ग्लोबल नेपाली
पाल्पामा जन्मिएका डा. अच्युत अर्याल न्युजिल्यान्डमा दुइटा कलेज चलाउँछन्।
पढाइका सिलसिलामा न्युजिल्यान्ड पुगेका उनी त्यहाँ 'अकल्यान्ड कलेज' र 'सिसी ट्रेनिङ एकेडेमी' सञ्चालन गरिरहेका छन्।
यी कलेजमा निर्माण तथा स्वास्थ्य सम्बन्धी विषय पढाइ हुन्छ।
वन–विज्ञानमा विद्यावारिधि (पिएचडी) अध्ययनका लागि उनी सन् २००९ मा न्युजिल्यान्ड गएका थिए, सन् २०१३ मा सके।
'पिएचडी सकेर नेपालमै केही गरौं भनेर फर्किएँ,' अच्युतले भने, '६ महिना जति एउटा प्रोजेक्टमा काम गरेँ। नेपाल र चीनसँग सम्बन्धित जलवायु परिवर्तन र वन्यजन्तु सम्बन्धी अनुसन्धान गरेको थिएँ।'
उनले वन संरक्षण सम्बन्धी परियोजनामा पनि काम गरे। उनका अध्ययन/अनुसन्धान नीतिगत तहमा पनि सहयोग गर्ने खालका थिए। तर नेपाल बसेर काम गरिरहँदा चित्त बुझिरहेको थिएन।
अच्युतलाई अनुसन्धानमा धेरै रूचि थियो। अनुसन्धान भएन भने त्यसपछि कसरी काम गर्ने भन्ने थाहै नहुने उनी बताउँछन्।
'अझ विदेशबाट आएको मान्छेलाई नेपालको सिस्टमले नचिन्ने रहेछ। बाहिर बसेर फर्केको मान्छेले स्वतन्त्र भएर आफ्नो क्षमता प्रयोग गर्न खोज्छ। त्यो पाइएन भने फेरि पछाडि सरिने रहेछ। मेरो पनि त्यस्तै भयो,' उनले सुनाए।
न्युजिल्यान्ड फर्केर उनले सुरूमा अध्यापन गरे। अध्यापन गर्दागर्दै त्यहाँ आफै कलेज खोल्ने सोचे। सन् २०१८ मा उनले कलेज दर्ता गरे। सन् २०२१ देखि कलेज सञ्चालनमा आयो।
उनी अहिले त्यहीँका एक जना साथीसँगको सहकार्यमा कलेज चलाइरहेका छन्। उनले चलाएका अकल्यान्ड कलेज र सिसी ट्रेनिङ एकेडेमी 'आका एजुकेसन ग्रुप' अन्तर्गत पर्छन्।

यो ग्रुपले विभिन्न ६ वटा कलेज सञ्चालन गरिरहेको डा. अच्युतले बताए। यी ६ वटा कलेजमा सय जना नेपाली विद्यार्थी पढिसकेका छन्। अहिले पनि ५० जना हाराहारी नेपाली विद्यार्थी भएको उनले बताए।
'मेरो लगानी भएका दुइटा कलेज हुन्। यिनमा स्वास्थ्य तथा सुरक्षा र निर्माण सम्बन्धी पढाइ हुन्छ। यी पाठ्यक्रमको यहाँ माग पनि छ,' उनले भने, 'न्युजिल्यान्डमा कलेज खोल्ने पहिलो नेपाली मै हुँ।'
अच्युत एनआरएनए न्युजिल्यान्डका अध्यक्ष समेत हुन्।
न्युजिल्यान्डको सरकारी नीति अनुसार पाठ्यक्रम डिजाइन गरेर अध्यापन गराइरहेको उनले बताए। यो विषय पढेको जनशक्ति धेरै चाहिएको छ भनेर सरकारले भनेपछि सोही अनुसार पाठ्यक्रम विकास गर्ने उनको भनाइ छ।
आफ्नो कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्ने उनको दाबी छ। तर जागिर ग्यारेन्टी गर्न नसक्ने उनले प्रस्ट्याए।
न्युजिल्यान्डमा हेल्थ केयर, फार्मेसी, व्यवस्थापन र निर्माणजस्ता प्राविधिक विषय पढेकालाई काम पाउन सजिलो छ। ८० प्रतिशत नेपाली विद्यार्थी प्लस–टू सकेलगत्तै आएकाहरू छन्। त्यसरी जाने धेरैलाई असहज भइरहेको उनले बताए।
'अभिभावकहरूले पनि सन्तानले काम गर्दै पढिहाल्छन् नि भनेर राम्रोसँग नबुझी पठाउँछन्। हो काम गर्दै पढ्न त मिल्छ। तर सातामा २० घन्टा मात्रै काम गर्न पाइन्छ। त्यति काम गरेर खान, बस्न, पढाइ सबै खर्च जुटाउन गाह्रो पर्छ,' उनले भने।
त्यहाँ खाने, बस्ने खर्च जुटाउन सके पनि पढ्ने खर्च अभिभावकले नै व्यवस्था गरिदिनुपर्ने उनले बताए।

स्नातकोत्तर र पिएचडी जस्तो उच्च शिक्षा पढ्न जानेका लागि भने काम गर्दै पढ्न र त्यहाँको पिआर (स्थायी बसोबास अनुमति) पाउन सहज हुने उनले बताए।
त्यसैले उनी अभिभावकहरूलाई सकेसम्म प्लस–टू लगत्तै विद्यार्थीलाई नपठाउन सुझाव दिन्छन्। स्नातकोत्तर पढ्न जाँदा धेरै राम्रो हुने र जागिर पनि भइहाल्यो भने पिआरका लागि आवेदन दिइहाल्न मिल्ने व्यवस्था पनि हुन लागेको उनले जानकारी दिए।
'कम्तीमा स्नातक नेपालमै पढेकाले आफ्नो देशबारे धेरै बुझिसकेका हुन्छन्। भर्खर प्लस–टू सकेकाले त केही बुझ्नै पाएका हुँदैनन्। यहाँ आएर संघर्ष सुरू गरेका उनीहरूमध्ये धेरैलाई पढाइसँगै कामको जिम्मेवारीले मानसिक असर पनि परेको छ,' उनले भने।
अच्युतका अनुसार न्युजिल्यान्डमा पढ्न सामान्य निजी कलेजमा वार्षिक १६ हजारदेखि १८ हजार न्युजिल्यान्ड डलर खर्च हुन्छ। सरकारीमा पढ्ने हो भने २५ हजार न्युजिल्यान्ड डलरसम्म खर्च हुन्छ।
'अभिभावकले पढाइ खर्च तिर्न सक्ने यकिन गरेर मात्रै सन्तानलाई पढ्न पठाउनुपर्छ,' उनले भने।
अच्युतको भविष्यमा नेपालमा पनि प्राविधिक कलेज खोल्ने सोच छ।
