो। त्यसबेला आलोक एउटा कुकुर मात्र थियो अलि भिन्न स्वभावको अलि शान्त राम्रो व्यवहार भएको कुकुर तर केही पुण्य कर्म भएको हुनुपर्छ जस्तो चाहिँ लाग्थ्यो। अहिले जब वासिङ्टन डिसीमा भेटेँ अलोक त सेलेब्रिटी भइसकेको रहेछ। अब ऊ आलोक मात्र होइन ‘द पिस डग आलोक’ भनेर आफ्नै छुट्टै पहिचान भएको सेलेब्रिटी भइसकेको रहेछ। हुन त धेरैलाई जस्तै मलाई नि लाग्छ आलोक एक साधारण कुकुर होइन र उसले पहिलेको जन्ममा धेरै पुण्य कमाएको हुनुपर्छ। कुनै कारण हेतुले यो जन्म उसको कुकुर भएको हुनुपर्छ।
क्याथेड्रलको इन्टरफेथ सेरेमोनी पछि दुई घण्टाको शान्ति पदयात्रा गर्दै लिंकन मेमोरियल पार्क पुग्यौँ। बाटो छेउ हिउँका ढिस्काहरू बाँकी नै थियो। बाटो चिप्लो नै थियो। त्यो दिन पनि मौसम चिसै थियो। मैले बाक्लो जाकेट लगाएकी थिएँ। गलबन्दी, टोपी र हातमा पन्जा थियो नै, तैपनि चिसो चिसो अनुभव भइरहेको थियो। यस्तो मौसम भइकन पनि भन्तेहरू हिँड्ने बाटोको दुवै छेउमा मान्छेहरूको ताँती थियो। भन्तेहरूलाई दर्शनका लागि मान्छेहरू न हिउँ, न चिसो— केही पर्वाह नगरी बच्चा, जवान, वृद्धवृद्धा, अशक्त, बिरामी, अपाङ्ग सबै नै बाटोमा कुरिरहेका थिए। भन्तेहरूले पनि जहाँ अशक्त, अपाङ्ग, बिरामीहरूलाई बाटोमा भेटियो, भन्तेहरू रोकिनुहुन्थ्यो र परित्राणको धागो बाँधिदिनुहुन्थ्यो। र, शान्तिको कामना गर्दै पाठ गरिदिनुहुन्थ्यो। भन्तेहरूलाई संरक्षण दिएर पदयात्रा गराउन बाटोको दुवै छेउहरूमा सयौँ ट्राफिक पुलिसहरू सँगै हिँडेका थिए भने पुलिसको गाडी, एम्बुलेन्स र सयौँ स्वयंसेवीहरू सँगै हिँडिरहेका थिए। लगभग एक सयजना भन्तेहरू, त्यसपछिको समूहमा केही विशेष प्रतिनिधिहरूको ब्याज भएकाहरू, जसमा म, कृष्ण र ऋतु समावेश थियौँ। त्यसपछि स्वयंसेवकहरू अनि अरू जनता जो पदयात्रा गर्न चाहेका थिए सबैजना पदयात्रा गर्दै लिंकन मेमोरियल पार्कमा पुग्यौँ। यही पदयात्राको अवधिमा केही नेपाली पत्रकारहरू भेट भएका थिए, जसले नीरजसँग अन्तर्वार्ता लिइसक्नुभएको रहेछ। उहाँहरूले त्यो भीडमा मलाई पनि भेटेर खुसी जनाउनुभयो।
लिंकन मेमोरियल पार्कमा शान्ति पदयात्रा अन्तिम समारोह थियो। उक्त समारोहको लागि भन्ते पञ्ञाकाराका गुरु भन्ते रतनगुन, भन्ते महा डाम फोम्मासन (जसको पदयात्रा अवधिमा सडक दुर्घटनामा खुट्टा काट्नु परेको थियो), भन्ते सम्मा मग्गो (जो फ्रान्सबाट आउनुभएको) हरू पनि समापन समारोहमा फेरि जोडिन आउनुभयो। यस समारोहमा दलाई लामाले पनि शान्ति पदयात्रालाई सराहनीय कार्य भनेर धन्यवाद ज्ञापन पत्र पठाउनुभएको प्रस्तुत गरियो। यस समारोहमा हाम्रो नेपाली मूलका लामा भन्तेहरूबाट पनि कृतज्ञतासहित धन्यवाद पत्र प्रदान गर्नुभयो। यो अन्तिम समारोहमा भाग लिन यस पवित्र स्थलमा ५० हजार जति मानिसहरू शान्ति, सजगता, दया र करुणाका लागि एकतामा, शान्तिको साझा चाहनामा एकताबद्ध उभिएका थिए। भेला भएका थिए। भाग लिन आएकाहरू धेरै दुःखित थिए किनकि अब उनीहरूले भन्तेहरूलाई बाटोमा भेट्ने छैनन्, भन्तेहरूलाई देख्न पाउने छैनन्। धेरैको आँखा रसाएको थियो। मानौँ कि उनीहरूको दैनिकीमा केही गुम्न लागेको छ।
