रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत नेपालबाट दक्षिण कोरियाको उत्पादनमूलक, कृषि, पानीजहाज निर्माण लगायत क्षेत्रमा काम गर्न एक लाखभन्दा धेरै युवाहरू पुगिसकेका छन्।
काभ्रेका शिशिर दुलाल पनि तिनैमध्येका एक हुन्।
उनी कृषि क्षेत्रमा काम गर्न सन् २०२२ डिसेम्बरमा कोरिया गएका हुन्। गएको तीन वर्षमा उनले तीन वटा कम्पनी परिवर्तन गरिसकेका छन्।
सुरूमा उनले खुर्सानी टिप्ने काम पाएका थिए। सोचेजस्तो नभएपछि डेढ महिनामै फेर्नुपरेको उनले बताए।
'म त अरू नेपालीहरू पनि हुन्छन् होला, काम गर्न रमाइलो हुन्छ भनेर सोचेको थिएँ। विकट गाउँमा पुगेछु,' शिशिरले भने, 'बुढाबुढी मान्छेहरू मात्रै थिए। काम गर्नेहरू अरू देशका पनि थिए तर केटीहरू मात्रै थिए।'
तलब पनि बेसिक (नेपाली दुई लाख रूपैयाँ) मात्रै थियो। दैनिक ८ घण्टा काम नहुँदा त्यति पनि पुग्दैन थियो।
'म आइपुग्दा अफसिजन रहेछ। काम खासै थिएन। कहिलेकाहीँ साहुले अरूकोमा काम गर्न पठाउँथे। जति घण्टा काम पाइयो, कमाइ त्यति हुन्थ्यो,' उनले भने।
शिशिरलाई काम गर्ने ठाउँ र कमाइ चित्त बुझेन। त्यसपछि उनले त्यो कम्पनी छाड्ने निधो गरे। कोरियामा आफन्तहरू पनि थिए, उनीहरूसँग सल्लाह मागे।
आफन्तहरूले कम्पनी परिवर्तन गर्न सल्लाह दिएपछि उनले त्यसै गरे।
'गाडीको लाइसेन्स भए काम पाइन्छ भनेर बोलाउनुभयो। मसँग नेपालको लाइसेन्स थियो। नेपालको लाइसेन्स देखाएर वडाबाट सिफारिस लिएपछि यहाँको लाइसेन्स पाइने थियो। मैले त्यसरी लाइसेन्स पाएँ। अनि दोस्रो कम्पनीमा काम थालेँ,' उनले भने।
उनले काम गरेको दोस्रो कम्पनीमा खुर्सानी प्याकिङको काम थियो।
शिशिर गाडी चलाएर बस्ने ठाउँबाट कारखानासम्म पुर्याउँथे। भित्र खुर्सानी प्याकिङको काम पनि गर्नुपर्ने।

'साहु बिजनेस ट्रिपमा जाँदा पनि गाडीमा लिएर जानुपर्थ्यो,' उनले भने, 'कृषि भनेर उत्पादनमूलक क्षेत्रको काम भयो। तलब धेरै भएन। बेसिक मात्रै भयो। दोस्रो कम्पनीमा पनि लामो समय काम गर्न मन लागेन।'
शिशिरले त्यो कम्पनीमा ६ महिना मात्र काम गरे। त्यसपछि छाडे।
'खुर्सानीको कम्पनी खार धेरै आउने, छाला पोल्ने गाह्रो काम थियो। तलब थोरै दिएर कृषिकालाई काम लगाइरहेको थियो। उत्पादनमूलक क्षेत्रमा त ओभरटाइम पनि हुने भयो। त्यो भएर उत्पादनमूलक क्षेत्रकाहरू त्यो कम्पनीमा काम गर्न नमान्ने रहेछन्। कृषिकालाई लगाउने रहेछ,' उनले भने।
