म झण्डै २० वर्षअघि बेलायत गएँ। त्यो बेला अवसर अलि धेरै पनि थियो। तर अहिले के भयो भने कोभिडपछि विदेशमा धेरै नर्सहरू उत्पादन भएका छन्। हुन त 'हेल्थ केयर' लाई हेर्नुभयो भने संसारमा यो सधैं कमी हुन्छ। अर्थात नर्स, डाक्टर, फिजियोथेरापिष्टको अभाव धेरै ठाउँमा हुन्छ।यसको महत्व कहिले पनि घट्दैन। यद्यपि पछिल्लो समय बेलायतमा त्यहीँका युनिभर्सिटीले थुप्रै नर्सहरू उत्पादन गर्न थालेका छन्।
बेलायतमा बाहिरबाट नर्स जाने क्रम पनि धेरै बढ्दो छ। म आफैले एउटा कलेज पढाउँछु त्यसले नै वर्षमा झण्डै ३ सय नर्स उत्पादन गर्छ।
पछिल्लो समय त्यही उत्पादन भएका नर्सहरूलाई समेत काम पाउन कठिन भइरहेको छ। यसको मतलब विगतको भन्दा अहिले धेरै कडाइ भइसकेको छ।
यसो भन्दैमा काम नपाउने भन्ने भने हुँदैन।
बेलायतको नर्सिङ एण्ड मिडवाइफ्री काउन्सिल छ । त्यसमा रजिष्ट्रेसन गरेर भिसा प्रक्रियामा जान सकिन्छ।
यसका लागि केही मापदण्ड छन्।
नर्सकै लागि जाने हो भने पिसिएलदेखि मास्टर्स जुन तह अध्ययन गरेकाहरुले पनि प्रयास गर्न सक्छन्। त्यसपछि भाषाको कुरा हुन्छ। बेलायतले भाषा परीक्षालाई अनिवार्य प्रावधान बनाएको छ। कसैले भाषा परीक्षामा तोकिएको मापदण्ड पूरा नगरी जान सकिन्छ भन्यो भने त्यसलाई पत्याउन हुँदैन।
इन्टरनेसनल इंग्लिस ल्याङ्ग्वेज टेस्टिङ सिस्टम (आइएलटिएस) मा ७ र अकुपेसन इंग्लिस टेस्ट (ओइटी) मा बी ल्याउनु पर्छ। अर्थात् आइइएलटिएस र ओइटीमा तोकिएको मापदण्ड पूरा गरेपछि मात्र रजिष्ट्रेसन प्रक्रिया सुरू हुन्छ।
केही सैद्धान्तिक र प्रयोगात्मक परीक्षा समेत हुन्छन्। सैद्धान्तिक परीक्षा नेपालमै दिन सकिन्छ भने प्रयोगात्मक परीक्षा बेलायतबाट दिनु पर्छ।
नेपालमा नर्सिङ शिक्षाको जुन तह पास गरेको भए पनि बेलायत जाने प्रक्रिया एउटै हुन्छ। त्यहाँ गएर जुनिएर नर्स भएरै काम सुरू गर्नुपर्छ। बेलायत गएपछि भने नेपालको पढाइलाई मूल्यांकन गरेर त्योभन्दा माथिल्लो तहको अध्ययन गर्न सकिन्छ। अर्थात् यता र उताको पढाइलाई तुलना गर्दा थप कुनै कोर्ष गर्नुपर्ने भएमा गरेर माथिल्लो तहको शिक्षा लिन पाइन्छ।
नेपालबाट सबै तयारी पूरा भएपछि बेलायतमा कहाँ गएर काम गर्ने भनेर भने आफैले खोज्नुपर्छ।
एजेन्टको माध्यमबाट बेलायत जान चाहने धेरै छन्। उता गएर काम खोज्ने झन्झट गर्नुभन्दा भिसाको प्रक्रिया अनि काम खोज्ने सबै जिम्मा एजेन्टलाई दिन्छन्।
आफै प्रयास गरेर जानेहरू पनि छन्। त्यस्तो गर्दा खर्च पनि कम लाग्छ। तर बेलायतमा काम खोज्न झन्झट हुन्छ भनेर धेरैले एजेन्टलाई काम लगाउँछन्।
अर्को बेलायतमा केयर होममा काम गर्नलाई पनि जाने गरिन्छ। त्यसको लागि स्पोन्सरसिप पत्र चाहिन्छ। यसो भन्दैमा एजेन्टकै भर परेर मात्र हुँदैन।
आफू पनि चनाखो भएर बुझ्न सक्नुपर्छ। अहिले त केयर होममा समेत कामदार खोजेको अवस्था छैन। किनकि कामदारको माग बेलायतमै पूरा भएको छ।
अलि मेहनत गर्ने र क्षमता भएकाहरूलाई बेलायतमा अझै पनि अवसर भने नभएको होइन। उनीहरूले बेलायत गएर आफ्नो परिवारलाई उतै लैजाने अनि स्थायी बसोबासको व्यवस्था समेत मिलाउन सक्छन्।
नेपालमा नर्सको जुन अवस्था छ त्यसले गर्दा पनि विदेश जान खोज्नेको संख्या ठूलो छ। नर्स भनेको डाक्टरले सिफारिस गरेको इन्जेक्सन लगाउने र औषधि खुवाउने मात्र हुन् भन्ने तरिकाले हेर्न खोजिन्छ। मैले काम गर्ने क्रममा यस्तो अनुभव गरेको थिएँ। अहिले केही परिवर्तन भएको भए थाहा भएन। तर उनीहरूको कमाइ र कामको सुरक्षामा खासै परिवर्तन आएको देखिँदैन।
नेपालमा अझै पनि न्यूनतम सुविधाबाट समेत नर्सहरू बन्चित छन्। विकसित देशहरूमा नर्सहरू विषय अनुसारको विशेषज्ञ हुन थालिसकेका छन्।
म आफैले क्रिटिकल केयरमा विज्ञता हासिल गरेको छु। अहिले नर्स कन्सल्ट्यान्ट हुन थालिसकेका छन्।
यहाँ रहेकाहरू अधिकांश सन्तुष्ट छैनन्। धेरैले मसँग अहिले पनि बेलायत जाने कसरी हो भनेर सोध्छन्। कतिले घर जग्गा बेचेर पढेका छन् तर जागिर पाउन गाह्रो छ। अनि जागिरको कमाइले आफ्नै खर्च चल्न मुस्किल छ। त्यसैले उनीहरू निराश छन्। जसले गर्दा धेरैको रोजाइमा विदेश परेको छ।
(लन्डन नर्थ वेस्ट (एनएएचएस) ट्रस्टमा र्यापिड टिममा रहेर काम गरेकी तथा नर्सिङ लेक्चर रहेकी प्रसुना कँडेलसँग हामीले भिडिओ कुराकानी गरेका छौं।)