ग्लोबल नेपाली
२० वर्ष पुग्दै गर्दा सन् २००७ को मार्चमा तनहुँका अनिल बसौला अस्ट्रेलिया गए।
हस्पिटालिटी पढ्न अस्ट्रेलियाको सिड्नी गएका अनिलले सुरूआतदेखि नै रेस्टुरेन्टमा काम गरे। दिउँसोमा तीन दिन रेस्टुरेन्टको किचनमा काम गर्ने अनिल राति तीन दिन भने बारमा काम गर्थे।
रेस्टुरेन्टको किचनमा हेल्परबाट काम सुरू गरेका अनिल सेफ हुँदै हेड सेफसम्म भए। अनि बारमा पनि त्यसरी नै अघि बढे। बार हेल्परबाट सुरू भएको उनको करिअर बार सुपरभाइजर हुँदै बार म्यानेजरसम्म पुग्यो।
त्यसपछि भने उनी आफ्नै केही गर्नुपर्छ भनेर अघि बढे।
'सधैं अरूको काम गर्न हुँदैन भन्ने सोच आयो। अनि मैले पबमा लगानी गर्नुपर्छ भनेर तयारी गरेँ। पब खोज्ने क्रममा बहुसंख्यक स्थानीय अस्ट्रेलियनको बसोबास रहेको न्यू टाउनमा पुगेँ,' उनले भने, '२०१६ मा मैले पबको बिस्ट्रो पाएँ। सुरूमा त्यहाँको हेड सेफ भए अनि २०१७ देखि भने आफैले चलाउन सुरू गरेको हो। अहिलेसम्म चलाइरहेको छु।'
सुरूमा पब सञ्चालकले उनलाई बिस्ट्रो (पबको रेस्टुरेन्ट) दिन नचाहेकाले किचन र रेस्टुरेन्ट सम्हालेर देखाएका थिए। आफूले सम्हालेको २ सातामै पबको माहोल फेरिएको अनिलको दाबी छ।
सुरूआतको केही समय व्यवसाय घाटामा गएको भए पनि विस्तारै नाफा आउन थालेको उनको भनाइ छ।
'स्थानीय अस्ट्रेलियनहरू मात्रै बस्ने भएकाले हामी फरक समुदायकालाई स्वीकार्न त्यहाँ अलि गाह्रो थियो। मेरो अनुभवले मलाई त्यहाँ पत्याइएको हो,' उनले भने, 'व्यवसाय एउटा लयमा जान सुरू गरेको थियो। त्यही बेला कोभिड सुरू भयो अनि म अप्ठ्यारोमा परेँ।'

एकातिर कर्मचारीलाई तलब, सामानको पैसा अनि भाडा सबैतिरबाट उनी चेपुवामा परे। तर सरकारले दिएको सहयोग अनि जग्गावालाको भाडा छुटले भने उनलाई केही राहत भयो।
केही समय बिस्ट्रो चल्नसाथ कोभिडको दोस्रो लहर सुरू भयो। न्यू टाउनमा रहेका अधिकांश रेस्टुरेन्ट बन्द थिए तर अनिलले 'टेकवे' सेवा सुरू गरे। जसले गर्दा रेस्टुरेन्टको कमाइ पनि रोकिएन।
कोभिडको दोस्रो लहरपछि पूर्ण रूपमा बिस्ट्रो खोल्दा त उनको व्यवसाय धेरै राम्रो भइसकेको थियो। त्यसपछि उनलाई पछाडि फर्केर हेर्नु परेन।
'मैले जिम्मा लिएको ६ महिनामै पब चलाएमान भएको थियो। एउटा नेपालीले अस्ट्रेलियन बाहुल्य बस्तीमा पब चलाएर देखाउनु आफैमा चुनौतीपूर्ण काम हो,' उनले भने, 'मैले धेरै ठूलो काम गरेको भन्ने त लाग्दैन। तर चुनौती मोलेर व्यवसायलाई यहाँसम्म ल्याउन सकेको छु।'
त्यो ठाउँमा बिस्ट्रो चलाउने नेपाली आफू मात्रै भएको उनको दाबी छ।
नेपालीहरूले रेस्टुरेन्ट चलाउने अनि बन्द गर्ने भने गरिरहने अनिलले बताए।
उनका अनुसार थोरै ग्राहक भएको दिनमा पनि २ सयभन्दा धेरै ग्राहक आउँछन्। बिदाको दिनमा त यो संख्या निकै धेरै बढ्छ। पब भित्रको बारका सञ्चालक अर्कै हुन् भने उनको मातहतमा बिस्ट्रो (रेस्टुरेन्ट) छ। दिउँसो १२ बजेदेखि रातको १० बजेसम्म खुल्ने रेस्टुरेन्टमा अस्ट्रेलियन, बेलायती, इटालियन, जापानिज, अमेरिकन, मेक्सिकन खाना पाइन्छ। विस्तारै नेपाली मःम र आलुचप पनि मेनुमा राखेका छन्। यसमा पनि अस्ट्रेलियनहरू बानी पर्न थालेको उनले बताए।
उनका अनुसार रेस्टुरेन्टलाई घाम, झरी अनि जाडो र गर्मीले केही असर गर्दैन। अनि ग्राहकहरू पनि स्थायी जस्तै हुन्। बिस्ट्रोमा आउने ९९ प्रतिशत ग्राहकलाई आफूले चिन्ने उनको जिकिर छ।
रेस्टुरेन्टमा उतारचढाव आउने भए पनि आफूले त्यस्तो भोग्न नपरेको भन्दै उनले कहिलेकाहीँ ग्राहक भीड हुने तर औसतमा कमी भने नआउने बताए।
आफ्नो अनुभव भएको क्षेत्रमा लागानी गर्दा घाटा खान नपर्ने उनको बुझाइ छ।
'रेस्टुरेन्ट र फुडमा काम गरेको मैले जग्गा या कन्सल्टेन्सी या अरू क्षेत्रमा हात हालेको भए सफल हुने सम्भावना निकै कम हुन्थ्यो। तर अहिले म सन्तुष्ट छु,' उनले भने, 'आफूलाई ज्ञान भएको क्षेत्रमा लगानी गरेमा धेरै कमाउन नसके पनि घाटा खानु पर्दैन। आफ्नो अनुभव र क्षमताकै कारण भत्किन अवस्थामा पुगेको पबलाई समेत अहिलेको अवस्थामा ल्याउन सफल भएँ।'
लगानीको विषयमा चिनियाँहरूबाट आफू प्रभावित भएको उनले बताए। सानै पसल राख्ने तर आफ्नै गर्ने अनि सन्तुष्ट हुने चिनियाँ शैलीबाट उनी प्रभावित छन्।
रेस्टुरेन्ट र बार दुवैतिर काम गरेका अनिलले रेस्टुरेन्टको किचन आफै सम्हाल्छन् भने एकाउन्टिङ, कर्मचारी अनि ट्याक्स लगायतको पाटो उनकी श्रीमती प्रिती थापाले हेर्छिन्।
'किचनको हेड सेफ म आफै हो। मैले पकाउनेदेखि सर्भ गर्ने सबै गर्छु। अरूले पनि सहयोग गर्छन्,' उनले भने, 'मेरी श्रीमतीले नेपाली मःम आलुचप बनाउँछिन्। हामी राति अबेरसम्म किचनको सामान तयार पारेर बस्छौं। हामी दुई जनाको खटाइले अहिलेको अवस्थामा आइपुगेका हौं।'
श्रीमतीको साथमा अनिल।