मोरङका देवी प्रसाद बञ्जरा अहिले संयुक्त अरब इमिरेट्स (युएई) को ठूलो सहर दुबईमा सेफका रूपमा काम गर्छन्।
उनी दुबई आएको चार वर्ष भयो। तर उनको वैदेशिक यात्राको कथा २४ वर्षअघि भारतबाट सुरू भएको हो।
'म भारत जाँदा जम्मा ११ वर्षको थिएँ,' उनले भने।
आम्दानीको स्रोत खेतीपातीमा निर्भर थियो। घरको जेठो सन्तान भएकाले चार भाइबहिनीको जिम्मेवारी उनी नभनेरै बुझ्थे।
गाउँकै स्कुलमा तीन कक्षासम्म पढेपछि आफन्तहरू भारततिर काम गर्ने भएकाले देवीले पनि त्यही बाटो पछ्याए।
'हैदरावादको एउटा गेस्ट हाउसमा मामा सेफ थिए। उनले मलाई पनि त्यहीँ काम लगाइदिए,' उनले भने।
उमेर र अनुभवले साना देवीले ठूलो काम गर्न सक्दैन थिए। मामाले सिकाए अनुसार भाँडा माझ्न, तरकारी केलाउन तथा भान्सा व्यवस्थापनमा सघाउन थाले। खान, बस्न गेस्ट हाउसले दिन्थ्यो। तलब महिनामा १३०० भारू थियो। सबै पैसा घर पठाउँथे।
त्यहाँ उनले करिब ९/१० महिना काम गरे। त्यसपछि गेस्ट हाउसका साहुले नै उनलाई आफ्नो कार्यालयमा 'अफिस ब्वाई' बनाए।
'अफिसमा सबैलाई चिया–कफी दिने काम थियो,' देवीले भने।
एक वर्षपछि उनी फेरि गेस्ट हाउसमै फर्किए। साना भएकाले उनलाई सबैले माया गर्थे। राम्रोसँग अक्षर नचिनेका उनलाई साहुले निःशुल्क आफ्नै स्कुलमा पढ्न समेत पठाए। उनी बिहान–बेलुका काम गर्थे, दिउँसो स्कुल जान्थे। यसरी उनले तीन वर्ष प्राथमिक शिक्षा हासिल गरे।
उमेरसँगै उनको अनुभव थपिँदै गयो।

'पकाउन जान्ने भएपछि पहिलो पटक मैले खानेकुरा पकाएर साहुलाई खुवाएको थिएँ। खुसी हुनुभएको थियो,' देवीले भने।
देवीको कामप्रतिको लगावलाई प्रोत्साहन गर्दै साहुले उनलाई कुकको तालिम पनि दिलाए।
'र्याडिसन होटलका सेफले ६ महिना तालिम दिएका थिए। त्यसको पैसा गेस्ट हाउसले नै तिरिदिएको थियो,' उनले भने।
यसरी अनुभवी हुँदै गएका देवीले सन् २०१२ देखि गेस्ट हाउसमा पूर्ण रूपमा पकाउने जिम्मेवारी पाए। त्यहाँ उनले सन् २०१७ सम्म काम गरे। जागिर छोड्दा तलब ५२ हजार भारू पुगिसकेको थियो।
त्यसपछि राम्रो अवसर र कमाइको आशामा उनी साउदी अरब गए। उनले सेफका लागि अन्तर्वार्ता दिएका थिए तर एजेन्टले धोका दियो। निर्माण कम्पनीमा फलाम बोक्ने, जोड्ने जस्ता काम गर्नुपर्यो।
शारीरिक रूपमा गाह्रो काम नगरेका देवीलाई निकै कठिन भयो। तैपनि १९ महिना टिके। अनि नेपाल फर्किए।
'भनेको समयसम्म काम गर्न नसकेपछि उल्टै कम्पनीलाई १९ सय रियाल तिरेर फर्किनुपर्यो,' उनले भने।
काठमाडौं आएपछि म्यानपावरमा तिरेको पैसा भने फिर्ता लिन उनी सफल भए। अनि पहिले काम गरेकै गेस्ट हाउसमा काम गर्न हैदरावाद गए।
त्यहाँ उनले थप तीन वर्ष काम गरे। त्यसपछि उनलाई दुबईको 'द बिग नाइट इभेन्ट्स गेस्ट हाउस' बाट जागिरको प्रस्ताव आयो।

राम्रो तलब–सुविधा भएकाले उनी सन् २०२३ मा त्यहाँ मुख्य सेफका रूपमा काम गर्न गएका हुन्।
'अहिले मैले काम गरिरहेको गेस्ट हाउस भारतकै साहुका भाइको हो। काम गर्न सहज छ,' देवीले भने।
उनका अनुसार गेस्ट हाउसका मुख्य ग्राहक भारतीय हुन्। त्यसबाहेक चीन, अमेरिका, सिंगापुर र नेपालबाट पनि ग्राहक पुग्छन्।
देवीलाई खान, बस्न गेस्ट हाउसले दिएको छ। बिहान दुई घन्टा र बेलुका दुई घन्टा भान्सामा व्यस्त हुन्छन्। त्यसबाहेकको समय आराम गरेरै बित्छ।
उनी सेफको काममा अवसर र चुनौती दुवै देख्छन्।
'पकाउन जानियो भने परिवार राम्रोसँग धान्न सकिन्छ। तर नयाँ परिकारबारे अपडेट चाहिँ हुनुपर्छ,' ३५ वर्षीय देवीले भने, 'खानेकुराको ट्रेन्ड अनुसार अपडेट हुन सकिएन भने आफू पछि परिन्छ।'