गैरआवासीय नेपाली संघको ११ औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ‘आरोहण २०२६’ को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
आगामी १५ देखि १७ अगस्टसम्म चीनको ग्वाङ्झाउस्थित क्राउन प्लाजा ग्वाङ्झाउ सिटी सेन्टर होटलमा हुने सम्मेलनको मुख्य ध्येय ‘हामीसँगै उठ्छौँ, अगाडि बढ्छौँ’ रहेको छ।
एनआरएनए, ११ औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन आयोजक समिति र एनआरएनए राष्ट्रिय समन्वय परिषद् चीनको मुख्य आयोजनामा हुने सम्मेलनको उद्घाटन एसिया प्यासिफिक क्षेत्रीय संयोजक दीपक कँडेलको अध्यक्षतामा हुनेछ।
प्रतिनिधि सभाका विपक्षी दलका नेता तथा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको प्रमुख आतिथ्यता रहने उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका सचेतक तथा सांसद, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, चीनस्थित नेपाली कूटनीतिक नियोगका प्रमुख तथा एनआरएनएका संस्थापक एवं अग्रज नेतृत्वको सहभागिता रहनेछ।
सम्मेलनमा व्यापार तथा लगानी, एनसिसी सुदृढीकरण, सुरक्षित वैदेशिक रोजगार, नेपाली नागरिकताको निरन्तरता, पर्यटन प्रवर्द्धन, महिला तथा युवा सशक्तीकरण र एनआरएनएको पुनर्ब्रान्डिङ लगायत विषयमा छलफल हुनेछ।
१६ अगस्टमा ‘ग्वाङ्झाउ घोषणापत्र २०२६’ जारी गर्दै सम्मेलन समापन गरिनेछ भने १७ अगस्टमा सहभागीका लागि छिंगयुआनस्थित गुलोङ गोर्ज ग्लास ब्रिजको अवलोकन भ्रमण आयोजना गरिने आयोजकले जनाएको छ।