प्रतिनिधिसभा बैठकमा सांसद प्रेम सुवालले अर्थमन्त्री जनार्दन शर्मालाई सेयर बजारबारे प्रश्न गरेका छन्।
उनले अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेर सेयर बजार बढाएको कसका लागि भनेर प्रश्न गरे।
उनले भने ‘पहिला सेयर बजारमा मूल्य घट्यो भनेर समाचार आयो, अनि अर्थमन्त्रीले राष्ट्र बैंकको गभर्नरलाई फोन गर्नुभयो, त्यसपछि सेयर बजार बढ्यो भनेर समाचार आयो, के अर्थमन्त्रीको फोनले सेयर बजार बढ्छ, कसको स्वार्थका लागि अर्थमन्त्रीले फोन गर्नुभयो?’
'के दैनिक सिटामोल नपाएका मजदुरले सेयर किनेर उहाँले मूल्य बढाउनुभएको हो?' उनले भने। यसबारे सरकारले सदमा जानकारी दिनुपर्ने उनले बताए।
त्यसको जवाफमा अर्थमन्त्री शर्माले भने ‘गभर्नरलाई मूल्य बढाउने, घटाउने भन्नेबारे कुरा समाचारमा आएको भए पनि त्यो सत्य नभएको म जानकारी गराउँछु।’
गत आइतबार अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेर सेयर बजारमा भएको समस्याबारे जानकारी लिएका थिए।
उनको फोनपछि त्यसदिन बजार १६२ अंकले बढेको थियो।
सेयर बजार घटेको आक्रोशमा एउटा समूहले राष्ट्र बैंकमा गई गत सोमबार नाराबाजी गरेको थियो। त्यसअघि लगानीकर्ताको समूहले राष्ट्र बैंकको नीतिका कारण बजार घटेको भन्दै अर्थमन्त्रीसँग भेटेर सच्याउन आग्रह गरेको थियो।
विभिन्न बैंक तथा वित्तीय संस्थाबाट एक व्यक्ति वा संस्थाले बढीमा १२ करोड रुपैयाँसम्म मात्रै सेयर लगानीका लागि ऋण पाउने व्यवस्था राष्ट्र बैंकले गरेको थियो।
यहीं व्यवस्थाका कारण सेयर बजार घटेको भन्दै केही लगानीकर्ता आक्रोशित हुँदै आएका छन्। सोमबार यसै विषयमा अर्थमन्त्री शर्माले गभर्नलाई फोन गरेर समस्या समाधान गर्न भनेका थिए।