उद्योगी व्यवसायीहरुले बैंकहरुको सफ्टवेर तथा सर्भर ह्याकिङ हुने, स्विफ्टबाट पैसा गायब हुने, चेक तथा एटिएमबाट रकम चोरिने घटनाहरु बढ्दा बैंकप्रति विश्वास घटेको बताएका छन्।
शुक्रबार ग्लोबल आइएमई बैंक र जनता बैंकको मर्जर पछिको एकीकृत कारोबारको सुभारम्भका अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बैंकिङ अपराधका घटना बढेको औंल्याए।
बैंकहरुले स्तरीय प्रविधिमा लगानी नगर्ने अवस्था भएकाले अपराधिक गिरोह सक्रिय भएको उनको भनाई छ। अध्यक्ष श्रेष्ठले बैंक मर्जरमा जानु अर्थतन्त्रका लागि राम्रो भए पनि उद्योगीहरुले ब्याजदर घटेको अनुभव गर्न नपाएको गुनासो समेत गरे।
‘बैंकहरुको ब्याजदर पटक पटक परिवर्तन हुने नियमले उद्योग व्यवसायको विस्तारका लागि कर्जा लिन नसक्ने अवस्था छ’ उनले भने।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बैंक मर्ज भएपछि क्षमता बढ्ने, बैंकको खर्च घटने तर उद्योगी व्यवसायीहरुले त्यसबाट पनि राहत नपाएको बताए।
सरकारले दिने सहुलियत दरको कर्जाको जानकारी गाउँगाउँमा नहुनु तथा बैंकहरु औद्योगिक विकासमा गम्भिर नभएको उनको भनाइ छ।
उनले कर्जा लिँदा सेवा शुल्क बढी तिर्नुपर्ने र पटकपटक कागजात बुझाउनु पर्ने व्यवस्थाले लागत बढेको बताए।
अर्थतन्त्रको एउटा हिस्सा नै बैंकको सेवा तथा ब्याजदरबाट प्रभावित हुँदा औद्योगिक विकासमा अवरोध उत्पन्न भएको उद्योगीहरुको भनाइ छ।सरकार र राष्ट्र बैंकलाई गम्भिर हुन उनीहरुले आग्रह गरे।
नेपाल उद्योग परिसंघका कार्यबाहक अध्यक्ष विष्णु अग्रवालले बैंकको आकार ठूलो भएसँगै ठूला ठूला परियोजनामा विविधिकरण गरेर लगानी गर्नुपर्ने बताए।