इङ्ग्लिस क्लब आर्सनल २२ वर्षपछि प्रिमियर लिग च्याम्पियन बनेको छ।
मंगलबार राति म्यानचेस्टर सिटीले बर्नमाउथसँग बराबरी खेलेपछि आर्सनलले सिजन सकिनुअघि नै उपाधि सुनिश्चित गरेको हो।
लिगमा अन्तिम चरणको खेल बाँकी रहँदा शीर्षस्थानको आर्सनलको ८२ अंक छ। अब उसले अन्तिम खेल क्रिस्टल प्यालेससँग खेल्नेछ।
गत ८ सिजनमध्ये ६ पटक च्याम्पियन बनेको म्यानचेस्टर सिटीलाई उपाधि दौड अन्तिम खेलसम्म पुर्याउन बर्नमाउथविरुद्ध जित्नै पर्ने दबाब थियो।
तर खेलको ३९औँ मिनेटमा जुनियर क्रुपीले गोल गर्दै बर्नमाउथलाई अग्रता दिलाएपछि सिटी दबाबमा परेको थियो।
अतिरिक्त समयको पाँचौं मिनेटमा एर्लिङ हालाण्डले बराबरी गोल फर्काए पनि सिटीलाई आवश्यक जित दिलाउन पर्याप्त भएन।
सिटी अंक गुमाएसँगै लण्डनस्थित आर्सनलको घरेलु मैदान एमिरेट्स स्टेडियम बाहिर समर्थकहरूले उत्सव मनाएका थिए। सिजनको अन्तिम खेलमा आर्सनलले आइतबार क्रिस्टल प्यालेससँग खेल्नेछ।
यो आर्सनलको इतिहासमा १४औँ इङ्लिस शीर्ष डिभिजन उपाधि हो।
सर्वाधिक उपाधि जित्ने सूचीमा आर्सनल अब लिभरपुल र म्यानचेस्टर युनाइटेडपछि तेस्रो स्थानमा छ। आर्सनलले पछिल्लो पटक सन् २००३–०४ मा प्रशिक्षक आर्सेन वेंगरको नेतृत्वमा अपराजित रहँदै उपाधि जितेको थियो।
प्रशिक्षक मिकेल अर्टेटाका लागि पनि यो ऐतिहासिक सफलता बनेको छ।
सन् २०१९ मा टोली सम्हालेका आर्टेटा प्रिमियर लिग खेलाडीबाट प्रशिक्षक बनेर उपाधि जित्ने पहिलो व्यक्ति बनेका छन्। लगातार तीन सिजन उपविजेतामै सीमित आर्सनललाई अन्ततः उनले उपाधिसम्म पुर्याएका हुन्।
यसअघि सन् २०२३ र २०२४ मा आर्सनल शीर्ष स्थानमा रहँदा पनि पेप ग्वार्डिओलाको सिटीले अन्तिम चरणमा बाजी मारेको थियो भने गत वर्ष टोली लिभरपुलभन्दा पछि परेको थियो।
यस सिजन आर्सनलको सफलताको मुख्य आधार बलियो रक्षापङ्क्ति र सेट–पिस प्रदर्शन रह्यो। टोलीले ३७ खेलमा लिगकै न्यून २६ गोल मात्रै खाएको छ भने १९ खेलमा ‘क्लिन सिट’ राखेको छ। सेट–पिसबाट २४ गोल गरेको आर्सनलले कर्नरबाट मात्रै १८ गोल गरेको छ, जुन प्रिमियर लिग इतिहासमै एक सिजनको उच्च तथ्यांक हो।
यस्तै, आर्सनल अहिले च्याम्पियन्स लिगको फाइनलमा पनि पुगेको छ। उसले मे ३० पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग खेल्नेछ।
यदि युरोपियन उपाधिसमेत जितेमा यो आर्सनलको इतिहासकै सबैभन्दा सफल सिजन बन्ने अपेक्षा गरिएको छ।