'घर जान्छु… घर जान्छु…' अधिकांश वृद्धहरू दिनभरि एउटै कुरा दोहोर्याइरहन्छन्।
कतिपय त खाना खाइसकेको केही मिनेटमै 'मैले केही खाएको छैन, भोक लाग्यो' भनिरहन्छन्।
सम्झनाशक्ति हराउँदै गएको डिमेन्सियाका बिरामीको मन बुझ्नु, उनीहरूको रिस, जिद्दी र एक्लोपनलाई धैर्यपूर्वक सम्हाल्नु ललितपुर चापागाउँकी सविना लामाको दैनिकी बनेको छ।
कुनै कुरामा दिनभरि जिद्दी गरे भने यस्तो अवस्थामा उनीहरूलाई सम्झाउनेभन्दा ध्यान मोड्ने उपाय अपनाइन्छ।
'कोही गीत गाउँदा खुसी हुन्छन्, उनीहरूका लागि गीत गाउने र सँगै गाउन लगाउने गर्नुपर्छ। कोही मीठो खानेकुरा खाएपछि भुलिन्छन्। यसरी भुल्याउँदै, फकाउँदै गर्दै हेरचाह गर्नुपर्छ,' सविनाले भनिन्।
डिमेन्सियाका बिरामीसँगै खाना पकाउन वा खान नसक्ने, नुहाउन नसक्ने, शौचालय जान नसक्ने, हातखुट्टा भाँचिएका वा दीर्घरोगका कारण अशक्त भएका वृद्धहरूको हेरचाह गरिन्छ। केयरगिभरले उनीहरूलाई खाना खुवाउने, नुहाइधुवाइ गरिदिने, शौचालय लैजाने लगायत दैनिक जीवन सहज बनाइदिने काम गर्नुपर्छ।
सविनाले धैर्य, सम्मान र आत्मीयताका साथ काम गरेकै कारण उनी जापानमा आप्रवासी श्रमिकका तर्फबाट उत्कृष्ट केयरगिभर बन्न सफल भएकी छन्।
जापानको आइची प्रिफेक्चरको कियोसु सहरको एक स्याहार केन्द्रमा कार्यरत उनी त्यहाँको राष्ट्रिय कल्याण प्रतियोगितामा उत्कृष्ट केयरगिभर बनेकी हुन्।

उनले प्रतियोगितामा जापानी शैलीको हेरचाह अभ्यास गर्दै उत्कृष्टता हासिल गरेकी हुन्। यसले आफूलाई थप हौसला बढाएको उनी बताउँछिन्।
'यहाँ केयरगिभरले धेरैजसो डिमेन्सियाका बिरामी हेर्नुपर्ने रहेछ। मैले यसबारे सुने पनि डिमेन्सियाका बिरामी हेरचाहको काम नौलो थियो। भर्खरै खाना दियो, खाइसक्नेबित्तिकै भोक लाग्यो भन्छन्। एउटै कुरा दिनभरि भनिरहन्छन्, कस्ता मान्छे होलान् भन्ने लाग्थ्यो। अहिले त त्यस्तो असहज केही लाग्दैन,' उनले भनिन्।
सविना ८ वर्षअघि जापान गएकी हुन्। नेपाल छँदा नर्स थिइन्।
'नर्सले नेपालमा राम्रो कमाइ गर्न नसके पनि विदेशमा राम्रो अवसर पाइने सुनेर नर्सिङ पढेकी थिएँ,' उनले भनिन्।
उनले पढाइ सकेपछि काठमाडौंको एक अस्पतालमा काम पाएकी थिइन्। निकै न्यून तलबमा करिब तीन वर्ष काम गरिन्।
उनका साथीहरू विदेश गइरहेका थिए। सविनाले पनि राम्रो अवसर पाए विदेश जाने सोचिरहेकी थिइन्।
जापानको अनुशासन, कामप्रतिको इमानदारी र मानिसप्रतिको सम्मानले उनमा गहिरो प्रभाव पार्यो। नेपालमा आएको भूकम्पका बेला जापानी नागरिकले नेपालीप्रति देखाएको आत्मीय व्यवहारले उनलाई जापानप्रति अझ आकर्षित बनायो।
त्यसपछि नै जापानलाई आफ्नो कर्मभूमि बनाउने निर्णय लिएको उनी बताउँछिन्।
जानुअघि उनले जापानी भाषा र केयरगिभिङ तालिम लिइन्। केयरगिभर कामका लागि जापानमा वातावरण कस्तो छ, काम गर्न सकिन्छ कि सकिँदैन भनेर बुझ्ने अवसर पनि पाइन्।
'कम्पनीले बुझ्नका लागि एक हप्ताको भिसा दिएको थियो। मैले एक साता जापान आएर धेरै कुरा बुझ्ने अवसर पाएँ। अनि गर्न सक्छु भनेर कामका लागि आएँ,' उनले भनिन्।
उनी ट्रेनिङ भिसामा जापान गएकी हुन्। ट्रेनिङ भिसामा पुग्नेबित्तिकै काम सुरू हुँदैन। नयाँ कर्मचारीलाई भाषा, संस्कृति र हेरचाह प्रणाली सिकाउन कम्पनीले करिब एक वर्षसम्म प्रशिक्षण दिन्छ।

'नेपालमा सिके पनि सुरूमा यहाँको लवज बुझिँदैन। अनि कम्पनीले भाषा सिकाउँछ। काम सिकाउँछ। डिमेन्सियाका बिरामीबारे पनि ट्रेनिङकै क्रममा सबै कुरा बुझ्ने अवसर पाएकाले काम गर्न सजिलो भएको हो,' उनले भनिन्।
यसरी जाँदा कम्पनीले प्रशिक्षणसँगै तलब पनि दिन्छ। बोनस भने पाइँदैन। वर्किङ भिसा परिवर्तन भएपछि बोनस पनि पाइने उनले बताइन्।
सविनाका अनुसार केयरगिभरमा राम्रो कमाइ छ। न्यूनतम मासिक दुई लाख रूपैयाँ कमाउन सकिन्छ। तर जापान खर्चिलो पनि छ। दुई लाख कमाउने व्यक्तिले फजुल खर्च नगरी बचत गर्दा महिनामा एक लाख रूपैयाँसम्म जोगाउन सकिन्छ।
उनी थप्छिन्, 'कमाउने र बचत गर्ने कुरा व्यक्तिमा भर पर्छ।'
८ वर्ष जापानमा बिताइसकेकी सविनालाई त्यहाँ आफूले सिकेको सीप आफ्नै देशमा फर्किएर प्रयोग गर्न मन छ।
नेपालमा पनि वृद्धवृद्धाको संख्या बढ्दै गएको र व्यवस्थित केयर सेवाको आवश्यकता बढिरहेकाले सरकारले केयरगिभर केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता देखिएको उनी बताउँछिन्।
'नेपालमा अझै केयरगिभरको आवश्यकता बढ्न सक्छ। सरकारले जतिसक्दो छिटो योजना बनाएर अघि बढ्ने हो भने नेपालमै पनि केयरगिभर कामको राम्रो अवसर हुन्छ। आफ्नै देशमा बसेर काम गर्न पाए कमाइ यहाँ जति नै नभए पनि फर्किन सकिन्थ्यो,' सविना भन्छिन्।
