नरेश चन्द्र वस्ती सन् २००४ मा डिभी परेपछि श्रीमतीसहित अमेरिका पुगे। उनले सुरूआती दिनमा ग्रोसरी स्टोरमा काम गरे।
तीन महिना त्यो काम गरे। अनि एउटा हाइस्कुलमा केमेस्ट्री (रसायनशास्त्र) विषय पढाउने काम पाए। त्यही स्कुलको कामले उनलाई अमेरिका बस्न सहयोग गर्यो।
त्यसपछि उनले पिएचडी (विद्यावारिधि) गरे। अनि ओक रिज नेसनल ल्याबोरेटरीमा दुई वर्ष पोस्टडक गरे। त्यहीँ स्थायी जागिर पाए र हाल त्यहीँ कार्यरत छन्।
न्युट्रन साइन्सको अनुसन्धानमा व्यस्त उनी अहिले ओक रिज नेसनल ल्याबोरेटरीका सिनियर साइन्टिस्ट हुन्। यो अमेरिकी ऊर्जा विभाग अन्तर्गतको सबभन्दा ठूलो राष्ट्रिय अनुसन्धान प्रयोगशालामध्ये एक हो।
नरेश परिवारसहित अमेरिकाको नक्सभिल सिटीमा बस्छन्। उनको परिवारमा श्रीमती र छोराछोरी छन्।
उनी बस्ने ठाउँबाट कार्यस्थल गाडीमा २० मिनेटको दुरीमा छ। बिहान ९ बजे अफिस पुग्छन्।
'हरेक साता बैठक हुन्छ, टोलीका सदस्यहरू बसेर आगामी साताको कामको योजना बनाउँछौं,' उनले भने, 'कामको समय दैनिक रूपमा निश्चित हुँदैन। तर हप्तामा ४० घण्टा काम चाहिँ पूरा गर्नुपर्छ।'
उनको मुख्य काम न्युट्रनको उत्पादन र प्रयोग सम्बन्धी अनुसन्धान गर्नु हो। न्युट्रन प्रयोग गरेर विभिन्न पदार्थमा रहेका अणु–परमाणुको अवस्था, तिनीहरू कहाँ छन् र के गरिरहेका छन् भन्नेबारे अनुसन्धान गर्नुपर्ने नरेशले बताए।

नरेशले यहाँ काम थालेको ११ वर्ष भयो। प्रयोगशालामा ७ हजारभन्दा बढी कर्मचारी छन्। उनी कार्यरत डिभिजनमा करिब ५ सय जना छन् जसमा नेपाली मूलका उनी एक्ला हुन्।
अन्य डिभिजनमा भने १० देखि १२ जना नेपाली मूलका कर्मचारी छन्।
नेपालमा नवलपुर घर भएका नरेशको जन्म भने गोरखामा भएको हो। उनका एक दिदी र ६ जना दाइ छन्।
उनी साढे दुई वर्षको छँदा बुबाको मृत्यु भएपछि आमाले बसाइँसराइ गरेर उनलाई नवलपुर ल्याएकी हुन्।
'म आज जे छु, त्यसको श्रेय मेरी आमालाई जान्छ,' उनले भने।
सात जना छोराछोरीको पालनपोषण आमाको एक्लो काँधमा थियो। उनी खेतीकिसानी गरेर घरपरिवार चलाउँथिन्। बिस्तारै नरेशका जेठा दाजुले कमाउन थाले। घरको आर्थिक अवस्था केही सहज हुँदै गयो।
नरेशको पढाइ राम्रो थियो। पाँच कक्षा पढ्दादेखि नै साना विद्यार्थीलाई ट्युसन पढाउँथे। त्यसबाट थोरै आम्दानी हुन्थ्यो।
'त्यतिखेर त्यस्तो धेरै पैसा हुँदैन थियो। ठ्याक्कै कति हुन्थ्यो भन्ने चाहिँ याद छैन। अलिअलि खर्च पुग्थ्यो,' उनले सुनाए।
स्कुल जाने, आमालाई सघाउने र ट्युसन पढाउने गरेर उनको दैनिकी बित्थ्यो।
२०४७ सालमा उनले जनज्योति माध्यमिक विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी (एसइई सरह) पास गरे। त्यसपछि थप पढ्न दाजुसँग काठमाडौं आए।
