केही दिनअघि अमेरिकामा बस्ने नेपालीहरूको एउटा फेसबुक समूहमा एउटा पोस्ट पढेँ। सामान्य पोस्टजस्तै लागेर खोलेको थिएँ, तर केही हरफ पढ्दै जाँदा त्यो पोस्ट कुनै अपरिचित व्यक्तिको कथा रहेन, आफ्नै मनको आवाजजस्तो लाग्न थाल्यो।
कुरा सरल थियो तर असाध्यै गहिरो।
श्रीमान्–श्रीमती करिब एक दशकदेखि अमेरिकामा। राम्रो जागिर, आफ्नै घर, बचत, दुई सन्तान बाहिरबाट हेर्दा व्यवस्थित जीवन। तर नेपालमा बुवाको स्वास्थ्य क्रमशः बिग्रिँदै। उहाँलाई अमेरिका ल्याउने प्रयास भयो तर यहाँको जीवन उहाँलाई मन परेन। फर्कनुभयो। अब छोरोको मन दिनदिनै एउटै कुराले पोलिन थालेको छ— ‘बुवा जिउँदो छँदा उहाँको छेउमा बस्न पाए हुन्थ्यो।’
उमेर बढ्दै जाँदा बुवाआमालाई चाहिने कुरा बदलिँदै जान्छ। पहिले जसले हाम्रो हात समातेर विद्यालय पुर्याए, आज उनीहरूलाई अस्पताल जाँदा कसैले साथ दिओस् भन्ने अवस्था आउँछ। मोबाइलमा आएको बैंकको सन्देश पढ्न गाह्रो पर्न थाल्छ। औषधि कुन बेला खाने भनेर सम्झाइदिनुपर्ने हुन्छ। राति अचानक स्वास्थ्य बिग्रँदा अस्पताल लैजान कसैको आवश्यकता पर्छ। कहिलेकाहीँ त केवल घरमा अर्को मान्छेको उपस्थिति मात्रले पनि उहाँहरूलाई ढुक्क बनाउँछ।
तर हजारौँ माइल टाढा बसेको छोराले त्यो सबै केवल फोनको स्क्रिनबाट हेर्नुपर्छ।
कहिलेकाहीँ बुवाको आवाज फोनमा अलि कमजोर सुनिँदा पनि मन अत्तालिन्छ। ‘सन्चै छु’ भन्नुहुन्छ, तर त्यो शब्दभित्र लुकेको थकान छोरोले महसुस गरिरहेको हुन्छ। भिडियो कल सकिएपछि मनमा एउटै पीडा बाँकी रहन्छ ‘अहिले म त्यहाँ भएको भए…’
तर समस्या त्यहीँबाट सुरु हुन्छ।
जीवनसाथी फर्किन तयार छैनन्। उनको तर्क पनि गलत छैन। वर्षौँको संघर्षपछि बनेको स्थिर जीवन, सन्तानहरूको भविष्य, स्वास्थ्य, सुरक्षा, अवसरस; यी सबै छोडेर नेपाल फर्किनु केवल भावनाले गर्ने निर्णय होइन।
त्यसपछि सुरु हुन्छ एउटा मौन अन्तर्द्वन्द्व जहाँ दुवै पक्ष सही हुन्छन्, तर बाटो एउटै हुँदैन।
त्यो पोस्टमुनि आएका प्रतिक्रियाहरू पढ्दा झन् मन भारी भयो। अमेरिकाका विभिन्न राज्यबाट नेपालीहरूले आफ्ना घाउ खोलेका थिए। कसैले लेखेका थिए- ‘म पनि यही पीडामा छु।’ कसैले ‘बुवा बित्दा म पुग्न सकिनँ, अहिले पनि राति सम्झेर रुन्छु।’ अर्को एउटा टिप्पणी अझ गहिरो थियो- ‘जिउँदो छँदा साथ दिन नसकेर मरेपछि क्रियापुत्री बस्न जानुको के अर्थ?’
यी वाक्यहरू केवल सामाजिक सञ्जालका टिप्पणी थिएनन्। ती परदेशमा बस्ने हाम्रो पुस्ताको सामूहिक स्वीकारोक्ति थिए।
केही महिनाअघि मैले आफ्नै काकालाई नेपालमा सडक दुर्घटनामा गुमाएँ। खबर सुन्नासाथ हतार-हतार टिकट काटेर नेपाल हानिएँ। तर नियतिले यति पनि समय दिएन, उहाँको अन्तिम संस्कारमा पुग्न सकिनँ।
त्यो पीडाले आजसम्म पछ्याइरहेको छ।
मानिस गइसकेपछि विमानस्थलमा झर्ने त्यो क्षण कति असहाय हुन्छ भन्ने कुरा सायद परदेशमा बसेकाहरूले मात्रै बुझ्छन्। घर पुग्दा रुवाइ सकिएको हुन्छ, मलामी फर्किसकेका हुन्छन्, आँगन खाली भइसकेको हुन्छ अनि बाँकी रहन्छ केवल एउटा गहिरो अपराधबोध।
त्यसपछि मनले बारम्बार एउटै प्रश्न सोधिरहन्छ- ‘हामी आखिर केको लागि यति टाढा छौँ?’
