ग्लोबल नेपाली
सन् २००९ मा बेलायत जाँदैमा काठमाडौंका विकास नेपाललाई लागेको थियो कि, बरू चुनौती लिन्छु तर फरक काम गर्छु।
हुन पनि त्यस्तै भयो। काम खोज्ने क्रममा उनी झण्डै ६ महिना बेरोजगार भए तर उनले आम नेपालीले विदेशमा गर्ने होटल, रेस्टुरेन्ट, कृषि फार्म लगायतका क्षेत्र रोजेनन्।
धेरै ठाउँमा बायोडाटा बुझाउँदै जाँदा बल्लतल्ल फोन आयो। उनी अन्तर्वार्ताका लागि गए। अन्तर्वार्तामा पास भए तर काम के हो थाहा थिएन।
‘मैले मार्केटिङका लागि डोर टु डोर जाने भन्ने थियो तर के हो भन्ने थाहा थिएन। मलाई कामको लागि खबर आउँदा पनि मैले केको मार्केटिङ भनेर सोधिनँ। किनकि म कामप्रति धेरै एक्साइटेड थिएँ,’ विकासले भने, ‘सन् २००९/०१० को समयमा काम पाउन धेरै कठिन थियो। मैले त्यो बेला केएफसी म्याग्डोनल्स जस्ता कम्पनीमा काम नगरिकन मार्केटिङको काम खोजेको हो।’
स्कटिस पावर कम्पनीमा काम पाएका विकासले घर घरमा गएर इलेक्ट्रसिटी र ग्यासको सेल्स गर्नुपर्थ्यो।
कम्पनीले सर्ट र टाई दिएको थियो। बिहानै उठेर चिटिक्क परेर घर घरमा घण्टी बजाउँदै हिँड्नु उनको दैनिकी थियो।
भर्खर नेपालबाट गएकाले स्थानीयले बोलेको अंग्रेजी बोल्न समेत कठिन हुन्थ्यो। एक दिन, दुई दिन हुँदै छैटौं दिनसम्म पनि उनले एउटै ग्राहक पाएनन्।आउने जाने यातायात र खाजा खर्च मात्र भइरहेको थियो, तर उपलब्धी शून्य।
हरेक दिन राति फर्किंदा मैले के गरिरहेछु भन्ने उनलाई हुन्थ्यो अनि बिहान नयाँ जोशका साथ फेरि ढोका ढोकामा पुग्थे। विकासले काम सुरू गर्दा चिसोको समय थियो। बेला बेला हिउँ समेत पर्थ्यो। ढोका ढकढक्याउँदा कतिले उनलाई गाली गरे कति कुकुरले तर्साए तर उनले हिम्मत हारेनन्।
-1771074181.jpg)
‘सातौं दिन कोठाबाट निस्किँदै गर्दा मैले आज एउटा न एउटा सेल गर्छु भन्ने अठोट गरेको थिएँ। अरू दिन म ६० घरमा पुग्थेँ त्यो दिन मैले १ सय २० घरको ढोका ढकढक्याएँ,’ उनले भने, ‘निराश भएर फर्किनै लाग्दा पाकिस्तानी मूलका एक व्यक्तिले मेरो सामान किन्ने भए। सातौं दिनमा एउटा घरमा बेचेर सुरू भएको मेरो मार्केटिङ यात्राबाट मलाई पछाडि फर्किन परेन।’
उनले काम गर्ने स्कटिस पावर कम्पनी सबैभन्दा सानो कम्पनी मध्येमा थियो।
त्यो समयमा एक घण्टाको न्यूनतम ६ पाउण्ड स्टर्लिङ अरूले कमाउँदा उनले एउटा घरमा बेच्दा ५० पाउण्ड कमाउँथे। विस्तारै उनले एक घण्टामा एउटा ग्राहक फेला पार्न थाले। अर्थात् उनले एक घण्टामा ५० पाउण्ड कमाउन थाले। स्कटिस पावर कम्पनीमा ६ महिना काम गरेपछि उनलाई ब्रिटिस ग्यासबाट अफर आयो।
आफ्नो विगतको कामलाई हेरेर यस्तो मौका आएको उनले बताए। यो कम्पनीमा कमाइ पनि धेरै थियो। यो कम्पनीमा गएपछि उनले एउटा घरमा सामान बेचेबापत १ सय पाउण्ड पाउँथे। अनि मासिक तलब र बोनस पनि आउँथ्यो। ८/९ महिनामा प्रमोसन समेत भयो भने कम्पनीकै गाडी चढ्न पाए।
