होम्स इन्स्टिच्युट अस्ट्रेलियाले नेपालमा पहिलो पटक नेपाल एलुमनाई तथा पार्टनर्स मिट आयोजना गरेको छ।
काठमाडौंमा सम्पन्न कार्यक्रममा होम्स इन्स्टिच्युटका स्नातक, शिक्षा एजेन्ट पार्टनर, सञ्चारकर्मी तथा शिक्षा क्षेत्रका विभिन्न प्रतिनिधिहरू सहभागी भएका थिए।
कार्यक्रमको अध्यक्षता होम्स इन्स्टिच्युट अस्ट्रेलियाका अन्तर्राष्ट्रिय भर्ती निर्देशक इन्द्र अधिकारीले गरेका थिए। उनले नेपाल संस्थाका लागि केवल विद्यार्थीको स्रोत बजार मात्र नभई दीर्घकालीन सम्बन्ध र साझेदारीको केन्द्र रहेको बताए।
कार्यक्रममा होम्स एजुकेशन ग्रुपको प्रस्तुति, प्रमुख कार्यकारी अधिकृतको विशेष सन्देश, सांस्कृतिक कार्यक्रम तथा नेटवर्किङ सत्र आयोजना गरिएको थियो।
एसोसिएसन अफ नेपालिज एलुमनाई अस्ट्रेलियाका अध्यक्ष अनन्त पौडेल र होम्स इन्स्टिच्युटका स्नातक सुजन कार्कीले अस्ट्रेलियामा पढेर नेपाल फर्किएकाहरु धेरै क्षेत्रमा रहेको बताए।
कार्यक्रममा शिक्षा क्षेत्रका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। आयोजकका अनुसार यस कार्यक्रमलाई नेपालमा वार्षिक रूपमा आयोजना गर्ने योजना छ।
होम्स इन्स्टिच्युट अस्ट्रेलिया व्यवसाय, सूचना प्रविधि र उड्डयन विषयमा शिक्षा प्रदान गर्ने अस्ट्रेलियाको निजी उच्च शिक्षा संस्था हो। यसको मेलबर्न, सिड्नी, ब्रिसबेन र गोल्ड कोस्टमा क्याम्पस सञ्चालनमा छन्। होम्स एजुकेशन ग्रुपले अस्ट्रेलिया, युरोप, उत्तर अमेरिका र अफ्रिकासम्म आफ्नो शैक्षिक उपस्थितिलाई विस्तार गर्दै आएको छ।