नरेशका दाइहरू पहिल्यैदेखि काठमाडौं बस्थे। उनी अमृत साइन्स क्याम्पसमा विज्ञान विषय पढ्न भर्ना भए।
पढाइसँगै उनले होम ट्युसन पढाए। दाजुभाइ मिलेर फोटो स्टुडियो पनि खोले। त्यसबाट भएको आम्दानीले पढाइसँगै घरखर्चमा पनि सहयोग पुग्थ्यो।
उनले यसैगरी पढे। एमएससी (स्नातकोत्तर) पूरा गरेपछि विभिन्न स्कुलमा पढाए। लोक सेवा आयोगको परीक्षा तयारी पनि गरे।
सन् २००२ को अन्त्यतिर उनले लोक सेवामार्फत् प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) मा जागिर पाए।
'त्यहाँ पन्ध्र महिना काम गरेँ। अमेरिका जाने प्रयासमा पनि थिएँ। डिभी पनि भरेको थिएँ, त्यही बेला पर्यो,' नरेशले भने।

सन् २००४ मा उनी श्रीमतीसहित अमेरिका पुगे। उनीहरूको पहिलो बसाइ न्युयोर्कमा भयो। उनी, श्रीमती, सासूससुरा सँगै बस्थे।
सुरूको एक वर्ष उनका लागि निकै कठिन भयो। काम पाउन पनि मुस्किल भयो। पछि एक व्यक्तिले उनलाई ग्रोसरी स्टोरमा काम मिलाइदिए।
सामान डेलिभरीको काम, गर्मी र नयाँ हावापानी, उनी बिरामी पर्न थाले। त्यसैले तीन महिनामै त्यो काम छाडे।
उनकी श्रीमती एक ब्युटीपार्लरमा काम गर्न थालिन्। नरेशले एउटा हाइस्कुलमा केमेस्ट्री (रसायनशास्त्र) विषय पढाउने काम पाए।
'त्यही स्कुलकै कामले हो म अमेरिका बसेको। नभए म शतप्रतिशत नेपालमै फर्किन्थेँ,' उनले भने।
एक वर्षपछि उनले न्यूयोर्क युनिभर्सिटीमा पनि पार्टटाइम काम पाए।
त्यसैबीच उनीहरूको पहिलो सन्तान जन्मिइन्।
त्यसपछि उनले पिएचडी गर्ने सोचे।
'खास त पिएचडीकै लागि विद्यार्थी भिसामा आउन सबै प्रक्रिया पूरा गरिसकेको थिएँ,' उनले भने, 'डिभी परेकाले पढ्न ढिला भयो।'
सबै काम छाडेर नरेश परिवारसहित सन् २००८ मा साउथ क्यारोलिना गए। त्यहीँ उनका साथीहरू पिएचडी गरिरहेका थिए। नरेश क्लेम्सन युनिभर्सिटी इन साउथ क्यारोलाइनामा पिएचडी गर्न थाले।
नयाँ ठाउँ भएकाले श्रीमतीले सुरूमै काम पाइनन्। पिएचडी विद्यार्थीलाई विश्वविद्यालयले दिने पैसाले घरखर्च चलाए।
'त्यही बीच हाम्रो दोस्रो बच्चा भयो। खर्च पनि ठूलो थियो। मेरो जागिर थिएन, श्रीमतीको त बाहिर काम गर्न सक्ने अवस्था नै भएन। बच्चाको जिम्मेवारी उनले सम्हालेका कारण मैले पढाइमा ध्यान दिन पाएँ,' उनले सुनाए।
त्यस बेला अमेरिकामै रहेका दाजु तथा सासूससुराको आर्थिक सहयोगले पनि परिवारलाई केही सहज भएको उनी बताउँछन्।
पिएचडीपछि नरेशले ओक रिज नेसनल ल्याबोरेटरीमा दुई वर्ष पोस्टडक गरे र त्यहीँ स्थायी जागिर पाएका हुन्।
'अमेरिकामा काम गर्न सहजै छ। स्रोतसाधन पर्याप्त छ,' नरेशले भने, 'विदेशमा बस्दा आमाको भने धेरै याद आउँछ। आमालाई भेट्न वर्षमा एक पटक नेपाल आउँछु।'