हङकङमा जन्मेकी २० वर्षीया एरिका पुन अहिले हङकङ ब्याप्टिस्ट युनिभर्सिटीमा बिजनेस पढिरहेकी छन्।
पढाइसँगै उनी परिवारले सञ्चालन गरेका दुई वटा रेस्टुरेन्टको व्यवसायमा पनि सक्रिय छिन्। उनीहरूले एउटा हिमालयन रेस्टुरेन्ट र अर्को क्याफे सञ्चालन गरेका छन्।
बिजनेस पढिरहेकी एरिकाले पढाइ र कामलाई सँगसँगै अघि बढाएकी छन्।
परिवारकै व्यवसाय भएकाले अरूको काम गर्नुपर्ने अवस्था छैन। नेपाली रेस्टुरेन्ट भएकाले पनि काम गर्ने क्रममा नेपाली समुदायसँग घुलमिल हुन उनलाई सहज छ।
'हाम्रो रेस्टुरेन्टको मुख्य उद्देश्य नेपाली खानालाई हङकङमा चिनाउनु हो। हङकङमा रहेका चिनियाँसँगै विभिन्न देशबाट आउने पर्यटकलाई नेपाली खानासँग परिचित गराउने हाम्रो प्रयास हुन्छ,' उनले भनिन्, 'हङकङमा विभिन्न देश भाषा संस्कृतिका मानिसहरू आउँछन्। हङकङमा नेपाली खानामार्फत नेपालको पहिचान चिनाउन प्रयास भइरहेको छ।'

तपाईं आफूलाई नेपालको भन्न रूचाउनुहुन्छ कि हङकङको भन्ने जिज्ञासामा उनले यसलाई जटिल प्रश्न भनिन्।
‘सुरूमा म नेपालकै हो भन्छु। म हङकङको भन्ने त सबैलाई थाहा छ। तर मैले नेपालको हो भन्छु,’ उनी भन्छिन्, ‘किनकि म हङकङको हो भनेर कसैलाई भनिरहन पर्दैन। तर नेपाली हो भनेर भन्नैपर्छ। किनकि हाम्रो बुवाआमा नेपालकै हो।’
आफू हरेक वर्ष नेपाल आउन प्रयास गरिरहेको समेत उनले बताइन्। नेपालबाट टाढा रहे पनि अभिभावकको कुरा सुन्दा नेपाल जाऊँजस्तो लाग्ने उनको अनुभव छ। साथीहरूसँग भेट हुँदा पनि ‘नेपाल कहिले जाने?’ भन्ने कुरा हुने गरेको उनले बताइन्।
पहिलो पुस्ताले संघर्ष गरेका कारण त्यसको फाइदा आफूहरूलाई भएको उनको बुझाइ छ।
'पहिलो पुस्ताले दुःख गर्यो जसले गर्दा हामी हङकङमा प्रतिस्पर्धा गर्न सक्ने भयौं। त्यही भएर तुलनात्मक रूपमा हाम्रो जीवन पनि सहज भएको छ,' उनले भनिन्, 'हङकङमा नेपाली समुदाय ठूलो छ। तपाईं जता गए पनि नेपाली पसल, नेपाली संस्कृति अनि रेस्टुरेन्ट देख्न सक्नुहुन्छ। एक किसिमले हङकङ सानो नेपाल जस्तो लाग्छ मलाई।'
उनका अनुसार हङकङमा रहेका नेपालीलाई आफ्नो पहिचानको खासै समस्या छैन। बरू अहिलेको ठूलो समस्या भनेको स्थायित्वको हो। अर्थात् उनीहरू आर्थिक रूपमा बलियो र स्वाबलम्बी बन्नु आजको आवश्यकता हो। अब श्रमिकबाट उद्यमीतर्फको यात्रा जरूरी रहेको उनको तर्क छ।
पहिलो पुस्ताका धेरैले कन्स्ट्रक्सन र हस्पिटालिटीको क्षेत्रमा काम गरे पनि दोस्रो पुस्ताका नेपालीहरू भने डाक्टर, इन्जिनियर, इन्स्योरेन्स लगायत विभिन्न क्षेत्रमा पुगेका छन्।
दोस्रो पुस्तालाई कसरी नेपालसँग जोड्न सकिन्छ त भन्ने प्रश्नमा उनले यसका लागि अभिभावक र समुदायले पनि ध्यान दिन जरूरी रहेको उनले बताइन्।
'हङकङमा रहेका दोस्रो पुस्ताका नेपाली युवाबीच पनि नेपालको विषयमा छलफल हुन्छ। दोस्रो पुस्ताकाहरूमा फराकिलो सोच राख्ने र छलफल गरेर निश्कर्षमा पुग्ने क्षमता छ,' उनले भनिन्, 'दोस्रो पुस्तालाई नेपालसँग कसरी जोड्ने भन्ने विषयमा पनि सोच्नुपर्छ। अभिभावकले आफ्ना छोराछोरीलाई नेपाली समुदायसँग जोड्नुपर्छ अनि गैरआवासीय नेपाली संघले पनि हामीलाई ठाँउ दिनुपर्छ।'
एरिका व्यवसायसँगै एनआरएनएमा पनि सक्रिय छन्। उनी एनआरएनए हङकङकी कार्यसमिति सदस्य हुन्। एरिकाका बुवा प्रकाश पुन र आमा राधिका गुरूङ(टीका) व्यवसाय र सामाजिक काम दुवैमा सक्रिय छन्। आमा राधिका गुरूङ एनआरएनएको ग्लोबल उपाध्यक्ष छन्। आफ्ना अभिभावकले समुदायसँग घुलमिल गराएकै कारण आफूलाई पनि सहज भएको उनको अनुभव छ।
चीनको ग्वान्जाओमा सम्पन्न एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलनमा दोस्रो पुस्ताका प्रतिनिधिबीच भएको बहसमा समेत उनी प्यानलिष्ट थिइन्।

मिस नेपाल २०२६ की बिजेत दीपमाला ढकाल हङकङमै जन्मिएकाले पनि आफूहरू थप उत्साहित भएको उनको भनाइ छ। दीपमाला एनआरएनए दोस्रो पुस्ता संयोजक समेत हुन्।
'दीपमाला दिदी मिस नेपाल भएर हामी त उत्साहित हुने नै भयौं। नेपाल बाहिर रहेको दोस्रो पुस्ताका लागि नै यो एउटा अवसर हो,' उनले भनिन्, 'हामीलाई नेपालमा पनि अवसर छ है। हामीले विदेशमा बसेर पनि देशका लागि योगदान गर्न सक्छौं भन्ने प्रोत्साहन मिलेको छ।'
विदेशमा हुर्किँदै गरेको पुस्तालाई गर्ने व्यवहारबारे अभिभावकलाई उनका केही सुझाव पनि छन्।
'अहिलेका बालबालिका जिज्ञासु हुन्छन्। उनीहरूका प्रश्नलाई बेवास्ता नगरी उत्तर दिनुहोला,' उनले भनिन्, 'यसले जे पनि सोध्छ भनेर बेवास्ता गर्नु हुँदैन। उनीहरूलाई भाषा र संस्कृतिबारे सिकाउनुपर्छ।’