प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मन्त्रालयहरूले बनाएका कार्ययोजनालाई एकीकृत रूप दिएको छ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रालयस्तरीय बैठकपछि प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयहरूले बनाएको कार्ययोजनालाई एकीकृत रूप दिएको हो। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रमको पूर्ण कार्यान्वयन गर्न सबै मन्त्रालयहरूलाई आ-आफ्नो मन्त्रालयका कार्ययोजना बनाएर प्रस्तुत गर्न निर्देशन दिएका थिए।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले न्यूनतम साझा कार्यक्रमलाई कार्यान्वयन गर्न र नतिजामुखी बनाउन प्रधानमन्त्रीले दिएको निर्देशनबमोजिम सबै मन्त्रालयहरूले आ-आफ्नो कार्ययोजना प्रस्तुत गरेको र त्यसलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एकीकृत रूप दिएको बताइन्।
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालयलाई सरकारको एकीकृत कार्ययोजनाका बारेमा जानकारी दिएको समेत बताइन्।
उनले एकीकृत कार्ययोजनामा अन्तरमन्त्रालयसँग सम्बन्धित धेरै विषयहरू रहेकाले सबैको साझा बुझाइका बारेमा जानकारी गराइएको बताइन्।
उनले भनिन्, ‘अहिलेको सरकारले न्यूनतम साझा कार्यक्रम जुन प्रस्तुत गरेको थियो, त्यसमा प्रतिवद्धता गरिएका विषयवस्तुहरू जुन छ, त्यसलाई कसरी कार्यान्वयनमा लैजाने, कार्यान्वयनमा लैजानका लागि त्यसमा त अब नतिजा दिइएको छ, कार्यान्व्यन गरेर मात्रै नतिजा आउने हो, त्यो कार्यक्रमहरू के हुन सक्छन् र कसरी नतिजा दिने भन्ने विषयमा कार्ययोजना बनाउन लगाइएको थियो, त्यो सबै मन्त्रालयले बनाएर पठाउनुभएको थियो, मन्त्रालयस्तरको कार्ययोजनालाई एक ठाउँमा एकीकृत रूप दिइएको हो।’
मन्त्री पौड्यालले सरकारको डेलिभरीको समग्र प्रक्रिया नै झन्झटिलो रहेको भन्दै झन्झटिलो प्रक्रिया र अन्तरमन्त्रालयको समन्वयमा त्यसलाई सुधार गर्न सकिने बताइन्।
उनले भनिन्, ‘प्रधानमन्त्री कार्यालयले आज त्यसलाई एकीकृत रूप दिएर सबै मन्त्रालयलाई बोलाएर हाम्रो एकीकृत कार्ययोजना यो छ भनिएको हो। त्यसमा अन्तरमन्त्रालयसँग सम्बन्धित धेरै विषयहरू छन्, जुन एउटा मन्त्रालयले मात्रै गरेर नहुने, त्यसमा साझा बुझाइ आओस् भन्ने हो। हाम्रो डेलिभरी समग्र प्रक्रिया नै अलिकति झन्झटिलो छ। झन्झटिलो प्रक्रिया र अन्तरमन्त्रालयको समन्वयमा त्यो सुधार गर्नुपर्छ भन्ने कुरा भएको छ।’
प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९, १६:५६:११