परदेशमा बस्ने धेरै नेपालीहरूको जीवन यही ‘तर…’ मा अड्किएको छ।
‘फर्किने मन त छ, तर…’
त्यो ‘तर’ भित्र सन्तानको भविष्य छ। आर्थिक स्थिरताको मोह छ। फेरि सुरुदेखि जीवन सुरु गर्नुपर्ने डर छ। अनि समाजको एउटा अदृश्य दबाब पनि छ; विदेश छोडेर फर्किनुलाई अझै कतै असफलतासँग जोडेर हेर्ने प्रवृत्ति।
तर मनको अर्को कुनामा वृद्ध हुँदै गरेका बुवाआमा छन्।
उहाँहरूलाई पैसा मात्र चाहिएको हुँदैन। भिडियो कल मात्रले पनि पुग्दैन। कहिलेकाहीँ उहाँहरूलाई केवल छोराछोरीको उपस्थिति चाहिएको हुन्छ। छेउमा बसेर एक कप चिया पिउन, सामान्य कुरा गर्न, अस्पताल जाँदा हात समाइदिन।
बुवाले ‘चिन्ता नगर, म आफैँ जान्छु’ भन्नुहुन्छ। तर त्यो वाक्यले झन् पोल्छ, किनकि हामीलाई थाहा हुन्छ उहाँ आफैँ जान बाध्य हुनुभएको हो। घरको सानो मर्मतदेखि अस्पतालको लाइनसम्म, धेरै कुरा उमेरले एक्लै गर्न गाह्रो बनाइदिन्छ। अनि यही समयमा हामी संसारको अर्को कुनामा करियर, ऋण, बालबच्चाको भविष्य र जिम्मेवारीबिच बाँधिएका हुन्छौँ।
यी साना कुराहरू प्रविधिले पूरा गर्न सक्दैन।
यही कारणले यो समस्या कसैको व्यक्तिगत कमजोरी मात्र होइन, हाम्रो समयको सामाजिक र भावनात्मक संकट पनि हो।
त्यो फेसबुक पोस्टमा केही व्यावहारिक सुझावहरू पनि आएका थिए। वर्षको केही महिना नेपालमा बिताउने। बिस्तारै जीवनलाई दुवैतर्फ सन्तुलित बनाउने। नेपालमा आयको स्रोत तयार गर्दै क्रमिक रूपमा फर्किने।
हाम्रो सन्दर्भमा एउटा सम्भावना अझ छ। हामी दुवै स्वास्थ्य क्षेत्रमा कार्यरत छौँ र नेपालका अनुमतिपत्रहरू अझै सक्रिय छन्। त्यसैले नेपाल फर्किनु पूर्ण शून्यबाट सुरु गर्नुजस्तो होइन। दक्ष स्वास्थ्यकर्मीको अभाव भइरहेको देशमा हामीले योगदान दिन सक्ने ठाउँ अझै छ।
सायद फर्किनु केवल ‘त्याग’ होइन, अर्को अर्थपूर्ण जीवनको सम्भावना पनि हुन सक्छ।
तर अहिले पनि अन्तिम उत्तर हामीसँग छैन।
परदेशमा बस्ने नेपालीहरूले एउटा असाधारण भार बोकेका छौँ असल सन्तान बन्ने, असल जीवनसाथी बन्ने, असल अभिभावक बन्ने एकैपटक, दुई महादेशको दूरीमा उभिएर।
यसको कुनै सरल समाधान छैन।
तर त्यो पोस्टले मलाई एउटा कुरा भने सिकायो; हामी एक्ला छैनौँ। हजारौँ नेपाली परिवार यही पीडासँग प्रतिदिन जुधिरहेका छन्।
सायद खुला र इमानदार संवाद नै यसको पहिलो पाइला हो। किनकि जिउँदो छँदा साथ दिन नसक्नु अनि गएपछि क्रियापुत्री बस्न मात्र पुग्नु— यो हाम्रो पुस्ताको सबैभन्दा मौन, सबैभन्दा गहिरो पीडा हो।