स्थायी घर ओखलढुंगाको ज्यामिरे भएका सन्तोष खड्का अहिले अमेरिकाको क्यालिफोर्निया स्टेट युनिभर्सिटी, नर्थरिजमा फुल प्रोफेसर तथा ग्राजुएट कार्यक्रमका 'चेयर' का रूपमा कार्यरत छन्।
सहायक प्राध्यापकबाट सुरू भएको उनको १२ वर्षको शैक्षिक यात्रा अहिले विश्वविद्यालयको नेतृत्वदायी भूमिकासम्म पुगेको छ।
उनी स्नातक र स्नातकोत्तर तहमा एकेडेमिक राइटिङ, बिजनेस कम्युनिकेसन, डिजिटल राइटिङ तथा कम्युनिकेसन सम्बन्धी विषय अध्यापन गराउँछन्।
'मैले त्यहाँ अंग्रेजी विषय पढाउँछु,' उनले भने।
सन्तोषले ओखलढुंगामै प्रारम्भिक शिक्षा पूरा गरेका हुन्। एसएलसी (एसइई सरह) भने इनरूवाको एक स्कुलबाट दिए।
अंग्रेजी विषयमा स्नातक सकेपछि उनले विभिन्न निजी स्कुलमा अंग्रेजी शिक्षकका रूपमा काम गरे। त्यसपछि काठमाडौं आएर स्नातकोत्तर पढ्न थाले।
सुरूमा उनी त्रिभुवन विश्वविद्यालयमा भर्ना भएा थिए। तर त्यस बेला विश्वविद्यालयम विद्यार्थी आन्दोलन चर्को थियो। त्यसैले उनी पोखरा विश्वविद्यालय अन्तर्गतको आइएसिइआरमा पढ्न थाले। त्यहीँबाट स्नातकोत्तर पूरा गरे।
त्यसपछि विभिन्न कलेजहरूमा पढाएर
'एकता बुक्सको डिक्सनरी लेखन परियोजनामा पनि काम गरेँ,' सन्तोषले भने।
उनले विद्यावारिधि (पिएचडी) अध्ययनका लागि अमेरिका जाने सोचे।
'मेरा सिनियरहरू फुलब्राइट र फुल फन्डिङमा पिएचडी गर्न गएको देखेपछि मलाई पनि अमेरिका जान मन लाग्यो,' उनले सुनाए, 'आवश्यक प्रक्रिया पूरा गरेर आवेदन दिएपछि अवसर मिल्यो।'
उनले सुरूमा लुइजियानाको एक विश्वविद्यालयमा अध्ययन थाले। त्यसको ६ महिनापछि न्यूयोर्कस्थित सिराक्युज विश्वविद्यालयमा स्थानान्तरण भए।
पिएचडी पूरा गरेपछि क्यालिफोर्निया स्टेट युनिभर्सिटी, नर्थरिजमा सहायक प्राध्यापकका रूपमा नियुक्त भए। त्यसयता हरेक चार वर्षमा पदोन्नति हुँदै उनी अहिले फुल प्रोफेसर बनेका छन्।
अमेरिकामा पहिलो पटक अध्यापन गर्न जाँदाको अनुभव उनी अझै सम्झिन्छन्।
'पहिलो दिन कक्षामा जाँदा म पसिनै पसिना भएको थिएँ,' सन्तोषले भने, 'अंग्रेजी दोस्रो भाषा भएकाले र सबै विद्यार्थी स्थानीय भएकाले सुरूमा निकै चुनौती भयो। तर समयसँगै सबै सहज हुँदै गयो।'
नेपाल र अमेरिकाको शिक्षण प्रणालीबीच उनले ठूलो भिन्नता देखेका छन्। विशेषगरी विद्यार्थी सहभागितामा धेरै फरक रहेको उनले बताए।
'त्यहाँ शिक्षकभन्दा विद्यार्थी बढी सक्रिय हुन्छन्। लेक्चरभन्दा गतिविधि, अनुसन्धान र छलफलमा जोड दिइन्छ,' उनले भने, 'यहाँ शिक्षक बढी सक्रिय हुन्छन् र सैद्धान्तिक ज्ञानमा बढी जोड दिइन्छ।'
नेपालको पाठ्यक्रम राम्रो भए पनि कार्यान्वयन पक्षमा सुधार आवश्यक रहेको सन्तोषको धारणा छ। स्थानीय शिक्षकलाई बढी अधिकार दिएर उनीहरूको क्षमता अनुसार पढाउने वातावरण बनाइयो भने सिकाइ अझ प्रभावकारी हुने उनको विश्वास छ।
सन्तोषले विश्वविद्यालयबाट अवकाश पाएपछि नेपाल फर्किएर शिक्षा क्षेत्रमा योगदान गर्ने योजना बनाएका छन्।
'मेरो योजना नेपालमै आएर शिक्षा क्षेत्रमा काम गर्ने हो,' सन्तोष भन्छन्, 'बाँकी जीवन नेपालकै शिक्षा क्षेत्रसँग जोडिएर बिताउने सोच छ।'