परदेशीको दसैं
मरूभूमिको सहर दुबई आफ्नै रफ्तारमा अघि बढिरहेको छ।
त्यही सहरमा रहेकी सरिता कार्कीको मन भने ललितपुरस्थित घर–आँगनमा पुग्छ। बाल्यकालमा मच्चाएका पिङ र उडाएका चंगाका सम्झना उनको मनमा अझै ताजा छन्।
अक्टोबर लागेसँगै दुबईको गर्मी पनि क्रमशः घट्दै छ। बाहिर घुम्न केही सहज हुन थालेको मौसमले उनलाई नेपालमा दसैं आएको आभास गराउँछ।
'नेपालमा दसैं आउँदाको जस्तै अनुभूति अहिले यहाँको मौसमले पनि गराइरहेछ,' उनले सुनाइन्।
मौसमले दसैंको झल्को दिए पनि सरिताका लागि चाडपर्वमा घर फर्किने बाटो सहज छैन। वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) पुगेको नौ वर्ष भइसकेको छ।
यसबीच उनी वर्षमा एक पटक नेपाल आउँछिन्, परिवारसँग भेटेर न्यास्रो मेटाउँछिन् र फेरि दुबई फर्किन्छिन्। तर दसैंमा परिवारसँगै बसेर चाड मनाउने उनको रहर पूरा हुन सकेको छैन।
सरिता र उनका श्रीमान दुवै दुबईमा रोजगारी गर्छन्।
उनका श्रीमान सन् २०१५ मा रोजगारीका लागि दुबई पुगेका थिए। त्यसको दुई वर्षपछि सरिता पनि त्यहाँ गइन्।
सुरूमा उनले दुबईस्थित डबलट्री बाई हिल्टन होटलमा काम गरिन्। त्यहाँ चार वर्ष बिताएपछि उनी इन्टरकन्टिनेन्टल दुबई फेस्टिभल सिटी होटलमा आबद्ध भइन्।
अहिले त्यहाँ काम गर्न थालेको पाँच वर्ष भइसकेको छ।
उनी हाल पाँचतारे होटल समूहमा ग्रुप रिजर्भेसन सुपरभाइजरका रूपमा कार्यरत छिन्। चार वटा होटलमा आउने समूहगत बुकिङ व्यवस्थापन गर्नु उनको जिम्मेवारी हो।
हस्पिटालिटी क्षेत्रमा काम गर्ने भएकाले सरितालाई चाडपर्वका बेला बिदा मिलाउन सहज छैन। अरू बेला बिदा पाउन खासै समस्या नभए पनि दसैंजस्ता चाडपर्वका समयमा होटलमा पर्यटकको चाप बढ्ने भएकाले छुट्टी पाउन मुस्किल हुने उनी बताउँछिन्।
'अरू बेला सहजै बिदा मिल्छ। तर फेस्टिभलको समयमा यहीँ सिजन सुरू हुने भएकाले बिदा नै मिल्दैन,' उनले भनिन्।

उनका अनुसार दुबईमा पर्यटक आउने मुख्य सिजन अगस्टदेखि डिसेम्बरसम्म हो। नेपालीको ठूलो चाड दसैं पनि यही अवधिमा पर्ने भएकाले उनलाई बिदा मिलाउन कठिन हुन्छ।
कामको व्यस्तताले नेपाल गएर दसैं मनाउन नपाए पनि सरिताले दुबईमै नेपाली परम्परा अनुसार चाड मनाउने गरेकी छन्।
घटस्थापनाका दिन जमरा राखेकी उनले दैनिक पूजापाठ गर्छिन्। यस पटक दसैं मनाउन तीन दिनको बिदा पनि निश्चित भइसकेको उनले जानकारी दिइन्।
दसैंको माहोल बनाउन उनी नयाँ लुगा किन्छिन्। घरका लागि कार्पेट, पर्दा लगायत सामान पनि किन्छिन्।
'दसैंको माहोल बनाउन भए पनि लुगा किन्छु,' उनले सुनाइन्, 'घरमा चाहिने कार्पेट, पर्दा लगायतका सामान पनि दसैंमै किन्ने गरेकी छु।'
नेपालमा परिवारसँग बसेर दसैं मनाउन नपाए पनि सरिताले दुबईमै आफन्त र साथीभाइसँग चाड मनाउने गरेकी छन्।
यसपालि पनि उनले दसैं मनाउन आफन्त र साथीभाइलाई बोलाएकी छन्।
'मेरो भाइ पनि यतै थियो। तर यसपालि कामको सम्झौता सकिएपछि दसैं मनाउन नेपाल गएको छ। मसँगै काम गर्ने साथीहरू छन्। श्रीमानका मामा र साथीहरू पनि यतै हुनुहुन्छ। उहाँहरूलाई बोलाएकी छु,' सरिताले भनिन्।
सबै जना एकै समयमा भेला हुन सम्भव हुँदैन। कोही ड्युटी सकेर आउँछन् भने कोही टीकाको दिन नभ्याए अर्को दिन भेट्न पुग्छन्।
उनीहरू भेला भएर सँगै खाना बनाउँछन्, खान्छन्। दसैंमा ठूलाबडाले पनि बोलाउँछन्। आफन्त र साथीभाइसँग भेटघाट गरेर चाड मनाउने गरेको उनले बताइन्।
दुबईमा आफन्त र साथीभाइसँग दसैं मनाए पनि सरितालाई नेपालमा चाड मनाउँदाको रमाइलो भने निकै याद आउँछ।
विशेषगरी मन्दिर जाने, परिवार र आफन्तसँग भेटघाट गर्ने अनि दसैंको चहलपहलमा रमाउने क्षण सरिता सम्झिरहन्छिन्।

ललितपुरस्थित घरमा उनका सासू–ससुरा र देवर छन्। माइतीमा आमाबुबा, भाइ–बुहारी र बच्चाहरू छन्। दसैंमा यी सबैसँग भेटेर चाड मनाउने अवसर उनलाई दुबईमा मिल्दैन।
'तास त यहाँ पनि खेल्छौं। तर पिङ नदेखेको कति वर्ष भइसक्यो। चंगा उडाउन त बिर्सिसकेँ होला,' सरिताले भनिन्।
परिवारका सदस्यले उनलाई हरेक वर्ष दसैंमा बिदा मिलाएर नेपाल आउन आग्रह गर्छन्। यसपालि कामको व्यस्तताले सम्भव नभए पनि अर्को वर्ष जसरी पनि नेपाल जाने उनको योजना छ।
'तीन दिन मात्रै बिदा भए पनि अर्को वर्ष त म जसरी पनि दसैं मनाउन नेपाल जान्छु। टीका मात्रै लगाएर भए पनि आउँछु,' सरिताले भनिन्।