आयरल्यान्डको राजधानी डब्लिनमा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलनले १५ बुँदे डब्लिन घोषणापत्र–२०२६ जारी गरेको छ।
अगस्ट १० र ११ मा 'पहिचानमा एकता, लगानीमा अग्रसरता र समृद्धिप्रति प्रतिबद्धता' भन्ने मूल नाराका साथ सम्पन्न सम्मेलनले गैरआवासीय नेपालीका अधिकार, लगानी, श्रम, पर्यटन, महिला तथा युवा सहभागिता र ज्ञान–सीप हस्तान्तरणका विषयलाई प्राथमिकतामा राखेको छ।
घोषणापत्रमा गैरआवासीय नेपाली नागरिकका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार कार्यान्वयन गर्न सम्बन्धित विधेयक यथाशीघ्र पारित गर्न सरकारसँग आग्रह गरिएको छ।
वंशजको नेपाली नागरिकताको निरन्तरता सुनिश्चित गर्न आवश्यक संवैधानिक व्यवस्था गर्नसमेत माग गरिएको छ।
एनआरएनएले युरोपमा रहेका नेपालीको पूँजी, सीप, अनुभव र सञ्जाललाई नेपालको आर्थिक विकाससँग जोड्दै लगानीका कानुनी तथा प्रशासनिक अवरोध हटाउन सरकारलाई आग्रह गरेको छ भने एनआरएनए डेभलपमेन्ट फण्डमा साना तथा मझौला लगानीकर्ताको सहभागिता बढाउन आह्वान समेत गरिएको छ।
सम्मेलनले नेपाललाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्न, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार गर्न तथा डायस्पोराको व्यावसायिक सञ्जाल परिचालन गर्न जोड दिएको छ।
युरोपलगायत विश्वभर रहेका नेपाली श्रमिकको सुरक्षित तथा मर्यादित रोजगारी, सामाजिक सुरक्षा र प्रभावकारी श्रम कूटनीतिका लागि नीतिगत सुधार गर्न सरकारसँग एनआरएनएको आग्रह छ।
एनआरएनएले महिला नेतृत्व र उद्यमशीलता बढाउने, युवा तथा दोस्रो पुस्तालाई एनआरएनएको नेतृत्वमा अर्थपूर्ण रूपमा सहभागी गराउने तथा विश्वभरका नेपाली विज्ञको ज्ञान र सीपलाई नेपालको विकाससँग जोड्ने प्रतिबद्धता समेत जनाएको छ।
त्यस्तै, एनआरएनएको रिब्रान्डिङ, ‘रोडम्याप टु २०३०’ कार्यान्वयन र अनलाइनबाट नेतृत्व चयन गर्ने व्यवस्था कार्यान्वयनका लागि आवश्यक पूर्वाधार तयार गर्न आग्रह गरिएको छ।
सम्मेलनले एनआरएनएको एकता, सहकार्य र संस्थागत सुधारमा जोड दिँदै आगामी १८औँ युरोप क्षेत्रीय सम्मेलन बेलायत वा पोल्याण्डमध्ये एक देशमा आयोजना गर्ने निर्णयका लागि प्रक्रिया अघि बढाउने जनाएको छ।