बझाङका विष्णु प्रसाद जोशी अमेरिकाको एक कम्पनीमा वरिष्ठ वैज्ञानिक छन्।
उनी काम गर्ने 'जेल–४ मेड इंक' हार्वर्ड इनोभेसन ल्याब अन्तर्गतको कम्पनी हो। बोस्टनमा रहेको यो कम्पनीले मेडिकल डिभाइस (उपकरण) निर्माणको क्षेत्रमा काम गर्छ।
विष्णु यहाँ काम गर्न थालेको चार वर्ष भयो।
कम्पनीमा उनको मुख्य जिम्मेवारी दीर्घकालीन (क्रोनिक) घाउको निदान तथा उपचार सम्बन्धी मेडिकल उपकरण डिजाइन, अन्वेषण, अनुसन्धान तथा विकास गर्नु हो।
योसँगै पेटेन्ट दर्ताका लागि आवश्यक प्रक्रिया अघि बढाउने, अनुसन्धानका लागि अनुदान प्राप्त गर्न प्रस्ताव लेख्ने, प्रशिक्षण चलाउने तथा प्रयोगशाला व्यवस्थापनको जिम्मेवारी पनि सम्हालिरहेका छन्।
'एउटा मात्रै काम हुँदैन। वरिष्ठ वैज्ञानिक भएपछि धेरै जिम्मेवारी सम्हाल्नुपर्छ,' विष्णुले भने।
उनको समूहमा १० जना मिलेर काम गर्छन्।
बझाङको खप्तडछान्ना गाउँमा जन्मिएका विष्णुले गाउँकै स्कुलमा कक्षा ५ सम्म पढे। दुई दाजुभाइमध्ये उनी जेठा हुन्।
उनका आमाबुबा दुवै शिक्षक थिए। आमा प्राथमिक तहमा विज्ञान र वातावरण विषय पढाउँथिन्, बुबा अंग्रेजी र गणित पढाउँथे।
शिक्षाप्रति लगावका कारण छोराहरूले राम्रो अवसर पाऊन् भन्ने चाहना आमाबुबाको थियो। त्यसैले उनीहरूले छोराहरूलाई काठमाडौं राखेर पढाउने निधो गरे।
त्यति बेला गाउँमा मोटर बाटो त थिएन नै, हवाई यात्रा पनि सहज थिएन।
'विमान चढ्न बाजुराको कोल्टीसम्म पुग्न दुई दिन हिँड्नुपर्थ्यो। टिकटका लागि पालो कुर्नुपर्थ्यो,' विष्णुले सम्झिए, 'भाडा निकै महँगो थियो। आमाको बिहेको गहना बेचेर पैसा जुटाएका थियौं।'
२०५१ सालमा उनीहरू काठमाडौं आए। आमाबुबाले जोरपाटीमा कोठा खोजिदिए। स्कुल भर्ना गरिदिए। काकाहरूको संरक्षणमा उनीहरूलाई छाडेर आमाबुबा घर फर्के।
काठमाडौंको वातावरण र पढाइ गाउँभन्दा फरक थियो। सुरूआती दिनमा विष्णुलाई कठिन भयो। बिस्तारै मेहनत गरे, बुझ्न सहज हुँदै गयो।
'अंग्रेजी पढाउने बुबाको छोरो, यहाँ त म अंग्रेजी नै बुझ्दिनँ थिएँ। त्यतिखेर थाहा भयो, हाम्रो शिक्षाको स्तर कति असमान रहेछ भनेर,' विष्णुले भने, 'त्यसैले आमाबुबाले ऋण गरेर भए पनि काठमाडौं पढ्न पठाउनुभएको रहेछ। गाउँमै भए त एसएलसी कटाउन गाह्रो हुन्थ्यो होला।'
आमाबुबा हिउँदे बिदामा उनीहरूलाई भेट्न काठमाडौं आउँथे। उनीहरू पनि दसैंमा गाउँ जान्थे।