आफ्नो कामबाट कमाइ राम्रो भएपछि उनले केही नेपाली साथीहरूलाई पनि काम गर्न भनेका थिए। तर उनीहरूले खासै चासो नदेखाएको विकासले बताए। ढोका ढोकामा गएर कसरी व्यवसाय गर्नु भन्ने सोच धेरैको रहेको विकासको बुझाइ छ।
सन् २०१४ मा उनको पढाइ सकियो। त्यसपछि उनीसँग दुई विकल्प थियो। पहिलो फेरि कलेज पढ्दै काम गर्ने अनि अर्को व्यवसाय गर्ने।
विकासले दोस्रो विकल्प रोजे।
‘बेलायतमै पढेकाले ५० हजार पाउण्ड लगानी गरेर व्यवसाय गर्न पाइन्थ्यो। त्यस्तो भएपछि तीन वर्षको भिसा समेत पाइन्थ्यो। मैले व्यवसाय गर्ने सोच बनाएँ,’ उनले भने, ‘मलाई धेरैले राम्रो काम छोडेर व्यवसाय नगर्न भनेका थिए। तर मैले जोखिम उठाएँ। त्यसपछि मार्केट डाइरेक्ट लिमिटेड भनेर काम सुरू गरेँ।’
भारत र पाकिस्तानका २० भन्दा धेरै मल्टिनेसनल कम्पनीको मार्केटिङ विकासकै कम्पनीले हेर्थ्यो। उनीहरूले सेल्स, मार्केटिङ र प्रमोसन लगायत हेर्थे।
सन् २०१५ देखि उनले बेलायतमा वाइवाइ चाउचाउ, खुकुरी रम, वर्ल्ड दरबार लगायत सामग्री लैजान थाले। भारतीय प्रोडक्टमा बानी परेका विकासलाई नेपाली प्रोडक्ट पनि लैजान मन लाग्यो। उनीसँग भारतीय प्रोडक्टका लागि काम गरेको अनुभव थियो।
‘मैले २०१८ देखि नेपाल फुड सुरू गरेँ। ३८ वटा प्रोडक्टबाट सुरू गरेको अहिले ३ सय प्रोडक्ट पुगेको छ,’ उनले भने, ‘नेपालबाट चामल लैजान पाइँदैन भने बेलायतले दक्षिण एसियाली मुलुकबाट माछा मासु नलिने भएकाले बेलायतमै फ्याक्ट्री खोलेका छौं।’
उनले नेपाल र बेलायतका दुवै कारखानामा खाद्य सामग्री उत्पादन गर्छन्। केही नेपालमा किनेर आफ्नो ब्रान्डमा प्याकेजिङ गर्छन् र बेलायत लैजान्छन्। मांसाहारी र शाकाहारी अचार, मःमको ६ प्रकारको अचार, घिउ, मसला, सस, सुकुटी लगायत दुवै देशका उद्योगमा उत्पादन हुन्छ।
चाउचाउ, चिप्स, चिजबल्स, बियर भने नेपाल फुड्सकै रेसिपी र प्याकेजिङमा अन्य उद्योगबाट उत्पादन हुन्छ।
'दाल, चामल, चिउरा, जुम्लाको सिमी लगायत खाद्यवस्तु ठूलो परिमाणमा किनेर प्रशोधन र प्याकेजिङ गर्छौं,' ३७ वर्षीय विकासले भने, 'नेपाल फुड्सका उत्पादन बेलायतका अधिकांश खुद्रा मार्टमा किन्न पाइन्छ। यसबाहेक २५ देशमा निर्यात हुन्छ।'
-1771074250.jpg)
अर्थात् नेपाल फुडले भान्साका लागि चाहिने सबै सामग्री बेलायत सहितका अन्य देशमा पनि पुर्याउँछ। अहिले युरोप, अमेरिका, क्यानडा सहित विश्वका विभिन्न देशमा नेपाल फुड पुगेको विकासले बताए।
आफ्नो मिसन नै नेपाल फुडलाई विश्वभर पुर्याउने भन्दै विकासले बुल्गेरियामा पनि डेरी सुरू गरेको बताए।
इण्डियन र पाकिस्तानी बजारसँग काम गर्नको लागि उनले पनिर उद्योगको नाम नै इण्डियावाला राखेका छन्। बुल्गेरियाको डेरीले राम्रो फाइदा दिएको छ। अब मिठाइ र घ्यु निकाल्ने उनको योजना छ।
‘मैले जति गरेको छु यसमा सन्तुष्ट छु। ५० हजार पाउण्डबाट सुरू गरेको व्यवसाय अहिले १२/१३ मिलियन अमेरिकी डलर पुगेको छ,' उनले भने,'मैले आएकै दिनदेखि मार्केटिङ गर्ने भन्दै चुनौती रोजेको थिएँ। अब यही क्षेत्रमा जति सकिन्छ अघि बढ्ने हो।'