ग्लोबल नेपाली
परिवारका धेरै जना बेलायती सेनामा भएकाले खोटाङका हिराधन राईलाई पनि सानै उमेरमा बेलायती सेनामा भर्ती हुन मन लाग्थ्यो। त्यसैले उनको ध्यान पढाइभन्दा पनि सेनामा कसरी जाने भन्नेमा थियो।
उनलाई कापी–किताबभन्दा पुसअप, सिटअप अनि दौड प्यारो लाग्थ्यो। आफ्नो सपना पूरा गर्न उनले धेरै समय कुर्नुपरेन। १८ वर्ष पुग्दा नपुग्दै सन् १९८७ मा हिराधन ब्रिटिस सेनामा भर्ती भए।
भर्ती भएपछि उनी सुरूमा हङकङ पुगे। बेलायती सेनामा भर्ती भए पनि बेलायत नै पुग्न भने पाँच वर्ष लाग्यो। अर्थात् उनी सन् १९९२ मा बेलायत गए। त्यसबीच उनी हङकङ र ब्रुनाईमा बसे। बेलायती सेनामा रहँदा उनी इराक, अफगानिस्तान, कोसोभो र सेरालियोनमा शान्तिस्थापनाका लागि गए।
‘हाम्रो काम युद्ध गर्नेभन्दा पनि शान्तिस्थापनाका लागि सहयोग गर्ने हो। तर यसका लागि गए पनि लडाइँ नहुने भन्ने त भएन,’ उनले भने, ‘हामी आक्रामकभन्दा पनि रक्षात्मक हुने हो। किनकि हामी त्यहाँका जनताको सुरक्षार्थ र शान्ति स्थापनार्थ गएको हो।’
राईका अनुसार पहिला बेलायती सेना र ब्रिटिस गोर्खाजको सेवा–सुविधा फरक थियो।
सन् १९९७ पछि भर्ती भएकाहरूको हकमा भने त्यस्तो फरक छैन। तर आफूहरूले पाउने पेन्सनमा अझै फरक रहेको उनी बताउँछन्।
‘हामीले झन्डै एक तिहाइ कम पाउँछौँ। हङकङ र ब्रुनाई बस्नेहरूको अलग तरिकाले गणना भयो। ब्रिटिस गोर्खाजको आफ्नै रेजिमेन्ट हुन्छ, जहाँ नेपालीहरू बस्छन्। मैले यसमै १६ वर्षभन्दा बढी सेवा गरेँ,’ उनले भने।
उनको समयमा बेलायती सेनामा जानु एउटा सपना हुन्थ्यो। किनकि त्यो बेला युवाहरूको पहिलो रोजाइ ब्रिटिस आर्मी थियो। त्यसो त अहिले पनि बेलायती सेनाको आकर्षण युवाहरूमा कम छैन।
बेलायती सेनामा गएर धेरै कुरा सिक्न पाइन्छ भन्ने सोच रहेको र त्यतिबेला अवसरहरू पनि अहिलेको जस्तो धेरै नभएको उनको भनाइ छ।
बेलायत सरकारले पनि अहिले बराबरी अवसर दिएकाले यो सेवा थप आकर्षक भएको उनको दाबी छ।
अझै पनि सन् १९९७ भन्दा अघिको पुस्ताका गोर्खाहरूको क्षतिपूर्ति र पेन्सनमा समानता हुनुपर्ने माग रहेको भन्दै उनले यस विषयमा बेलायती सरकारसँग केही असहमति रहेको बताए।
‘१८ वर्षकै हाराहारीमा भर्ती हुने भएकाले सुरूमा धेरै कुरा थाहा नहुनु स्वाभाविक हो। त्यो बेला युवाहरूले बुझ्ने भनेको अनुशासन र आर्थिक कुरा मात्र हो। पछि बुझ्दै गइयो अनि थाहा भयो कि हाम्रा पनि अधिकार रहेछन्,’ उनले भने, ‘पछि बेलायतमै बस्नुपर्ने सोच आयो। बेलायतमा घुलमिल भइसकेपछि नेपाल आएर गर्न सक्ने केही नभएको तर बेलायतमा गार्ड बसेर पनि काम गर्न सकिन्छ भन्ने थाहा भयो।’
