गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष हेमराज शर्माले अब कहीँ पनि विभाजन नरहेको दाबी गरेका छन्।
एनआरएनएको ११ औं एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा 'आरोहण-२०२६' मा चीनको ग्वाङ्झाउमा बोल्दै शर्माले विगतमा भएका विभाजनहरू अब समाप्त भएको घोषणा गरे।
अगष्ट १५ देखि १७ सम्म आयोजना हुने सम्मेलनमा सहभागीहरूलाई स्वागत गर्दै उनले विगतमा तितामिठा कुरा अब मिलेको आफूलाई लागेको दाबी गरे।
‘विगतमा मनहरू फाटेका थिए। ती मनहरूलाई जुटाउने अवसर दिएको छ। भिन्न भिन्न मनहरू एक ठाउँमा आएका छौं,’ उनले भने, ‘हाम्रो बीचमा मत विभाजन थियो भन्ने बिर्सिसकेका रहेछौं। हामी एकबद्ध छौं भनेर भरोसा गरेको आजको भेलाले देखाएका छौं। अब विभाजन कहीँ पनि छैन। अब विभाजन शून्य भएको छ।’
एनआरएनए भनेको विजनेश मात्र नभई समावेशीतामा पनि उदाहारण बनाउनुपर्ने आवश्यकता रहेको भन्दै उनले छिट्टै काठमाडौं दोस्रो पुस्ताको सम्मेलनको तयारी भइरहेको बताए।
उनले गैरआवासीय नेपालीको अपेक्षा भन्ने बित्तिकै नागरिकता, मतदानको अधिकार, ब्रिटिस गोर्खा र पिएनओको मुद्दा हुने बताए। त्यसका लागि आफूले कुरा उठाइहेको सम्बोधनको क्रममा बताए। उनले ८ प्रकारका गैरआवासीय नेपाली रहेको जानकारी दिए।
संविधानको धारा २९१ खारेज हुनुपर्छ
एनआरएनए अध्यक्ष शर्माले संविधानको धारा २९१ खारेज हुनुपर्ने माग गरे। उनले संविधान संशोधनको छलफल र बहस चलिरहेको भन्दै यो समयमा संविधानको यो धारा पनि खारेज गर्न माग गरे। जसले नियुक्तिका लागि योग्यता तोकेको छ।
‘यस संविधानमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि विदेशीको स्थायी आवासीय अनुमतिपत्र लिएको नेपालीको नागरिक यस संविधान बमोजिम निर्वाचन, मनोनय वा नियुक्तिको लागि योग्य हुने छैन। तर त्यस्तो विदेशीको स्थायी आवासीय अनुमतिपत्र त्यागेको व्यक्तिलाई कम्तीमा तीन महिना अवधि व्यतित भएपछि त्यस्तो पदमा निर्वाचित, मनोनीत वा नियुक्त गर्न बाधा पर्ने छैन,’ उक्ता धारामा भनिएको छ, ‘उपधारा १ बमोजिम विदेशको स्थायी आवसीय अनुमतिपत्र लिएको नेपालको नागरिक सम्बन्धी अन्य व्यवस्था संघीय कानुन बमोजिम हुनेछ,’ भनिएको छ।
उक्त धाराले वंशजको नागरिकता लिन र एनआरएनलाई नागरिकता पाउनुलाई मात्र हैन पदमा पुग्न पनि रोक लगाएको भन्दै यस्तो माग गरे।
त्यस्तै, उनले दोहोरो नागरिकताको व्यवस्था नभएका देशहरूमा बसोबास गर्ने नेपालीहरूले वंशजको नागरिकता कायम राख्न नसक्ने, तीन पुस्तापछिका गैरआवासीय नेपालीहरूले पनि वंशजको नागरिकता कायम राख्न नसक्ने र गैरआवासीय नेपालीसँग विवाह गर्ने विदेशी नागरिकले समेत वंशजको नागरिकता प्राप्त गर्न नसक्ने व्यवस्था खारेज गर्न माग गरे।
उनले ११ वर्षदेखि नागरिकता सम्बन्धी कानुन परराष्ट्र मन्त्रालयमा अड्केको भन्दै त्यसलाई छिटो सदनमा लगिदिन आग्रह गरे।
उनले नेपालबाट सम्मेलनमा भाग लिन पुगेका सबै दलका सांसदहरूलाई साक्षी राख्दै उनले ८ प्रकारका एनआरएनए भएकाले सबैलाई सम्बोधन गर्नेगरी एकीकृत गर्नुपर्ने बताए।
उनले कोभिड-१९ मा जसरी धेरै नेपालीहरूको ज्यान बचाउने काम चीनको ग्याङझाउले गरेको थियो भन्दै सम्मेलनले आज फेरि नयाँ सन्देश जाने दाबी गरे।
उनले गैरआवासीय नेपाली सम्बन्धी विधेयकलाई प्राथमिकतामा राखेर यही अधिवेशनबाट पारित गरिदिन पनि आग्रह गरे।
त्यस्तै, पूर्वअध्यक्ष बद्री केसी २२ खर्ब रेमिट्यान्स नेपाल पठाउने एनआरएनहरू अहिले पनि नागरिकता पाउन संघर्ष गरिरहेको बताए।
‘डेभलपमेन्टमा हामीले किन लगानी गर्न सकेनौं। अबका एनआरएन हार्वर्ड पढाएर नेपाल फर्कन चाहने हुन्। अफ्रिकादेखि मध्यपूर्वसम्म समृद्धिमा काम गरेको नेपाली र विलियनहरू भएकाहरू हुन्,’ उनले भने, ‘नेपालीहरूले अब दिन खोजेको र नेपाल आउन खोजेका छोरापुस्ता विदेशले हैन नेपालीले प्रयोग गर्न बाटो खोल्नुपर्छ।’
उनले विगतको स्थितिलाई खुला गर्नुपर्ने बताए। उनले २२ खर्ब ढुकुटीमा राखेर ३ खर्बमात्र सरकारले लगानी गरेर नहुने भन्दै निजी क्षेत्रले चाहेजति लगानी गर्ने अवस्था बनाउनुपर्ने बताए।
उनले अब लगानी गर्न हरेक पटक उद्योग विभागदेखि अन्य निकायमा महिनौंसम्म धाउनुपर्ने कुरा अन्त्य गर्नुपर्ने बताए।
यसले मात्र लगानीको वातावरण बनाउने उनको दाबी थियो।