आमाबुबाको त्याग र मेहनतकै कारण आफ्नो पढाइ राम्रो भएको उनी बताउँछन्। २०५९ सालमा उनले प्रथम श्रेणीमा एसएलसी (एसइईसरह) पास गरे।
'त्यतिखेर प्रथम श्रेणीमा एसएलसी पास भएपछि विज्ञान पढ्नुपर्छ भन्ने मान्यता थियो। परिवारको चाहनामा म थप पढ्न भारत गएँ,' उनले भने।
विष्णुलाई शास्त्रीय संगीतमा पनि रूचि थियो। त्यसैले भारतमा उनले संगीत सिक्दै पढाइ अघि बढाए। सुरूमा त उनलाई संगीत नै भविष्य हो भन्ने लागेको थियो।
तर एक जना संगीतका गुरूले उनलाई भनेछन्— संगीतमा धेरै दुःख हुन्छ, तिम्रो पढाइ राम्रो छ। पढाइबाटै भविष्य बनाऊ।
त्यसपछि विष्णुले संगीतलाई भविष्य मान्न छाडे र विज्ञान विषयमै केन्द्रित भए। उनले सत्य साई विश्वविद्यालयबाट रसायनशास्त्रमा स्नातकोत्तर सके।
पढाइ सकेर विष्णु गाउँ फर्किए। गाउँकै स्कुलको आग्रहमा उनी विज्ञान, गणित र अंग्रेजी विषय पढाउन थाले। उनको सोच पनि गाउँमै बसेर आमाबुबाका साथमा शिक्षण गर्ने थियो।

तर शिक्षण अनुभवले उनको योजना बदलिदियो।
'एसएलसीका विद्यार्थीलाई हिसाब पढाउँथे। उनीहरूलाई मैले बुझाउनै सकिनँ। त्यहाँ सानै कक्षादेखिको आधार बलियो बनाउनुपर्ने रहेछ भन्ने महसुस भयो,' विष्णुले भने।
त्यसपछि उनले शिक्षण छाडेर फेरि आफै पढ्ने सोचे। उच्च शिक्षाका लागि विदेश जाने भए।
सन् २०१६ मा उनी पूर्ण छात्रवृत्तिमा अमेरिकाको म्यासाचुसेट्स विश्वविद्यालयमा विद्यावारिधि (पिएचडी) गर्न गए। त्यहाँ पढाइसँगै अध्यापन गरे।
एक वर्षपछि उनकी श्रीमती र भाइ पनि त्यहीँ पुगे।
पछि उनीहरूले ललितपुरमा घर किनेर आमाबुबालाई राखे।
'बझाङमा उपचार सुविधा राम्रो थिएन। आमा बिरामी हुनुहुन्थ्यो,' उनले भने, 'मिलेर घर किन्यौं।'
पहिले उनी हरेक डेढ–दुई वर्षमा नेपाल आउँथे। अहिले आमाबुबा दुवैको निधन भइसक्यो। अमेरिकामा बच्चाहरू पनि सानै छन्। त्यसैले सोचेजसरी नेपाल आउन पाएका छैनन्।
उनको मन भने नेपालसँगै जोडिएको छ। भविष्यमा नेपाल फर्केरै काम गर्ने योजना बनाएका छन्।
विष्णुले अहिले पनि नेपाली कम्पनीहरूसँग सहकार्य गरिरहेका छन्। राष्ट्रिय आविष्कार केन्द्रमा सहयोग गर्नुका साथै नेपाली वैज्ञानिकहरूको अनुभव आदानप्रदानका लागि अमेरिकामा 'नेपाली साइन्टिस्ट डायस्पोरा नेटवर्क' स्थापना गरिएको उनले बताए।
'यो नेपाली वैज्ञानिकहरूको संस्था हो। हामीले यसमा नेपालमा काम गरिरहेका वैज्ञानिकसँग अनुभव आदानप्रदान गर्छौं,' विष्णुले भने।