सेयर बजारमा पछिल्लो समय कारोबार रकम निकै सुस्तिएको छ। यो एक महिनाको अवधिमा दैनिक कारोबार रकम सात अर्ब रूपैयाँबाट खुम्चिँदै दुई–तीन अर्ब रूपैयाँमा झरेको छ।
मंगलबार बजारमा तीन अर्ब आठ करोड रूपैयाँको कारोबार भयो।
सेयर बजारमा निराशा छाएको कारण बजार र कारोबार नबढेको ब्रोकरहरू बताउँछन्।
ब्रोकर भरत रानाभाटले भने, 'बजारमा निराशा बढेको त छ, तर झिनो आशा पनि बाँकी नै छ।'
लगानीकर्ताहरू सरकारको काम गर्ने शैली प्रति सशंकित नै रहेकाले बजारमा सुधार हुन नसकिरहेको ब्रोकरहरूको भनाइ छ।
यस्तोमा अन्य घटनाले पनि बजार घटाउन सहयोग पुगेको छ। ब्रोकरहरूले सेयर कारोबार गर्नुअघि लगानीकर्ताबाट २५ प्रतिशत रकम अग्रिम लिनुपर्ने व्यवस्थामा कडाइ गरिएको छ।
घटिरहेको बजारमा लगानीकर्ताहरूले यसअघि पाउँदै आएको सुविधामा कडाइ भएपछि पनि कारोबार रकम उच्चले घट्न थालेको हो।
लगानीकर्ताले ब्रोकरहरूलाई अग्रिम रकम नबुझाइ कारोबार गर्न पाइरहेका थिए।
सरकारले जेठ १५ मा ल्याउने बजेटकै पर्खाइमा लगानीकर्ताहरू रहेको ब्रोकर रानाभाट बताउँछन्। यही कारण बजार धेरै घट्नबाट थामिइरहेको छ।
वैशाख २४ गते २७ सय विन्दुसम्म पुगेको नेप्से पटक पटक २७१७ विन्दुसम्म पुगेर फर्किने गरेको छ। मंगलबार नै पनि नेप्सेको न्यूनतम विन्दु २७१९ रह्यो। बजार बन्द हुँदा भने नेप्से २७२४ विन्दुमा उक्लिएको हो।
अब जेठ १५ अघिसम्म बजार निश्चित विन्दुहरूमा तलमाथि हुने गरेर साइडवेजमै रहने अनुमान ब्रोकरहरूको छ।
बजेटले सकारात्मक आशा देखाएमा बजार सुधार हुँदै जानेछ, त्यस्तो नभएमा बजार थप केही घट्न सक्छ।
हुन त बजार अति बिक्रीको क्षेत्रबाट माथि आइरहेको १४ दिने आरएसआईले देखाउँछ।
केही समयअघिसम्म आरएसआईको स्केल १० मा देखिएको नेप्से अहिले बढेर ३८ मा आएको छ।
आरएसआईको स्केलमा ० देखि १०० बिन्दु हुन्छ। ० देखि ३० सम्ममा अति बिक्रीको अवस्था मानिन्छ। ३० देखि ७० सम्म रहँदा बजारमा सन्तुलन नै रहेको संकेत गर्छ। त्यस्तै, बजार ७० देखि १०० सम्म रहे बजारमा अधिक खरिददारी हावी भएको मानिन्छ।
नेप्सेमा बनाइएको ५० दिने र २०० दिने मुभिङ एभरेजले भने बजार अहिले पनि बुलिस प्रवृत्तिमा नै रहेको संकेत गर्छ। ५० दिने रेखा अहिले पनि २०० दिने मुभिङ एभरेज रेखाभन्दा माथि नै छ। यी दुई रेखाबीच दुरी पनि कायमै छ।
पछिल्लो पटक बजार २६०६ विन्दुबाट बढ्दै २९६५ सम्म पुगेको थियो। यस आधारमा यो नजिकैको उच्च बिन्दु २९६५ विन्दुबाट घट्दो क्रममा रहेको नेप्सेले २३ प्रतिशतमा रिट्रेसमेन्ट परीक्षण गरिरहेको छ।
मैनबत्ती चित्रमा भने मंगलबार दुवैतर्फ लामो धागो भएको दोजी आकृति बनेको छ। यसले प्रवृत्ति स्पष्ट भइनसकेको संकेत गर्छ।