गैरआवासीय नेपाली संघ(एनआरएनए) का पूर्व अध्यक्ष बिनोद कुँवरले कोरियन कस्मेटिक ब्रान्ड ‘ओआरए’को उत्पादन सुरु गरेका छन्।
नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताए–यङले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ‘ओआरए’ ब्रान्डको शुभारम्भ गरे ।
कोरियन प्रविधि, तीन दशकको अन्तर्राष्ट्रिय अनुभव र नेपालमै उत्पादनको अवधारणासहित ‘ओआरए’ ब्रान्डका कस्मेटिक उत्पादनहरू नेपालमा औपचारिक रूपमा कुँवरले सुरु गरेका हुन्।
कोरियामा आर्जन गरिएको प्रविधि, सीप, अनुभव र पूँजीलाई नेपालमै उत्पादनमूलक उद्योगमा रूपान्तरण गर्ने उद्देश्यका साथ आफुले ‘ओआरए’ ब्रान्डमार्फत नेपाली सौन्दर्य उद्योगमा संरचनात्मक परिवर्तनको प्रयास गरेको कुँवरले बताए ।

कम्पनीका अनुसार ‘ओरा’ का उत्पादनहरू अन्तर्राष्ट्रिय मापदण्ड, वैज्ञानिक परीक्षण र कोरियन स्किन–केयर दर्शनअनुसार विकास गरिएका हुन्।
बिनोद कुँवरको नेतृत्वमा हालसम्म करिब १५ करोड रुपैयाँ बराबरको लगानी भइसकेको छ भने दोस्रो चरणमा थप १० करोड रुपैयाँ लगानी गर्ने योजना सार्वजनिक गरिएको छ।
अत्याधुनिक मेसिनरी तथा उत्पादन उपकरणहरूको व्यवस्थापन सम्पन्न भइसकेको र छिट्टै व्यावसायिक उत्पादन सुरु हुने तयारीमा कम्पनी रहेको जनाएको छ।
उत्पादन पूर्ण रूपमा सञ्चालनमा आएपछि ‘ओआरए’ ले १०० भन्दा बढी प्रकारका स्किन केयर, कस्मेटिक्स तथा बडी केयर उत्पादनहरू नेपालमै उत्पादन गर्न सक्ने क्षमता राख्नेछ।
शुभारम्भ समारोहमा बोल्दै कोरियाली राजदूत पार्क ताए–यङले कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनले नेपालमा नयाँ औद्योगिक सम्भावना खोल्ने विश्वास व्यक्त गरे।