अवकाशपछि राईले विभिन्न व्यवसायमा हात हाले। सेनामा रहँदै व्यवसायमा लगानी गरेको भए पनि त्यसले कुनै उपलब्धि दिएन। पार्टनरसिपमा प्रोपर्टी, रेस्टुरेन्ट, होटल, बार र ह्यान्डीक्राफ्टमा लगानी गरे। तर व्यवसाय गर्न सबैभन्दा ठूलो समस्या भाषा बनेको उनको अनुभव छ।
‘हाम्रो भाषाले आर्मीमा जस्तो काम गर्दैन। व्यवसाय गर्नको लागि पैसा भन्दा धेरै ज्ञान चाहिने रहेछ। पैसाले मनोरञ्जन हुन्छ तर ज्ञानले कमाइ हुन्छ,’ उनले भने, ‘यो कुरा थाहा पाउन मलाई केही समय लाग्यो। त्यसबीच मैले पढाइलाई निरन्तरता दिएँ अनि एमबिएससमेत गरेँ।’
सन् २००४ मा बेलायती सेनाबाट अवकाश पाएपछि उनले केही समय व्यवसायका लागि मात्रै खर्च गरेका थिए। त्यहाँबाट खासै उपलब्धि हुन नसकेपछि पुरानै पेसा रोजे, अर्थात् बेलायती सेनामा रहेर फरक तरिकाले काम गर्न थाले। अर्थात् उनी मिलिट्री प्रोभोस्ट गार्ड सर्भिस (एमपिजिएस)मा जोडिए। यो काम पनि सेनासँग सम्बन्धित रहेको उनले बताए।
‘हामीले गर्ने भनेको बेलायतभरि हुन्छ। हामी सैनिक ब्यारेकमा बस्ने हो। हामी आर्मी नै हो तर सुरक्षा गार्ड हो,’ उनले भने, ‘६ महिना जागिर र ६ महिना बिदा हुन्छ। ड्युटी र ट्रेनिङ अनि प्रमोशन सबै आर्मीकै नियमअनुसार हुन्छ। अहिले म त्यहाँ डिट्याचमेन्ट कमान्डरको जिम्मेवारीमा छु।’
हिराधनले ब्रिटिस सेना रोजेको ४० वर्ष भयो। ४० वर्ष आफैमा एउटा युग हो। त्यो बेला अवसरहरू सीमित थिए। यो अवधिमा धेरै क्षेत्रमा अवसरहरू थपिएका छन्।
‘ब्रिटिस सेनामा जानका लागि एकदेखि तीन वर्षसम्म ट्रेनिङ गर्ने र २५ हजारमा चार सयभन्दा केही बढीले मात्र अवसर पाउँछन्। हामी त यसलाई लट्रीजस्तै हो भन्छौँ,’ उनले भने, ‘धेरै दुःख गरेर भर्ती भई ट्रेनिङ गरेपछि कतिपयले गोर्खाको मर्म भुल्छन्। यो वर्ष भएन, त्यो वर्ष भएन अनि अर्को वर्ष भएन भनेर भर्ती भएपछि आफ्नो अधिकार पाए पनि यताको परिस्थिति भुल्नु हुँदैन।’
आफूहरू गोर्खाज हौँ भन्ने कुरा भुल्न नहुने भन्दै उनले ब्रिटिसजस्तै भइयो भने आफ्नो संघर्ष गर्ने शैली पनि हराउने बताए।
ब्रिटिस सेनामा रहँदा कहिले कुन देश, कहिले कुन देश जानुपर्ने भएकाले संघसंस्थामा जोडिन गाह्रो हुन्थ्यो। तर पनि कुनै न कुनै रूपमा संस्थासँग जोडिएकै हुन्थे। सन् २००७ देखि भने उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) मा सक्रिय भए। एनआरएनए युकेका संस्थापक रहेका राई त्यहाँको उपाध्यक्षसमेत बनेका थिए।
‘सेना आफैमा एउटा संस्था हो। त्यसैले पनि हामीलाई सामूहिकतामा विश्वास हुन्छ। अहिले म आफूलाई सामाजिक कार्यकर्ता भन्न रूचाउँछु। हाम्रो बेलायतमा केही पार्टनरसिप बिजनेस छ। नेपालमा पनि हामी व्यवसायमा सक्रिय छौँ। व्यवसायमा मेरो श्रीमती (एनआरएनए ग्लोबल उपाध्यक्ष रोजिना प्रधान राई) को अलि धेरै सक्रियता छ,’ उनले भने।