‘पिस ग्यादरिङ एण्ड क्लोजिङ सेरेमोनी एट लिंकन मेमोरियल’ समारोहमा डा. नीरजले सबैलाई स्वागत गर्दै भन्नुभयो, ‘यो पदयात्रा कुनै राजनीतिक कारणका लागि होइन, यो हामी सबैको आध्यात्मिक विकासको लागि हो, सबैको भित्री शान्तिको लागि हो, सबैले करुणा, दयालाई व्यावहारिक गर्न सिकाउनको लागि हो।’ यस अन्तिम दिन, लिंकन स्मारकअगाडि उभिएर, भिक्षु पञ्ञाकाराले बुद्ध महासङ्घ, सरकारी अधिकारीहरू, कानुन प्रवर्तन र आपत्कालीन प्रतिक्रियाकर्ताहरू, सबै परम्पराका धार्मिक नेताहरू, विद्यालय र परिवारहरू, प्रायोजकहरू, स्वयंसेवकहरू र यस अभियानमा साथ हिँड्ने प्रत्येक समर्थकलाई हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, ‘मेरा धर्म मित्रहरू, १०९ दिन, टेक्सासको फोर्ट वर्थबाट संयुक्त राज्य अमेरिकाको मुटु लिंकन मेमोरियलमा २३०० माइल भन्दा बढीको यात्रा, चिसो वर्षा, चिसो हावा र अनगिन्ती मौन पाइलाहरू बिच, शान्तिको लागि पदयात्रा आफ्नो अन्तिम दिनमा पुगेको छ। तैपनि, आज हामी कति टाढा हिँड्यौँ भन्ने बारेमा मात्र होइन, यो हामी कति गहिरो रूपमा ब्युँझियौँ भन्ने बारेमा हो। किनभने कहिलेकाहीँ परिवर्तन भव्य भाषणहरू वा ऐतिहासिक क्षणहरूबाट सुरु हुँदैन। यो केही क्षणबाट सुरु हुन्छ। केही क्षणमै कसैलाई चोट पुर्याउन सकिन्छ, केही क्षणमै भयंकर विभाजन ल्याउन सक्छ।’
उहाँले हामीलाई सरल र गहिरो सन्देश दिनुभयो: तर त्यही केही क्षणमा सचेतनाका साथ बाँच्दा, धेरै मेलमिलाप बढाउन सकिन्छ, एकताबद्ध हुन सकिन्छ, व्यक्ति, राष्ट्र र संसारलाई पनि परिवर्तन गर्न सकिन्छ। आउनुहोस् शान्तिको लागि पदयात्राको यो १०९ दिनको यात्रालाई फर्केर हेरौँ। परिवार, माया, दया, करुणा, प्रेम, सद्भाव र आशा राखेर हाम्रो हरेक श्वासलाई चेतनशील भएर सजगताका साथ जिउने कोसिस गर्यौँ भने हामीभित्र शान्ति आउने छ। १०९ दिन र २,३०० माइलपछि हामी अमेरिकाको राजधानीमा सँगै उभिएका थियौँ, कृतज्ञता, आनन्द र अझ शान्तिपूर्ण संसारको आशाका साथ यो यात्रा पूरा गर्दै। यी क्षणहरू हाम्रो हृदयमा सधैँभरि बाँच्नेछन्।
यस समारोहमा फेरि थप्दै भन्ते पञ्ञाकाराले भन्नुभयो, ‘आजबाट हाम्रो पदयात्रा समाप्त भयो तर शान्तिको यात्रा कहिल्यै समाप्त हुने छैन। एउटा कागज र कलम लिनुहोस्। यो लेख्नुहोस्, आज मेरो शान्तिमय दिन हुनेछ। लेखिसकेपछि, यसलाई आफ्नो आँखाले बारम्बार पढ्नुहोस्। त्यसपछि ठुलो स्वरमा पढ्नुहोस्। आज मेरो शान्तिमय दिन हुनेछ, टुडे इज माई पिसफुल डे। ब्रह्माण्डलाई सुनाउन ठुलो स्वरमा पढ्नुहोस् कि आज तपाईंको शान्तिमय दिन हुनेछ। तपाईं बाहेक अरू कसैले यसलाई बिगार्न सक्ने छैन।’
साँझ, जर्ज वासिङ्टन युनिभर्सिटी, स्मिथ सेन्टरमा भिक्षु पञ्ञाकारासँग ग्लोबल मेडिटेसन सेसन कार्यक्रम थियो। यो ध्यान सिकाउने कार्यक्रम प्रत्यक्ष प्रसारण गरिएको थियो। यो ध्यान कार्यक्रममा संसार भरबाट प्रसारणमार्फत सहभागी भएका थिए। यसै क्रममा भन्ते पञ्ञाकाराले आनापान सती ध्यान सिकाउनुभयो। यसरी यस ऐतिहासिक शान्ति पदयात्राको अन्तिम दिन संसारभरिका मानिसहरूले एकैचोटि, एकैसाथ ध्यान बसेर समापन गरियो।
यसरी १९ जना आदरणीय भिक्षुहरू र आलोक कुकुरले समापन गरेको यस ऐतिहासिक शान्ति पदयात्रामा आदरणीय भिक्षुहरूको मौन शक्तिसँगै भिक्षुहरूको प्रत्येक पाइला विश्वव्यापी सद्भावको लागि जीवित प्रार्थना थियो। यो कुनै विरोधको यात्रा होइन, कसैलाई धर्म रूपान्तरण गराउनको लागि होइन तर यो विवेकको यात्रा हो। मानवतालाई नैतिकता, जिम्मेवारी, करुणा र जागरूकतामा फिर्ता बोलाउने यात्रा हो। सहनशीलताको प्रत्येक क्षण प्रायः कोलाहल र द्वन्द्वले भरिएको संसारको लागि निःस्वार्थ अर्पण थियो। अब भन्तेहरूको पदयात्रा समाप्त भयो तर हामी सबैको शान्तिको यात्रा कहिल्यै समाप्त हुने छैन। हामी प्रत्येक सत्त्व आफू भित्रको शान्तिको यात्रालाई कायम राखौँ। शान्तिको लागि एकताबद्ध भएर उभिँदै हामी पनि भन्न र अभ्यास गर्न सकौँ– ‘टुडे इज माई पिसफुल डे’।