त्यो कम्पनी छाडेर उनी अहिले तेस्रो कम्पनीमा छन्। यो कुखुराका अण्डा उत्पादन गरेर बिक्री गर्ने कम्पनी हो।
अहिले उनी खोरबाट अण्डा टिप्ने, प्याकिङ गर्ने र डेलिभरी गर्ने काम गर्छन्।
'लाइसेन्स भएको भएर अहिले पनि म गाडी चलाउँछु। अण्डा टिप्ने, प्याकिङ गर्ने सँगै स्टोरहरूमा पुर्याउने काम गर्छु,' उनले सुनाए।
अहिले भने उनको कमाइ पनि राम्रो छ। बोनस लगायत सबै सेवासुविधा हिसाब गर्दा मासिक तीन लाख रूपैयाँ कमाइ हुन्छ।
कम्पनीले बस्ने सुविधा र बिहान, दिउँसो र बेलुका गरी दिनको तीन पटक खान दिन्छ। तर त्यहाँको खानेकुरा खास मननपर्ने भएकाले बेलुकाको खाना आफै पकाएर खाने उनले बताए।
शिशिरले महिनामा चार दिन बिदा पाउँछन्। थप वार्षिक १२ दिन बिदा पनि हुन्छ। बिदा नलिई काम गरे त्यो दिनको कमाइ पनि तलबमा थपिएर आउने उनले बताए।
'अहिलेको कम्पनी काम, कमाइ सबै हिसाबले राम्रो छ। चित्तबुझ्दो छ,' उनले भने।
उनले अहिले काम गरिरहेको कम्पनीमा अरू ३० जना नेपाली युवा पनि छन्। १५ जना कोरियनहरू पनि काम गर्छन्।

भिसा परिवर्तन गरेर अझै केही वर्ष कोरियामै कमाइ गरेर फर्किने उनको सोच छ। उनले इ–७ भिसा लिएर काम गर्ने योजना बनाएका छन्।
'दुई–तीन वर्ष त कोरिया आउँदा लागेको ऋण तिर्दा र घरव्यवहार मिलाउँदा नै ठिक्क हुने रहेछ,' शिशिरले भने, 'अहिल्यै नेपाल फर्किहालौं भने धेरै राम्रो कमाइ गर्न सकिएको छैन। अझै केही वर्ष त कमाएर फर्किने सोचेको छु।'
कोरिया जानुअघि उनी नेपालमा भेटेरिनरी पढिरहेका थिए। तर उनलाई पशु चिकित्सा क्षेत्रमा काम गर्ने रूचि थिएन। आफ्नो भन्दा पनि परिवारको इच्छाले पढेकाले त्यसमा मन नगएको उनले बताए।
काठमाडौंको डेरामा सँगै बस्ने साथीहरू कोरियन भाषा पढ्थे। उनी पनि घरमै पढ्न थाले।
सन् २०१९ मा कोभिड महामारीका कारण लकडाउन भएपछि शिशिर आफ्नो गाउँ काभ्रे फर्किए।
'किताबहरू लिएर गाउँ गएको थिएँ। निकै मेहनत गरेर पढेँ। भाषा परीक्षा खुलेपछि एक महिना इन्स्टिच्युट धाएर पढेँ। पहिलो पटकमै नाम निस्कियो,' उनले भने।
नाम निस्किएको पाँच महिनामै कोरियाको भिसा आयो। शिशिर खुसी हुँदै कोरिया पुगेका थिए।
'यहाँ मेहनत गर्नुपर्छ तर सम्मान पाइन्छ। कसैले पनि सानो–ठूलो नभनी काम गर्छन्। हामीसँगै साहु पनि काम गर्छन्,' शिशिरले भने, 'कामदार र साहु छुट्ट्याउनै गाह्रो पर्छ। त्यो हिसाबले पनि कोरियामा अझै केही वर्ष काम गर्नुपर्छ भन्ने लागेको छ।'