महिला सशक्तिकरणसँगै उनीहरूले विदेशमा भोगेका समस्याबारे गम्भीरता देखाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
ग्वाङझाओमा भइरहेको १९औं एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनमा बोल्दै उनीहरूले पढाइ, रोजगारी र बिहे गरेर विदेशिएका महिलाहरू विभिन्न समस्याले पीडित भएको बताए।
चीनमा व्यवसाय गर्दै आएकी एनआरएनए खुश्बु अग्रवालले विदेशिएका महिलाहरूबारे घरपरिवारले समेत कतिलाई बेवास्ता गरेको बताइन्। एनआरएनए आईसीसी केन्द्रीय सदस्यसमेत रहेकी अग्रवालले विदेशीहरूसँग बिहे गरेर गएका कतिपय महिलाहरू पारिवारिक हिंसाबाट समेत पीडित भएको बताइन्।
एनआरएनए हङकङकी उपाध्यक्ष तथा व्यवसायी कविता गुरूङले महिलालाई परिवार र व्यवसायसँगै लैजानु चुनौतीपूर्ण भएको बताइन्।
एनआरएनए आईसीसी उपमहासचिव अनुजा प्रधानले युरोपमा समेत महिलाले घरपरिवारका लागि गरेका दुःख र संघर्षलाई सामान्य ठानिनु दुःखद भएको बताइन्। युरोपमा समेत महिलाहरू अझै पछि परेको भन्दै नेपालमा महिला सशक्तीकरणका लागि धेरै गर्न बाँकी रहेको बताइन्।
एनआरएन सहकोषाध्यक्ष गंगा खतिवडा कुँवरले कोरियन कस्मेटिक सामग्रीहरू नेपालमै उत्पादन गरेर महिलालाई रोजगारीमा प्राथमिकता दिएको बताइन्। आफ्नो कम्पनीमा १ सय ५० भन्दा धेरै महिलाले काम गरिरहेको उनको भनाइ थियो।
एनआरएनए महिला विभागकी संयोजक राधिका गुरुङ (टीका) ले विदेशमा रहेका महिला सशक्तिकरणका लागि महिला सम्मेलन गर्न लागिएको जानकारी दिइन्।
‘महिलाहरू हरेक क्षेत्रमा सबल भइसकेका छन्। विदेशमा रहेर महिलाले आफ्नो क्षमताअनुसार काम गरिरहेका छन्,’ उनले भनिन्, ‘महिलाहरू गृहिणीमा मात्र छैनन्। शैक्षिक क्षेत्रमा र उद्यममा अघि बढेका छन्।’
राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले महिलालाई आर्थिक रूपमा अघि बढाए मात्र सशक्तिकरण हुने बताइन्। रोजगारीका लागि विदेश जान रोकेका कारण महिला हिंसा र बेचबिखनको खतरा समेत बढेको उनको दाबी छ।
‘खाडी मुलुकमा रोजगारीका लागि महिलाहरूलाई बन्द गरिएको छ। तर विदेश जान रोकिएको छैन। ढोकाबाट जान रोकिएका कारण झ्यालबाट गइरहेका छन्,’ उनले भनिन्, ‘अहिले पनि मलाई दिनहुँ विदेशबाट हिंसामा परेका महिलाको फोन आउँछ। हामीले महिलालाई विदेश पठाउन रोक्नुभन्दा पनि नियमन गर्न जरुरी छ।’
महिलाका मुद्दालाई महिलाले मात्र नभई पुरुषले समेत उठाउनुपर्ने उनको भनाइ छ।