सञ्जय पौडेल दक्षिण कोरियाको सोलमा बस्छन्। त्यहाँ उनी योन्से युनिभर्सिटीमा अध्यापनसँगै अनुसन्धानमा व्यस्त छन्।
उनी विद्यावारिधि गर्ने विद्यार्थीलाई खगोलशास्त्र (एस्ट्रोनोमी) पढाउँछन्। र, ग्यालेक्सी तथा डार्क म्याटर सम्बन्धी अनुसन्धान गर्छन्।
'मेरो आफ्नै प्रोजेक्ट छ। त्यही अन्तर्गत पिएचडी विद्यार्थीलाई पाठ्यक्रम पढाउने, अनुसन्धान गराउने काम हुन्छ,' उनले भने।
सञ्जयले यो युनिभर्सिटीमा काम गर्न थालेको आठ वर्ष भयो।
कामको समय सामान्यतया बिहान ८ देखि बेलुका ५ बजेसम्म हो। तर अनुसन्धानमा आधारित काम भएकाले यही समयसम्म अनिवार्य रूपमा बस्नुपर्ने हुँदैन। आफ्नो काम अनुसार समय व्यवस्थापन गर्न सकिने उनले बताए।
सातामा एक दिन हुने बैठकमा भने अनिवार्य उपस्थित हुनुपर्छ। त्यसमा विद्यार्थीको अनुसन्धानको प्रगति र आगामी कामबारे छलफल हुन्छ।
'पिएचडीका विद्यार्थीलाई अनुसन्धान गराउने काममा आफूले पनि निरन्तर मेहनत गर्नुपर्छ,' उनले भने।

सञ्जयको पुर्ख्यौली घर सिन्धुली हो। तीन दाजुभाइमध्ये उनी माइला हुन्।
उनका बुबा विद्यालयमा पढाउँथे भने आमा गृहिणी थिइन्। घरको आर्थिक अवस्था ठिकै थियो।
२०५३ सालमा सिन्धुलीबाट एसएलसी (एसइई सरह) पास गरेपछि उनी विज्ञान विषय पढ्न जनकपुर पुगे। त्यो बेला सिन्धुलीमा विज्ञान पढाउने क्याम्पस नभएकाले तीनै दाजुभाइ जनकपुर बसेर पढेका हुन्।
'काठमाडौं अलि टाढा पर्ने भएकाले हामी जनकपुर बसेका हौं,' उनले भने।
स्नातक तह सकेपछि भने उनी काठमाडौं आए। कीर्तिपुरस्थित सेन्ट्रल डिपार्टमेन्ट अफ फिजिक्सबाट स्नातकोत्तर गरे।
थेसिस पूरा नहुँदै सञ्जयलाई भारतमा तीन महिनाको अनुसन्धान फेलोसिपको अवसर आयो। उनले भारतमै हुँदा थेसिसको काम पूरा गरे र डिफेन्सका लागि नेपाल फर्किए।
थेसिस सकेपछि उनी छात्रवृत्तिमा पढ्न जर्मनीको हाइडलबर्ग पुगे। एस्ट्रोनोमीमा पिएचडी गरे।
छात्रवृत्तिको रकमले बस्ने र खाने खर्च पुग्थ्यो। पिएचडी सकेपछि सञ्जयले फ्रान्सको पेरिसस्थित सरकारी अनुसन्धान संस्थामा काम पाए। त्यहाँ दुई वर्ष एस्ट्रोनोमी सम्बन्धी अनुसन्धान गरे।
'आम्दानी ठीकै भए पनि करिअरका लागि हुन्छ भनेर म त्यहाँ गएको थिएँ,' उनले भने।

फ्रान्समा अनुसन्धान गर्ने क्रममा एक कोरियन प्रोफेसरसँग उनको भेट भयो। उनै प्रोफेसरको सिफारिसमा सञ्जयले कोरियाको एउटा इन्स्टिच्युटमा काम पाए।
त्यहाँ तीन वर्ष काम गरेपछि उनले योन्से युनिभर्सिटीमा अवसर पाएका हुन्।
योन्सेमा अध्यापनसँगै अनुसन्धान गरिरहेका उनी भन्छन्, 'विश्वविद्यालयको अनुसन्धान परियोजनामा सरकारले लगानी गर्ने भएकाले काम गर्ने वातावरण राम्रो छ।'
उनको समूहले वर्षमा तीन–चार वटा अनुसन्धानात्मक प्रकाशन निकालिसकेको छ। यसबाहेक अन्य अनुसन्धानकर्तासँग सहकार्य गरेर पनि विभिन्न अनुसन्धानमा काम भइरहेको सञ्जयले बताए।
१२ वर्षदेखि कोरियामा बसिरहेका उनका श्रीमती र छोरी पनि उतै छन्। आमा र दाजुभाइ नेपालमा छन्। सञ्जय हरेक वर्ष दसैंमा नेपाल आउँछन्।
कोरियामै रहेर उनले नेपाली विद्यार्थीलाई पनि अनुसन्धानमा सहयोग गरिरहेका छन्। त्रिभुवन विश्वविद्यालयका स्नातकोत्तर तहका विद्यार्थीलाई अनलाइनमार्फत अनुसन्धान सम्बन्धी मार्गदर्शन दिँदै आएको उनले बताए।
'यसअघि पिएचडीका विद्यार्थीलाई सघाएँ। अहिले मास्टर्सका छन्,' सञ्जयले भने, 'नेपाल आएका बेला विद्यार्थीहरू भेटेर पनि छलफल गर्छु।'