परदेशीको दसैं
म काठमाडौंको कलंकीमा हजुरबा–हजुरआमासँग हुर्किएँ। मेरा लागि दसैं भनेको परिवारसँग रमाइलो गर्ने, दाजुभाइ–दिदीबहिनीसँग घुमफिर गर्ने र ठूलाबडाको हातबाट टीका लगाउने पर्व हो।
नेपालमा दसैं नजिकिँदै गर्दा मौसम फेरिन्थ्यो। घरमा चाडपर्वको छुट्टै रौनक छाउँथ्यो। तर यसपालि मेरो दसैंको माहोल फरक छ। म पहिलो पटक घरपरिवारबाट टाढा छु।
म सानैदेखि हजुरबा–हजुरआमासँगै हुर्किएकी हुँ। सानो छँदा कजिनहरूसँग घुम्ने र रमाइलो गर्ने गर्थ्यौं। यसपालि ती सबै कुरा सम्झिरहेकी छु। पहिलो पटक उहाँहरूको हातबाट टीका लगाउन नपाउँदा नरमाइलो लागिरहेको छ।
म एक महिनाअघि मात्रै रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) पुगेकी हुँ। अहिले म दुबईस्थित घरजग्गा सम्बन्धी कारोबार गर्ने भारतीय कम्पनी 'लाइका रियल्टी' मा पोर्टफोलियो म्यानेजरका रूपमा काम गर्छु। परदेशमा म पूर्णतः एक्ली भने छैन।
मेरो परिवारका सबै सदस्य नेपालमै हुनुहुन्छ। मेरी आमा भने १० वर्षदेखि दुबईमा बस्दै आउनुभएको छ। त्यसैले यसपालि म आमासँगै दुबईमा दसैं मनाउनेछु।
ममीको यहीँ व्यवसाय छ। उहाँ बिदा मिलाएर नेपाल गइरहनुहुन्छ। यसपालि ममीसँगै दसैं मनाउने भएँ।
तर पनि घरको सम्झना आइरहेको छ। २४ वर्षसम्म नेपालमा मनाएको दसैं बिर्सन गाह्रो हुने रहेछ।
एक महिनाअघि दुबई पुग्दा मैले सोचेभन्दा फरक अनुभव गरेँ।

काठमाडौंमा २८–२९ डिग्री तापक्रममै मलाई गर्मी महसुस हुन्थ्यो। तर दुबईको ४१ डिग्री तापक्रममा घुलमिल हुन गाह्रो भयो।
सामाजिक सञ्जालमा देखेको दुबईको चमकधमकभन्दा त्यहाँको वास्तविक जीवन फरक रहेछ। चर्को घाममा काम गर्ने मजदुरको मेहनत देख्दा मैले नेपाल सम्झिएँ।
आमासँगै दसैं मनाउने भए पनि मेरो दसैं नेपालमा जस्तो फुर्सदिलो हुने छैन। भर्खरै काम सुरू गरेकी छु। त्यसैले दसैंका दिन पनि म ड्युटीमा खटिनुपर्नेछ।
काम सकेपछि मात्रै आमासँग टीका लगाउने मेरो योजना छ।
आमाले घरमा जमरा राखिसक्नुभएको छ। दसैंका दिन आमाका साथीहरू पनि भेला हुनुहुनेछ।
उहाँहरूकै साथमा टीका लगाएर यसपालिको दसैं मनाउनेछु।
दसैंका लागि नयाँ लुगा किन्नेबारे भने मैले अहिलेसम्म सोचेकी छैन। दसैंका लागि भनेर छुट्टै नयाँ लुगा किनिसकेकी छैन। अब किन्छु कि भन्ने लागेको छ।
(शिक्षा श्रेष्ठसँग सेतोपाटीका सुनिता सिटौलाले गरेको कुराकानीमा आधारित)